७ वैशाख २०८१ शुक्रबार
अन्य

बाध्यताले बेचिएको सपना

कोहलपुर-प्युठान, थालकी १५ वर्षीया कविता (नाम परिवर्तन) चार महिनाअघि कोहलपुर झरिन्। सरकारी विद्यालयमा पढ्दा सधैँ कक्षा प्रथम हुने कविताको भविष्यमा डाक्टर बन्छु भन्ने सपना थियो। तर, यी किशोरीका बाल्यकालका सपना त्यागेर तीन महिनादेखि कोहलपुरस्थित एक होटलमा यौनधन्दामा लागिरहेकी छिन् । चार वर्षको हुँदा बुबाको मृत्यु, चार वर्षअघि आमाको अर्कैसँग विवाह र १६ वर्षका दाइको गाउँमा हत्या भएपछि डाक्टर बन्ने सपनामा ब्रेक लाग्यो । मामा घरमा हजुरआमासँगै बस्दै आएकी कविताले आर्थिक बोझकै कारण कक्षा ८ मा पढ्दा पढ्दै प्युठान छाडिन् । सानो भाइलाई पढाउन र कमजोर आर्थिक अवस्था मजबुत बनाउन उनी कोहलपुरमा आएर सानै उमेरमा यौनधन्दामा संग्लन भइन् । किशोरावस्थाकी कविता अहिले पुरुषको ‘गुडिया’ बनेकी छिन् ।
उनका ग्राहक भारतीय नागरिक हुन्छन् । दैनिक चारदेखि दसजना पुरुषसँग सुत्नु, उनीहरूको यौन सन्तुष्टि मेट्नु कविताको बाध्यता बनेको छ । उनले विद्यालयको पढाइ छाडिसकेकी छिन् । सानो एक्लो भाइको पढाइका लागि बुवा उमेरका परपुरुषसँग सुत्न बाध्य छिन् उनी । उनले कोहलपुरस्थित एक सहकारीमा खाता खोलेकी छिन् । त्यसमा दैनिक सानोतिनो रकम जम्मा गर्छिन् । भाइका लागि विद्यालय, खाना खर्च, लगाउने कपडा, कापी किताब किन्न पैसा पठाउँछिन् ।
हजुरआमासँग बस्दै आएकी कवितालाई कोहलपुरमा पढाउने र राम्रो काम लगाउने भन्दै एक छिमेकीले चैतमा कोहलपुरमा ल्याइन् । गाउँबाट बजारमा पढ्न र काम गर्ने आशामा आएकी उनलाई छिमेकी दिदी र होटल सञ्चालिकाले यौनधन्दामा लगाउन बाध्य पारे । अन्य काम गर्दा राम्रो रकम नहुने भएपछि उनी जस्तोसुकै कष्ट सहेर पनि यौनधन्दामा लाग्न राजी भइन् । सुरुमा जबरजस्ती होटल साहुनी र दिदीले शरीरका अंग चलाइदिने, नशालु चिज खान सिकाउने, शरीरका उत्तेजित अंगमा तेल लगाउँदै यो पेशामा लगाएको उनी बताउँछिन् । ‘अहिले पैसा कमाउने अर्को उपाय नहुँदा यौनधन्दामा फसें,’ उनले भनिन् ।
मामा–माइजू भारतमा रहेकाले मावलमा बज्यैमात्र हुँदा आफूलाई पालिन गाह्रो भएको बताउँदै उनी भन्छिन्, ‘भाइलाई पढाउन गाह्रो भयो, त्यही भएर कामको खोजीमा यहाँसम्म पुगेकी हुँ ।’ कविताका अनुसार होटलमा उनलाई रातमा राखिन्छ । दिनभर ग्राहकसँग कोहलपुर चौराह, नेपालगन्ज, ढकेरी, चिसापानी, अगैयामा जान्छिन् । ग्राहकलाई सन्तुष्टि पारेबापत दिइएको दुई हजार रूपैयाँमा पाँच सय मात्रै आफूले पाउने गरेको उनको भनाइ छ ।
 भाइको पढाइका लागि आफ्नो शिक्षा, हजुरआमा र भाइलाई छोडेर कोहलपुर झरेकी उनले तीन महिनाको अवधिमा भाइलाई ६ हजार नगद पठाइसकिन् । कपडासमेत पठाएको उनले बताइन् । आफू बाँच्दासम्म भाइले सक्दासम्म पढाउने बताउँदै उनी भन्छिन्, ‘खाली बसेर, केही काम नगरेर भाइलाई पढाउन सकिँदैन, भाइले जति पढ्छ त्यहाँसम्म जसरी पनि पढाउँछु ।
      उनका ग्राहक प्रायः भारतीय छन्, त्यो पनि वयस्क उमेरका । यसैबीच कवितालाई यौधन्दामा लगाउने कोहलपुर–११ स्थित एकान्त होटल एण्ड रेष्टुरेन्टका सञ्चालक सुस्मिता बोटे र सुशीला श्रेष्ठ पक्राउ परेका छन् । होटल सञ्चालक बोटे र श्रेष्ठ आमा छोरी हुन्।

 

प्रकाशित: १५ असार २०७३ ०५:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App