ताप्लेजुङ–‘छुपुमा छुपु हिलोमा धान रोपेर छोडौंला
बनाइ कुलो लगाइ पानी आएर गोडौंला...’
अवस्था यहीक्रमले अघि बढ्दै जाने हो भने अबको केही वर्षपछि पहाडी जिल्ला ताप्लेजुुङमा यस्तो भाका सुन्न त पक्कै पाइने छैन, धानको गाभो गाड्ने परम्परा नै इतिहास बन्ने छ ।
नगदेबाली र तरकारी खेतीप्रतिको आकर्षणले यहाँको धानखेतीयोग्य जमिन खुम्चिदै जाँदा धानखेतीको उत्पादन पनि घट्दै छ । सरकारले बुधबार १३ औं राष्ट्रिय धान दिवस मनाउँदै छ । तर, धानखेती गर्ने यहाँको जमिन भने बर्सेनि घटिरहेको छ । १ वर्षभित्रै झन्डै २ हजारभन्दा बढी हेक्टरमा धानबाली लगाउन छाडिएको जिल्ला कृषि विकास कार्यालयको तथ्यांक छ । वरिष्ठ कृषि विकास अधिकृत रवीन्द्रमान प्रधानका अनुसार धानखेती हुने जमिन अलैंची र तरकारीबालीले भरिँदैछ ।
उनका अनुसार अघिल्लो आर्थिक वर्षभन्दा यो वर्ष २५ हेक्टर धानखेती हुने जमिनमा अलैंची खेती विस्तार गरिएको छ । धानखेती हुने जमिन मासेर अलैंची लगाउने यो दर अपेक्षाभन्दा बढी भएको उनलेब बताए । उनले बर्सेनि धानखेती मासिँदा यहाँको मुख्य खाद्यबालीको परनिर्भरता बढिरहेको जानकारी दिए । ‘धान फल्ने खेत मासेर अलैंची लगाइएको क्षेत्रफलको पूर्ण विवरण तयार हुँुदै छ,’ प्रधानले भने । उनले अघिल्लोभन्दा यो वर्ष कमैमात्र धानखेती मासिएको पाइएपनि यहाँको धानखेतीयोग्य जमिन क्रमसः खुम्चिँदै गएको बताए ।
धान लगाउने क्षेत्र मासिँदै जानुु धान पारखीका लागि चिन्ताको विषय हो,’ उनले भने । प्रधानका अनुसार अघिल्लो आर्थिक वर्ष त्यसअघिभन्दा २ हजार २ सय २८ हेक्टर कम जमिनमा धान रोपिएको थियो । आव २०७०/०७१ मा यहाँ १० हजार ९ सय ९० हेक्टरमा धान रोपाइँ गरिएकामा आव ०७१÷०७२ मा धान रोपाइँ भएको क्षेत्रफल ८ हजार ७ सय ६२ हेक्टरमात्र थियो । यो आव त्योभन्दा कम क्षेत्रमा धान रोपाइँ हुुने कृषिको अनुमान छ ।
धान खेती हुने क्षेत्र घट्दै गएको यहाँ यो वर्ष १२ प्रतिशत खेतमा मात्र धान रोपाइँ भएको छ । गतवर्ष यो अवधिमा यहाँ १३ प्रतिशत जमिनमा धान रोपाइँ भएको थियो । कृषि विकास कार्यालयका योजना शाखा प्रमुुख किसुुनदेव राउतले लेकाली क्षेत्रमा धान रोपाइँ धमाधम भइरहेको र बाँकी क्षेत्रले असारको अन्तिम साताबाट गति पाउने बताए । उर्बर र सिँचाइको सम्भावना उच्च भएको लेकाली क्षेत्रको धानखेतीयोग्य जमिनमा समेत अलैंची खेती लगाइएकाले गतवर्षभन्दा औसतमा थोरै भएपनि कममात्र धानखेती भएको राउतले जानकारी दिए ।
कृषिका अनुसार यहाँको ३ लाख ६४ हजार ६ सय हेक्टरमध्ये खेतीयोग्य जमिन २७ हजार ५ सय ५१ हेक्टर छ । खेतीयोग्य जमिनमध्ये पनि १० हजार ९ सय हेक्टरमा मात्र धानबाली लगाउन योग्य छ ।
धानखेती हुने क्षेत्रमध्ये ३० प्रतिशतमा मात्र सिँचाइको सुविधा उपलब्ध रहेको कृषिको भनाइ छ ।
नेपाली संस्कारअनुसार असार १५ गतेलाई दही–चिउरा खाने दिनका रूपमा लिइन्छ । हिलो खेल्ने पर्वसमेतका रूपमा रहेको यो दिनसम्म ताप्लेजुङको धान रोपाइँ हुनेमध्ये ८८ प्रतिशत जमिन बाँझै छ । कृषिले अधिकांश क्षेत्रमा आकाशेपानीको भर पर्नुपर्ने भएकाले भनेजस्तो गरी धान रोपाइँ हुुन नसकेको जनाएको छ ।
यसैबीच, गाउँका जमिनको कमै मात्र हिस्सामा धान रोपाइँ भएपनि जिल्ला कृषि विकास कार्यालयले सदरमुकाम फुङलिङको ढाँडधारा छेउमा र अखिल नेपाल किसान महासंघले ताप्लेजुुङ नगरपालिका–१ को बोझे बरधाराछेउमा सामूहिक धान रोपाइँ कार्यक्रम आयोजना गरेका छन् । सरकारले हरेक असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउने गरेको छ ।
प्रकाशित: १५ असार २०७३ ०५:०६ बुधबार