coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

आइसल्यान्डको छलाङ

नाइस– उनीहरूसँग अगाडि बढ्ने सम्भावना बाँकी छ भनेर कसैले सोचेका थिएनन्, तर आइसल्यान्डले सोमबार राति विश्व फुटबलकै सबैभन्दा ठूलो स्तब्धपूर्ण नतिजा हासिल गर्ने क्रममा इङ्ल्यान्डमाथि रवाफ जमाउँदै युरोपियन च्याम्पियनसिपको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

३ लाख ३० हजारमात्र जनसंख्या भएको सानो देश आइसल्यान्डले विश्व फुटबलको सदाबहार महारथी इङ्ल्यान्डलाई मात देला भनेर स्वयं उनीहरूले पनि कल्पना गरेका थिएनन् होला । तर स्टेड डे नाइसमा निकालेको जितले इङ्ल्यान्डको ठूला प्रतियोगितामा निराशाजनक नतिजाले निरन्तरतामात्र पाएन, प्रतियोगिताबाट बाहिरिँदा इङलिस प्रशिक्षक रोए हड्सनले समेत राजीनामा दिनुप¥यो ।

नाइसको उच्च आद्रतापूर्ण वातावरणमा राग्नर सिगर्डसन र कोल्बेइन सिग्थोर्सनले फुटबल इतिहासमा सुनौलो अक्षरले नाम लेखाउने क्रममा गोल गरेपछि आइसल्यान्डले इङ्ल्यान्डमाथि २–१ को रवाफ जमायो । आइसल्यान्डले ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको यो पहिलोपल्ट हो ।

‘उनीहरूले यसलाई पार्कमा टहलिएजस्तै हुने सोचेका थिए,’ इङ्ल्यान्डको हाउभाउप्रति संकेत गर्दै सिगर्डसनले भने, ‘तर, हामीले आफ्नो क्षमता प्रमाणित गरेका छौं । हाम्रा लागि यो खेल र प्रतियोगिताको ठूलो अर्थ थियो । उनीहरूलाई यस्ता प्रतियोगिताको बानी लागिसकेको थियो । हामी अहिले सपनामा देखेको सफलता पाएको अवस्थामा छौं ।’ क्वार्टरफाइनलमा आइसल्यान्डले आयोजक फ्रान्सको सामना गर्नेछ ।

जनमत संग्रहबाटै युरोपियन युनियनसँग छुट्टिने निर्णय गरेको केही दिनपछि भोगेको पराजय इङ्लिस समर्थकका लागि निकै पीडादायी थियो । खेलअघिसम्म ५ करोड ३० लाख जनसंख्या र विश्वकै सबैभन्दा धनी प्रिमियर लिग भएको देशको आइसल्यान्डसँग तुलना सम्भव थिएन । खेल अवधिभर गोल फर्काउने प्रयासमा रहेका इङ्लिस खेलाडीहरू पनि रेफ्रीले खेल सकिएको संकेतस्वरुप सिठी फुक्दा स्तब्ध भएका थिए । त्यसको केही मिनेटमै हड्सनले पत्रकार सम्मेलनमा राजीनामा पत्र पढे ।

ठिक विपरीत आइसल्यान्डका खेलाडीलाई भने अझै पनि त्यो सफलतामा विश्वास लागिरहेको थिएन । उनीहरू खेल सकिएको लामो समयसम्म पनि रंगशालामा उपस्थित ३ हजार ५ सय समर्थकसँग ऐतिहासिक सफलताको खुसी साट्न व्यस्त भइरहे ।
कार्डिफबाट व्यावसायिक फुटबल खेलिरहेका कप्तान एरोन गुनार्सनले इङ्ल्यान्डमाथिको जित आफ्नो टोलीका लागि निकै ठूलो नतिजा भएको बताए । ‘यो अत्यन्तै गौरवमय क्षण हो । आजको दिन हाम्रा लागि जीवनभरको मीठो स्मरण भएर  रहिरहनेछ,’ गुनार्सनले भने, ‘हामी पक्कै पनि युरोपेली फुटबलमा सानो टोली हौं । तर, हामीलाई आफूमाथि विश्वास छ । हाम्रो विशेषता यही हो ।’

वायन रुनीले पाँच मिनेट हुन नपाउँदै पेनाल्टीमा गोल गरेर इङ्ल्यान्डलाई अग्रता दिलाए । तर, त्यसको ७५ सेकेन्ड बित्न नपाउँदै सिगर्डसनले बराबरी गोल गरे भने लगत्तै केही मिनेटमा सिग्थोर्सनले इङ्ल्यान्डका गोलकिपर जोए हार्टलाई निरीह साबित गर्दै गोल गरेपछि आइसल्यान्ड खेलमा अग्रता लिन सफल भयो ।

सानो टोलीसँग १९ मिनेटभित्र पछि परिसकेको अवस्थामा इङ्ल्यान्डसामु पुनरागमनका लागि पर्याप्त समय थियो ।  इङ्लिस टोलीमा कुनै पनि बेला खेलमा फर्किने विश्वास देखिएन । जसको जिम्मेवारी ६८ वर्षका हड्सनले लिनुप¥यो ।
‘आजको नतिजा र प्रतियोगिताबाट बाहिरिनुपर्दा म निकै निराश छु । मैले सोचेको ठाउँसम्म हामी पुग्न सकेनौं । खासमा हामी योभन्दा धेरै माथि जान सक्ने क्षमताको टोली हौं,’ हड्सनले राजीनामा पत्र पढ्ने क्रममा निराशा पोखे, ‘हामी नतिजाका लागि खेलिरहेका थियौं । अब अरु कोहीले आएर यो युवा, भोको र अति प्रतिभावान खेलाडीको समूह अगाडि बढाउने छ ।’

सोमबारको प्रदर्शन इङ्ल्यान्डका लागि ठूला प्रतियोगितामा गरेको इतिहासकै दयनीयमध्येको थियो । यसअघि १९५० को विश्वकपमा अमेरिकाको एमेच्योर टोलीसँग १–० को हार भोगेयता इङ्ल्यान्डले भोगेको यो सबैभन्दा लज्जाजनक नतिजाका रूपमा लिइएको छ ।
फिफा विश्व वरीयताक्रमको ११ औं स्थानमा रहेको इङ्ल्यान्डका गोलकिपर हार्टको अक्षम्य गल्तीमा आइसल्यान्डले दोस्रो गोल गर्न सकेको थियो । सिग्थोर्सनको प्रहार सहजै रोक्न सकिने भए पनि हार्ट त्यसमा खरो उत्रिन सकेनन् ।

‘हामीले धेरै गल्ती गरेका थियौं । त्यसका लागि यो नतिजा हकलाग्दो हो । हामी यो नतिजाबाट सिक्दै आगामी दिनमा इङ्लिस फुटबललाई त्यो जहाँ हुनुपर्ने हो त्यही ल्याउने प्रयास गर्नेछौं । अहिले हाम्रो कमजोरीका कारण इङ्लिस फुटबलको अवस्था खस्किएको छ,’ हार्टले कमजोरी स्विकारे, ‘अब आउने नयाँ प्रशिक्षकको काम निकै चुनौतीपूर्ण हुनेछ । हामीले कडा मिहिनेत गरेका थियौं तर त्यसको कुनै अर्थ रहेन । भोलिका दिनमा हाम्रो मिहिनेतभन्दा पनि मानिसले नतिजा सम्झिने हुन् ।’

विश्व वरीयताक्रमको ३४ औं स्थानको आइसल्यान्डसँग हार्दा दोषी एक्लो हार्ट पक्कै थिएनन् । ‘यो हाम्रा लागि निकै लज्जाजनक नतिजा हो । हामी राम्रो टिम हौं भन्ने हामीलाई थाहा थियो,’ इङ्ल्यान्डका कप्तान रुनीले भने, ‘तर, मैदानमा पुगेपछि हामीले त्यसलाई प्रमाणित गर्न सकेनौं । यो रोए हड्सन वा कोही एक खेलाडीको दोष होइन । हामी सबै सँगै थियौं, त्यसैले सबैले हारको पनि जिम्मेवारी लिनुपर्छ ।’
खेल सकिएलगत्तै इङ्लिस फुटबल संघ (एफए) ले हारबाट संस्था निराश भएको बताएको छ । ‘राजीनामा दिने रोए हड्सनको निर्णयको हामी समर्थन गर्छौ र अब तत्काल नयाँ प्रक्रिया सुरु हुनेछ,’ एफएले विज्ञप्तिमा भनेको छ ।

इङ्ल्यान्डका पूर्व कप्तान ग्यारी लिनेकरले सोमबारको नतिजालाई ‘इतिहासकै सबैभन्दा खराब हार’ का रूपमा लिएका छन् । ‘इङ्ल्यान्ड यस्तो देशसँग पराजित भयो, जोसँग व्यावसायिक फुटबलरभन्दा धेरै जोशिला युवामात्र थिए । आइसल्यान्डले राम्रो खेल्यो,’ लिनेकरले ट्विटर पेजमा लेखेका छन् ।

 

प्रकाशित: १५ असार २०७३ ०५:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App