८ वैशाख २०८१ शनिबार
विचार

राजकुमारीको रोग

दरवारमा एकाएक खलबली मच्चियो। किनभने खबरै खलबली मच्चिनेखालको थियो। अर्थात् दरवारका एकमात्र राजकुमारीलाई क्यान्सर रोग लागेको थाहा पाइएको रहेछ। त्यो पनि स्तनको क्यान्सर। राजकुमारीको स्तनमा क्यान्सर लागेको खबरले दरवारमा ठूलै भूकम्प ल्याइदियो। क्यान्सरको खबरले भूकम्प ल्याएको त थियो नै। तर स्तनमा क्यान्सर भनिएकाले त्यो भूकम्प नभई महाभूकम्प जस्तै भइदिएको थियो। किनभने राजकुमारीको स्तनमा क्यान्सर लागेको खबरले दरवारभित्र एकले अर्कोमाथि विभिन्न शंकामिश्रित नजरले हेर्नुपर्ने स्थितिसमेत सिर्जना गरिदिएको थियो।

'हजुरले भन्नुभयो कि यो राज्य बनाउन हजुरका पुर्खाले रगत बगाएका छन्। यदि उहाँहरूले रगत बगाउनुभएको भए हजुरलाई दूधको क्यान्सर किन भयो त? क्यान्सर पनि रगतकै हुनुपर्ने होइन र?'

जे होस्, क्यान्सरको खबरपछि तुरुन्तै भाइभारदारहरूको संकटकालीन बैठक डाकियो। बैठकमा संवादको विषय त उही थियो– राजकुमारीलाई क्यान्सर लाग्यो, अब के गर्ने? तर बैठकमा उपस्थित भारदारहरूको अन्तरमा मनोवाद भने अर्कै चलिरहेको थियो। जस्तो कि, राजकुमारीलाई क्यान्सर कसरी लाग्यो? त्यसमाथि स्तनमै क्यान्सर कसरी? यस (क्यान्सर) मा कसको हात होला? मनोवाद अर्कै भए पनि संवाद भने एउटै कुरामा केन्द्रित भयो– अब के गर्ने? गर्ने त उपचारै हो। तर गर्ने कहाँ? क्यान्सरको उपचार नेपालमा पनि हुन्छ। तर राजकुमारीको उपचार नेपालमा कसरी गर्ने? त्यो पनि स्तनको उपचार। गरी नै हाले पनि कसले गर्ने? केही तल–माथि पर्‍यो भने कसले जिम्मा लिन्छ? दरवारमा यस्तो रिस्क लिन कोही पनि तयार भएन। र, कुरा मिलाएर विदेशमै उपचार गर्ने निर्णय भयो। (किनभने केही भारदार राजकुमारीको स्तनमा क्यान्सर लाग्नुको कारण पनि विदेशमै रहेको ठान्दारहेछन्।)

तत्पश्चात तुरुन्त प्रधान मन्त्रीलाई आदेश भयो– राजकुमारीको उपचार विदेशमा गर्नुपर्ने भयो, राज्य कोषबाट मोरु एक करोडको व्यवस्था गर्नू! एक करोड? प्रधान मन्त्री अकमकिए। राजकुमारीका निजी सचिवसामु उनले बिन्ती बिसाए, 'प्रभु, यो त धेरै भयो। अलि घटाउनुपर्ला कि? निजी सचिव कड्किए, 'तपाईँको पकेटबाट खर्च मागिरहेको छैन मिस्टर पिएम। राज्य कोषबाट खर्च मागिएको हो। राज्य कोष तपाईँको पकेट होइन। खुरुक्क निकासा गर्नूस्। होइन भने राजीनामा गर्नोस्।' प्रधान मन्त्री लुत्रुक्क परे। अथवा भनौँ, ठूलो दबाबमा परे। दिउँ भने कोषको दुरुपयोग। नदिउँ भने कुर्सीको खतरा। राजकुमारीलाई चिढाएर प्रधान मन्त्री बनिरहन पनि सकिँदैन। चुनावमा जिताएको पो जनताले हो। प्रधान मन्त्री बनाएको त राजकुमारीले नै हो। अतः राजकुमारीको आदेशलाई पन्छाउनु निकै खतरनाक हुन सक्छ। फेरि उहाँलाई खर्च दिने भनेर आफ्नो खल्तीको दिनुपर्ने होइन क्या रे। राज्यको दिने हो। यत्रैसिति। दिइदिउँ। आफ्नो बाउको जाने होइन क्या रे।

तत्कालै मन्त्रिपरिषद्बाट निर्णय भयो, राजकुमारीका लागि खर्च निकासा। निकासाको निर्णय भयो। निर्णय त भयो तर निर्णय कार्यान्वयन नहुँदै प्रजाका बीच गाइँगुइँ चल्न थाल्यो। राजकुमारीको उपचारमा यति धेरै खर्च किन? विदेशमा उपचार किन? सर्वसाधारण जनताले जस्तै नेपालमै उपचार गरे पनि भइहाल्छ। आदि आदि। प्रजाका तर्फबाट भएका यस्ता गाइँगुइँले राजकुमारी झनै आक्रोशित भइन्। 'के सोचेका छन् यी प्रजाले?,' भारदारहरूको एउटा पूर्ण सभामा राजकुमारी गर्जिनुभयो– 'मलाई सर्वसाधारण प्रजासँग तुलना गर्ने? उनीहरू जहाँ उपचार गर्छन् मलाई पनि त्यहीं उपचार गर भन्ने?' कसैले केही बोलेनन्। राजकुमारीले अझ क्रुद्ध स्वरमा भनिन्– 'राज्य कोषबाट मेरो उपचार गर्न मिल्दैन रे। कसरी मिल्दैन? यो राज्य नै मेरो हो। त्यसैले राज्य कोष पनि मेरै हो। मेरो कोषबाट मैले नै खर्च लिन नमिल्ने?'

सभामा एकजना कानुन जानेका भारदार पनि रहेछन्। उनले राजकुमारीको भनाइलाई अलिकति संशोधन गर्न चाहे। भने, 'राजकुमारी साहिबा, राज्यको कोष त राज्यकै हुन्छ। त्यसलाई हाम्रो भन्न अलि मिल्दैन कि?' 'किन मिल्दैन?,' राजकुमारीको गर्जनले सभा थरर्र काम्यो, 'यो राज्य भनेको मेरै पितापुर्खाले दुःख गरी बनाएको हो। यो राज्य बनाउन मेरा पितापुर्खाले रगत पसिना बगाएका थिए। आज तिनै पुर्खाका एक सन्ततिले त्यही राज्यको कोषबाट उपचार गर्न नपाउने? के मेरा पितापुर्खाले यसैका लागि रगत बगाएका हुन्?' सभामा एउटा मुर्ख मुर्ख टाइपको भारदार पनि रहेछ। (त्यसो त मुर्ख नभई भारदार पनि हुन सकिँदैन!) आफूले कुरो नबुझेझैँ उसले प्रश्न राख्यो– 'गल्ती भए क्षमा पाउँ राजकुमारी साहिबा। मैले एउटा कुरा बुझिनँ।' 'के कुरा?' राजकुमारीले उनलाई घृणापूर्ण आँखाले हेरिन्। भारदारले आफ्नो कन्फ्युजन प्रकट गर्‍यो– 'हजुरले भन्नुभयो कि यो राज्य बनाउन हजुरका पुर्खाले रगत बगाएका छन्। यदि उहाँहरूले रगत बगाउनुभएको भए हजुरलाई दूधको क्यान्सर किन भयो त? क्यान्सर पनि रगतकै हुनुपर्ने होइन र?'

'नन्सेन्स!' राजकुमारी ठूलो स्वरले चिच्याइन्। सभा स्तब्ध भयो। सबैको मुटु टक्क रोकियो। अबचाहिँ के हुने हो? मुटु रोकिए पनि सबैको जिउ भने कामिरहेको थियो। उता राजकुमारी चिच्याइन्, यता उनको तीखो स्वरले मेरो निद्रा खुल्यो। म झसंग ब्युँझेँ। ओहो! म त सपना पो देखिरहेको रहेछु। सपना पनि कस्तो सपना? देशबाट राजतन्त्र त उहिल्यै गइसकेको हो। तर म भने अहिले पनि राजकुमारीको सपना देखिरहेको रहेछु। लाजैमर्दो!

प्रकाशित: ३ मंसिर २०७३ ०४:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App