coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
विचार

जित्ने पालो सरकारको

नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो एएफसी सोलिडारिटी कपको उपाधि जितेर एउटा सुनौलो इतिहास लेखेको छ। २३ वर्षपछि आधिकारिक अन्तर्राष्ट्रिय उपाधि जित्नुमा मात्र सोलिडारिटी कपको महत्व सीमित छैन। यो नेपालले एसियाली स्तरमा जितेको पहिलो उपाधि पनि हो। त्यसैले नेपालका लागि यसको महत्व विशेष छ।

गत वर्ष विभिन्न स्तरमा गरी तीन उपाधि उचालेको नेपालका लागि सोलिडारिटी कप लगातार चौथो उपाधि हो। पछिल्लो समय भाग लिएका सबै प्रतियोगितामा नेपाली टोली खरो उत्रन सफल भइरहेका छन्। २०७२ भदौमा सातदोबाटोमा साफ यु–१९ च्याम्पियनसिप जितेपछि फागुनमा भारतमा साग फुटबलको उपाधि जितेको थियो। सागमा २३ वर्षमुनिको टोली सहभागी हुन्छ। उमेर समूहमा दुई उपाधि जितेको नेपालले यसबीच माघमा बंगलादेशमा बंगबन्धु गोल्डकप जितेको थियो। साग र साफ यु–१९ च्याम्पियनसिप उमेर समूहका प्रतियोगिता थिए भने बंगबन्धु आधिकारिक प्रतियोगिता होइन। राष्ट्रिय टोलीले बंगबन्धुपछि सोलिडारिटी कपको उपाधि जितेर आधिकारिक ट्रफी पनि नेपाल भित्रयाइसकेको छ।

एसियाली फुटबल महासंघ (एएफसी) ले विश्वकप छनोटका लागि समेत छनोट नभएका कमजोर देशका लागि गरेको भए पनि नेपालका लागि सोलिडारिटी कपमा जितेको उपाधिको महत्व विशेष छ। आधिकारिक प्रतियोगिता हुनु यसको सबभन्दा ठूलो विशेषता हो। झन् १९९३ मा बंगलादेशमा सम्पन्न छैटौं दक्षिण एसियाली महासंघीय खेलकुद (साफ हालको साग) अन्तर्गत फुटबलमा उपाधि जितेयता नेपाल आधिकारिक अन्तर्राष्ट्रिय उपाधिबाट विमुख हुँदै आएको थियो।

फाइनलमा पुरानै प्रतिद्वन्द्वी मकाउलाई नेपालले हराउनु अपेक्षित नतिजा थियो। यसबाहेक सेमिफाइनलमा लाओस तथा समूह चरणमा ब्रुनाइलाई हराउनेमा पनि नेपाली समर्थक आशावादी थिए। समूह चरणको पहिलो खेलमा टिमोर लिस्टेसँग गोलरहित बराबरी खेल्नु भने पक्कै पनि निराशाजनक नतिजा थियो। तर कमजोर विपक्षीसँग बराबरी गर्दै सुरु भएको यात्रा उपाधि जितेर सुखद रूपमा टुंगियो।

नेपालको सफलताबाट खेलाडीलाई अझ ठूला प्रतियोगिता जित्नुपर्ने चुनौती थपिएको छ। अर्को वर्ष हुने साफ च्याम्पियनसिप नेपाली राष्ट्रिय टोलीको आगामी लक्ष्य हुनुपर्छ। पछिल्ला समयका सफलताबाट खेलाडीभन्दा पनि सरकार र अखिल नेपाल फुटबल संघ (एन्फा) माथि चुनौती बढेको छ। देशभित्र प्राकृतिक मैदानको अभावमा एस्ट्रो टर्फ (कृत्रिम मैदान) मा अभ्यास गरेको टोलीले मलेसियामा घाँसमा खेल्दा संघर्ष गर्नुपरेको थियो। सबभन्दा पहिला सरकार र एन्फाले देशभित्र खेल्ने ठाउँ व्यवस्था गर्नुपर्छ। देशमा भएको एउटै कामचलाउ दशरथ रंगशाला पनि भुइँचालोले खेल्न नमिल्ने गरी क्षतिग्रस्त बनाएको छ। घरेलु लिग नभएको दुई वर्ष भइसक्यो। खेलाडीहरु बेरोजगार अवस्थामा छन्। त्यसैले अब सरकार र एन्फाको प्राथमिकता खेल्ने राम्रा रंगशाला बनाउनुका साथै नियमितरूपमा लिग गराउनेमा हुनुपर्छ।

सरकारले सोलिडारिटी कप जित्नेबित्तिकै टोलीका प्रत्येक सदस्यलाई नगद पुरस्कारबाट सम्मान गर्ने घोषणा गरेको छ। देशको गौरव बढाउने खेलाडी पक्कै पनि यस्ता पुरस्कारका हकदार छन्। सरकारको यो घोषणा सकारात्मक प्रयास हो। तर जित्दा दिइने यस्ता पुरस्कारमात्रको भरमा नेपाली फुटबल माथि उठ्ने विश्वास लिन सकिन्न। बेरोजगारलाई माछा होइन, जाल दिनुपर्छ भनेजस्तै खेलाडीलाई पनि सीमित पुरस्कारभन्दा भविश्यको ग्यारेन्टी हुनेखालका प्याकेज सरकारका तर्फबाट ल्याइनुपर्छ। खेलाडीले आर्थिक, भौतिक तथा अन्य कुनै चिन्ताबिना खेल्ने वातावरण बन्यो भने यस्ता सफलता दीर्घकालसम्म निरन्तर आइरहनेछन्।

 

प्रकाशित: ३ मंसिर २०७३ ०५:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App