५ वैशाख २०८१ बुधबार
समाज

बाटोमै विक्री गरियो अनुदानको ७ सय क्वीन्टल नुन

कृष्ण ओली

बाजुरा- कोल्टी नुन डिपोका लागि जानु पर्ने अनुदानको खाने नुन बीच बाटोमै विक्री भएको खुलासा भएको छ। ढुवानी गरेर लैजाने क्रममाबीच बाटोमै ७ सय क्वीन्टल नुन अनधिकृतरुपमा विक्री गरेको खुलासा भएको हो।

नुन बडिमालिका नगरपालिका–९ ढम्कनेका स्थानीय व्यापारीसँग विक्री गरेको पाइएको छ। अनुदानको नुन व्यापारीले खरिद गरेर विक्री गर्न पाउँदैनन्। राज्यले तोकेको विक्री केन्द्र र डिपो बाहेक अन्य स्थानमा विक्री गर्ने अधिकार नभएको कोल्टी नुन डिपो प्रमुख धर्मराज पाध्यायले बताए।

आयोडिन युक्त पोकाको नुन नेपाल र भारत सरकारको अनुदानमा विक्री हुने गरेको छ । ढुवानी खर्च राज्यले बेहोर्ने गरेको छ । जिल्लाका २ वटा विक्री केन्द्र र २ वटा डिपोमा प्रतिकेजी ९ रुपैयाँका दरले विक्री हुने गरेको छ। तर व्यापारीले तीन गुणा बढी मूल्य असुलीका लागि ठेकेदारसँग मिलेर नुन खरिद गर्ने गरेका छन्।

अवैध विक्री गरिएको नुन ढम्कनेका स्थानीय व्यापारी प्रेम रोकायाले खरिद गरेका हुन् । बीच बाटोमा नुन विक्री गर्ने प्रावधान नै नभएको कोल्टी डिपो प्रमुख पाध्यायले बताए । कोल्टी डिपोमा यो वर्ष ४५०० सय क्वीन्टल नुनको कोटा छुट्याइएको छ । जसमध्ये हालसम्म ८१२ क्वीन्टल मात्र कोल्टी पुगेको छ । भने ९५ क्वीन्टल नुन पाण्डुसैनमा विक्रीका लागि राखिएको पाध्यायको भनाई छ।

पाण्डुसैनमा पनि विक्री गर्न पाईदैन्, तर पाण्डुसैनका स्थानीयलाई कोल्टी आएर नुन लिन उल्टो पर्ने र स्थानीयको माग र प्रशासन कार्यालयको अनुमतिमा मात्र बीचमा राख्न दिइएको बताईएको छ। तर ठेकेदर मनिराज पाण्डेले भने आफूले अवैध रुपमा विक्री नगरेको बताए।

कोल्टीका लागि पठाएको नुन ट्याक्टर चालकले बद्मासी गरेको हुनसक्ने पाण्डेको भनाई छ । कोल्टी डिपोले भने कारवाही गर्ने अधिकार आफूसँग नभएपनि बीचमा हराएको नुनको इन्ट्री नहुने भएकोले त्यसको पूर्ति स्वयम ठेकेदारले गर्नु पर्ने बताएको छ।

नुन कार्तिक २७ गते शनिबारका दिन विक्री भएको खुलेको छ। नुन खरिद गरेको व्यापारी प्रेम रोकायाले पनि स्वीकार गरेका छन्।

सहायक प्रमुख जिल्ला अधिकारी भीम बहादुर शाहीले स्थानीयको माग अनुसार नै खदिर गरिएको भए ठूलो विषय बनाउन नहुने बताए। सहजताका लागि बीचमा खरिद गरेको हुनसक्ने भन्दै शाहीले अन्यथा नहुने बरु गलत नियतका साथ अवैध रुपमा विक्रीका लागि भए छानवीन पछि कारवाही गर्ने बताए।

प्रकाशित: ३ मंसिर २०७३ ०९:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App