coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

नक्कलीको बिगबिगी

अहिले मुलुकमा केही त्यस्ता सामान पाइन्नन् जुन सक्कली होस्। बिजुलीका सामानदेखि दैनिक भान्सामा प्रयोग हुने तरकारी हुँदै औषधिसमेत नक्कलीकै छ्याप्छ्याप्ती छ। लगाउने कपडा होस् या पढ्ने पुस्तक, मुखमा लगाउने मास्क होस् वा मोटरसाइकल, सबै नक्कली सामानको बिगबिगी छ। यस्तो अवस्था यसरी मौलाएको छ कि यो सबै क्षेत्र, तप्का र वर्गसम्म झांगिन सकेको छ। यसको पहुँच नपुगेको ठाउँ नै छैन। त्यसैले यतिबेला सोझै भन्नुपर्दा नेपाली जनता नक्कलीको चक्रब्यूहमा फसेका छन्– प्रयोग गर्नुपर्ने बाध्यता तर छुट्याउन नसकिने अवस्था।

भारतले नाकाबन्दी लगाएयता त नक्कलीको धाक रवाफ झनै बढेको छ। पेट्रोलदेखि नूनसम्म नक्कली भित्रन थालेका छन्। बच्चाका खेलौनादेखि ठूलाका लागि चाहिने औषधिसमेत नक्कली भेटिन थालेको छ। औषधिले डाक्टर भनेअनुसार काम गर्न नसक्नुको मुख्य कारणमध्ये यो पनि एउटा हो। त्यसैले त नेपालीहरु यतिबेला नक्कलीलाई आफ्नो पसिनाको कमाइ तिर्नमै ब्यस्त छन्। औंसीमा लाएर पूर्णेमा फाट्ने कपडादेखि ल्याएकै भोलिपल्ट बिग्रेर हैरान हुने साइकल हुँदै जडान गरेकै बेलादेखि उल्टो घुम्ने पंखा र लगेकै बेलादेखि झ्यारझ्यार झरी पार्ने टेलिभिजन पनि नेपालीका लागि सामान्य विषय भइसकेका छन्।

तर पनि यसलाई नियन्त्रण गर्ने, रेखदेख गर्ने र कारबाही गर्नुपर्ने सरकारी निकाय मौन छ। हजारमा किनिएको एउटा इलेक्ट्रिक कित्ली भोलिपल्टैदेखि काम नगर्ने अवस्थामा पुगेपछि त्यसको बिक्रेतालाई कारबाही हुनुपर्छ कि पर्दैन? ल्याएकै दिनदेखि कृत्रिम झरी पार्ने टेलिभिजन बिक्रेता सजायको भागिदार हुनुपर्छ कि पर्दैन? के सबै नागरिकले सबै विषयमा जानेका हुन्छन् र? उनीहरुले विश्वास गरेर किन्ने न हो। यसरी विश्वास भत्काउनेलाई कारबाही गर्नुपर्छ कि पर्दैन? तर सरकारी निकायले यस्तालाई कारबाही गरेको हालसम्म सुनिएको छैन। जसले सरकारप्रति पनि जनताको भरोसा मर्दै गएको प्रतीत हुन्छ।

पक्कै हो, यस्ता सामान बेच्दा बिक्रेताले कमिसन बढी पाउँछ। उपभोक्ताले पनि एकाध रुपियाँ सस्तो पाउला। तर कामै नलाग्ने भएपछि सस्तोले के गर्छ? यस विषयमा जनतालाई जानकारी दिने काम राज्यको हो कि होइन? तर न राज्य न त उपभोक्ताहरुकै संस्था, आजसम्म पनि कसैले यस्ता विषयमा सर्वसाधारणलाई जानकारी दिएका देखिन्न। त्यसैले उपभोक्ता ठगिने क्रम निरन्तर जारी छ। यो क्रम कहिलेसम्म चल्छ भन्ने जानकारी पनि छैन कसैलाई। यस्तो अवस्थामा दरिलो उपभोक्ता आवाज नउठ्ने हो भने हामी सधैँ ठगिइरहनुपर्ने अवस्था कायमै रहने निश्चित छ। यो अवस्था सरकार सञ्चालन गर्नेका लागि पनि सुखद् हुन सक्दैन किनकि ताली एक हातले मात्र बज्दैन भन्ने कुरा जगजाहेर नै छ।

कुनै पनि देशको सरकारको काम भनेको आफ्ना जनतालाई चौतर्फी सुरक्षा दिनु पनि हो। उनीहरुलाई ठगिनबाट बचाउने जिम्मेवारी यस अर्थमा राज्यको पनि हो। तर हामी यस्ता अभागी जनतामा पर्छौं जो कहिल्यै पनि राज्यको माया ममता त परै जाओस्, यस्ता अत्यावश्यकीय संरक्षणका कार्यबाट पनि वञ्चित रहन बाध्य छौँ। यस्तो अवस्थामा हामीले सरकारप्रति किन गर्व गर्ने? सरकारलाई किन आफ्नो ठान्ने? किन मुलुकमा सरकार छ भन्ने ठान्नुपर्ने? यी यस्ता प्रश्न हुन् जसले सरकार र जनताबीचको दूरी क्रमशः बढाउँदै लगिरहेको छ। त्यसैले सरकारले आफ्ना नागरिकलाई आफ्नो महत्व महसुस गराउन सक्नुपर्छ। त्यसका लागि आफूले गर्नुपर्ने दायित्व निर्वाह गरे पुग्छ। खान त दश नंग्रा खियाएर भए पनि खाइहालेका छन् नि आफैँ जनताले।

प्रकाशित: ५ मंसिर २०७३ ०२:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App