४ वैशाख २०८१ मंगलबार
विचार

केटाकेटीको स्वतन्त्रता

विद्यालय शिक्षाको विकासमा शिक्षक, अभिभावक र विद्यार्थीको त्रिकोणात्मक सम्बन्धको ठूलो भूमिका छ । यी तीन अंगको आपसी सम्बन्ध राम्रो रह्यो भनेमात्र विद्यालय शिक्षा गुणस्तरीय बन्दै जाने हुन्छ । साथै सरकारी नीति नियम पनि कार्यान्वयन हुँदै जान्छ, जसका आधारमा सबैका लागि समान शिक्षाको पहुँच छुन सक्छ । हाम्रो समाजमा असमानता धेरै छन् । जातजाति, भाषा, भाषी भौगोलिक, सामाजिक आदि असमानताले शैक्षिक पक्षमा होस्, रोजगारीको क्षेत्रमा होस् वा राष्ट्रिय उत्पादनको वितरणमा किन नहोस् यसले गहिरो प्रभाव पार्दै आएको छ । यस्ता भेदभावले गर्दा कैयौं बालमनोविज्ञानमा प्रतिकूल असर परिरहेको छ । ती बालबालिका शिक्षाको उज्यालो घामबाट वञ्चित हुन पुगेका छन् । हाम्रा अधिकांश विद्यालयको अवस्था दयनीय छ, त्यहाँ विषयगत शिक्षक छैनन्, विद्यार्थी अनुपात शिक्षक छैनन्, नियमित अनुगमन हुँदैन, खाली लापरबाही छ । जसका कारण शिक्षाको उचित व्यवस्था हुन सकेको छैन ।

विद्यार्थीलाई दण्ड होइन पुरस्कार, डर होइन मायालु वातावरण जरुरी छ । यसरी सिक्ने÷सिकाउने प्रक्रियालाई सक्रिय बनाइ अघि बढाउन सक्ने शिक्षक चाहिएको छ ।

अहिले सामुदायिक विद्यालयको गुणस्तर खस्कँदो छ । त्यहाँ प्रतिदिन विद्यार्थी संख्या घट्दो छ । सरकारी लगानी बढाएको छ भने पनि त्यसको खासै प्रतिफल देखिँदैन । सरकारी लगानी केवल शिक्षकको तलव भत्तामा मात्र सीमित छ । विद्यालयको भौतिक र शैक्षिक गुणस्तरमा खासै चासो सम्बन्धित निकायको देखिँदैन । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्कनुमा शैक्षिक क्षेत्रसित सम्बन्धित शिक्षक विद्यार्थी, अभिभावक, नीति निर्माता, कर्मचारी सबैको उत्तिकै दायित्व छ ।

खाली शिक्षकलाई मात्र गाली गरेर पुग्दैन । यसमा सबै पक्षको सकारात्मक भूमिकाको जरुरी छ । शिक्षकको प्रवृत्ति सरकारी नीतिनियमको कार्यान्वयन, शैक्षिक वातावरण र स्थानीय समुदायको सहयोग नभई विद्यालय शिक्षा अघि बढ्न सक्तैन ।
अन्य क्षेत्रमा झैँ शिक्षामा पनि अरुलाई दोष थोपरेर र आफू चोखो बन्न खोज्ने प्रवृत्ति बढी छ । सरकारी नीति नियमका कारण विद्यालयले विकास नगरेको हो भन्ने शिक्षक र अभिभावकको गुनासो छ । गुनासो आफ्ना ठाउँमा ठीक होला । तर विद्यालयलाई स्थानीय तहमा अघि बढाउन र सबैको सहयोग र सद्भावना बटुलेर नयाँ ढंगले अगाडि बढ्न कुनै सरकारी नियमले बाधा ढाल्दैन । सरकारले शिक्षकको सेवासुविधा र स्तर निर्धारण गरी दिएको अनुदानका अलावा स्थानीय स्रोत साधनबाट अतिरिक्त सेवा सुविधा दिन स्थानीय व्यवस्थापन समितिलाई स्वतन्त्रता प्रदान गरेकै छ ।

यसरी विद्यालय तहबाटै आवश्यक कार्यक्रम र योजना बनाएर अगाडि बढेका कतिपय विद्यालयले सफलता हासिल गर्दै आएका पनि छन् । कतिपय विद्यालयले आफ्नो वार्षिक कार्यतालिका पनि झारा टार्ने ढंगले बनाएका छन, वा बनाएकै छैनन् । बिनायोजना विद्यालय चलाएर बस्नेहरु नै अरुलाई दोष दिएर पार खोज्दैछन् । यस्ता विद्यालयमा शिक्षक–शिक्षकबीच तालमेल देखिँदैन । त्यहाँ आपसी बेमेल छ । कक्षा कोठामा तयारी गरेर पढाउन जाने चलन छैन । शिक्षकभन्दा विद्यार्थी विभिन्न सूचना सामग्रीप्रति जानकारी लिन उत्सुक हुन्छन् । शिक्षक अझै पुरानै ढंगले पढाउँछन् भने यस्तो शिक्षण प्रक्रियाबाट बालकलाई स्वस्थ, सक्षम र सवल कसरी बनाउने ? यस्तो शिक्षाले बालक आत्मविश्वासी र सिर्जनशील कसरी हुने ? समग्रमा भन्नुपर्दा मानिसको मस्तिष्कले के सोच्छ भन्ने कुरा समय र परिस्थितिअनुसार बदलिन्छ तर कसरी सोच्छ भन्ने कुरा उसको बाल्यावस्थाको शिक्षामा निर्भर गर्छ । यसर्थ विद्यालयले बालमैत्री र सहभागितामूलक शिक्षण पद्धति अपनाउनुपर्छ । विद्यार्थीलाई दण्ड होइन पुरस्कार, डर होइन मायालु वातावरण जरुरी छ । यसरी सिक्ने÷सिकाउने प्रक्रियालाई सक्रिय बनाइ अघि बढाउन सक्ने शिक्षक चाहिएको छ ।

बालबालिकाको मनमा कुनै किसिमको शारीरिक, मानसिक तथा संवेगात्मक भय, डर र त्रास आउने कार्य गरिनुहँुदैन । भय, डर र त्रास बालकका मनमा पस्यो भने कक्षाकोठाको सिकाइ वातावरणमा ठूलो असर पर्न गई बालबालिकाको मनस्थिति विक्षिप्त बन्न पुग्छ ।  विद्यार्थीलाई डर देखाएर शिक्षकले पढाउन चाहेमा त्यो क्षणिक र प्रभावहीन बन्न गई केटाकेटी निरुत्साहित हुन पुग्छन् । बालबालिकालाई उत्साह जगाउन बस्ने ठाउँ, सिक्ने प्रक्रियामा पनि फेरबदल गरिनु उपयुक्त हुन्छ । बस्ने कोठाभित्रको ठाउँ होस् वा कक्षाभित्र मात्र राखी पढाउने प्रक्रिया किन नहोस्, शिक्षकले कक्षाकोठा बाहिर देखाउने पायक पर्ने नदी, जंगल, बजार, धार्मिक तथा ऐतिहासिक स्थलको अवलोकन गराई अध्ययन गर्ने÷गराउने कार्यले पनि विद्यार्थीमा उत्साह र जागर बढाउँछ । यसपछि बालबालिकाको अनुभव साटासाट गराउने काम पनि शिक्षकले गराउनुपर्छ । सिकाउने प्रक्रियालाई मजबुत गराउन शिक्षकले धेरै कुरामा ख्याल गर्नुपर्छ । बालबालिकाको चाहना र विचार बुझ्ने प्रयत्न गरिनुपर्छ । कक्षामा राम्रो गर्ने बालबालिकालाई हौसला, प्रोत्साहन स्याबासी दिनुपर्छ । यस्ता गतिविधि अपनाउँदा सबैमा आन्तरिक उत्प्रेरणा जाग्ने वातावरण बन्छ । शिक्षकले राम्रो ख्याल राख्न नसकेमा परनिर्भरतातर्फ उन्मुख हुने आत्माग्लानिको स्थिति पनि उत्पन्न हुन सक्छ । यसर्थ शिक्षकले हरआफ्ना व्यवहारप्रति सतर्कता अपनाउनु जरुरी छ ।

तर वर्तमान शिक्षाको सोचमा फरक धारणा आएको छ । बाल्यावस्था निर्धक्क भएर रुख चढने, हामफाल्ने, कुर्सीमा बस्नेलगायत हर गतिविधिलाई क्षम्य मानिनुपर्ने धारणा राख्न थालिएको छ । अहिले पनि हाम्रा कतिपय शिक्षक वा अभिभावक आफ्ना केटाकेटी सक्रिय भएको भन्दा चूपचाप एक ठाउँमा बसिरहेको, जिज्ञासु भई अभिव्यक्त गर्ने भन्दा कम बोल्ने गरेको मन पराउँछन् । यसरी तिनका जिज्ञासालाई हतोत्साह गराइन्छ । यसले गर्दा तिनमा उब्जने अनगिन्ती उत्सुकता मरेर जान्छ भन्ने कुरा ख्याल गरिँदैन ।

 

प्रकाशित: ८ मंसिर २०७३ ०६:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App