६ वैशाख २०८१ बिहीबार
अर्थ

महिला कामदार लेबनान लान भारतीय बाटो

झापा- दैनिक हजारौंको ओहोरदोहोर चल्ने पूर्वी नाका काँकडभिट्टामा अघिल्लो सोमबार दुईजना महिला भारतीय भूमितिर जान रिक्सा चढे। नाकामै खटिएका प्रहरी र माइती नेपालका स्वयंसेवकको नजरमा रहेका उनीहरुलाई सोधियो, 'कता जान लाग्नुभएको?' जवाफमा उनीहरुले आफन्त भेट्न सिक्किम हिँडेको जवाफ दिए। टोलीले फेरि सोध्यो, 'सिक्किम जान त नेपाली नागरिकता देखाउनुपर्छ, बोक्नुभएको छ?' उनीहरुले 'नागरिकता पछाडि दाईले बोक्नुभएको' जवाफ दिए।

उनीहरुको यस्तो भनाइले माइती नेपालको टोली सशंकित बन्यो। रिक्साबाट ओरालेर नजिकै रहेको आफ्नो कक्षमा पुर्‍याएर थप सोधखोज सुरु भयो। सुरुमा आफन्त भेट्न जान लागेको बताउने उदयपुरका उनीहरुले विस्तारै कुरा खोले, 'हामी काम गर्न लेबनान जान लागेका हौं। यसरी रोकेर हामीलाई दुःख नदिनुस्।' आश्चर्य त के भने लेबनान जान भनेर हिँडेका उनीहरुसँग झोलामा आफ्नो फेरफार गर्ने कपडाबाहेक केही थिएन। कागजात त धेरै परको कुरा, नागरिकताधरी थिएन।

'हामीलाई विदेश पठाउने मान्छेले कागजात बोकेको छ,' उनीहरुको जवाफ हुन्थ्यो। यसरी शंकास्पद रुपमा हिँडेका उनीहरुलाई माइती नेपालले अघि बढ्न दिएन। पछि माइती नेपालले परिवारमा बु‰दा थाहा भयो, उनीहरु परिवारको स्वीकृतिबेगरै हिँडेका रहेछन्। परिवारलाई जानकारी नदिई र कागजपत्रबेगरै अवैध बाटो हुँदै हिँडेका उनीहरु साँच्चै लेबनान पुग्थे त? उत्तर सहज छैन। किनभने, पछिल्लो समयमा मानव बेचबिखन धन्दा चलाउने दलालका लागि  वैदेशिक रोजगारी नै सबैभन्दा सजिलो बहाना बनेको छ।

वैदेशिक रोजागरीप्रति गाउँ–गाउँमा बढेको आकर्षणबारे भलिभाँती जानकार दलालले त्यही बहानामा धेरै बेरोजगार महिलालाई फसाइरहेका छन्। बेरोजगारी, पारिवारिक तनाव र बेमेल, घरेलु हिंसा जस्ता पीडामा रुमल्लिएका महिला मात्रै होइन, तत्कालै पैसा कमाइहाल्ने महŒवाकांक्षा बोकेका शिक्षित युवतीलाई पनि दलालले विदेशकै बहानामा सीमा कटाइरहेका छन्। जसमध्ये धेरै विदेशमा निकृष्ट श्रममा बन्धक बनेका छन्। कोही तनाव र यातनाका कारण मृत्युवरण गरिरहेका छन्।

मानव तथा चेलीबेटी बेचबिखन विरुद्ध लामो समयदेखि सक्रिय संघ–संस्थाका अनुसार दलालले वैदेशिक रोजगारीका नाममा सुरु गराउने विदेश यात्रा अन्ततः मानव बेचबिखनमा रुपान्तरण हुने गरेको छ। केही दिनअघि राजधानीमा श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीमा घरेलु महिला कामदार पठाउने निर्देशिका उपर छलफल गर्न आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताले वैदेशिक रोजगारीमा गएकाहरु बेचिने घटना बढिरहेको भन्दै चिन्ता व्यक्त गरेका थिए। लामो समयदेखि मानव तथा चेलीबेटी बेचबिखनविरुद्ध काम गरिरहेको माइती नेपालका अनुसार वैदेशिक रोजगारीमा जान सरकारले प्रतिबन्ध लगाएका ठाउँमा जाने र त्यसका लागि बाटो पनि अवैध रोज्ने सबैजसो बेचिने गरेका छन्।

माइती नेपाल पूर्वाञ्चल क्षेत्रीय कार्यालयका अनुसार सन् २०१६ को जनवरीयता पूर्वी नाका हुँदै बिदेसिन लागेका २ सय ६३ जनालाई नाकामा रोकेर आफन्तको जिम्मा लगाइएको छ। 'यसमध्ये ६० देखि ७५ प्रतिशतलाई वैदेशिक रोजागरीका लागि भन्दै दलालले लिएर हिँडेका थिए,’ कार्यालयका परामर्शदाता हेमन्ता बुढाथोकी भन्छिन्, 'काँकडभिट्टा नाका भएर दलालले भारतीय भूमि हुँदै विदेश लैजाने गरेका छन्। तर, सरकारले भारतीय भूमि हुँदै महिलालाई वैदेशिक रोजगारीका लागि खाडी लैजान निषेध गरेको छ। फेरि उनीहरु कोहीसँग केही कागजात थिएन।’ कार्यालयले यस अवधिमा रोजगारीका लागि भन्दै बेचिन पुगेका ५ जनालाई उद्धार गरेको जनाएको छ। यो तथ्यांकले वैदेशिक रोजगारीलाई दलालले आफ्नो धन्दा चलाउने माध्यम बनाउने गरेको पुष्टि गर्छ। विभिन्न प्रलोभनमा फसेका महिला उनीहरुको धन्दाको सिकार बनिरहेका छन्।

काँकडभिट्टा नाकालाई दलालले ट्रान्जिट प्वाइन्ट बनाएको धेरै भइसकेको छ। सजिलै भारतीय भूमिसम्म पुगिने र यताबाट अघि बढ्न सजिलो हुने भएपछि अधिकांश दलालले महिलालाई मात्रै रिक्सामा पारी पठाउने गरेका छन्। त्यस्तो गतिविधि नियन्त्रण र निस्तेज पार्न स्थानीय प्रहरी प्रशासन, माइती नेपाल, साना हात, विश्व सेवा विस्तार लगायत आधा दर्जन संघ–संस्था नाकामा क्रियाशील छन्।

प्रहरी प्रशासन र मानव तथा चेलीबेटी बेचबिखनविरुद्ध लामो समयदेखि सक्रिय संघ–संस्थाले गतिविधि निगरानी गर्नाले धेरैलाई उद्धार गर्न सफल भएको माइती नेपालका पूर्वाञ्चल क्षेत्रीय संयोजक गोविन्द घिमिरे बताउँछन्।

स्वदेशमा बढ्दो बेरोजगारी तथा अशिक्षा र जनचेतनाको कमी लगायत कारण दलालको आर्थिक प्रलोभनमा परेर धेरै महिला असुरक्षित रुपमा बिदेसिने गरेको उनको भनाइ छ।  सुरुमा वैदेशिक रोजागारीका लागि भनेपछि फुरुंग हुने तर पछि दलालले बिक्री गरेर हिँडेपछि मात्र धेरैजनाले आफू बेचिएको थाहा पाउने गरेको घिमिरे बताउँछन्। वैदेशिक रोजगारीको आडमा मानव तस्करी फस्टाउँदा समस्या बढ्ने गरेको छ। वैदेशिक रोजगारीमा गएका महिला जोखिममा पर्ने गरेको उनी बताउँछन्। 

घरेलु कामदारको रुपमा जाने महिलालाई रोकेर अहिलेको समस्या समाधान नहुने बताउँदै  घिमिरेले भने, 'यसले विकराल रुप लिइरहेको छ। जबसम्म महिलालाई आत्मनिर्भर र व्यावसायिक बनाइँदैन, अवैधानिक काम र बाटो बन्द हुँदैन। यस्ता घटना भइरहन्छन्।’

आठ महिनाअघिदेखि नाकामा रहेर मानव तथा चेलीबेटी बेचबिखनविरुद्ध काम गरिरहेको विश्व सेवा विस्तार संस्थाले स्थापना भएदेखि अहिलेसम्म २ सय ९५ जनालाई नाकामा रोकेर आफन्तको जिम्मा लगाएको छ। त्यसमा ९५ प्रतिशत वैदेशिक रोजागरीका लागि हिँडेका थिए। 'अधिकांश वैदेशिक राजगारका लागि हिँडेका बेचिएका छन्,’ संस्थाका बोर्डर इन्चार्ज उमेश लामाले भने, 'घरेलु कामदारका लागि भन्दै बिहार पुर्‍याएर बेचिएकी एक महिलाको भारतमा रहेका यस्तै संघ–संस्था प्रहरीसँग समन्वय गरी उद्धार गरिएको घटना ताजै छ।’

वैदेशिक रोजगारीका लागि भन्दै सिन्धुपाल्चोकका दुई महिलालाई दिल्ली लिएर हिँडेकी एक महिला एजेन्टलाई संस्थाले तत्काल पक्राउ गरेको थियो। अझ घरेलु कामदारका लागि भन्दै महिलालाई खाडी मुलुक पठाउँदा धेरै ठूलो जोखिम रहेको लामाको भनाइ छ। अनुसन्धानका क्रममा एजेन्ट दोषी देखिएपछि उनी अहिले जिल्ला कारागार झापामा बन्दी जीवन बिताइरहेकी छन्।

वैदेशिक रोजगारीका नाममा मानव तस्करी बढेको तथा यसले पारिवारिक बिखण्डन र बालबालिकाको भविष्यको कुनै टुंगो नहुने बताउँछन् अधिकारकर्मी  हेमकुमार खड्का। पछिल्लो समय वैदेशिक रोजगार ऐनको दुरुपयोग भएको उनको भनाइ छ। घरेलु कामदारको रुपमा जाने महिलालाई  सुरक्षा प्रदान गर्न नसकेका कारण पनि यस्तो समस्या आउने गरेको छ। वैदेशिक रोजगार ऐन २०६४ मा कुनै इजाजतवाला संस्थाले कुनै कामदारसँग एउटा कम्पनीमा काम गर्न भनी करार गरी सोभन्दा कम पारिश्रमिक र सुविधा पाउने गरी काममा लगाए त्यो दण्डनीय हुने उल्लेख छ। त्यस्तै  कामको प्रकृति नै फरक पारी अर्काे कम्पनीमा काम लगाएमा वा जुन कामको लागि विदेश पठाएको हो सो काममा नलगाई अर्काे काममा लगाउनु पनि दण्डनीय हुने व्यवस्था छ। यसो गरेको पाइएमा एक लाख रुपैयाँ जरिवाना गराउने र पारिश्रमिक तथा सुविधा कम दिएको हो सो रकम विभागले इजाजतवालाबाट कामदारलाई भराइदिने व्यवस्था गरिएको छ। यसरी अवैध रुपमा बिदेसिएकाहरुले भने यस्तो ऐनबाट सुरक्षा पाउन सकेका छैनन्।

असोज अन्तिममा मात्रै अवैध रुपमा लेबनान गएकी झापा धाइजनकी अञ्जु दर्जीको मृत्यु भयो। उनको शव ल्याउन नै तीन साताभन्दा बढी लाग्यो। 'वैदेशिक रोजगारीको नाममा धेरै महिलाले ठूलो यातना पाएका छन्, धेरैले जीवन गुमाएका छन्,' माइती नेपालका घिमिरे भन्छन्, 'यो ठूलो राष्ट्रिय चुनौती हो।'

प्रकाशित: ९ मंसिर २०७३ ०४:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App