५ वैशाख २०८१ बुधबार
समाज

नेपालको अवस्था ‘झन् नाजुक'

काठमाडौं- एक अमेरिकी संस्थाले जारी गरेको नाजुक देशको सूचीमा नेपाल ३३ औं स्थानमा परेको छ। पिस फन्डले आर्थिक, सामाजिक, राजनीतिकलगायत शीर्षकमा गरेको अध्ययनपछि जारी गर्ने सूचीमा नेपाल अघिल्लो वर्षभन्दा ६ अंकले खस्किएको हो। अघिल्लो वर्ष नेपाल ३६ औं स्थानमा थियो।

फन्डले १२ वटा सूचकांकमा गरेको अध्ययनमा १ सय २० अंकमा नेपालले ९२.२ अंक प्राप्त गरेको छ। सूचकांकमा जनसंख्याको चाप, शरणार्थी तथा आन्तरिक विस्थापित, आर्थिक तथा गरिबीको अवस्था, सम्भ्रान्तको हालीमुहाली, राज्यको वैधानिकता, सार्वजनिक सेवा, सुरक्षा अवस्था, मानवअधिकार, असमान विकास, बाह्य शक्तिको दबाबजस्ता विषय रहेका छन्। सन् २०१५ जनवरीदेखि डिसेम्बरसम्मको विभिन्न गतिविधिका आधारमा सूची तयार पारिएको पिस फन्डले जनाएको छ।

दक्षिण एसियामा अफिगानिस्तान नवौं स्थानमा छ भने पाकिस्तान १४ औं, बंगलादेश ३६ औं, श्रीलंका ४३ औं, भारत ७० औं, भुटान ७८ औं स्थानमा रहेको र दक्षिण एसियामा सबैभन्दा पुछारमा  माल्दिभ्स ९१ औं स्थानमा छ।

१ सय ७८ वटा देशको अवस्थाअनुसार ११ वटा वर्ग राखिएको छ। सूचीको शीर्ष स्थानमा युद्धग्रस्त अफ्रिकी मुलुक सोमालिया छ। सोमालियासँगै ८ वटा देश छन्।

सबैभन्दा पुछारमा रहेको फिनल्यान्डलाई अति नै दिगो देश भनिएको छ। नर्वे १७७ औं, न्युजिल्यान्ड १७६ औं, डेनमार्क १७५ औं र स्विट्जरल्यान्ड १७४ औं स्थानमा छन्।

 

प्रकाशित: १६ असार २०७३ ०२:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App