coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

सेंठ रामदेव

बाबा रामदेव यसपालि नेपालीलाई व्यापार सिकाउन आउनुभएको छ। पहिले-पहिले उहाँ योग सिकाउन आउनुहुन्थ्यो। यसपाली व्यापार सिकाउन आउनुभयो। अस्ति नेपाली व्यापारीहरूका माझ उहाँले व्यापारका विभिन्न आसन सिकाउनुभयो।

(उद्योग व्यापारमा नेपाल कति पछाडि परिसकेको रहेछ हेर्नोस्। अब हाम्रा उद्योगपतिहरू एउटा जोगीसँग उद्योग र व्यापारको शैली सिक्नुपर्ने अवस्थामा आइपुगेका छन्।)

योग सिकाउने एउटा योग गुरु नेपालमा उद्योग चलाउन  आएको देखेर मानिस चकित छन्। भारतले नेपालमा लगानी गर्छु त भन्ने गर्थ्यो। तर लगानीको लागि पठाइदियो एउटा जोगी। भारतले नेपालमा लगानी गर्छु भनेकाले म त सोच्दै थिएँ अब मुकेश अम्बानी अथवा रतन टाटा अथवा विरलामध्ये कोही आउँछ होला। तर आइरहेछ एउटा गेरुवस्त्रधारी जोगी। नेपालमा लगानी गर्न भारतको एउटा जोगी नै काफी छ भन्ने देखाउन पो यसो गरेको हो कि?

अहिले त पूरा विश्व नै व्यापार वाणिज्यमा चल्न थालिसकेको छ। भारतले यसमा यति धेरै विकास गरेको छ कि अब जोगीहरूसमेत कमण्डलुको सट्टा सुटकेश बोकेर हिँड्ने भइसके। बाबा रामदेवले नेपालमा लगानी गर्छु भनेपछि मैले पशुपतिका एउटा बाबालाई सोधँ, 'बाबा, भारतले त धेरै तरक्की गरिसकेको रहेछ। अब त त्यहाँका जोगीहरू समेत नेपालमा लगानी गर्न सक्ने भइसके हगि?'

उनले भने, 'यसमा इर्ष्या नगर। बरु यसबाट केही सिक। नेपाली जोगी र भारतीय जोगीको फरकै यही हो। भारतीय जोगीहरू धमाधम उद्योग/व्यवसायतिर लागिरहेका छन्। नेपाली जोगीहरू धमाधम राजनीतितिर लागिरहेका छन्। जोगीको काम भनेको माग्ने हो। अब देशै जोगीहरूले चलाएपछि देशले माग्नेबाहेक अरु के काम गर्ला? नेपालले जतिबेला पनि जुनसुकै देशसँग जे पनि मागिरहने कारणै यही हो।'

पशुपतिवाला जोगी बाबाको कुरा गहन लाग्यो। कतै उहाँ पनि जमानामा राजनीतिक नेतै पो हुनुहुन्थ्यो कि? मैले सोधेँ, 'कुरा त राम्रै गर्नुभयो तपाईँले। कतै तपाईँ पनि पहिले राजनेता नै हुनुहुथ्यो कि क्या हो बाबाजी?'

'नेता होइन, म उद्योगपति थिएँ,' बाबाजीले भने।

'उद्योगपति? अनि उद्योगपति मान्छे यो पशुपतिको मसानमा किन नि?' मैले आश्चर्य प्रकट गरेँ।

'नेपालमा उद्योग खोल्नेहरू सबैको अन्तिममा हुने यही हो,' बाबाले भने, 'मेरो पनि यही भयो।'

'तर कसरी?' मेरो आश्चर्य अझ बढ्यो।

'हेर्नोस्, अन्तिममा जोगी हुने हो भने मात्रै नेपालमा उद्योग खोल्ने हो,' उनले खुइय्य गरे, 'मेरो पनि उद्योग त ठूलै थियो। तर के गर्ने, चुनाव आयो कि पार्टीहरूलाई चन्दा दिँदा दिँदा हैरान। बैंकबाट लोन लिएर भए पनि चन्दा दिनुपर्ने। नदिए कारखानामा आगो लाइदिने। उता हरेक महिना मजदूर हड्ताल। बजारमा सिजन सुरु भयो कि कारखानामा मजदूरको हड्ताल पनि सुरु हुन्छ। सिजन सकियो कि हड्ताल पनि सकिन्छ। बजारमा सामान बेच्न गाह्रो। बेचिसकेपछि पैसा उठाउन गाह्रो। केही नलागेर उद्योग बन्द गरेँ। त्यसपछि जाने बाटो यही जोगीपथ मात्रै हो।'

'तर बाबा रामदेव त यति हुँदाहुँदै पनि उद्योग खोल्न यतै आइरहनुभएको छ। के उहाँलाई यो खतरा थाहा छैन होला?' मैले मनको जिज्ञासा प्रकट गरेँ।

'अरे, उहाँ त अलरेडी जोगी हुनुहुन्छ,' बाबाजीले भने, 'जोगीलाई फेरि जोगी हुनुपर्ला भन्ने के को डर?'

'तर तपार्इँलाई एउटा कुरा थाहा छ?' बाबाजीले मेरो कानसम्म आएर भने।

'के कुरा?' मैले पनि फुसफुस आवाजमा सोधेँ।

'रामदेव त वास्तवमा जोगी होइन नि, उहाँ मूलतः एक व्यापारी नै हुनुहुन्छ।' उनले आफ्नो लामो लामो दारी सुमसुम्याउँदै भने।

'हो र? तर उहाँ त सबैतिर योगा गुरु भनेर चिनिनुहुन्छ त।'

'अरे योगा त उहाँको पार्ट टाइम हो,' बाबाजीले आँखा घुमाउँदै भने, 'खासमा उहाँ व्यापारी नै हुनहुन्छ। तर उहाँ कति ठूलो व्यापारी हुनुहुन्छ भने उहाँले आफ्नो पार्ट टाइमवाला योगालाई समेत बजारमा बेच्ने काम गर्नुभयो। व्यापारमा सफल भएपछि उद्योगमा हात हाल्नुभयो। अहिले उहाँको उद्योगमा बिस्कुट, चाउचाउ, साबुन, सैम्पुको साथसाथै योगा पनि उत्पादन हुन्छ। भनौँ न, उहाँले योगाकै उद्योग खोल्नुभएको छ। योगालाई औद्योगिकीकरण गर्ने उहाँ पहिलो उद्योगपति हुनुहुन्छ।'

कुरा सुनेर म छक्क परेँ। मेरो छक्क टुंगिएकै थिएन, बाबा अन्तिम विचार प्रकट गर्दै हिँडे, 'अब हेर्दै जानूस् केही समयपछि उहाँ बाबा रामदेव होइन, सेंठ रामदेव हुनेवाला छ।' 

सेंठ रामदेव? कुरा अनौठो लाग्यो। भारतका जोगीहरू धमाधम उद्योगपति बन्दैछन्। नेपालका उद्योगपतिहरू धमाधम जोगी बन्दैछन्। नयाँ नेपालमा हुनेचैं यही हो कि क्या हो! 

प्रकाशित: १० मंसिर २०७३ ०३:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App