८ वैशाख २०८१ शनिबार
विचार

अग्निबीज डा. गोविन्द

अचेल हामी नेपालीका निम्ति दुस्वप्नहरूको कुनै कमी छैन। निदाएको बेलामा मात्रै हैन, आँखा चिम्लिएको बेलामात्रै पनि हैन, आँखा ट्वाल्लै पारिरहेको बेला पनि दुस्वप्नहरूले घेरिरहेका हुन्छन्, हामीलाई तर्साइरहेका हुन्छन्। ती असंख्य दुस्वप्नमध्ये पनि दुइटा अत्यन्त नराम्रा सपनाले केही दिनयता लगातार ऐंठन भइरहेको छ। एउटा सपनामा यो देश एउटा सिंगो राष्ट्रका रूपमा रहिरहने आधारहरू झन्झन् कमजोर हुँदै, मक्किँदै खिइँदै गइरहेको देखिन्छ। अर्को सपनामा देशलाई औधि माया गर्ने थोरै साधुमध्येका एक डा. गोविन्दको प्राण नधानिने डर देखिन्छ।

यी दुवै दुस्वप्नका कारक दुई भयानक राक्षसहरू छन्। तिनले सपनामा पनि विपनामा पनि नेपाली मनलाई तर्साएका तर्सायै छन्– एक, भ्रष्टाचार। र, दुई परनिर्भरता! यी जुम्ल्याहा दानव एकअर्कासँग अनन्यरूपमा जोडिएका छन्, अन्तरनिर्भर छन्, एकअर्कालाई प्रोत्साहन गर्दै शक्तिकृत गर्दै, मलजल गर्दै ‰याँगिँदै छन्। यो राष्ट्रलाई जोगाउने हो भने यिनै दुई प्रवृत्तिका विरुद्ध लडाइँ सुरु नगरी हुँदैन। त्यो लडाइँ नजिते देशै रहने छैन। तर, यस्तो लाग्छ, गोविन्द केसीको कमजोर शरीरमा भएको एउटा ज्याद्रो जोगी र भावनाको तहमा उनलाई माया गर्ने युवाबाहेक, भ्रष्टाचार र परनिर्भरताविरुद्ध लडाइँ लड्न तयार मानिस यो देशमा अत्यन्त थोरै मात्र छन्।

यो देशका कर्मचारीहरू भन्सारमा काम गर्न पाउँदा रमाउँछन्– उहिल्यैदेखिको मानसिकता हो यो। आफ्ना कृपापात्रलाई 'कमाइ खाओस्' भनेर भन्सारमा सरुवा गर्ने पुरानो चलन अझै गएको छैन। अहिले यतिमात्रै फरक भएको छ कि, घुस खान भन्सारै चाहियो भनेर मरिहत्ते गरिरहनुपर्दैन। राज्यसंयन्त्रका हरेक अंग र तिनका हरेक कुनाकाप्चा, मेचकुर्सीहरू भ्रष्टाचारका भट्टी बनेका छन्। संस्थाहरूलाई चोखो, शुद्ध, सफा राख्नु भनेको स्वाभाविक कर्तव्य हैन, अपवाद बन्न थालेको छ। विश्वविद्यालयका कुनाकाप्चा, स्वास्थ्य र शिक्षा नियामक निकायका हरेक अंगजस्ता ठाउँ नै जब यो व्याधीको सिकार भइसके भने, अन्यत्रको कुरा गर्नै परेन।

कुनै देशमा औपचारिक र लिखित कानुनमा भ्रष्टाचार घोर दण्डनीय अपराध भनिन्छ, तर व्यवहारमा राज्यको हरेक अंग भ्रष्ट छ भने त्यो देश कहिलेसम्म ज्युँदो रहिरहन सक्छ? अब यो गम्भीर प्रश्न सोध्नुपर्ने भएको छ। औपचारिकरूपमा कुनै देश लोकतान्त्रिक छ, तर भ्रष्टाचारले हरेक अंगलाई छियाछिया पारेको छ भने लोकतन्त्रको विकास हुनु त टाढाको कुरा भयो, त्यो कागजको लोकतन्त्रलाई जोगाएर राख्नै पनि सकिन्न। जब राज्यका कुनै कुनामा पनि भ्रष्टाचार मुक्त ठाउँ भेटिन मुस्किल हुन थाल्छ, मानिसलाई भ्रष्टाचारका सबै रूपहरू स्वाभाविक लाग्न थाल्छन्। तर, लिखित कानुनले भने त्यसलाई दण्डनीय बनाएको हुँदा, सत्तासंयन्त्रको शक्तिशाली ठाउँमा बसेको जोकोहीले त्यही भ्रष्टाचारकै निहुँमा आफ्नो स्वार्थका निम्ति, आफ्नो इबी साध्न जसलाई पनि र जहिले पनि नियन्त्रणमा लिन सक्छ, जसको पनि स्वतन्त्रता हनन् गर्न सक्छ। भर्खरै निलम्बित भएका ठूला मान्छेले त जे गरे गरे, उनी नै फर्केर आउन सक्ने सम्भावनामात्रै हैन, उनले सिकाएर गएको सीपको प्रयोग अब जुनसुकै महŒवाकांक्षी सत्ता खेलाडीले गर्ने खतरा छ। यो नियतिको ज्वलन्त उदाहरणै देख्न अब धेरै पर्खनु नपर्ला! त्यस्तो नहोस् भनी प्रार्थना गरौँ।

यतिमात्रै हैन, सत्ता संरचनाको माथिल्लो तल्लामा रहेका शक्तिसमूहका बीचमा एकअर्कालाई टोक्ने, कोपर्ने, ध्वस्त पार्ने हतियार पनि त्यही 'भ्रष्टाचारविरोध'को नाटक बन्न सक्ने खतरा छ। देश यसै पनि सधैँ राजनीतिक अस्थिरताको मारमा छ। सर्वव्यापी भ्रष्टाचारले बनाइदिएको मञ्चमा जब सत्तासंघर्षको नयाँ नाटक मञ्चन हुन थाल्छ, सधैँ आफ्नो अधीनस्थ बनाइरहन चाहने पराइले अझ नांगो भएर यो देशको राजनीतिलाई गिजोल्न थाल्नेछन्। हो, स्थिति ठीकठीकै देखिने कतिपय अन्य देशमा यो हिंस्रक खेल अहिले पनि चलिरहेकै देखिन्छ। तर, आर्थिक जग बलियो भएकाले ती देशमा माथिमाथि सत्तासंघर्षको खेल चलिरहे पनि जनजीवनमा धेरै फरक देखिँदैन। केही पूर्वी एसियाली देशहरू यस्ता उदाहरण हुन्। त्यहाँ भ्रष्टाचारका ठूल्ठूला घटना अनावृत्त भइरहेका बेला पनि बजारको तामझाममा खासै फरक देखिँदैन। तर, अझै पनि युग सुहाउँदो अर्थतन्त्रको जग नै नखनिएको हाम्रोजस्तो देशमा भने सत्ताको माथिल्लो तहमा चलिरहने लडाइँ–झगडाले सामान्य नागरिकका जनजीवनमै डरलाग्दो असर पारिरहेको हुन्छ। यस्तो असर कति भयावह हुन सक्छ भनी हेर्न हामीले आफ्नै हरेक दिनको अनुभवका पाना पल्टाए पुग्छ।

भ्रष्टाचार नमास्ने हो भने हामीले सबै कुरा गुमाउने छौँ।

भ्रष्टाचाररूपी राक्षसले कोपरिरहेको एउटा देश जब परनिर्भरताको अत्यन्त लाजमर्दो स्थितिबाट समेत गुजि्ररहेको हुन्छ, त्यस्तो बेला कथाको अनौठो नाटकीय मोडमा झैँ गरी पुरानो सत्ताको कुनै कुशल खेलाडी आफ्ना सबै प्रतिगामी सोच, साँघुरो स्वार्थ, लोभ, पराइपूजा, शक्तिको असीमित चाहना सबैसबै बोकेर जादुगरझँै सत्ताको केन्द्रमा पुग्न सक्छ। यस्तो भयो भने त्यो कथा अझ डरलाग्दो 'थि्रलर' बन्छ। राष्ट्रलाई धानेर राख्ने सबैसबै खम्बा हल्लिन थाल्छन्। परनिर्भरताका अनेक रूप, अनेक अवयव र अनेक आयाम छन्। कुन दलले यहाँ सरकार बनाउने वा कुन महŒवपूर्ण पदमा कसलाई राख्नेसम्मको कुरामा छिमेकीको इशारा पर्खनुपर्ने स्थिति त सहजै देखिने सस्तो र छाडा दृश्य हो। परनिर्भरताको अर्को झन् डरलाग्दो पक्ष छ। त्यो हो अघिल्लो शताब्दीको ६०को दशकयताबाट सुरु भएका विदेशी दाताहरूको दानमा आश्रित तथाकथित विकासको खेल! यो खेल यति ‰याँगिइसकेको छ कि यसको कालो जादूबाट हामी नेपालीको जीवनको हरेक आयाम बिनाअपवाद प्रभावित भइसकेको छ। असाध्यै डरलाग्दो कुरा हो यो। सडक, पुल, भवनजस्ता भौतिक संरचनामा मात्रै हैन, त्योभन्दा धेरै भित्रभित्रसम्म पुगेर विदेशी 'विकासे'हरूको क्रियाकलापले देशमा कृत्रिमता र विभाजनको षड्यन्त्र रोपिरहेका छन्। यति आकर्षक र मायावी हुन्छन् तिनका जादूगरी कि प्रगतिशीलताको अग्रपंक्तिमा हिँड्नेहरू नै सबभन्दा पहिले तिनको सिकार बन्न सक्छन्।

भ्रष्टाचारविरोधको निहुँमा शक्तिपूजक काजीहरू आउँछन् र भ्रष्टाचारकै नवीनतम 'भर्सन'हरूको बीउ रोप्छन्। राष्ट्रियताको रक्षाका नाममा छिमेकीका धार्मिक असहिष्णुताका एजेन्डा बोकेर प्रतिगामी दक्षिणपन्थी तŒवहरू हावी हुन्छन् र भित्रभित्रै देशलाई झनै पराश्रित बनाउने कसरतमा लाग्छन्। प्रगतिशीलताको नाउँमा शताब्दियौँ पुराना सोचलाई म्युजियमबाट निकालेर मौलिक संस्कृतिको रक्षाका नाममा वर्तमानमा द्वेषको बीउ रोप्ने काम जानी–नजानी गर्न कोही तम्सिन्छन्। यस्तो भइरहेको छ भने राष्ट्रका निम्ति यी कुनै पनि राम्रा संकेत हैनन्।

यस्तो बेलामा, भ्रष्टाचारको र परनिर्भरताको दुष्चक्रबाट देशलाई निकाल्नुपर्छ भनेर कराउने एक जना, दुई जनामात्रै जाग्रत मानिस छन् भने जसरी भए पनि तिनको रक्षा गर्नुपर्ने हुन्छ। किनकि, ती आगोका बीउ हुन्। ती उज्यालोका बीउ हुन्। आगोका यस्तै बीउ हुन् गोविन्द के.सी.।  उनीसँग आत्तिने धेरै छन्, डराउने धेरै छन्। उनीसँग दिक्क मान्ने, आजित हुने पनि छन्। यथास्थितिवादी सत्ताका खेलाडीमात्रै हैनन्, भ्रष्टाचारको खेतालामात्रै पनि हैनन्, उनका नजिककै मानिस पनि बेलाबेला उनको निर्णयले आत्तिन्छन्। उनका शुभेच्छुक पनि 'ल फेरि थाले यिनले' भनेर निधारमा हात राख्छन्! उनका 'फ्यान'हरू नै पनि बेलाबेला थकित भएर खुइय्य गर्छन्। तर, बोधिसत्वको यात्रा सहज हुँदैन। आफ्नो 'कम्फर्ट जोन'बाट बाहिर ननिस्किई जगत्को भलो गर्न सकिँदैन। मानिसका सपनासमेत ठिहिर्‍याउने जाडोमा, कतै आगो नदेखिएको बेलामा देखिएका आगोका  बिउलाई जसरी भए पनि नजोगाइ हुँदैन। उनका हठ होलान्, (कसको छैनर?) उनका 'अहम्' होलान्, (कसको छैन र?) उनी सर्वगुण सम्पन्न नहोलान्, (को छ, संसारमा?)। तर, सिंगो देश अन्धकार र चिसोमा डुबेको बेलामा उनीजस्ता अग्निबीजलाई जुनसुकै मूल्यमा भए पनि बचाउनु आवश्यक छ। यस्तै बीउबाट सृजित आगोको राप र उज्यालो नभई, भ्रष्टाचार र परनिर्भरता नामका राष्ट्रभक्षी राक्षससँग लड्न सकिन्न। त्यो बीउ हामी सबैले आफूभित्र पनि खोजौँ। खरानी पन्छाउँदै आगो फुक्न थालौँ।

प्रकाशित: १० मंसिर २०७३ ०३:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App