coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

किनमेलसँगै आकासियो भाउ

विनोद सुवेदी/रमेशकुमार पौडेल/ दिलबहादुर छत्याल
विराटनगर/चितवन/धनगढी- विराटनगर उपमहानगरपालिका आसपासका क्षेत्रमा जग्गाको कारोबार बढ्न थालेपछि चालू आर्थिक वर्षको पहिलो चार महिनामा मालपोत कार्यालय मोरङको राजस्वमा वृद्धि भएको छ।  गत वर्षको पहिलो चौमासिक भन्दा यो वर्ष झन्डै दोब्बरले राजस्व वृद्धि भएको छ।

गत वर्ष पहिलो चौमासिकमा ८ करोड १३ लाख रुपैया“ राजस्व संकलन भएकोमा यो वर्ष सोही अवधिमा १५ करोड २९ लाख रुपैया“ राजस्व संकलन भएको छ। घरजग्गाको मूल्य सामान्य वृद्धि भए पनि किनबेचको क्रम भने बढेको मालपोत कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकृत रुद्र अधिकारीका अनुसार गत वर्ष साउनदेखि कात्तिक महिनासम्ममा ५ हजार ५ सय ६६ लिखत पारित भएकोमा यो वर्ष सोही अवधिमा ८ हजार २ सय ६२ लिखत पारित भएको छ। घरजग्गा कारोबार हुने मुख्य सिजन मंसिरदेखि फागुनसम्म भए पनि यो वर्ष सिजनअघि नै घरजग्गा कारोबार बढेको मालपोत कार्यालयले जनाएको छ। विशेषगरी विराटनगर आसपासका नगरोन्मुख क्षेत्रमा धेरै कारोबार हुन थालेको छ। विराटनगर उपमहाननगरपालिका आसपासका टंकिसिनुवारी, हात्तीमुडा, बैजनाथपुर र कटहरी गाविसमा घरजग्गा कारोबार बढेको छ।  विराटनगरबाट नजिक र उपमहानगरमा भन्दा सस्तो भएका कारण नगर आसपासका क्षेत्रमा घरजग्गा कारोबार वृद्धि भएको लेखापढी कानुन व्यवसायी संघ मोरङका अध्यक्ष उमेश श्रेष्ठले बताए। उनका अनुसार उपमहानगरपालिका क्षेत्रमा न्यून  संख्यामा घरजग्गा कारोबार भइरहेको छ।

विराटनगर उपमहानगरपालिका क्षेत्रको तुलनामा आसपासका गाविसमा घरजग्गाको मूल्य सस्तो भएकाले वैदेशिक रोजगारीबाट फर्केका युवा र पहाडबाट बसाइ“ सरेर आउनेहरूको रोजाइमा परेको छ ।

गतवर्ष मधेस आन्दोलन र भारतीय नाकाबन्दीका कारण विराटनगर उपमहानगरपालिका र आसपासमा घरजग्गा कारोबार मन्दी आएको व्यवसायी बताउ“छन्। २०६३ सालको मधेस आन्दोलनताका यस क्षेत्रको घरजग्गा कारोबार नै ठप्प भएको जग्गा व्यवसायी खगेन्द्र अधिकारी बताउँछन्। उनका अनुसार त्यति बेला विराटनगरको घरजग्गाको मूल्य आधा घटेको थियो। मधेस आन्दोलन साम्य भएपछि केही वर्ष यता घरजग्गा कारोबारमा सामान्य वृद्धि भए पनि पूर्वका अन्य सहरको तुलनामा विराटनगर उपमहानगरपालिकामा घरजग्गा सस्तो छ।

प्रादेशिक राजधानी बन्ने सम्भावनाले यो सहरमा घरजग्गा किन्नेको रुचि बढ्नसक्ने व्यवसायी बताउ“छन्। घरजग्गा व्यवसायी गोपाल भट्टराईले भने, 'उच्च अदालतको स्थापनाले विराटनगर प्रादेशिक राजधानी बन्ने सम्भावना भएको अनुमान गरेर घरजग्गा किन्ने क्रम बढिसकेको छ।’ रिङ रोड आसपासका क्षेत्रमा पनि उद्योग व्यवसाय गर्ने, घर बनाउने उद्देश्यले जग्गा खरिद गर्नेको लर्को लाग्न थालेको छ। उनका अनुसार गत वर्षको तुलनामा यो वर्ष विराटनगर र आसपासका गाविसमा सरदर २५ प्रतिशतले जग्गाको मूल्य बढेको छ।

यस्तै मध्य मधेसको चितवनमा पनि घरजग्गाको मूल्यका साथै कारोबार पनि बढेको छ। नारायणगढ लायन्स चोकदेखि पुलचोकसम्मको क्षेत्र चितवनकै सबैभन्दा बढी मूल्य पर्ने जग्गा भएको क्षेत्र हो। मालपोत कार्यालयले तय गरेको न्यूनतम मूल्यांकनलाई आधार मान्दा पनि सो क्षेत्रमा एक कट््ठा जमिनलाई एक करोड ३० लाख रुपैयाँ पर्छ। गत वर्ष मालपोत कार्यालयले एक करोड १० लाख रुपैयाँ तोकेको थियो।

 सरकारी मूल्यांकनमा मात्रै नभएर कारोबार गर्दा पनि चितवनमा जग्गाको मूल्य अकासिएको व्यवसायी बताउँछन्। मूल्य बढे पनि कारोबार कम भएको छैन। चितवन जिल्ला मालपोत कार्यालयका प्रमुख दिवाकर पौडेल भन्छन्, 'मूल्य बढे पनि यहाँ जग्गाको कारोबार बढेको छ। सुगम र देशकै केन्द्रमा भएका कारण विभिन्न ठाउँका व्यक्तिले यहाँ घडेरी किन्छन्।'

जग्गा व्यवसायी दिनेश चुके भन्छन्, 'लायन्स चोक, पुलचोक क्षेत्र निकै महँगो भएका कारण अहिले घडेरीको कारोबार हुँदैन। तर, जहाँ कारोबार हुन्छ त्यहाँ गत वर्षको तुलनामा डेढ गुणादेखि दुई गुणासम्म मूल्य बढेको छ।' चितवनमा एउटा घडेरी अर्थात १० धुर जग्गाको १० लाखदेखि एक करोड रुपैयाँसम्म पर्ने गरेको उनले बताए।

'भरतपुर प्रेमवस्ती क्षेत्रमा गत वर्ष ३० लाख कट््ठामा पाइने जग्गा अहिले ६० लाख भएको छ', जग्गा व्यवसायी चुकेले भने। चितवनमा भरतपुर उपमहानगरपालिकासहित सात नगरपालिका र आठवटा गाविस छन्। सवै गाविस पहाडी क्षेत्रमा छन्। गाविस बाहेक सवै क्षेत्रमा घडेरी किनबेच मौलाएको छ। दुर्गम भनिने माडीमा समेत अहिले घडेरीको कारोबार फस्टाएको छ।

चितवनमा अघिल्लो वर्षको साउनमा दुई हजार ८ सय ४८ थान लिखत पास भएको मालपोत कार्यालयले जानकारी दिएको छ। यो वर्ष सोही महिना चार हजार ७ सय ९६ थान लिखत पास भएका छन्। साउनमा मात्रै नभएर त्यसपछिका महिनामा पनि गत वर्षको तुलनामा लिखत पासको संख्या अत्यधिक धेरै छ। मालपोत कार्यालयमा राजस्व संकलन पनि ह्वात्तै बढेको छ।  गत वर्ष साउनमा जग्गा रजिस्ट्रेसनबापत पाँच करोड ३३ लाख ८० जहार २ सय ५७ रुपैयाँ संकलन भएको थियो। यो वर्ष साउनमा रजिस्ट्रेसनबापत १३ करोड १४ लाख १४ हजार ८ सय ८७ रुपैयाँ संकलन भएको कार्यालय प्रमुख पौडेलले जानकारी दिए।

'तर पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले घरजग्गा लगानीमा कडाइ गरेका छन्। ऋणको ब्याज रकम पनि बढाएका छन्। यसले अब भने मूल्य केही स्थिर होला कि भन्ने अवस्था छ', जग्गा व्यवसायी चुकेले भने।

नारायणी जग्गा तथा आवास व्यवसायी समितिका अध्यक्ष बाबुराम अधिकारी चितवनमा २ सय ८२ व्यवसायी घरजग्गा कारोबारमा लागेको बताउँछन्। त्यस्तै दर्ता भएका २७ वटा फर्म तथा कम्पनीले घरजग्गा कारोबार गर्दै आएको उनले जानकारी दिए। चितवनमा पछिल्लो समय २५ सय बिघाभन्दा धेरै जमिनमा प्लटिङ भएको उनले बताए।

सुदूर पश्चिम तराईको कैलालीमा पनि जग्गा कारोबार बढेको छ। सुविधा खोजीमा पहाडबाट तराई र गाउँबाट सहर बसाइँ सर्ने क्रम बढेसँगै जग्गा खरिदबिक्री बढेको हो। सुदूरपश्चिमबाट पनि वैदेशिक रोजगारमा जाने क्रम बढेकाले जग्गा कारोबार पनि बढेको हो। 'गत वर्षभन्दा यो वर्ष जग्गा कारोबार वृद्धि भएको छ', कैलालीका वरिष्ठ मालपोत अधिकृत बिसनसिंह थापाले भने। जग्गा खरिद गर्नेमा वैदेशिक रोजगारमा गएका सबैभन्दा बढी र त्यसपछि यार्सागुम्बा लगायतका बहुमूल्य जडीबुटीका कारेबारी, ठेकेदार, चिकित्सक र व्यवसायी रहेको उनको भनाइ छ।

मालपोत कार्यालय कैलालीको तथ्यांकअनुसार गत आर्थिक वर्षमा ९ हजार ३४ लिखत पास भएका थिए। तिनबाट १६ करोड ६५ लाख १० हजार रुपैयाँ राजस्व प्राप्त भएको थियो। यस आर्थिक वर्षको कात्तिकमसम्ममा २ हजार ६ सय ३९ लिखत पास भइसकेका छन्, जसबाट ६ करोड ७२ लाख ४ हजार ८ सय २३ रुपैयाँ राजस्व प्राप्त भएको छ। गत आर्थिक वर्षको कात्तिक मसान्तसम्म १ हजार ८ सय ३७ लिखत पास भएका थियो भने ३ करोड ६६ लाख ९१ हजार रुपैयाँ राजस्व प्राप्त भएको थियो।

भारतका विभिन्न स्थानमा सस्तो पारिश्रमिकमा मजदुरी गर्न जाने गरेका सुदूर पश्चिमका युवा पछिल्ला वर्ष तेस्रो मुलुकतर्फ वैदेशिक रोजगारमा जाने क्रम बढेको छ। उनीहरूले तीनचार वर्षको कमाइले सदरमुकामलगायत सुविधा भएका सहरी क्षेत्रमा घडेरी किन्ने गरेका छन्, जसले गर्दा जग्गा कारोबार बढेको लेखापढी व्यवसायी हरि चौलागाईंले बताए।

शिक्षा, स्वास्थ्य उपचार, यातायातलगायतका सुविधा हुने भएकाले सदरमुकाम र सुगम ठाउँमा बसाइँ सराइ गर्ने क्रम बढेको छ। सुदूरपश्चिमका सात पहाडी जिल्लाका बासिन्दा कैलाली र कञ्चनपुरमा जमिन किनेर बसाइँ सर्ने गरेका छन्। अछाम, बाजुरा, डोटी, बझाङ र दार्चुलाका बढीजसो बासिन्दा कैलाली र बैतडी तथा डँडेल्धुराका बढीजसो बासिन्दा कञ्चनपुरमा बसाइँ सर्ने गरेको स्थानीय युवा जीवन बम बताउँछन्।

जमिनको मूल्य बढेकाले विगतको तुलनामा कम क्षेत्रफल किन्ने क्रम बढेको मालपोत कार्यालयका करन सिंह ठगुन्नाले बताए। 'पहिले बसोबासका लागि प्रायले एकदुई कट्ठा जमिन किन्ने गर्थे', उनले भने, 'अहिले ५ धुर, १० धुर पनि किन्न थालेका छन्।'

गत वर्ष साउनदेखि अखण्ड सुदूर पश्चिम र थरुहटको माग राखी महिनौंसम्म चलेको आन्दोलन, नाकाबन्दीलगायतका कारण अवस्था असहज थियो। 'अहिले अवस्था सहज भएकाले र आम्दानी बढेकाले जमिन किनेको हुँ', जग्गा पास गराउन आएका अत्तरिया बिजौराका डबल चौधरीले भने। उनले अत्तरियामा ५० लाखमा एक कट्ठा जमिन किनेको बताए।

माओवादी शान्तिप्रक्रियामा आएपछि २०६२ सालपछि सदरमुकामतर्फ बसाइँ सराइ गरेर जमिन किन्ने क्रम बढेको मालपोत कार्यालय कैलालीका मनोहर श्रेष्ठ बताउँछन्। जग्गा व्यवसायी पर्वत भण्डारीले जमिन बिक्री बढ्दै गएको बताएका छन्। 'सात आठ वर्षयता जमिनको कारोबार बढ्दै गएको छ', उनले भने।

प्रकाशित: ११ मंसिर २०७३ ०२:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App