८ वैशाख २०८१ शनिबार
अन्य

देशाटनको नशा

काठमाडौं- यस वर्षको तिहारका बेला भूपाल संग्रौला डोल्पा यात्रामा थिए। नेपालगञ्ज हुँदै जुफाल एयरपोर्ट पुगेर दुई दिन हिँडेपछि उनी से–फोक्सुन्डो ताल किनार पुगे। आँखाभरि ताल खिचे। र, एक रात त्यहाँ बसेर काठमाडौं फर्के। ६ दिने यात्रामा उनको जम्मा २३ हजार रुपैयाँ खर्च भयो। 

सँगै जान्छु भन्नेहरू त धेरै थिए तर, निस्कँदा उनी एक्लै परे। कागतिहारका दिन उनी हान्निए कर्णालीतिर। 'आफ्नै देशमा एक्लै हिँड्न केको समस्या? नेपालकै सबैभन्दा गहिरो ताल हेरेर फर्किएँ', २३ वर्षे तन्नेरी संग्रौला मुस्कुराए, 'अब जाडोपछि खप्तड जान्छु।' 

वार्षिक ४० लाखभन्दा बढी नेपाली मुलुकभित्रै घुम्छन् तर राज्यसँग न यसको तथ्यांक छ न उसले आन्तरिक पर्यटकलाई महत्व नै दिएको छ। आफ्नै सुरमा घुम्दैछन् नेपाली।  

वीरगन्जमा जन्मे/हुर्केका संग्रौलाले नाथम कलेजबाट स्नातक गरेका छन्। उनी बरोबर घुमिरहन्छन्। कक्षा ११ पढ्दा घुमफिरको लत बस्यो। साढे चार वर्ष अवधिमा उनले गोसाइकुन्ड, मुक्तिनाथ, लाङटाङ, च्छो रोल्पा, तिलिचो, रारा, मर्दी, ढोरपाटन, अन्नपूर्ण आधारशिविर, कञ्जनजंघा र सगरमाथा पदयात्रा भ्याएका छन्। 

संग्रौला जस्तै घुमफिरमा निस्कने युवाको संख्या ठूलो छ। केही वर्षअघिसम्म तीर्थाटनमा मात्रै निस्कने आन्तरिक पर्यटक अचेल पदयात्रा, र्‍याफ्िटङ, क्यानोनिङ, प्याराग्लाइडिङ जस्ता साहसिक गतिविधिमा सामेल हुन्छन्। मोटर बाटो जोडिएपछि मुक्तिनाथ, लो–मन्थाङ, रारा ताल, मनाङलगायत गन्तव्यमा घुमन्तेको संख्या बढिरहेको छ।

सामान्यतः दसैं–तिहार बिदा सदुपयोग गरी घुमफिर गरिन्छ। यसपालि मुक्तिनाथ, रारा ताल र तिलिचो ताल घुम्नेको लहरै देखियो। अन्नपूर्ण क्षेत्रका मर्दी, घान्द्रुक, घोडेपानी र अन्नपूर्ण आधारशिविरमा पनि नेपालीको घुइँचो लागेको छ। 

गएको दसैंयता मात्रै एक लाखभन्दा बढीले मुक्तिनाथ दर्शन गरेको अनुमान छ। विशेषतः युवा मोटर बाइकमा, पाकाहरू जिप तथा बसमा त्यहाँ पुगिरहेका छन्। '२० हजारभन्दा बढी त मोटरबाइक नै भित्रियो', मुक्तिनाथ वेस क्याम्प रानीपौवा गाउँका मुखिया एवं होटल ग्रान्ड साम्बलाका सञ्चालक सुरज गुरुङ भन्छन्, 'बसमा आउने पनि त्यत्तिकै छन्।'

यसपालि हिमाली क्षेत्र नेपालीको रोजाइमा परेको देखियो। संसारकै अग्लो ठाउँमा अवस्थित मनाङको तिलिचो ताल र मुलुककै ठूलो ताल मुगुको रारामा दसैंयता ५–५ हजार हाराहारी आन्तरिक पर्यटक पुगे। त्यहाँका होटल खचाखच भए। कोठा नपुगेर डाइनिङ र किचेनमा सुत्नु पर्‍यो नेपालीले।

बसमा सजिलै पुगिने गन्तव्यहरू लुम्बिनी, मनकामना, पोखरा, हलेसी, जनकपुर, चितवन, बन्दिपुर, स्वर्गद्वारी लगायतमा त बर्सेनि संख्या बढिरहेकै छ। गत साल वैशाख १२ को भुइँचालोपछि केही समय घुमफिर अवरुद्ध भयो। त्यसपछि यसले गति लिएको छ। 'भुइँचालोपछि जिन्दगी के रहेछ र! जीवनमा घुम्नै पर्छ' भन्ने भावना नेपालीमा विकास भएको पाइन्छ।

सबै उमेर समूह घुम्दै छ। सोलुखुम्बुमा जन्मे/हुर्केका पेमा रिन्जी शेर्पा काठमाडौंको गैरीधारामा रेड पेपर रेस्टुरेन्ट चलाउँछन्। उनी ६ वर्षको छोरा र पत्नीसहित दसैंमा लो–मन्थाङ पुगे। तिहारलगत्तै हलेसी घुमे। 'जन्मभूमि त चिन्नै पर्‍यो नि', उनले योजना सुनाए, 'जाडोलगत्तै पुनहिल जानेछु।'

आन्तरिक पर्यटक दिगो पर्यटनका स्तम्भ हुन्। ठूलो संख्यामा नेपाली घुम्छन्। तर, तिनको तथ्यांक राख्ने परिपाटी छैन। राज्यले आन्तरिक पर्यटनको गणना गरेको छैन। नेपाली आफ्नै ढंगले घुमिरहेका छन्। गन्तव्यहरूका सरोकारवालाको अनुमानलाई आधार मान्दा प्रमुख पर्यटकीय गन्तव्यमा वार्षिक ४० लाखभन्दा बढी नेपाली घुमफिर गर्छन। सबैभन्दा बढी धार्मिक पर्यटक हुन्छन्।

घुम्न इच्छाशक्ति चाहिन्छ। संग्रालौकै कुरा गरौं न, उनी 'पकेट मनी' जोगाएर र आमाले दिएको पैसाले घुम्छन्। सित्तैमा घुम्न सकिन्न। घुमफिर आर्थिक पाटोसँग जोडिएको छ। मध्यमवर्ग पनि घुमफिरमा रमाउन थालेको छ। बढ्दो सहरीकरण, उकुसमुकस जीवन र आर्थिक समृद्धिले घुमफिरको लहर ल्याएको हो। यात्राबाट तीर्थाटन, रोमाञ्च, मनोरञ्जन र शिक्षा पाइन्छ।

राष्ट्रसंघीय विश्व पर्यटन संस्थाको परिभाषामा घर बाहिर एक रात बिताउनेलाई मात्र पर्यटक मानिन्छ। त्यस हिसाबले एकदिने हाइकर्स र साइक्लिस्ट पर्यटक भएनन्। डे हाइकिङ र साइक्लिङ गर्नेको जमात पनि ठूलो छ काठमाडौंमा।

खुसीको खबर, अचेल सामाजिक सञ्जाल फेसबुक, टि्वटर आदिमा सेल्फी तस्बिरको बाढी देखिन्छ। घुमफिरका आकर्षक तस्बिरले अरुलाई पनि घुम्न प्रेरित गरिरहेको छ। घुमफिर संस्कृति विकासमा मिडियाको पनि ठूलो योगदान छ। 

पदमार्गमा नेपाली पदयात्रीले पनि राम्रो व्यवहार पाउँछन्। 'होटलवाला नेपालीलाई मान्यता दिँदा रहेछन्', शेर्पाको अनुभव, 'कति गोरा खानाको पैसा तिर्छु, कोठा सित्तैंमा दिनुस् भन्दै आउँदा रहेछन् तर, नेपाली खर्च गर्न डराउँदैन्न भन्दै थिए होटलवाला।'

संग्रौलाको अनुभव पनि त्यस्तै छ। सगरमाथामा थोरै नेपाली मात्रै पुग्छन्। पर्यटकीय मौसममा लुक्ला उड्ने टिकट पाउन मुस्किल पर्छ। एयरलाइन्सहरू विदेशीलाई डलर फेयरमा टिकट बेच्छन्। उनीहरूको प्राथमिकतामा विदेशी पर्छन्, नेपाली होइन। त्यस्तै समस्या डोल्पा, मुगु, जुम्ला र जोमसोम उडानमा पनि छ। लुक्ला पुगिसकेपछि भने राम्रो व्यवहार पाइन्छ। 'सगरमाथा क्षेत्रमा ठग्छन्, नेपालीलाई गन्दैनन् भन्ने सुनेको थिएँ', उनले भने, तर, राम्रो व्यवहार पाएँ।'

बिनातयारी घुम्न निस्कने बानीबाट भने नेपालीले दुःख पाइरहेका छन्। सहरी भेकको टुरभन्दा पदयात्रामा जाँदा राम्रो व्यवस्थापन हुनुपर्छ। चिसो ठाउँमा न्याना कपडा बोक्नु पर्छ। सकेसम्म पहिल्यै होटल बुकिङ गर्नुपर्छ। नभए घाम नडुब्दै बास बस्ने ठाउँ खोज्नुपर्छ। 

'राति ११ बजे पनि नेपाली ढोका ढक्ढक्याउँदै आइपुग्छन्', पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङ सुझाउँछन्, 'नेपालीले योजनाबद्ध यात्रा गर्ने बानी बसाल्नुपर्छ।' उनका अनुसार नेपालीले बर्खाका चार महिना जेठदेखि भदौसम्म मनाङ यात्रा गरे सजिलो र सस्तो हुन्छ। विदेशी कम हुने समय मौसम पनि न जाडो न गर्मी हुन्छ। त्यहाँ पानी धेरै पर्दैन। मनाङले आन्तरिक पर्यटकको स्वागत गर्न थालेको केही वर्ष भइसक्यो। त्यहाँका व्यवसायी नेपालीलाई खाना र बासमा छुट दिन्छन्। बिना तयारी हिमालमा आएर धेरैले दुःख पाएको देखेपछि समितिले आन्तरिक पर्यटक लक्षित अभियान चलाउने भएको छ।

'हामी हिमालयन उद्धार सँघसँग मिलेर काठमाडौं, बेंसीसहर र पोखरामा पत्रकार सम्मेलनमार्फत हिमाली भेकमा कसरी घुम्ने भन्ने प्रचार गर्दैछौं', गुरुङले भने, 'अल्टिच्युड सिक्नेसबारे जानकारी नेपाली भाषामा लेखेर बेंसीसहरदेखि थारोङलासम्म साइनबोर्ड राख्दैछौं।'

आन्तरिक पदयात्रीले सुधार गर्नुपर्ने अरु कुरा पनि छन्। दुई वर्षयता नेपाली झुम्मिँदै आएको मर्दी हिमाल पदयात्राको हाई क्याम्पमा होटल चलाउँदै आएका सुदीप गौतम भन्छन्, 'राति अबेरसम्म बस्ने र हल्ला गर्ने बानीमा सुधार आउनैपर्छ।'

कतिसम्म भने होमस्टेमा पनि राति १ बजेसम्म क्याम्प फायर गरेर नाचगानमा मस्त हुन्छन् नेपाली। गाउँलेले बिहान उठेर खेतबारीको काममा व्यस्त हुनुपर्छ भन्ने बिर्सिदिन्छन् उनीहरू। होमस्टेकै कारण स्याङ्जाको सिरुबारी, लमजुङ्को घलेगाउँ एवं काउलेपानी, नवलपरासीको अमलटारी, बर्दियाको डल्ला, मकवानपुरको चित्लाङ, कैलालीको भादालगायत दर्जनौं गाउँ चम्केका छन्। होमस्टे गाउँहरूमा वर्षको ३ लाख हाराहारी नेपाली पुग्ने गाउँ पर्यटन प्रवर्धन मञ्च (भिटोफ) नेपालका पूर्व महासचिव राजकुमार थापा अनुमान गर्छन्। 

घुमफिर व्यवस्थित गर्न नसके नकारात्मक प्रभाव पर्छ। बुकिङ नगरी सिधै जाँदा होस्ट र गेस्टबीच द्वन्द हुन सक्छ। त्यसका लागि सरोकारवालले अभिमुखीकरण अभियान कहिले चलाउलान्?

आफ्नो देश आफैं घुम्न सकिन्छ नि, किन प्याकेज किन्नु पर्‍यो भनेको सुनिन्छ। सिटी टुरका हकमा यसो भन्नु ठीकै होला तर, हिमाली भेकको पदयात्रामा प्याकेज किन्दा सजिलो हुन्छ। भ्रमण प्याकेजमा नेपालीको मोह देखिँदैन। चितवनको सौराहामा बर्सेनि करिब ६० हजार घुम्छन्। उनीहरूमध्ये थोरै मात्र प्याकेजमा घुम्छन्। होटल संघ, चितवनका अध्यक्ष सुमन घिमिरे भन्छन् 'प्याकेज महंगो पर्छ भन्ने भ्रम छ। प्याकेज सजिलो र सुरक्षित हुन्छ।' 

प्याकेज नकिने पनि घुम्ने गन्तव्यबारे राम्रोसँग बुझेर र आवश्यक तयारीसाथ यात्रा गर्दा दुःख पाइन्न। बजारमा पाइने नक्सा र गाइड बुकसमेत नबोकिकन धेरैजसो यात्रा गर्छन्। विदेशीका लागि गाइड बुक, नक्सा र कोसेलीलगायत सामग्री उत्पादन गर्दै आएको हिमालयन म्याप हाउस नेपाली भाषामा पनि गाइड बुक प्रकाशन गर्ने सोचमा छ। हाउसका निर्देशक पवन शाक्य भन्छन्, 'नेपाली भाषामा नेपाल गाइड बुक आवश्यक भइसक्यो।'

बल्ल व्यवसायीको 'घैंटामा घाम' लागेको छ। उनीहरू आन्तरिक पर्यटकलक्षित प्याकेज बनाउँदैछन्। अहिलेसम्म थोरै ट्राभल कम्पनीले मात्र यस्तो प्याकेज बनाएका छन्। तिनले पनि राम्रो मार्केटिङ गर्न जानेका छैनन्। नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल्स (नाटा) का महासचिव भीमप्रसाद पन्त आन्तरिक पर्यटन प्याकेज बनाउने काम भइरहेको बताउँछन्।

आफ्नै सुरले घुम्छन् नेपाली। काठमाडौंमा कार्यरत सुनसरीका राजीव थापामगर चार साथीसहित तिलिचो ताल घुमेर फर्केका छन्। 'लेकमा अल्टिच्युड सिक्नेसले अलिकति समस्या पर्‍यो, उनले अनुभव सुनाए, 'तिलिचोमा कोठा नपाएर डाइनिङमा सुत्नुपर्‍यो।'  

समयसँगै नेपाली पर्यटकले सिक्दै जालान्। जेहोस् कर्णेल जिम्मी रोबोटले २०२६ सालमा माउन्टेन ट्राभल खोलेर नेपालमा पदयात्रा पर्यटन सुरु गरेका थिए। धेरै वर्षपछि नेपाली पनि हिमालतिर लोभिँदै छन्। तिनताका माउन्टेन ट्राभलमा प्लानिङ अफिसर भएर काम गरेका पर्यटनविद् झलक थापा खुसी छन् यतिबेला। भन्छन्– नेपालीले नेपाल स्वर्गै हो भनेर चिन्दैछन्, ठूलो उपलब्धि यही हो। हाम्रो अर्थतन्त्रमा आन्तरिक पर्यटनले ठूलो योगदान गरेको छ। त्यसको लेखाजोखा गर्न अबेला भइसक्यो। हिजो तीर्थाटनमा मात्रै निस्कने नेपाली आज साहसिक गतिविधिमा समेत अगाडि छन्। राज्यले आन्तरिक पर्यटकलाई सम्बोधन गर्नुपर्छ।'

नेपालमा वार्षिक आठ लाख विदेशी आउँछन्। सरकार र पर्यटन सम्बद्ध संस्था पर्यटक भन्नेबित्तिकै विदेशी मात्रै हुन् भन्ने भ्रममा छन्। त्यसैले तिनले नेपालीका लागि कुनै कार्यक्रम ल्याएका छैनन्। पदयात्रा प्याकेज बेच्ने कम्पनीहरूको संस्था टे्रकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान) ले आन्तरिक पर्यटकलाई आकर्षित गर्न कुनै कार्यक्रम गरेको देखिँदैन। सरोकारवाला संस्था नाटा, हान र नाटोले पनि उल्लेख्य काम गरेका छैनन्।   

नेपाली पदयात्री बढ्दै गएको देखेर टानका अगुवा आशावादी छन्। टान महासचिव कर्ण लामा आन्तरिक पर्यटन व्यवस्थित गर्न डोमेस्टिक टुरिस्ट इन्फरमेसन म्यानेजमेन्ट सिस्टम (डिटिम्स) कार्ड लागू गर्नुपर्नेमा जोड दिन्छन्। यस्तै कार्ड विदेशीमा लागू गरिएको छ। विदेशीले निश्चित रकम तिरेर टुरिस्ट इन्फरमेसन म्यानेजमेन्ट सिस्टम (टिम्स) कार्ड लिनुपर्ने प्रावधान छ। कार्ड लिएर कम्पनीमार्फत यात्रा गर्दा सुरक्षित र सहज हुने उनको दाबी छ।  'कुनै भवितव्य पर्दा उद्धार गर्न सजिलो हुन्छ। कति नेपाली कुन क्षेत्र घुम्दैछन् भन्ने जानकारी पनि मिल्छ', उनले कार्डको महत्व यसरी झल्काए।

दसैंयता आन्तरिक पर्यटक घुमेका खबर बरोबर मिडियामा छाएपछि नेपालका नीतिनिर्माता र नेतालाई पनि त्यसले झक्झक्याउँदै छ। नेपाल पर्यटन बोर्डले आन्तरिक पर्यटन प्रवर्धन गर्न २०७३ लाई घुमफिर वर्षका रुपमा मनाइरहेको छ। 'पहिला आन्तरिक पर्यटकलाई वेवास्ता गरिएको थियो', बोर्डका सिइओ दीपकराज जोशी भन्छन्, 'हामीले आन्तरिक पर्यटन प्रवर्धन गर्न र नीतिनिर्मातालाई झक्झक्याउन घुमफिर वर्ष मनाएका हौं। अहिले घुमफिर गर्ने ह्वात्तै बढेकाले आन्तरिक पर्यटक पनि पर्यटनको ठूलो हिस्सा रहेछन् भन्ने अनुभूति सबैलाई भएको छ।' 

राष्ट्रिय अभियान भनिएको भ्रमण वर्ष घोषणा पनि सामान्य रुपमा गरियो। ससाना प्रचारात्मक कार्यक्रम चलाउनेबाहेक घुम्नुपर्छ भन्ने माहोल बनाउन आमसञ्चार माध्यममा प्रभावकारी विज्ञापन गर्न बोर्ड चुक्यो। उसले निजी क्षेत्रको सहकार्यमा केही प्याकेज बनाएको छ। बोर्डले घुमफिर वर्षलाई जम्मा दुई करोड रुपैयाँ बजेट छुट्टयाएको छ।

घुम्ने तिर्खा मेटाउन नेपाली घुम्दै छन्। इतिहास, प्रकृति, संस्कृति र जीवनशैली बु‰दैछन्। घुमफिर वर्षको सकारात्मक सन्देश के हो भने, पहिलोपटक पर्यटन बोर्डले नेपालीलाई पनि पर्यटक सम्भि्कयो। 'हामी गन्तव्यबारे सूचनामूलक बुकलेट प्रकाशन गर्दैछौं', सिइओ जोशी भन्छन्, 'सामाजिक सञ्जालबाट राम्रो प्रचार पनि गरिरहेका छौं। केही कार्यक्रम छिट्टै ल्याउँछौं।' 

पर्यटन नीति, ०६५ ले मात्र नेपालीलाई पर्यटक मानेको हो। तर, सवारी ऐन बाझिएको छ। त्यसमा पर्यटक भनेका विदेशी मात्रै हुन् भन्ने लेखिएको छ। त्यही भएर बेला–बेलामा हरियो प्लेटका बसमा नेपालीलाई चढ्न अवरोध खडा गरिन्छ। त्यसलाई तुरुन्तै संशोधन गर्नुपर्छ। 

पर्यटन बढाउन सरकारी कर्मचारीलाई भत्तासहित पर्यटन बिदा दिनुपर्ने बोर्डका सिइओ जोशी बताउँछन्। अचेल नेपाल टेलिकम, पर्यटन बोर्ड र केही बैंकले आफ्ना कर्मचारीलाई वर्षमा निश्चित दिन भत्तासहित घुम्ने बिदा दिँदै आएका छन्। निजामती, सेना, प्रहरी र संस्थानका कर्मचारीले वर्षैपिच्छे भ्रमण बिदा पाए आन्तरिक पर्यटन फस्टाउँछ। 

सरकारले प्रोत्साहन नगरे पनि घुम्ने मन घुमिहाल्छ। घुम्नु एउटा नशा हो, एक ठाउँ गएपछि फेरि अर्को ठाउँ जान मन लागिहाल्छ। जाडो सकिनेबित्तिकै भुपाल संग्रौला खप्तड यात्रामा निस्कने मुडमा छन्। 'नेपाल विश्व मानचित्रमा सानो भए पनि घुम्ने मान्छेले थाहा पाउँछ नेपाल कति ठूलो छ भनेर', उनले घुमफिरबाट बुझेको यत्ति हो, 'सानो भूगोलमा कति धेरै विविधता। धर्तीको स्वर्ग सायदै नेपालै हो।'

प्रकाशित: ११ मंसिर २०७३ ०२:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App