७ वैशाख २०८१ शुक्रबार
खेल

अस्ट्रियाका कप्तानको संन्यास

भियना- अस्ट्रियाका कप्तान क्रिस्टियन फचसले बुधबार ३० वर्षको उमेरमै अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेका छन्। टोली युरोपियन च्याम्पियनसिपको समूह चरणबाट बाहिरिएको एक सातापछि फचसले यस्तो निर्णय लिएका हुन्।

फचसले १० वर्षअघि क्रोएसियासँग ४–१ को पराजय भोगेको खेलमार्फत अस्ट्रियाको राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। एक दशक लामो अन्तर्राष्ट्रिय करिअरमा उनले देशका लागि ७८ खेल खेल्दै १ गोल गरेका छन्। फचसले २०१० मा ग्रिसविरुद्ध गरेको गोल एकमात्र अन्तर्राष्ट्रिय गोल थियो।

युरोपियन च्याम्पियनसिपमा यसअघि अस्ट्रियाले एकपटक मात्र सहभागिता जनाएको थियो। २००८ मा स्विट्जरल्यान्डसँग मिलेर प्रतियोगिता आयोजना गर्दा टोली आयोजकको नाताले सोझै छनोट भएको थियो। यसपालि फ्रान्समा जारी प्रतियोगिता सुरु हुनुभन्दा अघिसम्म अस्ट्रियालाई 'डार्क हर्स' का रूपमा लिँदै सबै विपक्षी सचेत थिए। तर, प्रतियोगितामा टोलीले कुनै पनि बेला उत्कृष्ट फर्म हासिल गर्न सकेन। हंगेरीसँग २–० ले पराजित टोलीले पोर्चुगलसँग गोलरहित बराबरी नतिजा निकालेको थियो। यसैगरी प्रतियोगितामा सहभागीमध्ये सबैभन्दा सानो देश आइसल्यान्डसँग अस्ट्रियाले २–१ को अन्तरमा नतिजा सुम्पिएको थियो।

'अस्ट्रियाली राष्ट्रिय टोलीबाट आइसल्यान्डविरुद्धको खेल मेरा लागि अन्तिम खेल हो। देशका लागि खेलेका प्रत्येक क्षणप्रति मलाई गौरव छ। म अत्यन्तै गौरवमय अवस्थामा टोलीबाट बिदा हुँदैछु। बिदाइको बेला म टोलीलाई आगामी विश्वकप छनोटका लागि शुभकामना दिन चाहन्छु,' फेसबुकमा पोस्ट गरेको भिडियोमा इङ्लिस प्रिमियर लिग च्याम्पियन लेस्टर सिटीका लेफ्ट ब्याक फचसले भनेका छन्, 'पछिल्लो केही वर्षमा हाम्रो राष्ट्रिय टोलीले धेरै सुधार गरेको छ। हामी युरोपियन च्याम्पियनसिपका लागि पहिलोपटक छनोट हुन सफल भयौं। फ्रान्समा हामीले आफ्नो तर्फबाट सक्ने जति प्रयास पनि गरेका थियौं।'

प्रतियोगितामा प्रदर्शन सन्तोषजनक नभए पनि युरोपियन च्याम्पियनसिपको सहभागिता आफू, टोलीका सदस्य र सम्पूर्ण देशका लागि विशेष उपलब्धिका रूपमा संग्रहित भएको उनले बताए। 'फ्रान्समा भइरहेको युरोपियन च्याम्पियनसिप हाम्रा लागि छनोट भएर सहभागिता जनाएको पहिलो संस्करण हो। त्यसैले यसमा हामीलाई गौरव छ। कप्तानका रूपमा टोलीको नेतृत्व गर्न पाउनु मेरा लागि गर्वको विषय हो। मैले एउटा खेलाडीका रूपमा फ्रान्समा बिताएका हरेक क्षणको मजा लिएँ,' फचसले भने।

मेइन्ज ०५ र साल्के ०४ का पूर्व खेलाडीले अचानक संन्यास लिनुको कारण भने खुलाएका छैनन्।

प्रकाशित: १६ असार २०७३ ०३:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App