१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

जे होस्...

भाउपन्थी

कानमा समातेर एक झापड दिउँ कि जस्तो भयो, तर त्यस्तो केही गर्न सकिनँ। बिहानको समय थियो र मन शान्त थियो। एउटा पारम्परिक चिन्तन नै छ, बिहानको समय शान्त बस्नुपर्छ। तर यस्तो भयो, आज बिहान उसले मलाई नमस्कार गरेन। यसमा रिसाउनुपर्ने केही थिएन, तर तपाईं सोच्न सक्नु हुन्छ, जसले हेरक बिहान ढाड निहुराएर नमस्कार गर्थ्यो उसैले आज बिहानदेखि नमस्कार गर्न छोड्यो भने? सोच्नुस्, सोच्नुस्। मनमा त बहुतै रिस उठेको हो। मान्छे शिष्टाचारले बाँधिएको पनि त हुन्छ। बनावटी शिष्टाचारले अथवा वास्तविक शिष्टाचारले। जे भए पनि बाँध्ने कुरो शिष्टाचार नै हो। निर्वाह गर्नुपरिरहेछ यो खोक्रो शिष्टाचार, नत्र झापड दिनमा कुनै अवरोध थिएन।

झापड हान्न पाए मात्र अशिष्टाचार ठोस मूर्त रूपमा देखिने होइन। शिष्टाचारको ढाट तगडा छ थाहा छ, तर आफूले पाउने नमस्कार गुमाएकोमा रिस उठ्नु स्वाभाविक नै हो। रिस अशिष्टताको अभिन्न सहयोगी मित्र हो। मैले सोचेँ यसरी कि मानौँ म बिहानीपखको भक्ति कार्यक्रममा प्रवचन दिन गइरहेको छु। तर, अर्को वास्तविकता यो थियो, अशिष्टतावश नै  हेर्दा म उसलाई झापड दिने अवस्थामा छैन। ऊ अग्लो छ। मेरो हात उसको गालासम्म पुग्न सक्दैन। उफ्रेर त सकिन्छ। नाकाबन्दी त भयो तर हामीले युद्ध घोषणा गर्न सकेनौँ। अग्लो मान्छेलाई झापड दिन नसकेको बलियो उदाहरण हो यो। अशिष्टता त्यहाँ अग्लोले गरिरहेथ्यो। यसो सोचेँ झापड हान्ने विचार हिंसक पनि हो। पारम्परिक मित्रता निर्वाह नै ठीक छ, उपयुक्त पनि छ।

यस्तो सोच राणाकालको अवशेष हो भन्ने पनि लाग्यो– सामन्ती विचार। केही भयो कि झापड दिइहाल्ने। तर, सामन्ती विचार त के हुनु र विगतमा धेरै मानिस अकारण मारिए। त्यो द्वन्द्वकाल थियो। तर, कुनै शिष्टाचार निर्वाह नगरी मारिए कति निर्दोष मानिस! भन्न पनि भनियो गैरकानुनी हत्या। यसरी गजबको समय आइसकेको थियो। प्रत्येक नागरिक कि बन्दुकतिर कि विदेशतिर। भयावह थियो स्थिति। राणाकाल पनि त त्यस्तै थियो। कि राणाहरूका अगाडि निल डाउन गर नत्र भने...। 'जो हुकुम सरकार' भनेर बलि चढ्ने बोको झैँ पर्सिनुपर्थ्यो। त्यो जुग अबका मान्छेले सम्भि्कनै पर्दैन। बबालिया जुग थियो। 'जो हुकुम सरकार' भन्नलाई त अब नेताहरू दक्षिण दरबार धाइरहेकै छन्। यसलाई उदाहरण लिएर त्यो बितेको जुगको कल्पना गर्न सकिन्छ। 

म विवश थिएँ। उसले नमस्कार नगरे पनि मुस्कुराएर ऊसित भलाकुसारी गर्न। शिष्टाचार। भलाकुसारी त के थियो, खुलेर गाली गर्न सकिँदैनथ्यो। गाली गर्न पनि शत्रुता नै थियो के? अर्को छेकबारका रूपमा साथमा उसकी श्रीमती पनि थिई। उसकी श्रीमती? यो बीचको एउटा पात्र थिई। पात्र माने नेपथ्यमा बसेर डायलग प्रम्प्ट गर्ने पात्र, जुन देखिँदैन । जसले मलाई नमस्कार गरेन उसको जिउ हेर्दा डायलग प्रम्प्ट गरिरहनुपर्ने जस्तो पनि थिएन। यस्तो थिएन, एउटा सफल पुरुषका पछाडि नारीको हात हुन्छ। यो हो। उसले मलाई नमस्कार गर्न छाड्नुमा त्यही नारीको हात हुन सक्छ, यद्यपि यो भन्न सकिँदैनथ्यो, ऊ एक सफल पुरुष हो।  कारण यो थियो, हिजै मात्र उसले मसित, छोटो परिचयमै, केही रकम सापट मागेको थियो। सफल पुरुषहरू कमै सापट माग्छन्। यो मेरो मान्यता थियो।

सापटी नदिएको हुनाले (यसलाई यसरी पनि भन्न सकिन्छ 'सापटी दिएको नहुनाले') उसले आज चटक्कै नमस्कार नगरेकै हो भन्ने निष्कर्ष निकाल्न सकिन्थ्यो। नमस्कार गर्न नचाहनुको अर्को ठोस कारण मेरो जानकारीमा थिएन। मैले अघि कतै भनेँ वा भनिनँ, अचेलको मर्निङवाकलाई प्रातःकालीन भ्रमण भन्नु अनुपयुक्त हुन्छ। अथवा प्रातःकालीन नभनेर बिहानको भ्रमण सन्दर्भ अनुकूल भए भन्न मिल्न सक्थ्यो। तर प्रातः भ्रमण पनि अलि अनुपयुक्त नै हुन्थ्यो। मानिसहरू अचेल ब्याकग्राउन्डमा कुनै एउटा दुर्निवार कारण नभई मर्निङवाकमा निस्कन्नन्। कसैलाई सुगर, कसैलाई प्रेसर, कसैलाई मसल क्रम्प र कसैलाई ग्यास्ट्रिक वा अरूचि! यहाँ सबै कारण गन्ती गर्न सकिन्नथ्यो। यो मेडिकल हिस्ट्रीको पाना पनि थिएन। अघि गणना गरेर देखाइएका कारणभन्दा अरूअरू कारण पनि हुन सक्छन्। यति भन्न सकिन्थ्यो रोग संहार वा नियन्त्रणका लागि वा स्वस्थ रहनका निम्ति मानिस मर्निङवाकमा निस्कन्थे। त्यस किसिमको बाध्यतालाई दृष्टिगत गरी यो प्रातःकालीन भ्रमण भन्नु अत्यन्त काव्यात्मक प्रयोग हुन जान्थ्यो। वास्तवमा सहरी जीवन अत्यन्त कटु र कठोर छ। काव्यात्मक भाषिक प्रयोग असम्भव हुन्छ।

जे होस्, ऊ आज श्रीमतीसित बिहानबिहान हिँडडुल गर्न निस्केको छ। सामान्यतः उनीहरू दुबोको चौर खोजेर नांगा खुट्टा हिँड्छन्। सहरमा कतैकतै टाढामा छन् दुबोका चउर। यसो त भन्न सकिन्न, दुबोको चउरमा नांगा खुट्टा बिहानबिहान हिँडेर केही फाइदा छैन, छ होला फाइदा तर यो एउटा फेसन पनि हो। दोस्रो महŒवपूर्ण कुरो पनि थियो ऊसित सरोकार राख्ने के भने उसकी श्रीमती सुन्दर थिइन। श्रीमती सुन्दर नहुनुले ऊ कुरूप छ भनेर परिभाषित गर्दैनथ्यो। नारी सशक्तीकरणको यस युगमा सौन्दर्यको बुझाइ अर्कै छ। तर, जे छ सो छ, तर उसकी श्रीमती सुन्दर नहुनुसित उसको मर्निङवाक गर्नु सोझै आबद्ध हुने विषय पनि थिएन। हुन सक्छ उसकी श्रीमती जुडो वा उसु वा अरू केही युद्धकला निपुण पो थिई कि! त्यसैले जोसँग पनि सापटी मागेर नफर्काउने बानीवाला उसलाई प्रोटेक्सन दिन सँगै हिँडेकी पनि हुन सक्थी। तर, यसो भनेर व्यंग्य गर्न सकिन्नथ्यो। मानिसहरूका आआफ्ना बाध्यता हुन सक्छन्।  

हुन सक्थ्यो लोग्ने–स्वास्नी दुवै कुनै न कुनै बिरामीले पीडित हुँदा हुन्। अनुमानको भरमा यसो भन्न सकिन्छ। लोग्ने बिरामी भएर स्वास्नी बिरामी नहुन सक्छे र त्यस्तै स्वास्नी बिरामी भएर लोग्ने बिरामी नहुन पनि सक्छ। वाकिङमा एकले अर्कालाई साथ दिएको पनि हुन सक्छ। जे पनि हुन सक्छ।

तर, ठाडो हिसाबको कुरो यो थियो, उसले मलाई आज नमस्कार गरेन। यसको गोप्य कारण केही हुन सक्थ्यो। मैले भनेँ नि, उसकी श्रीमती सुन्दर थिइन, मैले त्यतातिर आँखा लगाउने कुरो पनि भएन। तर, लोग्नेमान्छेहरूको एउटा भित्री गर्व हुन्छ, श्रीमतीका अगाडि अर्को पुरुषलाई नमस्कार गरेमा सानो भइन्छ भन्ने। त्यस्तो गर्व चूर्ण पार्न चाहँदैनथ्यो होला ऊ। राम्री महिला वा केटी भेटिई भने नमस्कार वा 'हाय' 'हेलो' गर्न वा परिचय पाउन र संवाद गर्न (यद्यपि कुराकानी गर्न भन्नु उपयुक्त हुन्छ) पुरुष पछि पर्दैन। यो अपवादरहित तर सर्वमान्य जस्तै स्थापित छ। उसरी म पुरुष मनोविज्ञानबारे ज्ञाता होइन, तर आफ्नो मन त्यस्तै हुने गर्छ।

यी सबै हिसाब मिलान गर्दा उसले आज नमस्कार नगर्नुको कारण केही केही समझमा आउँछ। कार्यालयको हाकिमलाई नमस्कार नगरी हाजिर लगाउने मातहतको विद्रोही कर्मचारी जस्तो ऊ देखियो। यस्तोमा कारण अर्को पनि हुने गर्छ— हाकिम अर्को पार्टीको र मातहतको अर्को पार्टीको। वाम वा दक्षिण वा वाम वा वाम वा दक्षिण वा दक्षिण। गठबन्धन सरकार आउन थालेपछि एकापसमा विरोधी हुन जे पनि चल्छ। यसभन्दा अझ ठूलो कारण हाकिम जुन पार्टीमा छ त्यो प्रतिपक्षमा छ र मातहतको पार्टी जुन छ त्यो सरकारमा। त टसल झन् तीव्र स्तरमा अनुभव गर्न सकिन्छ। ऊ र मेरो बीच त्यस्तो तीव्र द्वन्द्व देखिएको छैन। द्वन्द्व प्रारम्भिक अवस्थामा छ। म तर द्वन्द्वतिर छैन। मैले कुनै पनि द्वन्द्व अन्तिमसम्म लिएर जान सक्दिनँ। सरेन्डर नगरे पनि टोलै छाडेर हिँडिदिन्छु। यो मेरो लुलो बानी हो। यो टोलमा आइसकेपछि अर्कोतिर अगिअगि झैँ फ्याट्टै सरेर जाने मेरो मन छैन।

अर्को थप राहत यो थियो, उसले आज अघिअघि कुकुर हिँडाएको थिएन। कुकुरलाई दिसापिसाब आदि नित्यकर्म गराउन हिँडाउनेहरूमध्ये ऊ थिएन। ऊसित कुकुर थियो वा थिएन, त्यो मैले यसै हो भन्न सक्दिनँ। यी सब हुँदाहुँदै एउटा अप्रिय कुरो यो थियो, ऊ मेरो छिमेकी थियो। म जुन दिन यता सरेर आएँ उसले तत्परताका साथ नमस्कार गरेको हो। मलाई लाग्यो टोलकाहरूले उसलाई शिष्टाचार महापाल नियुक्त गरेका छन्, नयाँ सरेर आउने डेरावाललाई नमस्कार गर्दै स्वागत गर्न। परिचय स्थापित भइसकेको थिएन तर उसले पुरानो परिचय छ भनेझैँ नमस्कार गर्‍यो। सिल्क झैँ अनुहार बनाएर गर्‍यो। सिल्क माने रेसम। बाँकी प्रस्टै र सुबोध्य छ। मलाई यस्तो लाग्थ्यो, उसमाथि भाषाको खेल गर्न सकिन्थ्यो। तर, आज उसले त्यो खेलको नियम नै बिगार्‍यो। नमस्कारै गरेन नत्र कति मिठो गरी भलाकुसारी हुन्थ्यो—

'सन्चै?' 'हजुर, याँलाई नि?' 'ठीकै छु।' 'हिजो त हाम्रो् भेट उता भा'थ्यो।' 'मान्छेले चाहेमा जता पनि भेट हुन सक्छ, मन हुनुपर्‍यो।' यस्ता संगतअंगत डायलग प्रतिस्पर्धात्मक स्तरमा प्रकट हुन्थे।

यस बेला कुनै अघटित पनि हुन सक्छ। यस्तो मलाई भइरहेथ्यो। आँखा फरफराउनु वा गाला चिरिकचिरिक गर्नु। नमस्कार धेरै गहिरो गाडिएको रहेछ। नमस्कार पाउने इच्छा! उसले सुरुमै त्यसरी नमस्कारको चारो हाल्न नहुने थियो। मान्छे चिन्न सकिएन। उसै बेला म तर्किन सक्थेँ। तर, उसकी श्रीमती आज मर्निङवाकमा देखिई। यस्तो लाग्दैनथ्यो उसकी श्रीमती उसको सफलताको पछाडि रहेको हात थिई। ऊ पछि टोलमा बु‰दै जाँदा खासै असफल व्यक्ति थिएन तर सफल पनि थिएन। बढी असफल वा असफलतिर। ऊ आज अलि भिन्न मुडमा देखियो। टाढैबाट त्यो उसको जिउबाट निस्केको अनुभव गर्न सकिन्थ्यो। खासगरी मैले अनुभव गर्न सक्थेँ। नजिक आइसकेका थियौँ। साँघुरो सडकमा दुवै मालवाहक ट्रकले बाटो नछोडेजस्तो अवस्था थिएन। ऊ पनि द्वन्द्व इच्छुक लागेन। यद्यपि, उसमा आत्मग्लानि थिएन। मलाई ग्लानि भइरहेको थियो, उसबाट मैले नमस्कार पाइनँ।

तर, आकस्मिक रूपमा केही पनि घटित हुन सक्छ। के होला त्यस्तो अघटित घटित हुने? मलाई आत्मविश्लेषणमा मजा आइरहेको थियो। मग्न थिएँ। आश पनि थियो- अभिवादन आउला भनेर, सभाको आरम्भमा जस्तै। बिहान उज्यालो थियो। उसले र मैले एकअर्काका अनुहार प्रस्टै देख्न सक्थ्यौँ। तर, यहाँ जस्तो बयान गरिएको छ त्यस्तो चुँडिहाल्ने टेन्सन थिएन। घृणाको टेन्सन थिएन, तर अपेक्षा पूरा नहुनुको टेन्सनचाहिँ थियो। हात हालाहाल गरिहालिएको थिएन। म बारम्बार यो भनिरहेछु म शान्तिवादी हुँ त्यसो नभए पनि द्वन्द्वप्रिय होइन। बुद्ध जन्मेको मुलुकको नागरिक यद्यपि बुद्ध जुन छन् उनी यहीँ जन्मेका हुन् भनेर बारम्बार दोहोर्‍याइरहनुपरेको छ— बुद्ध वाज बर्न इन नेपाल भन्दै।

त अनपेक्षित यो भइदियो- उसकी श्रीमतीले मलाई फ्याट्टै 'नमस्कार' भनी। नमस्कार जसबाट भए पनि आजको मितिको पहिलो नमस्कार थियो। यसैबाट सन्तुष्ट हुन सकिन्थ्यो। भएँ पनि। मैले उसलाई हेरेँ। विजेता भइदिएँ म भनेर। ऊ भुइँतिर हेरिरहेको थियो। तर, एउटा व्यंग्य हाँसो उसका ओठमा थिए। यसो भन्न सकिन्थ्यो– त्यो व्यंग्य मेरा लागि थियो वा आफ्नै श्रीमतीका लागि जसले ठीक क्रसिङप्वाइन्टमा हतियार बिसाएकी थिई। अथवा हुन सक्थ्यो उसकी श्रीमतीलाई यो द्वन्द्वबारे थाहा थिएन। भनिएकै छ नारीहरू क्षमाशील हुन्छन् वा मिलनसार हुन्छन्।

संसारमा दुई थरी मानिस हुन्छन्— एक लुजर र अर्को विनर। मैले यस्तो सम्झेँ तर यो फिलिमको प्रोमो थिएन। कारण यो थियो, मैले टीभी र एफएममा अचेल बरोबर एउटा फिलिमको यो प्रोमो डायलग सुन्ने गरेको छु। त, जे होस्...

प्रकाशित: ११ मंसिर २०७३ ०५:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App