८ वैशाख २०८१ शनिबार
खेल

मैदानभित्रका सच्चा नायक

वार्स- पोल्यान्डले युरो २०१६ को अन्तिम १६ मा स्विट्जरल्यान्डलाई हराएर क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेपछि लुकास फाबियान्स्कीले खुसी लुकाएनन्। सधैं सोचमग्न देखिइरहने लजालु स्वभावका फाबियान्स्की खुलेर खुसी मनाइरहेको दृश्य साँच्चै दुर्लभ र रमाइलो थियो।

स्वान्सीका गोलकिपर ३१ वर्षे फाबियान्स्कीले खुसीमा हात माथि माथि उठाउँदै दुर्लभ पारामा उनले आफ्नो भावना सार्वजनिक गरे। 'फाबियान्स्की एउटा अत्यन्तै राम्रो खेलाडीसँगै लजालु स्वभावको केटा हो,' पोल्यान्डको एक दैनिक पत्रिका जेस्पोस्पोलिटाले छापेको छ। सेर्डान साकिरीको एउटा कडा प्रहार बाहेक फाबियान्स्कीले थुप्रै दर्शनीय बचाउ गरेर पोल्यान्डको प्रतियोगितामाअगाडि बढ्ने सम्भावना कायम राख्यो।

'यो नै मेरो सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय खेल हो भनेर म भन्न सक्दिनँ,' स्विट्जरल्यान्डसँगको खेलपछि फाबियान्स्कीले भने, 'मैले एउटा गेालपिकरले गर्नुपर्ने काममात्र गरेको हुँ। मलाई मानिसहरू मैदान बाहिरको व्यवहारका कारण मन पराउँछन्। मानिसहरू मलाई भलादमी मान्छे भन्छन्। सायद मैदानमा पनि उनीहरूले मलाई त्यस्तै नरम प्रस्तुत हुने अपेक्षा गरेका थिए होलान्।'

२००६ मा डेब्यु गरे पनि धेरैजसो बेन्चमा सीमित भएका कारण फाबियान्स्कीले ३३ पटकमात्र अन्तर्राष्ट्रिय खेल खेलेका छन्। युरो २०१६ को छनोटअन्तर्गत पछिल्ला ६ खेल खेल्नाका बाबजुद फ्रान्समा फाबियान्स्की दोस्रो रोजाइका गोलकिपर थिए। पोल्यान्डको पहिलो नम्बरमा ओजिच स्जेस्नी थिए। आर्सनलमा पनि फाबियान्स्कीको नियति दोस्रो रोजाइको गोलकिपर हुनु नै थियो। आफूभन्दा पाँचवर्ष कान्छा प्रतिस्पर्धी स्जेस्नीलाई पहिलो रोजाइमा स्विकार्नु उनको बाध्यता थियो।

२०११ मा फाबियान्स्कीले आर्सनलमा पहिलो रोजाइ पाउने अवस्था आइसकेको थियो। तर, पाखुरामा लागेको चोटले उनलाई पूरा सिजभर मैदान बाहिर राख्यो। म्यानचेस्टर सिटीविरुद्धको खेलअघि वार्मअप दौरान स्जेस्नीको प्रहार जोगाउन खोज्दा फाबियान्स्की घाइते भएका थिए। 'मैले आफ्ना टिम सहयात्रीको दुर्भाग्यको फाइदा उठाएँ,' गत सिजन आर्सनलबाट लोनमा एएस रोमा पुगेका स्जेस्नीले भने। युरो २०१६ मा स्जेस्नीको आफ्नै दुर्भाग्यका कारण फाबियान्स्कीले पोस्ट सम्हाल्ने मौका पाएका हुन्। पहिलो खेलमा उत्तरी आयरल्यान्डसँग १–० को विजय हासिल गर्दा राम्रो प्रदर्शन गरेका स्जेस्नी त्यही खेलमा घाइते भएका थिए। स्जेस्नीको तिघ्रामा चोट लागेपछि फाबियान्स्कीले समूह चरणमा जर्मनी र युक्रेन तथा अन्तिम १६ मा स्विट्जरल्यान्डविरुद्ध पहिलो रोजाईबाट खेल्दै आफूलाई प्रमाणित गर्ने मौका पाए।

जर्मनीको सीमावर्ती सहर कोस्टर्जिन नाड ओद्रामा जन्मिएका ३१ वर्षे फाबियान्स्कीले पोलोनिया स्लुबिसबाट करिअर सुरु गरेका थिए। १९ वर्षको उमेरमा पोल्यान्डको शीर्ष डिभिजन टोली लिच पोज्नानसँग अनुबन्धित उनी त्यहाँ पनि ६ महिनामात्र टिके। पोज्नानबाट ६ महिना खेलेपछि उनी लेगिया वार्ससँग आबद्ध भएका थिए। लेगियामा त्यो बेला आर्टुर बोरुक पहिलो रोजाइमा थिए। पोल्यान्डको तेस्रो रोजाइमा रहेका बोरुक सेल्टिक गएपछि फाबियान्स्कीले लेगियामा पहिलो रोजाइबाट पोस्ट सम्हाल्ने मौका पाए। पहिलो सिजनमै लेगियाबाट घरेलु लिग जित्न सफल भएका फाबियान्स्की दुईपटकसम्म पोलिस लिगको उत्कृष्ट गोलकिपर चुनिए।

लेगियासँगको सफल करिअरलाई नयाँ मोड दिँदै उनी २००७ मा आर्सनलसँग अनुबन्धित भएका थिए। तर इङ्लिस प्रिमियर लिगको टोलीमा पनि उनको करिअर सुखद हुन सकेन्। अनुभवी जेन्स लेहम्यानको दोस्रो रोजाइमा रहेर आर्सनल करिअर सुरुआत गरेका उनी म्यानुअल अल्मुनिया र स्जेस्नीको पनि बेन्च तताउनमै सिमित भए। सातवर्षे करिअरमा उनले आर्सनलबाट ७८ खेलमात्र खेल्न पाए। २०१४ मा करियरको नयाँ अध्याय सुरु गर्ने उद्देश्यसहित उनले स्वान्सीका लागि आर्सनल छोडे। जहाँ पुगेपछि भने उनी पहिलो रोजाइबाट खेल्दै आएका छन्।

मैदानभित्रका लजालु स्टारले स्कुले जीवनकी साथी अनासँग विवाह गरे। अहिले उनको एक ६ महिनाका छोरा (यान) छन्। 'फाबियान्स्की एउटा सामान्य युवा हुन्। उनी सेलिब्रिटी बन्न रुचाउँदैनन्। टाटु, कार, प्रेमिकाहरू वा सेलिब्रिटी श्रीमती देखाउनु उनको चाहनामा पर्दैन,' जेस्पोस्पोलिटाले छापेको छ, 'उनी मैदानभित्रका सच्चा नायक हुन्, ट्याबलोइडका होइनन्।'

प्रकाशित: १६ असार २०७३ ०३:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App