८ वैशाख २०८१ शनिबार
खेल

रक्षात्मकविरुद्ध आक्रामक

मार्से- फ्रान्समा जारी युरोपियन च्याम्पियनसिपमा पोल्यान्डको रक्षात्मक प्रदर्शन निकै उत्साहजनक छ। रक्षापंक्तिको उत्कृष्ट प्रदर्शनको प्रेरणामा टोलीले चार खेलमा एक गोलमात्र खाएर युरोपेली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान पक्का गरिसकेको छ। सेमिफाइनल पुग्ने अभियानमा रहेको टोलीले बिहीबार विश्व फुटबलले अहिलेसम्म पाएका सर्वोत्कृष्ट खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको चुनौती सामना गर्नुपर्नेछ।

पोल्यान्डका डरलाग्दा सेन्टर ब्याक जोडी मिचेल पाज्दान र कामिल ग्लिकले बिहीबार मार्सेमा अन्तिम आठको खेलमा पोर्चुगलसँग खेल्दा प्रतियोगितामा अहिलेसम्मकै कठिन चुनौती सामना गर्नुपर्नेछ। पछिल्ला खेलमा विपक्षीले खास दबाब दिन नसक्दा पोल्यान्ड रियाल मड्रिडका खतरनाक फरवार्ड रोनाल्डोलाई सामना गर्ने अभ्यासबाट बिमुख हुनुपरेको थियो।

अमेरिकी म्यागेजिन मेन्स हेल्थले जनाएअनुसार २९ वर्षे रोनाल्डो प्राविधिक रूपमा विश्वकै सर्वोत्कृष्ट खेलाडी हुन्। रोनाल्डोले ३२ किलोमिटर प्रतिघन्टाभन्दा बढीको गतिमा दौड्न सक्ने उल्लेख गर्दै मेन्स हेल्थले उनी १ मिटर उफ्रन सक्ने र प्रत्येक खेलमा औसत १६ किलोमिटर दौडिने जनाएको छ। साथमा पछिल्लो २० मिनेटमा रोनाल्डोले अरु खेलाडीभन्दा बढी विजयी गोल गर्ने गरेको तथ्यांक पनि मेन्स हेल्थको अध्ययनमा देखिएको छ।

जारी प्रतियोगिताको सुरुआती खेलमा लय समाउन संघर्ष गरे पनि रोनाल्डो फर्ममा फर्किइसकेका छन्। २००४ देखि लगातार युरोपियन च्याम्पियनसिपको अन्तिम चरणमा गोल गर्ने पहिलो खेलाडीका रूपमा कीर्तिमान बनाएका उनले हंगेरीविरुद्ध सम्पन्न समूह चरणको अन्तिम खेलमा दुई गोल गरेका थिए। ३–३ को बराबरी नतिजा निस्किएको उक्त खेलमा रोनाल्डोले पहिलो व्यक्तिगत गोल आत्मविश्वासी ब्याकहिलमा गरेका थिए भने दोस्रो गोलका लागि उनले गरेको हेड प्रयास पनि प्रशंसनीय थियो। समूह चरणको अन्त्यमा लयमा फर्किएका रोनाल्डोले अन्तिम १६ को खेलमा अतिरिक्त समयसम्म संघर्ष गर्दै क्रोएसियालाई १–० को नतिजामा हराउँदा पनि गोलको अवसर सिर्जना गरेका थिए। उनैले मिलाएको अवसरमा रिकार्डो क्वारेस्माले पोर्चुगलका लागि विजयी गोल गरेका थिए।

आक्रमणमा रोनाल्डो र उनको टोली अब्बल रहँदा रोक्ने मामलामा पोल्यान्डले पनि आफूलाई प्रमाणित गरिसकेको छ। बितेको एक वर्षमा तीन गोलमात्र खाएको टोलीले जारी युरोमा निकै कठिन परिस्थितिमा गोल खाएको थियो। स्विट्जरल्यान्डका सेर्डान साकिरीले पेनाल्टी बक्सभित्रबाट गरेको उत्कृष्ट बाइसाइकल किक गोलमा परिणत भएपछि पोल्यान्डले अन्तिम १६ को खेलमा नतिजा हात पार्न टाइब्रेकरसम्म कुर्नुपरेको थियो। प्रतियोगितामा अहिलेसम्म गोल नखाने टोली जर्मनीमात्र हो।

रोनाल्डो र उनको टोलीको आक्रमण क्षमता निस्तेज पार्न पोल्यान्डलाई जर्मनीविरुद्धको समूह चरणको खेलको अनुभव काम लाग्न सक्छ। निकै उच्च फर्ममा रहेको जर्मनीसँगको खेल पोल्यान्डले गोलरहित बराबरीमा टुंग्याएको थियो। जर्मनीले टोलीका साना खेलाडी मारियो गोइट्जेलाई खेलाएका कारण गोल गर्न असफल भएको हुनसक्छ।

समूह चरणका अन्य खेलमा उत्तरी आयरल्यान्डले पोल्यान्डको पोस्टमा एउटै बल प्रहार गर्न सकेन भने कुनै पनि खेलमा गोल गर्न नसकेको युक्रेनबाट कुनै चुनौती थिएन। साकिरीले अन्तिम समयमा गरेको गोलले पोल्यान्डलाई साँच्चै अप्ठेरोमा पार्न खोजेको थियो। निर्धारित समय १–१ को बराबरीमा अल्भि्कएपछि अतिरिक्त समयमा स्विट्जरल्यान्डको पल्ला भारी भएको थियो। तर, रक्षापंक्तिले उच्च प्रदर्शन गर्दै खेल पेनाल्टीसम्म पुर्‍याएको थियो। आक्रमणमा खास जम्न नसकेको पोल्यान्ड प्रतियोगितामा अगाडि बढ्न चाहने हो भने रक्षकहरूबाट त्यही प्रदर्शनको निरन्तरता हुनुपर्छ।

एक गोल खाएको पोल्यान्ड आफूले पनि तीन गोलमात्र गर्न सकेको छ। छनोट चरणमा सर्वाधिक १३ गोल गरेका सुपर स्ट्राइकर रोबर्ट लेवान्डोवस्कीले पछिल्ला चार खेलमा दुईपटकमात्र विपक्षीको पोस्टमा प्रहार गर्न सकेका छन्। उनका दुवै प्रहार पछिल्लो खेलमा सम्भव भएका थिए। तर, टाइब्रेकरमा उनले प्रहार गरेको पहिलो पेनाल्टी विपक्षी गोलकिपरलाई कुनै मौका नदिई दायाँतिरको माथिल्लो कुनाबाट गोलमा परिणत भएपछि उनको आत्मविश्वास बढेको हुनसक्छ।

बायर्न म्युनिखका प्रभावकारी फरवार्ड एवं पोल्यान्डका कप्तान लेवान्डोवस्की फर्ममा फर्किने आशामा रहेको टोलीका लेफ्ट विंगर कामिल ग्रोसिस्की पोर्चुगलको रक्षापंक्तिमा भारी साबित हुन सक्छन्। तर ३३ वर्षे पेपेको नेतृत्वमा रहेको पोर्चुगाली रक्षापंक्ति यसका लागि तयार छ।

पोल्यान्डका प्रशिक्षक एडम नावाल्काले रोनाल्डोको क्षमताबाट आफूहरू भलीभाँती परिचित भएको बताएका छन्। 'उनी अत्यन्तै खतरनाक खेलाडी हुन्। उनले जुनसुकै बेला पनि विपक्षी टोलीलाई क्षतविक्षत पार्न सक्छन्,' नावाल्काले भने, 'उनलाई रोक्न हामी विशेष रूपले तयार हुनुपर्छ। मेरो विचारमा हामीले मैदानमा देखाउने रणनीतिसामु रोनाल्डो सफल हुने छैनन्।'

फाइनल पुग्न तुलनात्मक रूपमा सजिलो मानिएको बाटोमा परेका दुई टोलीबीचको विजेताले सेमिफाइनलमा वेल्स वा बेल्जियमसँग खेल्नेछ। आयोजक फ्रान्स, विश्व च्याम्पियन जर्मनी, इटाली र आश्चर्यजनक रूपमा क्वार्टरफाइनल पुगेको आइसल्यान्ड फाइनल पुग्ने अर्को बाटोमा छन्।

प्रकाशित: १६ असार २०७३ ०३:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App