coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

'काजोल खातुन'को कर्पोरेट लन्च

काठमाडौं- पत्रकार फूलमान बलको कथासंग्रह 'काजोल खातुन'को शनिबार कर्पोरेट लन्च गरिएको छ। आउँदो शनिबार शिल्पी नाटकघरमा पुस्तक सार्वजनिक हुने भए पनि एक हप्ता अगावै 'सफ्ट लन्च' गरिएको हो।

पुस्तक राजधानीका दैनिक तथा साप्ताहिक पत्रिकाका सम्पादकले संयुक्त रुपमा सार्वजनिक गरेका थिए। त्रिपुरेश्वरस्थित मुड्स लन्जमा  सम्पन्न कार्यक्रममा कान्तिपुर दैनिकका सुधीर शर्मा, अन्नपूर्ण पोस्टका युवराज घिमिरे, नागरिकका गुणराज लुइँटेल र नेपाल साप्ताहिकका प्रशान्त अर्यालले संयुक्त रुपमा 'काजोल खातुन'को अनौपचारिक विमोचन गरेका थिए। शेखर खरेल र मोहन मैनालीले पुस्तकमाथि टिप्पणी गरेका थिए।

पुस्तकमाथि टिप्पणी गर्दै खरेलले संग्रहमा स्थानीय स्वादका कथाको बाहुल्य रहेको बताए।  उनले पुस्तक द्वन्द्वको परिवेशमा लेखिएको बताउँदै   संग्रहमा अटाएका कथाले द्वन्द्वलाई तटस्थ रहेर हेरेको पनि जिकिर गरे। 

'पीडा वा द्वन्द्व सार्वभौम रहेछ। यसलाई कम गर्ने उपाय भनेको मानवता नै हो भन्ने कुरा हरेक कथामा अभिव्यक्त छ। त्यसैले यसलाई द्वन्द्वको दस्तावेजसँगै मानवतावादी कृति पनि भन्न सकिन्छ,' खरेलले भने।

पत्रकार मोहन मैनालीले द्वन्द्वमार्फत् सामाजिक चरित्र उधिन्ने काममा फूलमानले कथाबाटै साहित्य शिल्पको प्रचुर सम्भावना पोखेको बताए। कथासंग्रहमा अटाएका पात्र र प्रवृतिले द्वन्द्वपछि पनि रुपान्तरण हुन नसकेको सामाजिक मनोविज्ञानलाई राम्ररी छताछुल्ल पारेको मैनालीले उल्लेख गरे।

सम्पादकहरु युवराज घिमिरे, सुधीर शर्मा,  प्रशान्त अर्याल र गुणराज लुइँटेल, नारायण वाग्लेले  पत्रकारितामा ख्याति कमाइसकेका फूलमानलाई साहित्य यात्रामा पनि सफलता मिलोस् भन्ने कामना गरेका थिए।

कार्यक्रममा फूलमानले संग्रहमा अटाएका विभिन्न कथाको रचनागर्भ सुनाउँदै आफूले कथामार्फत् सामाजिक यथार्थलाई अगाडि ल्याउने प्रयास गरेको बताएका थिए। कथासंग्रहमा रहेका धेरैजसो कथा अनु्भव आर्जित रहेको उनको कथन थियो। दुई सय ८ पृष्ठमा १३ कथा संग्रहित 'काजोल खातुन'को मूल्य २९९ तोकिएको छ। १३ वर्षअघि कथासंग्रहको पहिलो संस्करण निकालेका उनले त्यसमा ६ वटा नया“ थपेर बुकहिलमार्फत् नया“ संस्करण बजारमा ल्याएका हुन्।

प्रकाशित: १२ मंसिर २०७३ ०३:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App