७ वैशाख २०८१ शुक्रबार
विचार

गणतन्त्र नेपालमा बालीघरे

‘१० पाथीमा वर्षभरिका लागि काम गर्छु, त्यो पनि अनाज लिन घरमै जानुपर्छ’– सिन्धुपाल्चोकको दुवाचौर–२ का गोरे कामीको भनाइ हो यो । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका सार्वभौम नेपाली नागरिक गोरे कामीमात्र हैन, त्यस टोलमा बस्ने १८ घर विक परिवार र २६ घर नेपाली थरका परिवार सबैको वास्तविकता यही हो ।  उनीहरुको पुख्र्याैली पेशा आरन चलाउने र कपडा सिलाउने हो ।

परम्परागतरूपमा पुख्र्याैली पेशा अपनाउँदै आइरहेका उनीलगायतका दलित समुदाय वर्षभरि काम गरेबापत ३ पटक अनाज थाप्न ‘बिष्ट’ हरुका घर जानुपर्छ । मन राम्रो हुने र राम्रो अनाज फलेमा ५ पाथी आउने मकैका घोगा, ५ पाथी धान र २ पाथी गहँु दिन्छन् र नहुनेले त्यो पनि कम गर्छन् । अझ कतिले त कमसलखालको अनाज दिएर पठाउँछन् ।

करिव २ रोपनीमात्र जग्गा भएका गोरेको दैनिक जीविका यसरी नै घिस्रिघिस्री चलिरहेको छ । परिवारको सम्पूर्ण भरणपोषण, उपचार, पढाई, पाहुना सत्कार र चाडपर्व सबैैको जोहो गर्ने सम्पूर्ण आयस्रोत यही नै हो उनको अर्थात यहाँका सबै बासिन्दाको । ‘हामीले आफ्नै हातले आजसम्म १० हजारमाथि एकमुष्ठ पैसा कहिल्यै समात्न पाएका छैनेों’, उनको भनाइले स्पष्ट पार्छ कि उनी कति दयनीय अवस्थाबीच बाँचिरहेका छन् । हुन त अहिलेको जमानमा १० हजारमा पनि आउने त केही हैन तर पनि यति पैसासमेत थाप्न नपाउनुले उनको गरिबी मापन गर्न सघाउँछ ।

के उनलाई यसरी यति थोरै अनाज लिएर वर्षभर काम गर्न जाँगर चल्छ त ? उत्तर उनको स्पष्ट छ– नचलेर के गर्नु त, आखिर आफ्नै उत्पादनले ३–४ महिना पनि नधान्ने भएपछि । हो, दलितहरुको यही बाध्यताको फाइदा उठाउँदै थोरै अनाजमा वर्षभर काम लगाउने जमात बढ्दो छ ।  हुन त उनीहरु बाहिरी कपडा पनि सिलाउँछन् फुर्सदका बेला तर गाउँ न हो, खासै कोसँग पैसा हुन्छ र ? त्यसैले त्यसबाट पनि खासै आम्दानी हुँदैन । अनि मन लागोस् कि नलागोस्, पेटकै लागि यो प्रथा अपनाउनुको विकल्प उनीहरुसँग हुने गर्दैन ।

गोरेले ज्याला बढाउन प्रयास नगरेका पनि हैनन् । र, यसका लागि बिष्टलाई घुक्र्याए पनि । तर पनि सफल हुन सकेनन् । कारण ?– आफ्नै जस्तो पेशा गर्ने अर्को परिवारले त्यति ज्यालामै काम गर्न सहमति जनाइदिनू । अनि यस्तो अवस्थामा ज्याला बढोस् पनि कसरी ? खासगरी कम पढेलेखेका, आत्मविश्वास र विकल्पमा कमी जस्ता कारण पनि आफ्नै दाजुभाइ वा परिवारबीच खासै समन्वय र मिलाप देखिन्न । जसको फाइदा उनीहरुलाई काम गराउनेले लिइरहेका छन् । तर यसको पत्तो भने यहाँका दलित परिवारलाई अझसम्म छैन ।

दलित बस्तीभर एसएलसी पास गर्ने मुस्किलले ५ जना भेटिन्छन् । आफ्नो भएको आरन र सिलाइ मेसिन पनि भूकम्पमा भत्किएको घरले पुरेपछि वा ध्वस्त बनाइदिएपछि यही पेशा पनि सहज हुन सकेको छैन । ‘हामी गाउँभरका सबै मिलेर जजसको मेसिन बचेको छ, त्यसैमा आलोपालो गरेर काम चलाउँछौँ’– यसरी प्रष्ट्याउँछन् दरिद्री अवस्थालाई गाउँलेहरु । तर पनि आफूहरुसँग किन्ने क्षमता नभएकाले यसो गर्नुको विकल्प नभएको उनीहरुलाई रामै्रसँग थाहा छ ।

भूकम्प गएको पनि डेढ वर्ष भयो । यसबीचमा यहाँका बासिन्दाले पनि अन्यत्रका पीडितजस्तै सरकारसँगै धेरै आशा राखेका थिए । तर सबैले घर बनाउने पहिलो किस्ता पनि पाउन सकेका छैनन् । खाने र बसोबासको समेत टुंगो लाग्न नसकेको अवस्थामा आफूहरुमाथि भइरहेको छुवाछूत र विभेदविरुद्ध जुट्नु यिनीहरुका लागि निकै टाढाको विषय बनेको छ । यस्तो अवस्थामा बालीघरे प्रथाविरुद्ध लड्नु वा यसमा पनि उचित ज्याला लिने अयिभानमा लाग्नु निकै कठिन चुनौती बनेको छ ।

अहिलेको नयाँ नेपालमा पनि प्रताडित भएरै बस्नुपर्ने, अहिले पनि थोरै ज्यालाका लागि धेरै घोटिनुपर्ने, अहिले पनि अपमानको पीडा सहेरै बस्नुपर्ने भएपछि खासगरी दलित समुदायका लागि परिवर्तन के भयो त ? कहाँ भयो त ? समग्र नेपाल र नेपालीको परिवर्तन भइसक्दा पनि एउटा समुदायचाहिँ सधैँ अपहेलित हुनुपर्ने किन ? कुनै एउटा समुदायलाई पन्छाएर वा हेपेर नयाँ नेपाल भन्न सुहाउँछ ? न्यायमूलक समाज निर्माण हुन सक्छ ? हैन भने यो अपमान कहिलेसम्म ? यो विभेद कहिलेसम्म ? अहिले यी प्रश्न गोरेहरुले मात्र हैन, समतामूलक समाज निर्माणमा जुटेका सिंगै समुदाय गरिरहेका छन् । जवाफ दिने पालो नेपाली समाजको । नेपाली कानुन कार्यान्वयनकर्ताहरुको । नेपाली मानव अधिकारकर्मीहरुको ।
 
 

प्रकाशित: १२ मंसिर २०७३ ०४:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App