६ वैशाख २०८१ बिहीबार
विचार

घरजग्गामा लगानी

अनुत्पादक भनिए पनि वा केन्द्रीय बैंकले ऋणप्रवाहमा बेलाबखत कडाइ गरे पनि नेपालमा घरजग्गा व्यवसायमा लगानीकर्ता आकर्षित हुँदै आएका छन् । कुनै बेला थातबासका निम्ति र कृषिकर्म गर्ने उद्देश्यमा जोडिने जग्गा अब नाफामुखी व्यवसाय हुन पुगेको छ । राजधानी काठमाडौँआसपास तथा मुलुकका प्रायः सबै जिल्ला सदरमुकाम र सुगम क्षेत्रका घरजग्गाको भाउ अनियन्त्रित ढंगमा बढ्न थालेको छ । तथापि, भाउ कुनबेला पुनः ओरालो लाग्ने हो भन्न सकिन्न । यसकारण पनि घरजग्गामा गरिएको लगानी सुरक्षित मान्न सकिँदैन ।

अहिलेसम्मको अनुभवले हरेक ५–६ वर्षको अवधिमा घरजग्गाको मूल्य ह्वात्तै बढ्ने र घट्ने अवस्था रहेको देखाउँछ । तर, यसमा पनि कुनै निश्चितता भने छैन । विभिन्न कारणले पछिल्लो समय बढेको घरजग्गाको किनबेचले सरकारलाई घोषित राजस्व लक्ष्य भेट्न सहज भएको छ । चालु आर्थिकको प्रथम चार महिनामा यस्तो कारोबारबाट ६ अर्ब ३५ करोड रुपैयाँ राजस्व उठेको छ । गत आवको तुलनामा यो रकम दोब्बरभन्दा पनि बढी हो । सरकारले चालु आवमा यो शीर्षकबाट १४ अर्ब ४ करोड राजस्व उठाउने लक्ष्य राखेको छ ।

गत २०७२ साल बैशाखमा गएको भूकम्पपछि काठमाडौँ उपत्यकाका कतिपय क्षेत्रमा घरजग्गाको भाउ दोब्बरभन्दा बढी भएको छ । साथै विराटनगर, इटहरी, पोखरा, चितवन, हेटौँडा बुटवल, नेपालगन्ज, धनगढी, दाङलगायतका सुगम क्षेत्रमा पनि घरजग्गाको भाउ ह्वात्तै बढेको छ । कतिपय पहाडी जिल्ला सदरमुकामा जग्गाको भाउ राजधानीको भन्दा बढी पुगेको पाइन्छ । उता, काठमाडौैँमा प्रस्तावित बाहिरी चक्रपथआसपासका काँठ क्षेत्रका जग्गाको भाउ अकल्पनीय ढंगमा बढेको छ । भविष्यमा बेच्दा राम्रै फाइदा हुने देखेर यस्ता क्षेत्रमा अहिले जग्गा किन्ने लहर नै चलेको छ ।

घरजग्गा कारोबार उकालो लाग्नुमा केही स्पष्ट कारण रहेको देखिन्छ । माओवादीको दशक लामो द्वन्द्वका समयमा गाउँघर (विशेषगरी दुर्गम पहाडी–हिमाली क्षेत्र) मा त्रासका कारण बस्न नसकेर वा सुरक्षाकर्मीको पहुँच कमजोर रहेका क्षेत्रका बासिन्दा बाँच्नका लागि नै थातथलो छाडेर कि त राजधानी कि त सदरमुकामतिर बसाइँ सर्न थाले । त्यसपछि अर्को कारण तराई–मधेसमा पटकपटक भएका आन्दोलनले पनि त्यहाँका बासिन्दा (विशेषगरी पहाडीमूलका) बसाइँ सर्न बाध्य भए । यसले पनि काठमाडौँवरपरका घरजग्गाको भाउ बढ्न गयो । लामो समयदेखि मुलुकको अर्थतन्त्र विप्रेषणले चलायमान बनाएको छ । वैदेशिक रोजगारीमा गएका नागरिकबाट प्राप्त हुने रकमले बजारमा तरलता बढाइदिएको छ र त्यो रकमको ठूलो हिस्सा सुगम क्षेत्रमा घरजग्गा खरिदमा लगानी भएको देखिन्छ । प्रतिफलका दृष्टिले अन्य क्षेत्र क्रमशः अनिश्चित बन्दै गएकाले पनि घरजग्गामा लगानी बढेको अवस्था छ ।

नेपाल राष्ट्र बैंकले २०६६ सालमा घरजग्गामा लगानी जोखिम बढेको भन्दै बैंक तथा वित्तीय संस्थालाई यस क्षेत्रमा लगानी सीमा तोकिदिएर संकुचति पारिदिएपछि केही सुस्ताए पनि आर्थिक कारोबार गर्ने अनौपचारिक निकायबाट यस क्षेत्रमा लगानी थपिएकै थियो ।

घरजग्गाको मौलाउँदो कारोबारसँगै केही समस्या पनि बढेको व्यवसायी र सरकारले महसुस गर्नुपर्छ । वास्तवमा यो व्यवसायले न त रोजगारी बढाउँछ न त मुलुकको अर्थतन्त्रमै उल्लेखनीय प्रभाव पार्न सक्छ । यसले सीमित मान्छेलाई धनी बनाउने मात्रै हो । उपत्यकाका साथै अन्य क्षेत्रका कतिपय उर्बर भूमिमा घर बन्नाले कृषि उत्पादनमा ठूलो ह्रास आएको छ । फलस्वरूप दैनिक उपभोग्य वस्तु पनि आयात गर्नुपर्ने अवस्था आएको छ ।

जमिनको खण्डिकरणले तराई–मधेसमा कृषिकर्म निर्वाहमुखी हुन पुगेको छ । राजधानी उपत्यका र कतिपय जिल्ला सदरमुकाममा अव्यवस्थित ढंगमा बसोबास बढेको छ । बजारका सडक साँघुरा छन् भने अन्य सुविधा वितरणमा ठूलो कठिनाइ छ । भर्खरै गएको भूकम्पका समय राजधानीमा सुरक्षित स्थानको अभाव भएको सबैले महसुस गरेकै हुन् । घरजग्गा व्यवसायी तथा सरकारले भूकम्पीय जोखिम कम गर्नेतर्फ अझै पनि ध्यान दिन सकिरहेका छैनन् भने भवननिर्माण संहिता पालना पनि हुन सकिरहेको छैन ।

उसै पनि कुनै एउटा स्थानमा मात्र बस्ती बाक्लिनु राज्यद्वारा प्रदत्त सेवासुविधा विकेन्द्रित गर्न नसक्नुको परिणाम हो । यस विषयमा राज्य सधैँ चुक्दै आएको छ । राज्यले घरजग्गा कारोबारलाई प्रोत्साहित होइन, व्यवस्थित गर्न सक्नुपर्छ । यस क्षेत्रमा ओइरिरहेको लगानीलाई उत्पादनमूलक उद्योगतिर लैजान प्रोत्साहन गर्न सक्दामात्र त्यसले रोजगारी सृजना गर्नेछ र देशको अर्थतन्त्रमा उल्लेखनीय योगदान पुग्न जानेछ ।         
 

प्रकाशित: १२ मंसिर २०७३ ०४:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App