८ वैशाख २०८१ शनिबार
राजनीति

पाँच नम्बर प्रदेश टुक्र्याउन कांग्रेस सहमत

कांग्रेसका पदाधिकार र पूर्वपदाधिकारीकाे बैठकमा सहभागी नेताहरू। तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं–सत्तारुढ नेपाली कांग्रेसले पाँच नम्बर प्रदेश टुक्र्याउने विषयमा सहमति जनाएको छ। सोमबार बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले नवलपरासीदेखि बर्दियासम्मको  छुट्टै प्रदेश बनाउन सहमति जनाएको हो। पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला झिकेर ६ र चार नम्बर प्रदेशमा गाभ्ने र बाँकी नवलपरासीदेखि बर्दियासम्मको छुट्टै प्रदेश बनाउने विषयमा सहमति भएको उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले जानकारी दिए।

पाँच नम्बर प्रदेश टुक्र्याउने विषयमा सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्र तथा प्रमुख प्रतिपक्षी एमालेभित्रै विवाद छ। विवादकाबीच कांग्रेस पदाधिकारी बैठकले  पाँच नम्बर प्रदेश टुक्र्याउने विषयमा सहमति जनाएको हो।

बैठकले सीमाकंनका बाँकी विषय भने संघीय आयोग गठनगरी आयोगमार्फत टुंग्याउनुपर्ने निष्कर्ष निकालेको निधिले जानकारी दिए। संविधान संशोधनका चार वटा विषयमा धारणा बनाउन बसेको बैठकले अंगीकृत नागरिकताका सवालमा नेपाली पुरषसँग विवाह गरेकी विदेशी महिलाले विदेशको नागरिकता परित्याग गरेपछि अंगीकृत नागरिकता दिन सकिने निष्कर्ष निकालेको हो।

अंगीकृत नागरिकले उच्च पदमा पुग्न पाउने विषयमा भने कांग्रेस मौन छ। सो विषयमा बैठकले कुनै निर्णय गरेन। भाषाका विषयमा भाषा आयोगको प्रतिवेदन आएपछि मात्र धारणा बनाउने कांग्रेसले जनाएको छ।

यसैगरी राष्ट्रिय सभा गठनका विषयमा सातै प्रदेशबाट तीन वा पाँच जनाको समान प्रतिनिधित्व हुनुपर्ने र बाँकीमा भने जनसंख्याका आधारमा प्रतिनिधित्व हुनुपर्ने कांग्रेसले जनाएको छ। बैठकले मधेसी मोर्चासँग भएको तीन बुँदे सहमति अनुसार नै संविधान संशोधन प्रस्ताव दर्ता गर्ने कांग्रेसले निर्णय गरेको छ। तर संविधान संशोधन कहिले गर्ने भन्ने विषयमा भने मधेसी मोर्चा, एमाले  र सरोकारवाला पक्षसँग एकपटक सहमतिको प्रयास गर्नुपर्ने बैठकले निष्कर्ष निकालेको निधिले जानकारी दिए।

प्रकाशित: १३ मंसिर २०७३ ०८:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App