७ वैशाख २०८१ शुक्रबार
राजनीति

दुई सय बिघामा रामदेवको दाउ

दाङ- पतञ्जली योगपीठ हरिद्वार, भारतका स्वामी रामदेवलाई जडीबुटी खेती तथा आयुर्वेद शिक्षण अस्पताल निर्माणका लागि भन्दै नेपाल संस्कृत विश्वविद्यालयले २ सय बिघा जग्गा भाडामा दिने तयारी गरेको छ।

विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइराला तथा उच्च कर्मचारीको पहलमा ४० वर्षका लागि जग्ग्ाा भाडामा दिन लागिएपछि विश्वविद्यालयका पदाधिकारी नै विरोधमा उत्रिएका छन्। स्थानीय तहमा विवाद भएपछि यससम्बन्धी फाइल सिधै प्रधानमन्त्री पुष्पकमल दाहालकहाँ पठाइएको छ। स्रोतका अनुसार रामदेवले दाहाललाई प्रभावमा पारेर उक्त निर्णय गराउँदै छन्।

शिक्षाध्यक्ष रमेशप्रसाद ढकालले नियमविपरीत रामदेवलाई जग्गा दिएर विश्वविद्यालयलाई तहसनहस पार्न लागिएको भन्दै आपत्ति जनाएका छन् । 'नेपालको जडीबुटी कौडीको भाउमा किनेर औषधि उद्योग खोल्ने रणनीतिमा रहेका रामदेवलाई विश्वविद्यालयको जग्गा दिन खोजियो,' शिक्षाध्यक्ष ढकालले भने, 'रामदेवको प्रस्तावअनुसार जग्गा लिजमा दिइयो भने विश्वविद्यालयमा पतञ्जलीको हैकम चल्नेछ।'

विश्वविद्यालयको नियमअनुसार अधिकतम १० वर्षभन्दा बढी जग्गा भाडामा दिन मिल्दैन। ४० वर्ष जग्ग्ाा भाडामा दिने विषयमा विश्वविद्यालय पदाधिकारी र उच्च कर्मचारीको राय बाझिएपछि विश्वविद्यालय सभाले निर्णय गर्ने जिम्मा कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दहाललाई दिएको छ।

जग्गा लिजमा पाउने निश्चित भएको भन्दै पतञ्जली योगपीठले रामदेव वीरगन्जमा योगशिविर सञ्चालन गर्न आएको मौका छोपी गत मंसिर १० गते नै उक्त जग्गामा भूमिपूजन गर्ने तिथि तय गरेको थियो। तर, यसले विवादको रूप लिएपछि पतञ्जलीको प्रस्तावलाई प्रधानमन्त्री दाहालसमक्ष पठाइएको छ।  'पतञ्जलीको फाइल टुंगिसकेको छैन,' ढकाल भन्छन्, 'प्रधानमन्त्रीज्यूले अब यसमा के निर्णय गर्नुहुन्छ भन्ने प्रमुख कुरा हो।'  

२०७३ भदौमा ठेक्कामा दिन लागिएको संस्कृत विश्वविद्यालयको दाङ, बेलझुन्डीस्थित जग्गा अनुगमन गर्दै विश्वविद्यालयका पदाधिकारी तथा भारतीय योगगुरु रामदेवद्वारा स्थापित पतञ्जली योगपीठ नेपालका प्रतिनिधि।

रामदेवका तर्फबाट पतञ्जली योगपीठलेे विभिन्न चार बृहत योजना निर्माणको उद्देश्य देखाउँदै २०७३ भदौमा विश्वविद्यालयसमक्ष ४ सय बिघा जग्गा भाडामा मागेको थियो। उक्त जग्गाको वार्षिक भाडा प्रतिबिघा १० हजारका दरले प्रस्ताव गरिएको छ। यसअघि विश्वविद्यालयले प्रतिबिघा वार्षिक साढे १७ हजार रुपैयाँमा अन्य व्यापारीलाई भाडामा लगाएको छ।

'साढे १७ हजार रुपैयाँ वार्षिक भाडामा गइरहेको जग्गालाई रामदेवकै नाममा १० हजारमा किन दिने?' ढकालले भने, 'यसले विश्वविद्यालयलाई नाफा भयो कि घाटा भन्ने त छर्लंगै छ।' १० वर्ष मात्र लिजमा दिन मिल्ने विश्वविद्यालयको नियमविपरीत रामदेवले मागेकै आधारमा उनलाई ४० वर्षसम्मका लागि दिन खोज्नु उचित नभएको उनको भनाइ छ।

'४० वर्षसम्म विश्वविद्यालयको जग्गा बन्धक राखिनु राम्रो होइन,' ढकालले भने, 'यति लामो अवधिसम्म विश्वविद्यालयलाई जग्गाको आवश्यकता पर्छ, त्यसबेला विश्वविद्यालयले के गर्छ?'

सस्तो भाडामा जग्गा फुत्काउने दाउमा रहेको पतञ्जलीले विभिन्न आकर्षक प्रस्ताव अघि सारेको छ। विश्वविद्यालयको जग्ग्ाामा आयुर्वेदिक शिक्षण अस्पताल निर्माण गर्ने उसको योजना आकर्षक छ।

आयुर्वेद अध्ययन गरिरहेका विश्वविद्यालयका विद्यार्थीको प्रयोगात्मक अभ्यासका लागि रामदेवले अस्पताल बनाउन लागेका हुन्। ५ करोडको शिक्षण अस्पताल बनाउने बताइए पनि उक्त अस्पतालबारे अरु खुलाइएको छैन। प्रगतिशील कर्मचारी संगठनका जिल्ला अध्यक्ष विनयकुमार पोखरेलले भने, 'अस्पताल बनाउने त भनिएको छ, तर कस्तो बनाउने भन्ने विस्तृत योजना छैन।'

संस्कृत गुरुकुल सञ्चालनको अर्को प्रस्ताव पनि पतञ्जलीले गरेको छ। उक्त गुरुकुललाई 'पतञ्जली पाठ्यक्रम' मा आधारित बनाएर सञ्चालन गर्ने योजना उसको छ। 'यो झनै ठूलो षड्यन्त्र हो,' उनले भने, 'संस्कृत भाषा तथा संस्कृतिका लागि क्रियाशील विश्वविद्यालयलाई धरापमा पार्ने गरी गुरुकुल सञ्चालनका नाममा रामदेव आफू हाबी हुन खोजेका हुन्।'

प्रस्तावअनुसार गुरुकुल पतञ्जली समूहको हुनेछ र यसमा विश्वविद्यालयको कुनै अधिकार हुनेछैन। 'हामीले आधुनिक शैलीको पठनपाठन गर्ने भन्ने योजना बनाएका छौं,' पतञ्जली योगपीठ, राप्ती संयोजक प्रेम शाह भन्छन्, 'गुरुकुलमा संस्कृत मात्र नभई आधुनिक शिक्षा पनि पढाइ हुन्छ।'

नेपाल संस्कृत विश्वविद्यालयको जग्गामा यस्तो गुरुकुल खोलिनु उचित नहुने स्थानीयको तर्क छ। 'देशको एक मात्र संस्कृत विश्वविद्यालयले अन्यलाई  गुरुकुल सञ्चालन गर्न दिनु कुनै हालतमा सही हुन सक्दैन,' कर्मचारी संघका केन्द्रीय उपाध्यक्ष वीणा बिसीले भनिन्।

विश्वविद्यालयलाई विभिन्न विकासे प्रलोभन देखाएको पतञ्जलीको अर्को प्रस्ताव विश्वविद्यालयको हितविपरीत छ। पतञ्जलीले ४० वर्षसम्मका लागि आफ्नो भौतिक संंरचना तयार पार्नेछ र छाड्ने बेला विश्वविद्यालयले लागत मूल्य उसलाई तिर्नुपर्ने हुन्छ।

'रामदेवले करोडौंको लगानीमा यहाँ योजना निर्माण गर्लान्,' प्रगतिशील कर्मचारी संगठनका अध्यक्ष पोखरेल भन्छन्, 'छाडेर जाने बेला लागेको सबै खर्च विश्वविद्यालयले कसरी तिर्न सक्छ?'

गौशाला सञ्चालन गर्ने आश्वासन दिएको पतञ्जलीको प्रमुख उद्देश्य भने जडीबुटी उद्यान हो।  यहाँको जग्गामा जडीबुटी उद्यान बनाउने र जडीबुटी प्र्रशोधन गरेर लाभ लिने योजना बनाएको विश्वविद्यालयका पूर्वरेक्टर भागवत शर्माको आँकलन छ। 'रामदेवको समूहले नेपालको जडीबुटीलाई क्यास गर्न खोजेको छ,' नेपाल संस्कृत विश्वविद्यालयमा जडीबुटी उद्यानका लागि प्रयास थालेका उनले भने, 'हामी सचेत बनेनौं भने नेपालको जडीबुटी भारततर्फ लगिने।' ठूलो लगानीमा यहाँको जडीबुटी रामदेवले आफ्नो पकडमा राख्ने र त्यसको असर साना उद्योगलाई पर्ने उनको भनाइ छ।

रामदेवले नेपालको जडीबुटीलाई लक्षित गरेर सक्रियता बढाइरहेकाले यहाँका अमूल्य वनस्पति संरक्षणमा चनाखो बन्नुपर्ने उनी बताउँछन्। 'नेपाल वनस्पतिको भण्डारण भएको देश हो,' उनी भन्छन्, '९६ वटा दुर्लभ वनस्पति नेपालमा मात्रै पाइन्छन्, रामदेवले यो कुरा बुझेका छन्। त्यही भएर नेपालमा उनको सक्रियता बढ्दो छ।'

यता, प्रधानमन्त्री दाहाल र रामदेवको सामीप्यले निर्णय रामदेवकै पक्षमा जाने हो कि भन्ने आशंका विश्वविद्यालयका पदाधिकारी र कर्मचारीले गरेका छन्। प्रधानमन्त्री दाहाल आइतबार मन्त्रिपरिषद् बैठक छोट्याएर वीरगन्जमा रामदेवको योग शिविरमा सहभागी भएका थिए। प्रधानमन्त्री दाहाललाई रामदेवको समूहले जग्गाको प्रस्ताव चाँडै टंुग्याउन दबाब दिइरहेको बुझिएको छ। 

स्थानीय तहबाट बृहत्तर योजनामा विवाद चर्किएपछि प्रधानमन्त्रीसमक्ष पुगेको फाइललाई अघि बढाउन 'नयाँ शिरा' बाट पहल थालिने पतन्जली योगपीठका राप्ती संयोजक शाहले बताए। उनका अनुसार रामदेवले जसरी भए पनि आफ्नो प्रोजेक्ट सञ्चालनका लाग जग्गा व्यवस्थापन गर्न अह्राएका छन्। 'बाबाले जसरी पनि जग्गाको व्यवस्था गर्नुस्, म स्थानीयलाई लाभ दिन्छु भन्नुभएको छ,' उनले भने, 'यो जनतालाई लाभ हुने कुरा हो, बुझाइमा धेरै गलत भएको छ।'

संस्कृत विश्वविद्यालयको दाङमा १ हजार ७ सय बिघा र देउखुरी क्षेत्रमा १ हजार ३ सय ५० बिघा जग्गा छ। देउखुरी क्षेत्रमा रहेको अधिकांश जग्गा मोही र सुकुम्बासीको कब्जामा छ।

प्रकाशित: १४ मंसिर २०७३ ०२:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App