coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

त्रिभुवन विमानस्थलमा घन्टौं जहाज 'डिले'

काठमाडौं- मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा पछिल्लो समय जहाज उडान–अवतरण 'डिले' हुन थालेपछि यात्रु र वायुसेवा कम्पनी ठूलो समस्याबाट गुजि्रँदै आएका छन्। सम्बद्ध गन्तव्य पुग्न विमानस्थलमा घन्टौंसम्म कुर्नुपरेको यात्रुको गुनासो छ भने आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले तोकिएको समयमा उडान र अवतरण गर्न नपाएको बेग्लै गुनासो गर्दै आएका छन्।

यात्रु र वायुसेवा कम्पनीको गुनासोलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनले स्वाभाविक मान्ने गरेको छ। विमानस्थल स्वयं भन्छ– आन्तरिक उडान डेढ घन्टासम्म र अन्तर्राष्ट्रिय उडान–अवतरण बढीमा आधा घन्टा डिले भइरहेका छन्।

'यति सयम जहाज डिले भएनन् भने हाल भइरहेका उडान–अवतरणमा ५० प्रतिशत कटौती गर्नुपर्छ,' विमानस्थलका एक उच्च अधिकारीले सोमबार नागरिकसँग भने, 'होइन भने विमानस्थलै बन्द गर्नुपर्छ। अहिले डिलेको प्रमुख कारणमा खराब मौसम र पर्यटक सिजन हुन्। त्यसमाथि एउटामात्र धावनमार्ग हुनु पनि अर्को कारण हो।'

ती अधिकारीका अनुसार आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान संख्या बढेका छन्। उडान संख्या बढ्दै जाने तर यससँगै मौसम पनि खराब भइदिनाले नियमित तालिकाअनुसार उडान हुन सकेका छैनन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल १४ देशबाट २८ वटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाज आइरहेका छन्। तिनले अहिले दैनिक ९० भन्दा बढी उडान–अवतरण गरिरहेका छन्। आन्तरिकतर्फ भने दैनिक ३ सय ५० उडान–अवतरण हुने गरेका छन्। विमानस्थल सामान्य दिनमा बिहान ६ बजे खुल्ने गर्छ भने राति साढे १२ बजे बन्द हुने गर्छ।

'मौसम हाम्रो नियन्त्रण बाहिरको विषय हो। त्यसबाहेक विमानस्थलमा विभिन्न पूर्वाधार निर्माणका काम चलिरहेका कारण पनि डिलेको समस्या आएको हो,' ती अधिकारीले भनेे, 'त्यसबाहेक हामी सकेसम्म यात्रु र वायुसेवा कम्पनीलाई समस्या नहोस् भन्ने पक्षमा छौं। आफ्नो बुताले भ्याएसम्म र सम्बद्ध सबैंसँग नजिक रहेर काम गरिरहेका छौं।'

हाल त्रिभुवन विमानस्थलमा ९ करोड २० लाख अमेरिकी डलर (१० अर्ब ८ करोड रुपैयाँ) बराबरको सुधार तथा मर्मतको काम भइरहेका छन्। यसमा ७ करोड डलर (७ अर्ब ६३ करोड रुपैयाँ) एसियाली विकास बैंक (एडिबी) को ऋण र १ करोड डलर (१ अर्ब ९ करोड रुपैयाँ) अनुदान सहयोग तथा विमानस्थलको प्रमुख सञ्चालक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको १ करोड २० लाख डलर (१ अर्ब ३० करोड ८० लाख रुपैयाँ) खर्च भइरहेकेा छ।

'यति रकमबराबरको मर्मत तथा सुधारको काम आठ महिनाअघि नै पूरा भइसक्नुपर्थ्यो,' प्राधिकरणका एक उच्च अधिकारीले भने, 'तर, गत वर्षको विनाशकारी भूकम्प तथा भारतले थोपरेको नाकाबन्दीका कारण इन्धन र निर्माण सामग्री अभाव हुँदा समयमै काम पूरा गर्न सकिएन।'

विमानस्थल व्यवस्थापनले हाल तीनवटा पार्किङ बे (जहाज पार्किङ गर्ने ठाउँ) नेपाल वायुसेवा निगम र निजी कम्पनी हिमालय एयरलाइन्सका जहाजले 'ओगटेर' बस्ने कारण पनि अन्य कम्पनीको उडान–अवतरण प्रभावित भएको दाबी गर्‍यो।

'वायुसेवा निगम र हिमालयका जहाज उड्नेभन्दा धेरै समय बसिरहन्छन्, अनि विभिन्न देशबाट आउने जहाजलाई आकासमै होल्ड गर्नुपर्ने र उस्तै परे डाइभर्ट नै गर्नुपर्ने अवस्था सिर्जना भइरहेको छ,' विमानस्थलका ती अधिकारीले भने, 'त्यसमाथि अब ती दुबै कम्पनीले थप जहाज ल्याउने घोषणा गरिसकेका छन्। नयाँ जहाज थपिएपछि हाम्रो विमानस्थलको अवस्था अहिलेभन्दा गएगुज्रेको हुने निश्चित छ।'

यता वायुसेवा निगमका एक अधिकारीले भने विमानस्थलको दाबीलाई ठाडै प्रतिवाद गरे। 'उनीहरू आफैं व्यवस्थापन गर्न सक्दैनन् र विस्तार पनि गर्न नसक्ने अनि दोषजति हामीमाथि थोपर्छन्,' उनले भने, 'बरू हामीले सकनौं भनेर हात उठाए हुन्छ।'

विमानस्थलका अनुसार एक पटकमा तीनवटा ठूलो आकार (वाइड बडी) तथा ६ वटा सानो आकार (न्यारो बडी) जहाज राख्न नौवटा पार्किङ बे छन्। तीमध्ये तीनवटामा निगम र हिमालयका जहाज बस्छन्। चार नम्बर बे भने मर्मत भइरहेको छ। वाइड बडी पार्किङ गर्ने एक, दुई र तीन नम्बर बेमा टर्किस एयरलाइन्स, थाई एयरवेज, सिल्क एयर, कतार एयरवेज, ड्रागन एयर, एयर एसियालगायतले ल्याउने वाइड बडी जहाज पार्किङ गरिन्छ।

'त्यसमाथि पछिल्लो केही दिनदेखि मौसम पनि खराब भएका कारण बिहानका सबै उडान झन्डै मध्याह्नतिर पुग्ने गरेको छ,' विमानस्थल सञ्चालन निर्देशक तथा प्रवक्ता प्रेमनाथ ठाकुरले सोमबार नागरिकसँग भने, 'यसबाट दिउँसो चाप पर्नु स्वाभाविक हो।'

उनका अनुसार विमानस्थल पश्चिमतर्फ 'फायर स्टेसन' रहेको क्षेत्रमा थप चारवटा र अन्तर्राष्ट्रिय पार्किङ बेको दक्षिणपट्टि थप दुई गरी ६ वटा पार्किङ बे निर्माण भइरहेका छन्। एक वर्षभित्र यो काम पूरा हुनेछ। 'अहिले चाहेर पनि काम नहुने अवस्था छ,' उनले भने, 'हामी सकेसम्म भएकैलाई अधिकतम उपयोग गरिरहेका छौं। अन्य उपाय छैन।'

त्यसबाहेक धावनमार्गको दक्षिणी भेग (कोटेश्वर) तर्फ थप ३ सय मिटर धावनमार्ग विस्तार भइरहेको छ। अन्तर्राष्ट्रिय टर्मिनलभित्र 'स्टेराइल हल' भत्काएर नयाँ निर्माण भइरहेको छ भने यात्रु आगमन क्षेत्र पनि विस्तार भइरहेको छ। सामान (ब्यागेज) आउने दुईथान 'कन्भेयर बेल्ट', ब्यागेज सुरक्षा जाँच्ने एक्सरे मेसिन एउटा थपेर चारथान पुर्‍याइने तथा सिसिटिभी कभरेज क्षेत्र पनि बढाइँदै छ।

'यी काम सक्न दुईदेखि तीन महिना लाग्ने छ,' उनले भने, 'त्यसपछि यात्रु र वायुसेवा कम्पनीको गुनासो धेरै हदसम्म सम्बोधन हुने विश्वास छ।'

प्रकाशित: १४ मंसिर २०७३ ०४:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App