८ वैशाख २०८१ शनिबार
अन्य

नक्कली मदिरा छ्यापछ्याप्ती

झापा- तपाइँ कत्तिको पियक्कड हुनुहुन्छ? बजारमा चलेको र स्थापित  ब्रान्डको रक्सी पिएर आनन्द मानिरहनुभएको छ भने होसियार रहनुस्, तपाइँले चुस्की लिइरहेको मदिरा नक्कली पनि हुनसक्छ।

 पछिल्लो समय झापासहित पूर्वका धेरै जिल्लामा नक्कली मदिराको कारोबार चुलिएको अनुसन्धानबाट खुलेको छ। प्रहरीले गरेको अनुसन्धानबाट पूर्वका धेरै जिल्लामा नक्कली मदिराको कारोबार चुलिएको भेटिए पनि त्यसको नियन्त्रणका लागि भने कसैले अग्रसरता देखाएका छैनन्। 'प्रहरी एक्लैले नियन्त्रण अभियान चलाउन कार्यक्षेत्रको सीमितताले दिँदैन,' अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, 'यसका लागि अन्तःशुल्क, कर सबैको सहकार्य चाहिन्छ। त्यसैले झापामा लामो समयदेखि यसको अनुगमन र नियन्त्रण हुनै पाएको छैन।'

 भारतसँगको अनियन्त्रित र खुला सीमाको फाइदा उठाउँदै नक्कली मदिरा कारोबारीले आफ्नो धन्दा निर्बाध चलाइरहेका छन्। प्रहरी स्रोतका अनुसार झापाका विभिन्न बजारमा नक्कली मदिरा बिक्री हुने गरेका प्रमाण प्रसस्त भेटिएका छन्। तर, राजस्वसम्बन्धी निकायले तदारुकता देखाउन नसक्दा नियन्त्रण अभियान अघि नबढेको प्रहरी दाबी छ।  'झापाका विभिन्न बजारमा नक्कली मदिरा पटक–पटक भेटिएको छ,' प्रहरी अधिकृतले भने, 'त्यो पनि चलेका ब्रान्डका रक्सीको नक्कली स्वरूप बढी छ।' ती अधिकृतका अनुसार ह्विस्कीका विभिन्न ब्रान्डका नक्कली मदिरा प्रसस्त फेला परेका हुन्।

 यसअघि समय–समयमा आन्तरिक राजस्व कार्यालय मेची तथा प्रहरीले छड्के अनुगमन गर्ने र त्यसक्रममा विभिन्न ब्रान्डका नक्कली मदिरा नियन्त्रणमा लिने गरेको थियो। तर, पछिल्लो वर्षदिनभन्दा लामो समयभित्र बजारमा एकैपटक पनि अनुगमन भएको छैन। 'हामीकहाँ यो वर्ष नक्कली मदिराको मुद्दा छैन,' जिल्ला प्रहरी प्रवक्ता डिएसपी हरिप्रसाद शर्माले भने। यसको मुख्य कारण भने जिल्लालभर वर्षदिन यता कुनै अनुगमन नै भएको छैन।

 यसमा संलग्न कारोबारीहरूले अन्तःशुल्कको नक्कली स्टिकर टाँसेर धन्दा गर्ने गरेको होटल व्यवसायीको भनाइ छ। कानुनअनुसार आन्तरिक राजस्व कार्यालयबाट अन्तःशुल्क इजाजत नलिई मदिराको कारोबार गर्न पाइँदैन। एकातिर अन्तःशुल्क छली र अर्कातिर अखाद्य पदार्थ मिसावट गरेर कारोबारीहरूले एकैसाथ दोहोरो अपराध गरिरहेका छन्। यद्यपि, कारोबारीहरू भने हम्मेसी प्रहरी नियन्त्रणमा आउन सकेका छैनन्। भारतीय बजारबाट विभिन्न खालका केमिकल ल्याउने, थोरै सक्कली मदिरामा अरू केमिकल थपेर धेरै बनाउने, त्यसलाई बोतलमा हाल्ने अनि अन्तःशुल्कको नक्कली स्टिकर लगाएर बजार पठाउने काम कारोबारीले गर्दै आएका छन्। 

 आन्तरिक राजस्व कार्यालयबाट अन्तःशुल्कको इजाजत लिएर कसैले होलसेल रूपमा यसको कारोबार गरे वार्षिक रूपमा २०  हजार, थोक रूपमा व्यवसाय सञ्चालन गरे ३० हजार, विदेशी मदिराको कारोबार गरे १० हजार, नगरपालिकाभित्र होटल सञ्चालन गरेर मदिराको कारोबार गरे ७ हजार, गाविसभित्र ३ हजार ५ सय तथा किराना पसलसहित मदिराको कारोबार गरे ३ हजार रुपैयाँ करवापत कार्यालयमा बुझाउनुपर्ने कानुनी प्रावधान छ। भारतबाट अवैध रूपमा मदिरा ल्याएर बिक्री–वितरण हुने घटनाले वैधानिक रूपमा सञ्चालन भएका मदिरा डिलरलाई नोक्सान पुर्‍याएको व्यवसायीको गुनासो  छ। बेलाबखत सशस्त्र तथा नेपाल  प्रहरीले जिल्ल्ााका विभिन्न स्थानबाट नक्कली मदिरा बरामद गरेर भन्सारमा कारबाहीका लागि बुझाउने गरेको प्रहरीले जनाएको छ। यसले पनि जिल्लामा यस्तो धन्दा फस्टाएको पुष्टि हुने स्रोतको दाबी छ।

 त्यसो त झापामा यस्तो धन्दामा संलग्न धेरै कारोबारी पक्राउ गरी कारबाही गरिएका उदाहरण धेरै छन्।  यसमा संलग्न कारोबारी मागबमोजिमको धरौटी रकम बुझाएर रिहा भएका छन् भने कति धरौटी बुझाउन नसक्दा जेल चलान भएका छन्। यसको मुद्दा सबै आन्तरिक राजस्व कार्यालयले नै हेर्ने गरेको छ। अहिले पनि झापा कारागारमा नक्कली मदिराका केही  कारोबारी थुनामा छन्।

 भारतीय बजारमा नक्कली स्टिकर सहजै  रूपमा उपलब्ध हुने भएकाले कारोवारमा सजिलो भएको छ। यो धन्दा विशेषगरी नेपाल–भारतको सीमाक्षेत्रमा बढी हुने होटल व्यवसायी संघ जिल्ला समिति झापाका अध्यक्ष भोला उप्रेती बताउँछन्। संघले सम्बन्धित निकायबाट अन्तःशुल्कको इजाजत नलिएका पसलमा मदिरा बिक्री–वितरण नगर्न मदिरा डिलर एसोसिएसनलाई आग्रह गरेको उप्रेतीले बताए।

 मेचीनगर, चारआली, भद्रपुर, शनिश्चरे, सुरुंगा दमकलगायत बजारमा पनि यस्ता मदिरा बिक्री हुने गरेको छ। चन्द्रगढीका एक होटल व्यवसायीका अनुसार यस्तो धन्दा गर्नेहरूले भारतका विभिन्न छापाखानाबाट अन्तःशुल्कको स्टिकर छापेर ल्याउने गरेका छन्। यसको अनुगमन र कारबाही गर्ने निकाय आन्तरिक राजस्व कार्यालय निष्त्रि्कय रहेका कारण यो समस्या आएको होटल व्यवसायीको  आरोप छ। होटल व्यवसायी संघ नक्कली मदिराको कारोबार नियन्त्रण र अन्तःशुल्कको इजाजत नलिई सञ्चालनमा रहेका होटलहरू अनुगमन गर्न पटक–पटक माग गर्दै आन्तरिक राजस्व कार्यालय मेचीमा गएको संघका अध्यक्ष उपे्रतीले बताए।

प्रकाशित: १६ असार २०७३ ०५:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App