४ वैशाख २०८१ मंगलबार
अन्य

हवाई यात्रामा चाप अधिक

नेपालगन्ज- नेपालगन्जबाट काठमाडौं चाँडै फर्किनुपर्ने बाध्यताले गर्दा विजय बर्माले तीन दिनसम्म हवाई टिकट लिने प्रयास गरे। तर, उनले टिकट पाउनै सकेनन्। जहाजको टिकट नपाएपछि बसको विकल्प रोजे। बाध्य भएर उनले बसको टिकट काटेर बुधबार बेलुका काठमाडौंको यात्रा गरे। सामान्यतया नेपालगन्जबाट छुट्ने जुनसुकै बसले १२ देखि १४ घण्टा भित्रमा काठमाडौं पुर्‍याउँछन्।  बर्माले भने करिब ३१ घण्टापछि काठमाडौंमा पाइला टेके। ‘ठाउँ–ठाउँमा खसेको पहिरोले गर्दा बसको यात्रा निकै कष्टदायी बन्यो,’ नेपालगन्ज–२ निवासी बर्माले भने, ‘प्लेनको टिकट नपाउँदा साह्रै दुःख पाइयो।’ जहाजको टिकटका लागि धेरै दिन धाउँदा पनि नपाएकाले बाध्य भएर बसमा यात्रा गर्न बाध्य भएको बर्माले सुनाए।

 जहाजको टिकट नपाएर बर्मा जस्ता थुप्रै यात्रु स्थलमार्गहँुदै काठमाडौं–नेपालगन्ज आवत–जावत गर्दै आएका छन्। जहाजको टिकट खोज्ने यात्रु ट्राभल एजेन्सी तथा विमानस्थल परिसमा दिनहुँ भेटिन्छन्। प्रशिद्ध मानसरोवर तीर्थ यात्रा सकेर काठमाडौं फर्किने यात्रुको बढी चाप हुनु र यही बेला नारायणगढ–मुग्लिङ सडक खण्ड भरपर्दो नहँुदा नेपालगन्ज–काठमाडौं रुटका जहाजमा यात्रुको चाप अत्यधिक रुपले बढेको हो। एक हप्ता अगाडि टिकट काटेका यात्रु बाहेक अन्यले जहाज चढ्न पाउँदैनन्। यात्रुको चाप बढेपछि जहाज कम्पनीको आम्दानी स्रोत बढे पनि व्यवस्थापन गर्न भने कठिनाइ हुने गरेको छ।

 बुद्ध एयरका नेपालगन्ज प्रमुख विनित शाहले विशेषगरी मानसरोवरबाट फर्केका यात्रुको चाप बढेको बताए। विगत एक महिनादेखि जहाजमा यात्रुको चाप निरन्तर बढेको उनको भनाइ छ। ‘हाम्रो जहाजले तालिका अनुसार नै नियमित उडान गर्दै आएको छ,’ शाहले भने, ‘पहिलेको भन्दा आजभोलि यात्रुको चाप थारै भए पनि कम भएको छ।’

 नेपालगन्ज विमानस्थल कार्यालयका अनुसार अचेल नेपालगन्ज–काठमाडौंका लागि बुद्ध, यति र सौर्य एयरले दैनिक रुपमा उडान गर्छन्। सबैभन्दा ठूलो जहाज उडाउने बुद्ध एयरले दैनिक बिहान र बेलुका उडान भर्दै आएको छ। यात्रुको चापलाई मध्यनजर गर्दै यति एयरले बिहान र बेलुका नियमित उडानका अतिरिक्त दिउँसो पनि थप एउटा उडान गरिरहेको विमानस्थल कार्यालयले जनाएको छ।

 करिब एक वर्ष अघि काठमाडौं र नेपालगन्जका लागि उडान सुरु गरी बीचमा बन्द भएको सौर्य एयरले यात्रुको चापलाई आधार बनाएर पुनः यो रूटमा जहाज सञ्चालन गरिरहेको छ। सौर्य एयरले आफ्नो जहाजबाट हरेक दिन बेलुका एउटा उडान गरिररहेको विमानस्थलले जानकारी दिएको छ।

प्रकाशित: १६ असार २०७३ ०५:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App