८ वैशाख २०८१ शनिबार
समाज

वर्ल्ड भिजनले बाँडेको पैसामा अनियमितता

दोलखा—भूकम्पपछि दोलखामा च्याउसरी आएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई कारबाही गर्ने निकाय कमजोर हुँदा वर्ल्ड भिजन नामक विदेशी संस्थाले बाँडेको रकम दुरुपयोग भएको पाइएको छ।

अति विपन्न एवम् लक्ष्यित वर्गलाई भन्दै वर्ल्ड भिजनले दोलखामा वितरण गरेको अनुदान रकममा मनोमानी भएको खुलासा भएको हो। वर्ल्ड भिजनले सामाजिक संरक्षण कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, टुहुरा बालबालिका तथा संरक्षणमा पहुँच कम भएका विपन्न भूकम्पपीडित घरपरिवारलाई वितरण गरेको रकममा अनियमितता भएको देखिएको हो।

जिविस दोलखाले गरेको स्थलगत अनुगमनका क्रममा विपन्न र लक्ष्यित वर्गका लागि निकासा गरिएको रकम बाठाबाठा र सम्पन्न व्यक्तिले लिएको तथ्य फेला परेको हो। जिविसका कार्यक्रम अधिकृत कृष्ण कार्की नेतृत्वको टोली जिरी नगरपालिकामा अनुमगन गरेको थियो।

अनुगमन टोलीका अनुसार विपन्न र लक्ष्यित वर्गका भूकम्पपीडित घरपरिवारलाई प्रतिधुरी मासिक रु सात हजार ५०० का दरले दिइँदै आएको रकम पहुँचवालाको हातमा पुगेको छ। जिरी नपाका कतिपय लक्ष्यित वर्गले यो सुविधा पाउन नसकेको सरकारी अनुमगनले भेटेको हो। जिरी नपा–५ मा गठित वडा नागरिक मञ्चका २५ जना सदस्यले समेत लक्ष्यित वर्ग र विपन्नको नाममा मासिक रु सात हजार ५०० का दरले अनुदान लिने गरेको पाइएको अधिकृत कार्कीले बताए।

जिरीमा एउटै घरपरिवारका श्रीमान्/श्रीमती, दाजुभाइ र बाबुछोरा तथा सम्पन्न परिवारका व्यक्तिले समेत रकम लिने गरेको पाइएको छ।

वर्ल्ड भिजन संस्थाले लक्ष्यित वर्गमा सूचीकृत ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, टुहुरा बालबालिका तथा संरक्षणमा पहुँच नभएका र मासिक आम्दानी न्यून भएका विपन्न परिवारलाई मात्रै सामाजिक संरक्षण कार्यक्रममा समेटेर अनुदान दिने व्यवस्था गरेको छ।

यो कार्यक्रम दोलखाको जिरी नगरपालिका, स्यामा, हाँवा र गैरीमुदी गाविसमा सञ्चालनमा छ। तीन गाविस र जिरी नपाकासहित बढीमा दुई हजार ५०० लक्ष्यित वर्गका नाममा मासिक रु एक करोड ८७ लाख ५० हजार बराबरको रकम निकासा हुने गरेको छ। अनुदान रकम लगातार छ महिनासम्म दिने कार्यक्रम छ।

यसअन्तर्गत जिरी नपाका र केही गाविसमा पहिलो किस्ताबापत सो रकम निकासा भइसकेको छ। जिरी नपालगायतका अन्य गाविसमा समेत वास्तविक लक्ष्यित वर्ग छुटेको र पहुँचवालाको हातमा अनुदान रकम पुगेको गुनासो आएको छ।

अनुदानको रकममा अनियमितता भएको गुनासो आएपछि वर्ल्ड भिजनले रकम भुक्तानी प्रक्रिया केही समयका लागि स्थगन गरेको छ। गुनासो र समस्या आएका क्षेत्रमा छानबिनपछि मात्रै रकम वितरण गरिने वर्ल्ड भिजन दोलखा कार्यालयका एक कर्मचारीले जानकारी दिए। वर्ल्ड भिजनले वडा नागरिक मञ्चको सिफारिसका आधारमा लक्ष्यित वर्गको पहिचान गरी स्थानीय सहकारी तथा बैंकमार्फत रकम भुक्तानी गर्दै आएको थियो।  रासस

 

प्रकाशित: १६ असार २०७३ ०६:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App