८ वैशाख २०८१ शनिबार
अर्थ

पुरानो रेकर्डलाई पछ्याउँदै डलरको भाउ उकालो

काठमाडौं-अमेरिकी डलरको भाउ यसअघिको उच्च कीर्तिमान पछ्याउँदै अगाडि बढेको छ। यसअघि एक डलरको भाउ ११० रुपैयाँ २८ पैसासम्म पुगेको थियो। उक्त मूल्य पछ्याउँदै मंगलबार ११० रुपैयाँ २६ पैसा पुगेको छ। पुरानो रेकर्ड तोड्न ३ पैसामात्र बढे पुग्ने भएको छ।

नेपाल राष्ट राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको विनिमय दर ११० रुपैयाँ २६ पैसा तोकेको छ । अमेरिकी अर्थतन्त्र बलियो हुने सम्भावना देखिएपछि डलर बलियो हुन पुगेको नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक भाष्करमणि ज्ञवालीले बताए । ‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको अर्थतन्त्र बलियो बनाउने उद्घोष गरेकाले थप बलियो भएको हो,’ उनले भने, ‘ट्रम्पले अर्थतन्त्रमैत्री नीति ल्याउने आँकलन गरिएकाले डलर बलियो हुन पुग्यो ।’

अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर बढाउने संकेत गरेपछि डलरको भाउ बढ्न थालेको पनि ज्ञवालीले बताए । ‘ब्याजदरका कारण डलर महँगो भइरहेको छ,’ उनले भने ।

भारतीय रुपैयाँसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर रहेकोले भारतीय मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुन पुगेको पनि ज्ञवालीले बताए । एक सातामै नेपाली रुपैयाँ डलरसँग करिब चार रुपैयाँको हाराहारीमा कमजोर भइसकेको छ ।

नेपाली रुपैयाँसँग स्थिर विनिमय दर कायम रहेको भारतीय मुद्रा कमजोर बन्दा नेपालमा डलरको भाउ बढेको हो । अमेरिकी अर्थतन्त्र थप बलियो हुँदा डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएको हो ।

डलरको भाउ बढ्दा तेस्रो मुलुक (भारतबाहेक) बाट आयात हुने सामानको मूल्य बढ्ने नेपाल राष्ट्र बैंकको भनाइ छ । ‘डलरको भाउ वृद्धिसँगै तेस्रो मुलुकबाट आउने सामानको मूल्य पनि बढ्ने छ,’ ज्ञवालीले भने, ‘डरलको भाउ बढ्दा फाइदाभन्दा बेफाइदा बढी हुन्छ ।’

डलरको भाउ बढ्दा दैनिक उपभोग्य वस्तुदेखि ठुल्ठूला मेसिन औजारसमेत आयात गर्नुपर्ने नेपालका सर्वसाधारणको टाउकोमा महँगीको भारी थपिने छ । महँगीले नेपालजस्तो विपन्न मुलुकका थप नागरिकलाई गरिबीको रेखामुनि धकेल्न सक्छ ।

डलर बलियो हुँदा विदेशमा कमाएको रकम नेपाल पठाउनेलाई मात्र फाइदा हुने ज्ञवालीले बताए । ‘रेमिटेन्स पठाउनेलाई मात्र फाइदा हुन्छ,’ उनले भने, ‘त्यो भन्दा बाहेकलाई फाइदा हुँदैन ।’

अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले जितेमा डलर अहिलेसम्मकै कमजोर हुने अनुमान अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले चुनावअघि गरेका थिए । ट्रम्पले अग्रता लिन थालेको खबर सार्वजनिक भएपछि विश्व सेयर बजारमा गिरावट आएको पनि थियो । तर, त्यसको विपरीत उकालो लागेको छ ।

अमेरिकी अर्थतन्त्र बलियो हुँदै गएकाले डलरको भाउ अझै बढ्न सक्ने विज्ञहरु बताउँछन् । ‘अमेरिकी अर्थतन्त्र अझै मजबुत हुने अवस्था देखिएको छ,’ एकजना विज्ञले भने, ‘त्यसैले डलरको भाउ अझै बढ्ने सम्भावना देखिन्छ ।’

डलर महँगिदा नेपाललाई फाइदाभन्दा धेरै बेफाइदा हुने उनको भनाइ छ । ‘आन्तरिक उत्पादन राम्रो भइदिएको भए निर्यात गरेर आम्दानी गर्न सकिन्थ्यो,’ उनले भने, ‘तर, निर्यातभन्दा आयात बढी हुने भएकाले डलर बेफाइदा हुन्छ ।’

डलरको भाउ बढ्दा विदेशबाट आयात हुने सामान महँगिन्छ । स्वदेशी मुद्रा कमजोर हुँदा सर्वसाधारणको भान्छामा चाहिने नुनतेलदेखि ठुल्ठूला जलविद्युत आयोजनाका टर्बाइनसम्मको लागि बढी मूल्य तिर्नुपर्छ । नेपाल सरकारले तिर्ने विदेशी ऋणको साँवा–ब्याज भुक्तानीका लागि पनि बढी रकम छुट्ट्याउनुपर्ने हुन्छ । सरकारले विदेशी ऋणको साँवा–ब्याजको भुक्तानी परिवर्तनीय मुद्रा अमेरिकी डलरमै गर्छ ।

निकासीकर्ता, पर्यटन उद्योग र बिप्रेषण बुझ्ने परिवारमा भने डलरको भाउ महँगिदा आम्दानी बढ्छ । विदेशी पर्यटक लक्षित होटल, रिसोर्ट, ट्राभल एजेन्सी, ट्रेकिङ एजेन्सी जस्ता पर्यटन उद्योगले विदेशी पर्यटकबाट सेवा शुल्क डलरमा भुक्तानी लिने हुँदा उनीहरुको आम्दानी बढ्छ । निकासीकर्तालाई पनि निकासी गरेको सामानको भुक्तानी डलरमै प्राप्त हुने हुँदा उही परिमाणको वस्तुबाट बढी रकम हात पर्छ । विदेशमा बसेर कमाउने नेपालीको आम्दानी पनि बढ्छ ।

अमेरिकी रोजगारी र अर्थतन्त्र सुधारको दिशामा गएकाले डलर थप महँगो भएको विज्ञहरुको भनाइ छ । अमेरिकामा बेरोजगारी घटेकोले डलरलाई बलियो हुन सघाउ पुगेको उनीहरुको भनाइ छ ।

नेपाली मुद्रा र भारतीय रुपैयाँबीच स्थिर विनिमयदर कायम गरिएकाले भारु सस्तिए नेपाली रुपैयाँ सस्तिन्छ, भारु महँगिए महँगिन्छ । अहिले भएको त्यही हो । अर्थात भारतीय रुपैयाँ कमजोर हुँदा त्यसको सिधा असर नेपाली रुपैयाँको विनिमय दरमा परेको हो ।

अमेरिकी सेयर बजारप्रति संसारभरका लगानीकर्ताको आकर्षण बढेको बढ्यै छ । यसले डलरलाई थप बलियो बनाउन सहयोग गरेको छ ।

डलर महँगिदा बढ्ने बिप्रेषण आप्रवाहले सरकारी खातालाई गम्भीर दुर्घटनामा पर्नबाट अस्थायी रुपमा रोक्न भने केही मद्दत गर्छ । तर जनस्तरमा असमानता बढाउनेछ । विज्ञहरु डलरको तीव्र अधिमूल्यनले बजारमा महँगी बढाउने र यसले आर्थिक हिसाबले सिँढीको पुछारमा रहेका नागरिकलाई गरिबीको रेखामुनि धकेल्ने बताउँछन्।

प्रकाशित: १५ मंसिर २०७३ ०४:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App