७ वैशाख २०८१ शुक्रबार
अर्थ

नलसिंङगाड अायाेजनाले महँगिंदै दल्ली क्षेत्र

खगेनकोटको दल्लीबाट देखिएको नलसिङ गाडको किनारमा रहेको लहँको कालीमाटीबजार। तस्बिरः जनक केसी

दल्ली (जाजरकोट)– खगेनकोट १ दल्लीका डिलबहादुर वादीले जीवनमा लाख रुपैयाँको बिटो एकै पटक समाउन पाउँला भन्ने समाउने पनि सोचेका थिएनन्। आर्थिक विपन्नताले पीडित डिलबहादुरलाई आफू श्रीमति र छोराछोरीको साँझ बिहानको छाक टार्न निकै मुस्किल थियो।

उनले सपनामा पनि नसोचेको कुरा नलसिङगाड जलविद्युत् आयोजनाले पूरा गरिदियो। नलसिङ गाड जलाशययुक्त जलविद्युत् आयोजनाको पावरहाउस निर्माणका लागि आयोजनाले उनीलगायत स्थानीयको जग्गा प्रति रोपनी ४ लाख ७५ हजार रुपैयाँमा अघिग्रहण गर्यो। यही कारण ६ हजार रुपैयाँ पनि एकै पटक देख्न नपाएका उनको हातमा एकै पटक ६ लाख रुपैयाँको बिटो पर्दा सपना जस्तै लाग्यो।

सोही गाउँका अर्का दलित वादी कामीले भिरालो र गेगर भएको जग्गाको ४ लाख रुपैयाँ पाए। सँधै बाँझो रहने र कुनै पनि वाली नफल्ने जग्गाले ४ लाख रुपैयाँ पाएपछि  वादी निकै दंग छन्। ‘समयले हामी जस्तो गरिवको पनि दिन फेर्ने रहेछ,’ कामीले भने। अब यो रकम  छोराछोरीको पढाइ खर्च र परिवारको खर्चमा लगाउँछौं,’ उनीहरुले भने।

कामी र वादी जस्तै खगेनकोट दल्लीकै विनबहादुर सिंहले जमीनको मुआब्जाबापत १ करोड ३५ लाख पाएपछि आफनो आर्थिक अवस्था  सुध्रिएको महसुस गरेका छन्।

आयोजनाले अधिग्रहहण गरेर रकम दिएपछि उब्जनी हुन नसक्ने र प्रयोगमा नआउने जग्गा बिक्री भएको स्थानीयहरु बताउँछन्। त्यस्तै  अहिले दल्ली क्षेत्रमा ४१० मेगावाट क्षमताको जलाशययुक्त जलविद्युत आयोजनाको पावरहाउस र अन्य भवन एवम पूर्वाधारहरु निर्माणको काम सुरु भएपछि स्थानीय बजारमा चहलपहल मात्र भएको छैन। घडेरी र खेतीयोग्य जग्गाहरुको मूल्य केही वर्षअघिको भन्दा दोब्बर भएको छ।

खगेनकोट १ दल्लीका  स्थानीय तथा त्रिभुवन माद्यमिक विद्यालयका प्रधानाध्यापक नारायणबहादुर सिंहले चार वर्षअघि ८० हजार प्रतिमिटर पर्ने जग्गाको मूल्य अहिले २ लाख पुगेको बताए। उनले  खेतमा  पनि  केहि वर्षअघि १ लाख रुपैयाले १ मुरी धान फल्ने जग्गा  किन्न पाइने  भए पनि अहिले  भने  उक्त मूल्य २ लाख बढी  पुगेको बताए।

नलसिङगाड आयोजनाकै कारण केही वर्षअघि निकै विकट मानिएको दल्ली, लह, डाडागाउँ क्षेत्रमा सडक, खानेपानी,  विद्यालयका  भवन निर्माणको काम  सुरु भएको  सिंहले बताए। एकै पटक धेरै परिवर्तन नभए पनि आयोजनाकै कारण दल्लीको मुहार फेरिँदै  गएको  बताए। त्यस्तै लहँको कालीमाटी बजारका होटेल व्यापारी राजु केसीले पनि नलसिंह गाड जलविद्युत् आयोजनाको काम सुरु भएपछि आफ्नो व्यावसाय बढेको बताए। मानिसहरुको आवातजावात बढ्न थालेपछि दल्ली र कालीमाटी क्षेत्रमा रहेका होटेल तथा अन्य पसलहरुमा व्यापार बढेको  उनले बताए।  राज्य पुर्नसंरचनाका लागि गठित स्थानीय तह पुर्नसंरचना जिल्ला प्राविधिक समितिले प्रस्ताव गरेको नलसिंहगाड नगरपालिकाको केन्द्रको रुपमा प्रस्तावित दल्लीको  विकासका लागि  सरकार र सरोकारवाला निकायले  ध्यान दिनुपर्ने  स्थानीयले माग गरेका छन्।

नलसिंहगाड जलविद्युत आयोजनाका प्रमुख कार्यकारी निर्देशक मोतीबहादुर कुँवरले जनताको आर्थिक समाजिक एवम  सांस्कृतिक स्तरलाइ माथि उकास्दै आयोजना निर्माणको काम सम्पन्न गर्ने आफूहरुको लक्ष्य रहेको बताए। उनले  आयोजना निर्माण गर्दा  विस्थापित हुने जनताको पुर्नवास, आयोजना निर्माण स्थलहरुको पूर्वाधार विकास, त्यहाँका जनताको सीप विकासतर्फ आफूहरुले  ध्यान दिइरहेको बताए। उनले  आयोजनाको डिपीआर निर्माणको काम तीव्र गतिमा चलिरहेकोले अबको केही समयपछि नै आयोजना निर्माण  र प्रभावित स्थलको परिवर्तन कसरी हुने भन्ने निश्चित हुने उनले बताए। अहिले आयोजनाले खगेनकोट, लहँ र डाडाँगाउँ गाविसमा  तीनवटा सडक निर्माण,  त्यस क्षेत्रका विद्यालयहरुको मर्मत, सिंचाइ कुलो निर्माण, क्याम्पसको भवन निर्माणका कामहरु गरेको  निर्देशक कुँवरले बताए।

सडक, सञ्चार र विद्युत्को राम्रो सम्भावना नरहेको दल्ली क्षेत्रमा नलसिङ गाड जलविद्युत् आयोजनाको पावरहाउस र कार्यालय  भवनहरु निर्माण हुने र सक्लाको अँधेरी खोलामा जलाशय निर्माण हुने बताइएको छ। पूर्वाधारको काम गर्नका लागि आवश्यक पर्ने धेरै तौल भएका ठूला सामाग्रीहरु ओसार्नका लागि  भेरी नदीको वैरीतालमा  निर्माणाधीन सडक पुल अलपत्र पर्दा  समस्या परेको आयोजनाका कानुन अधिकृत राजबहादुर सिंहले बताए।

उनले सडक विभाग र  सडक एवम् पुल निर्माणकर्ताहरुले  छिटो काम गरेमा नलसिंहगाड जलविद्युत आयोजनाको काम पनि तीव्र गतिमा अघि बढ्ने बताए। गत सात महिनादेखि निर्माण सुरु भएको  नलसिंहगाड जलविद्युत आयोजनाको विस्तृत  परियोजना प्रतिवेदन डिपीआर आगामी  २०७५  असोजभित्र सक्ने गरी काम भइरहेको आयोजनाले जनाएको छ।
 

प्रकाशित: १५ मंसिर २०७३ ०९:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App