१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बैंकका सिइअाेदेखि गुण्डा नाइकेसम्म ठगिए

अभियुक्त इश्वरीप्रसाद पाेखरेल

काठमाडौं– किस्ट बैंकका तत्कालिन कार्यकारी प्रमुख कमल ज्ञवालीलाई एक पहुँचवाला राजनीतिक दलका नेताको बोली बनाएर फोन आयो। फोन गर्ने व्यक्तिले व्यक्तिगत आवश्यकताका लागि भन्दै केही रकम माग गरे। कारोबार फस्टाउँदै गरेको किस्ट बैंकका कार्यकारी अधिकृत ज्ञवालीले रकम दिए। रकम लिन पुगे ईश्वरीप्रसाद पोखरेल।

अर्को पटक पनि ज्ञवालीलाई सहयोगका लागि उनै नेताको फोन आयो। यस पटक रकमकाे माग अलि बढी थियो। तर पनि विश्वासमा दिए। अघिल्लो पटक जस्तै रकम फिर्ता आयो। ज्ञवालीलाई केही महिनापछि उनै नेताले फोन गरे रकमको माग अलि ठूलो थियो।

दुई पटकको कारोबार सन्तोषजनक भएकाले ज्ञवालीले रकम दिए। तर फिर्ता आएन। बुझ्दा ज्ञवालीमात्र होइन, नबिल बैंकले समेत यस्तै घटना चक्रमा परेर रकम दिएको रहेछ। दुबै घटना २०६७ मंसिरका थिए।

महाशाखाले २०६७ माघ १८ मा सार्वजनिक गरेको पोखरेलले  मंसिर १४ गते किष्ट बैंकका ज्ञवालीलाई माआोवादीको डेपुटी कमाण्डर जर्नादन शर्माको आवाजमा फोनगर्दै  नेत्रबिक्रम चन्द विप्लबको बैंक खातामा १२ लाख जम्मा गरी सहयोग गरिदिन आग्रह गरेका थिए। महाशाखाका अनुसार जर्नादन शर्मा, चन्द, हिमाल शर्मा र प्रविण ढकालका नाममा बैंक खाता खोलेका पोखरेलले नेताकै नाममा देशभर रकम असुलेका थिए।

महाशाखाले काठमाडौं जिल्ला अदालतमा बुझाएको ठगी मुद्दामा  २१ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका पोखरेल त्यपछि फरार रहे।

घटनाको दुईवर्षपछि उनै पोखरेल कपिलवस्तु प्रहरीको फन्दामा परे। माओवादी नेता अग्नी सापकोटा र लेखराज भट्टको जस्तो बोली बनाएर फोनबाट पैसा मागेर लाखौं रुपैया ठगी गरेको आरोपमा प्रहरीले पोख्रेललाई पक्राउ गरी ठगी मुद्दा चलाएको थियो।

पोखरेलले यसपटक गुण्डा नाइके दीपक मनांगेसँग आफू माओवादी नेता लेखराज भट्ट हो भनी २ लाख रुपैयाँ आइएमई मार्फत माग गरी ठगी गरेको प्रहरीले त्यती बेला जानकारी दिएको थियो। कपिलवस्तुको गोरुसिंगेका मनि ट्रान्सफर संचालक पुष्पराज न्यौपानेसँग टेलिफोनबाट रकम माग गरेपछि न्यौपानेले प्रहरीलाई खबर गरेका थिए।

महानगरीय अपराध महाशाखाले बिहीबार पक्राउ गरेका प्युठान स्थायी ठेगाना भएका बर्दघाटका इश्वरीप्रसाद पाेखरेलको ठग्ने शैली परिर्वतन भएको छ। तर ठगीको परिमाण र दायरा झनै फराकिलो भएको रहेछ ।

महाशाखाले भारतको लखनउमा बस्दै आएका पाेखरेललाई लामो समयको खोजीपछि कमलपोखरीबाट पक्राउ गरेको हो । यसपटक उनको ठगीको जालोमा दर्जनौ बेरोजगार युवा परेको उजुरी महाशाखामा परेको छ ।

‘६ वर्षअघि आवाज बदलेर नेताको हाउभाउ र शैलीमा फोन गरेर बैंकमा ठगी गरेको आरोपमा पक्राउ परेका थिए, यसपटक ठग्ने शैलीमात्र फेरिएको छ, परिमाण ठूलो देखिन्छ,’ महाशाखाका एसपी प्रकाशजंग कार्कीले भने। उनका अनुसार विभिन्न राजनीतिक दलका नेतासँगको पहुँच देखाएर सरकारी जागिर र वैदेशिक रोजगारका नाममा करोडौं ठगी गरेर फरार रहेका पाेखरेलले भारतमै बसेर नेपालमा ठगी गर्ने गरेका थिए।

महाशाखाका अनुसार पोखरेलले सन्दीप दर्नाल, भिमबहादुर दर्जी, शान्ती राई समेत २३ जनालाई इजरायल पठाउने भनी १ करोड ५ लाख लिएको, सुदीपराज पन्तलाई दक्षिण कोरिया पठाउने भनी ३ लाख लिएको, रोजन लामालाई राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिने भनी २ लाख ५० हजार असुलेका थिए।

आवरणका लागि मोटरपार्टसको काम देखाउने पोखरेल बिरुद्ध नेपालगञ्जमा समेत ठगी मुद्दा नै चलिरहेको छ।
 

 

प्रकाशित: १६ मंसिर २०७३ १२:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App