६ वैशाख २०८१ बिहीबार
विचार

(अ)लोडसेडिङ

यो उतिबेलाको कुरा हो जतिबेला काठमाडौंमा लोडसेडिङ कायमै थियो। यो अब कति वर्ष कायम हुने हो थाहा थिएन। त्यसैले म एउटा राम्रो खाले इन्भर्टर किन्न गइरहेको थिएँ, हाकु साउको विद्युत पसलमा। देशमा लोड सेडिङ बढेदेखि हाकु साउको व्यापार पनि बढेको छ। पहिले दिनको तीन घन्टा लोडसेडिङ हुँदा हाकु साउको एक कवले पसल थियो। जति जति लोडसेडिङले प्रगति गर्दै पाँच घन्टा, आठ घन्टा, दश घन्टा हुँदै सोह्र घन्टा पुर्‍यायो, हाकु साउको पसल पनि दुई कवल, तीन कवल हुँदै पाँच कवल पुग्यो। इन्भर्टर पनि अब सानो होइन, ठूलो ठूलो साइजको ल्याउन थालिएको छ। देशका ठूला व्यापारीदेखि मन्त्री र सचिवहरू जम्मैको घरमा हाकु साउकै इन्भर्टर पुग्थ्यो।

चिनजानको साउ भएकाले म पनि विद्युतको कुनै पनि सामान किन्न हाकु साउकै पसलमा पुग्थेँ। त्यो दिन चाहिँ अलि राम्रै इन्भर्टर किनुँ भनेर पुगेको थिएँ। म इन्भर्टर छान्दै थिएँ। पसलमा कहाँ हो थाहा भएन, रेडियो पनि बजाइरहेको थियो। रेडियोमा समाचार आउँदै थियो। म इन्भर्टर नै खोज्दै थिएँ अचानक समाचारमा भनियो – अब काठमाडौं लगायत दस जिल्लामा लोडसेडिङ  नहुने भयो! नेपाल विद्युत प्राधिकरणले सम्पूर्ण व्यवस्था मिलाइ सक्यो!

हँ?! समाचार अप्रत्याशित थियो। सुनेर सबैजना ट्वाँ परे।

'होला र?' कसैले भने।

'नभए किन घोषणा गर्थ्यो त?' फेरि कसैले जवाफ दिए।

पसलमा आएका ग्राहकहरू अलमलिँदै थिए। त्यतिकैमा पसलमा ‰याप्प बत्ति गयो। हाकु साउको पसल एकाएक अन्धकार भयो। के भएको यो? हिजो अस्ति अर्काको घरमा बत्ति जाँदा हाकु साउको पसलमा बत्ति आइरहन्थ्यो। कहिलै निभ्दैनथ्यो। अहिले झन् लोडसेडिङै हटिसक्यो भनेको बेला चाहिँ  बत्ति गएछ। सबैतिर बत्ति आउँदा यहाँ चाहिँ जाने खालको पसल रहेछ।

बत्ति गएर पसलमा अलमल भइरहेको थियो। त्यही बेला हाकु साउको मोबाइलमा घन्टी बज्यो। हाकु साउले फोन उठाएर हेलो भन्न पाएको छैन, उनको मुखबाट अचानक निस्क्यो, 'के रे? खड्ग ओलीको घरमा बत्ति गयो रे? कहिले? अहिले भर्खर? अय् बाबा के भएको यो? मेरो पसलमा पनि भर्खरै बत्ति गयो।'

खड्ग ओलीको घरमा पनि भर्खरै बत्ति गएको सुनेर हाकु साउ चकित भयो। ओलीको घरमा नौ महिनाअघि मात्रै हाकु साउले नै बडेमानको इन्भर्टर जडान गरिदिएको थियो। अहिले त्यहाँ पनि बत्ति गएछ।

हाकु साउ सोची नै रहेको थियो कि उनको मोबाइलमा दोस्रो घन्टी बज्यो।

'हेलो!' हाकु साउले मुखमा मोबाइल जोडे, 'के रे? तपाइँकहाँ पनि बत्ति गयो रे? हो र? कसरी? अहिले भर्खर तपाइँको नेताजीको घरमा पनि बत्ति गयो रे भन्ने खबर आ'थ्यो। हैन के भएको यो?'

हाकु साउ हैरान भएको देखेर मैले सोधेँ, 'कसको फोन हो साउजी?'

'यो यतै बस्ने एमाले कार्यकर्ताको फोन हो। उसको घरमा पनि बत्ति गयो रे! उसैको अर्को नेताको घरमा पनि बत्ति गयो भन्छ बा! के भएछ यो!' हाकु साउ झनै हैरान देखियो।

एमाले अध्यक्ष मात्र होइन एमाले कार्यकर्ताहरूको घरमा पनि धमाधम बत्ति जान थालेको सुनेर हाकु साउको निधारमा पसिना टल्किन थाल्यो। उनले रुमाल निकालेर पसिना पुछे तर पुछिसकेकै थिएन, फेरि फोन बज्यो। हाकुले नम्बर हेर्‍यो, अनि फुसफुसायो, 'फेरि कसको घरमा बत्ति गएछ।'

'हेलो!' यो चाहिँ विद्युत प्राधिकरणकै एक हाकिमको फोन परेछ। आश्चर्य! त्यहाँ पनि बत्ति गएको रहेछ। हाकु साउले सोच्न सकेन, यो के भइरहेको छ। उनीहरू सबैको घरमा हाकु साउले नै इन्भर्टर बत्ति जडान गरिदिएको थियो। त्यसैले अचानक बत्ति गएकोले उसैलाई खबर गरेको रहेछ। इन्भर्टरमा कुनै खराबी आयो कि? आएकै भए पनि सबैको घरमा एकै दिन एकै समयमा त खराबी नआउनु पर्ने हो।

हैरान भएका हाकु साउले आफूले इन्भर्टर झिकाउने मुख्य ठेकेदारलाई फोन गर्‍यो। आखिर के भएको रहेछ?

'हेल्लो!' हाकुले यति मात्रै भन्न पाएको थियो, उताबाट जवाफ आइहाल्यो, 'हाकु भाइ, अहिले डिस्टर्ब नगर है। यहाँ अचानक बत्ति गएर सब भद्रगोल भइरहेको छ।' हाइँ? इन्भर्टरको मेन ठेकेदार कै घरमा बत्ति गुल? कसरी? कसरी?? अब भने हाकु बहुलाउन थाल्यो। अब यस्तो अवस्थामा हाकुको पसलमा के किन्ने? इन्भर्टर किन्न गएको थिएँ म, एउटा सीएफएल चिम किनेर फर्केँ।

प्रकाशित: १७ मंसिर २०७३ ०४:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App