६ वैशाख २०८१ बिहीबार
अर्थ

ठूलो लगानीमा बाँकेमै बीउ प्रशोधन उद्योग

नेपालगन्ज- निजी स्तरमा ठूलो लगानीमा सञ्चालित ‘ग्लोबल एग्रिटेक नेपाल प्रालि’ले बिहीबारदेखिआफ्नै उद्योगमार्फत बीउ प्रशोधन सुरु गरेको छ। जिल्लाको बनकटवा–९, लालपुरमा रहेको उक्त उद्योगले पहिलोपटक ठूलो क्षमताको मेसिनमार्फत बीउ प्रशोधन सुरु गरेको हो।

जिल्लामा ठूलो क्षमताको बीउ प्रशोधन उद्योग सञ्चालनमा आएपछि यहाँका किसान प्रत्यक्ष लाभान्वित हुने भएका छन्। बनकटवा–४ का किसान इन्द्रप्रसाद शर्माले आफूहरुले उत्पादन गरेको बीउ सहज रुपमा बिक्री गर्न र गुणस्तरीय बीउ प्रशोधन गर्न अब सहज हुने बताए। ‘सिफारिस भएका नयाँ जातको बीउ उत्पादन र प्रशोधन गर्न सहयोग पुग्ने विश्वास छ,’ उनले भने।

उक्त मेसिनबाट धान, गहुँ, तोरी, मसुरो, मुङ, चना, केराउ, रहर लगायत जातको बीउ प्रशोधन गर्न सकिने सञ्चालक समिति सदस्य एवंसंस्थाका कार्यालय प्रमुख टिकाराम रिजालले नागरिकलाई जानकारी दिए।२०६७ सालमा स्थापित उक्त संस्थाले यसअघि जिल्लाको खजुरामा सानो क्षमताका मेसिनमार्फत बीउ प्रशोधन गर्दै आएको थियो। ‘अबदेखि आफ्नै जमिनमा ठूलो क्षमताको मेसिनद्वारा बीउ प्रशोधन हुने भयो, यसबाट किसान लाभान्वित हुनेछन्,’ रिजालले भने।

उक्त मेसिनले गहुँको बीउ प्रतिघन्टा चार मेटि्रक टन, धान दुई टन र अन्य जातका बीउ चारदेखि पाँच मेटि्रक टन प्रशोधन गर्न सक्ने रिजालले जानकारी दिए। किसानको खेतबारीमा विभिन्न जातका बीउको अनुसन्धान गर्दै आएको संस्थाले यस वर्षदेखि आफ्नै जमिनमा गहुँको अनुसन्धान सुरु गरेको छ।

संस्थाले बीउ प्रशोधन तथा उत्पादनका लागि बनकटवामै अढाइ बिघा जमिन खरिद गरेको छ। जमिनसहित भौतिक पूर्वाधार निर्माण र मेसिन जडानका लागितीन करोड रुपैयाँ लगानी भइसकेको रिजालले बताए। उत्पादित तथा प्रशोधित बीउलाई उक्त संस्थाले बाँकेसहित मुलुकका ६० जिल्लामा बजारीकरण गर्दै आएको छ। संस्थाले हाल १४ जिल्लामा विभिन्न जातको बीउ उत्पादन गरिरहेको जनाएको छ। ‘बीउ उत्पादन र व्यवस्थापनमा हाम्रा आफ्नै प्राविधिक र कर्मचारी खटिन्छन्,’ रिजालले भने।

संस्थाले वार्षिक रुपमा सबै जातका आठ सय मेटि्रक टन बीउ उत्पादन, प्रशोधन र बजारीकरण गरिरहेको उनले बताए। रिजालले थपे, ‘वार्षिक रुपमा ८ सय टन बीउबाट ४ करोड रुपैयाँ बराबरको कारोबार हुन्छ,’ यति ठूलो क्षमतामा बीउ उत्पादन गर्ने हाम्रो पश्चिम नेपालकै ठूलो क्षमताको उद्योग हो।’गत आव ०७२/७३ मा संस्थाले धान साढे ४ सय मेटि्रक टन, गहुँ २ सय ५०, मसुरो २२, मकै ५५, मुङ ८ मेटि्रक र तोरी १ टन उत्पादन तथा प्रशोधन गरेको थियो। संस्थासँग आफ्नै कृषि विज्ञान पढेका विशेषज्ञ प्राविधिक रहेकाले गुणस्तरयुक्त बीउ उत्पादन र प्रशोधन हुने सञ्चालकको दाबी छ। आवश्यक परेमा अन्तर्राष्ट्रिय स्तरका बीउ अनुसन्धान संस्थानको सहयोगमा प्राविधिकलाई अनुसन्धानमा खटाउने रिजालले बताए। यसका अतिरिक्त सिमिट, कृषि विकास कार्यालय, कृषि अनुसन्धान परिषद(नार्क), कोसेबाली लगायत निकायसँग पनि समन्वय गर्ने उनको भनाइ छ।

किसान आफैंले उत्पादन गरेको बीउ खरिद गर्ने जानकारी दिँदै रिजालले भने, ‘बीउ उत्पादन गर्ने किसानलाई हामी बजार मूल्यभन्दा २० देखि २५ प्रतिशत बढी रकम दिन्छौं, यसको साथै किसानलाई मूल बीउको व्यवस्था र आवश्यक तालिम तथा भ्रमणको व्यवस्था मिलाउँछौं।’संस्थाले अब वार्षिक २५ प्रतिशतका दरले बीउ उत्पादन र प्रशोधन दर बढाउने योजना बनाएको छ।

बीउ प्रशोधन मेसिन उद्घाटन गरिसकेपछि वरिष्ठ वैज्ञानिक एवं‘अन्तर्राष्ट्रिय बीउ अनुन्धान संस्थान (इरी इन्डिया–नेपाल प्रमुख) उमाशंकर सिंहले पछिल्लो समयमा नेपालको माटो सुहाउँदो बीउको विकास भइरहेकाले नेपाली किसानले ठूलो लाभ लिन सक्नुपर्ने बताए। सुख्खा सहने र डुबान तथा बाढी सहने धानका नयाँ प्रजातिविकास गरी प्रयोगमा आइसकेको उनले जानकारी दिए। सिंहका अनुसार एक सय २० दिनमा तयार हुने ‘सुक्खा–१’ देखि ‘सुक्खा–६’ बाट किसानले बढी आम्दानी लिन सक्नेछन्।

यस्तै परीक्षणका क्रममा रहेको ‘डिआआर–४४’ धान नेपालको तराई क्षेत्रका लागि उपयुक्त रहेका वरिष्ठ वैज्ञानिक सिंहको भनाइ छ। डुबान क्षेत्रका लागि उपयुक्त स्वर्णा सब–१, सावा मसुली सब–१ र चेहेराङ सब–१ धानलाई अन्तर्राष्ट्रिय बीउ अनुसन्धान संस्थानले प्रवर्द्धन गरिरहेको बताए। सिंहले भने, ‘यी जातका धानको बीउ नेपाली किसानमाझ लैजान जरुरी छ, सबै किसानमाझ पुर्‍याउन सकियो भने नेपालको धान बाहिरी देशमा समेत बिक्री गर्ने अवस्था आउँछ।’

प्रकाशित: १७ मंसिर २०७३ ०५:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App