coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

स्वदेशी नम्बर प्लेटको ग्यास बुलेट आयो

काठमाडौं- ग्यास ढुवानीमा भारतीय परनिर्भरता तोड्न नेपाली ग्यास उद्योगीले पहिलोपटक स्वदेशी नम्बर प्लेटका ग्यास बुलेट ल्याएका छन्। इन्डियन आयल कर्पोरेसन(आइओसी)का रिफाइनरीबाट ग्यास ढुवानी गर्न भारतको भन्सार पास गरी नेपाली बुलेट बिहीबार वीरगन्ज भन्सार आइपुगेका हुन्।

सरकारले नेपाली ग्यास उद्योगीलाई बुलेट सञ्चालनको अनुमतिसहित ६६ प्रतिशत भन्सार छुट दिने निर्णयपछि उद्योगीले बुलेट खरिद गरेका हुन्। नेपालीनम्बर प्लेटका ग्यास बुलेट भारतीय भन्सार पास भएर वीरगन्ज भन्सार आइपुगेको नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरेले बताए। 'इतिहासमै पहिलोपटक हामीले ग्यास बुलेट खरिद गरेका छौं,' घिमिरेले भने, 'भारतको कस्टम पास भएर वीरगन्ज आइपुगे।' उनका अनुसार ती गाडी शुक्रबार नेपाली कस्टम पास गरेर काठमाडौं आएपछि निगमबाट पिडिओ जारी गरेर औपचारिक रुपमा ढुवानी सुरु गर्नेछन्।

अहिले ल्याएका ना ७ ख ९२७ र ना ७ ख ९२८ नम्बरका बुलेट एभरेस्ट ग्यास उद्योग, प्रालिकाठमाडौंका हुन्।

भारतबाट गाडीको चेसिस ल्याएर नेपाली नम्बर प्लेट, ब्लु बुक, रोड पर्मिट लिई पुनः भारत लगेर रनिङ गियर, बुलेट जोडेर ल्याएको हो। उद्योगीले भारतमा बुलेट गुडाउनको लागि नेपालमा रहेको भारतीय दूतावासबाटअनुमति लिइसकेको उनले बताए। 'अल इन्डिया गुड्नको लागि इन्डियन एम्बेसीबाट पनि अनुमति पाइसक्यौं,' घिमिरेले भने, 'भारतमा पनि सबै मापदण्ड पूरा गरेका छौं।'

घिमिरेका अनुसार ५३ ग्यास उद्योगले ७ सय ७५ बुलेट किन्ने अनुमति पाएकोमा पहिलोपटक दुई बुलेट आएका हुन्। सबै उद्योगीले बुलेट बुक गरेर बनाउन थालेकोले क्रमशः ल्याएर ढुवानी सुरु गर्ने उनले बताए। 'सबै उद्योगीले बुलेट अर्डर गरेर निर्माण गरिरहेका छन्,' उनले भने, 'अब नेपाली उपभोक्तालाई समेत राहत पुग्ने भएको छ।'

नेपाली व्यवसायीलाई ग्यास बुलेट किन्न अभिप्रेरित गर्न सरकारले भन्सार महसुल दुई तिहाइ छुट दिने निर्णय गरेको थियो। सरकारले गत जेठमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले गरेको बजेट भाषणमा छुट दिने निर्णय गरेको थियो।भन्सारमा करिब ६६ प्रतिशत छुट दिएपनि एउटा बुलेटको मूल्य करिब ७० लाख रुपैयाँ पर्ने संघले जनाएको छ।निगमकै सिफारिसमा उद्योगीको माग अनुसार भन्सार छुट दिने सरकारको नीतिगत निर्णयपछि उद्योगीको माग पूरा भएको थियो।

खरिद प्रक्रियामा केही त्रुटि भएको भन्दै आपूर्ति मन्त्रालयले बुलेट रोक्न भने पनि संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले नरोक्न निर्देशन दिएको थियो। खरिद प्रकरणमा अनियमितता भएको भन्दै अख्तियार अनुसन्धान आयोगले फाइल लिएर छानबिनअघि बढाएको भए पनि बुलेट खरिदअनुमति पाएका उद्योगीले नयाँ बुलेट ल्याएका हुन्।

आपूर्ति मन्त्रालयले बुलेट खरिद रोक्ने विषयमा उद्योगीलाई कुनै जानकारी नभएको घिमिरेले बताए। 'हामीलाई किन्नुभन्ने आदेश भएकोले बुलेट ल्याएका हौं,' उनले भने, 'आन्तरिक विवाद मिलाउँदै गरौंला। तर, ग्यास ढुवानीमा  मुलुक आत्मनिर्भर हुनु नेपालीलाई नै गौरवको विषय हो।'

ग्यास प्रज्ज्वनशील वस्तु भएकोले आइओसीको मापदण्ड अनुसार भारतमा पनि सबै प्रक्रिया पूरा गरेको संघले जनाएको छ। अहिले भारतीय करिब ६ सय बुलेटले ग्यास ढुवानी गर्दै आएका छन्।

नेपाली उद्योगीकै नाममा बुलेट आउनु सकरात्मक भएको नेपाल आयल निगमले जनाएको छ। 'ग्यास ढुवानी गर्न उद्योगीले बुलेट किन्नेकाम स्वागतयोग्य छ,' निगमका प्रवक्ता भानुभक्त खनालले भने, 'खरिद प्रक्रियाका केही त्रुटि भए सच्याउँछौं।'

नेपाली व्यवसायीले बुलेट खरिद गरेपछि ढुवानीको लागि साढे दुई अर्ब रुपैयाँ बिदेसिनबाट जोगिने बताउँदै आएका छन्। भारतीय बुलेट व्यवसायीले यहाँ ग्यास ढुवानी गरे बापत सो रकम लैजाने गरेका थिए।

निगमले बुलेट खरिद गर्न चाहने उद्योगीलाई प्रस्ताव आह्वान गरेकोमा १२ सयले आवेदन दिए पनि एलपी उद्योग संघको सिफारिसमा निगमले अनुमति दिएको थियो। ग्यास ल्याउन आफ्नै साधन नहुँदा निकै झन्झट बेहोर्नु परेको थियो। आइओसीको इसारामा भारतीय ढुवानीकर्ताले विभिन्न बहाना बनाएर दुःख दिँदै आएका थिए।

ढुवानीमा विकल्प नभएको बेला निरीह भएर उनीहरुले लादेको भाडा तिर्नुपर्ने बाध्यता थियो। मुलुकको व्यापार घाटाअर्बौं रहेको अवस्थामा निगमको बुलेट किन्न भन्सार महसुल छुट दिने निर्णयले अर्थतन्त्रमा पनि टेवा पुग्ने दाबी गरेका छन्। बुलेट खरिद गरे करिब एक हजारजनाले रोजगारी पाउने अनुमान छ। उद्योगीलेनै बुलेट खरिद गर्न पाए पहुँचको आधारमा ग्यास ल्याउने काम रोकिने बताइएको छ।

प्रकाशित: १७ मंसिर २०७३ ०६:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App