१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

आन्तरिक करबिना खानी उत्खनन

बैतडी र बझाङको सीमा बजार सुइलेकमा बिक्रीका लागि राखिएका स्लेटहरू। तस्विरः बिरा गडाल

बिरा गडाल

बैतडी– जिल्लाका विभिन्न ठाउँबाट हुने स्लेटको उत्खनन र त्यसको बिक्री व्यवस्थित हुन सकेको छैन। स्थानीय निकायले खानी व्यवस्थापनमा चासो नदेखाउँदा स्लेट खानीबाट हुन सक्ने आन्तरिक आम्दानी गुमिरहेको हो। भटना, गुजर, कटौजपानी, शिखरपुर, गोकुलेश्वर, रुद्रेश्वर, कोटपेटरालगायतका गाउँमा स्लेटको उत्खनन गरिँदै आएको छ।

जिल्लामा वार्षिक ५ करोडभन्दा बढीको स्लेटको कारोबार हुने गरेको अनुमान छ। घरको छाना हाल्न प्रयोग गरिने स्लेटको तराईका कैलाली, कञ्चनपुरसम्म माग बढेको व्यवसायी बताउँछन्। पछिल्लो समयमा पहाडभन्दा तराईमा माग बढेको बित्थडका स्लेट व्यापारी भक्तबहादुर बिष्टले बताए। भटनाको धौलकाडामा पाइने स्लेटको माग जिल्लाबाहिर बढ्दो छ।

स्लेट खानी सञ्चालन र निकासी करबाट जिविस र गाविसको आन्तरिक आम्दानीको राम्रो सम्भावना भए पनि कसैले चासो देखाएका छैनन्। वार्षिक करोडौं मूल्यको स्लेट निकासी भए पनि राजस्व असुलीको व्यवस्था नहुँदा लाखौं रकम घाटा भइरहेको स्थानीयको गुनासो छ। ठाउँ–ठाउँमा खानी सञ्चालन गरिए पनि स्थानीय निकायले उत्खननबाट राजस्व उठाउन सकेको छैन। जिल्लामा सुदूरपश्चिममै राम्रो र बढी स्लेट उत्पादन हुने भएकाले खानीसम्म मोटरबाटो पुर्याई आयकर लगाउनेबारे छलफल हुँदै आएको जिविस बैतडीले जनाएको छ।

टिनभन्दा स्लेटको छाना गर्मी र चिसो मौसममा लाभदायी हुने भएकाले माग बढेको हो। तराईतिर मार्बलका साटो यसको प्रयोग बढेको छ। गर्मीमा छिटो नतात्ने र चिसोमा कम चिसो हुने हुँदा स्लेटको प्रयोग बढेको भटना ७ का जनकराज भट्टले बताए।

‘छाना बनाउन र भुईंमा राख्न मिल्ने भएकाले स्लेटको माग बढ्दो छ,’ उनले भने, ‘राम्रो र टिकाउ हुने भएकाले टाढाबाट पनि खरिद गर्न आउँछन्।’ धौलकाँडामा सञ्चालित खानीबाट वार्षिक एक करोडभन्दा बढीको स्लेट बिक्री हुने गरेको स्थानीयको अनुमान छ। बित्थडसम्मको ढुवानी खर्च प्रतिस्लेट ३ सय रुपैयाँभन्दा बढी पर्ने गरेको बित्थडका स्लेट व्यवसायी धनबहादुर बोहराले बताए।

एक घर छाउन कम्तीमा ७५ हजार बराबरको स्लेट चाहिने स्थानीय बताउँछन्। एउटै स्लेटको मुल्य ५ सयसम्म पर्छ। यातायातको सुविधा नहुँदा खच्चर र भरियाबाट ढुवानी गरेर सडकछेउ पुर्याइन्छ। स्लेट निकासी हुन थालेपछि यहाँका दर्जनौं सर्वसाधारणले रोजगारी पाएका छन्। खानीबाट सडकसम्म ढुवानी गर्न दैनिक चार दर्जनभन्दा बढी महिलाले काम पाएको स्थानिय बताउँछन्।


 

प्रकाशित: १७ मंसिर २०७३ ०६:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App