८ वैशाख २०८१ शनिबार
अर्थ

कुलमानका 'तगारा' कारबाहीमा

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका तीन सञ्चालकविरुद्ध ऊर्जा मन्त्रालयले स्पष्टीकरण सोध्ने भएको छ। ऊर्जा सचिव अनुपकुमार उपाध्यायका अनुसार प्राधिकरणका सञ्चालक लक्ष्मणप्रसाद अग्रवाल, मनोजकुमार मिश्र र सुरज लामिछानेलाई सात दिनको म्याद राखेर स्पष्टीकरण सोध्ने निर्णय भएको हो।  चित्तबुझ्दो जबाफ नदिएमा उनीहरूलाई मन्त्रालयले हटाउन सक्नेछ।

उपाध्यायले नागरिकसँग भने, 'मन्त्रालयले तीन सञ्चालकलाई सातदिने म्याद दिएर स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।' ऊर्ज्ाा सचिव प्राधिकरण सञ्चालक समितिको अध्यक्ष हुन्छन्।

यसअघि ऊर्जामन्त्री जनार्दन शर्माले उनीहरूलाई तुरुन्त स्पष्टीकरण सोधेर कारबाही प्रक्रिया अघि बढाउन सचिव उपाध्यायलाई निर्देशन दिएका थिए। शर्माले सचिव उपाध्यायसहित प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग शुक्रबार बिहान छलफल गरेका थिए। ऊर्जामन्त्री शर्माले सञ्चालकहरूको व्यवहार विद्युत् प्राधिकरण ऐन, २०४१ प्रतिकूल रहेको भन्दै कारबाहीको निर्देशन दिएका हुन्।

तीन सञ्चालकले प्राधिकरणलाई आर्थिक रुपमा सबल बनाउन र लोडसेडिङको दीर्घकालीन समाधानका लागि कम्पनी मोडलमा परियोजना अघि बढाउने कार्यकारी निर्देशक घिसिङको प्रस्तावमा अवरोध खडा गरेका थिए। उनीहरूले प्राधिकरण सञ्चालक समितिको निर्णय भन्दै तीनजनाको हस्ताक्षरसहित मिडियामा कार्यकारी निर्देशकविरुद्ध प्रचार गराएको आरोप पनि लागेको छ।

अग्रवाल र मिश्रले प्राधिकरणमा घिसिङ नियुक्त भएदेखि नै असहयोग गर्दै आएका थिए। उनीहरूलाई अन्तरिम सरकारका पालामा ऊर्जामन्त्री उमाकान्त झाले नियुक्त गरेका थिए भने लामिछानेलाई सुशील कोइराला नेतृत्व सरकारकी ऊर्जामन्त्री राधा ज्ञवालीले नियुक्त गरेकी थिइन्। ज्ञवालीपछि ऊर्जा मन्त्रालय सम्हालेका वामदेव गौतमले हटाएका लामिछाने अदालतको आदेशबाट केही समयअघि मात्र पुनर्बहाली भएका हुन्।

प्रकाशित: १८ मंसिर २०७३ ०२:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App