coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

टेको

भीष्म उप्रेती

काठमाडौँ सहरमा धेरैचोटि– धेरै किसिमले हिँडेको छु। गर्मीमा पसिनामा चुहिँदै, वर्षामा भिज्दै, कहिले महाकवि देवकोटाले भनेजस्तो टुप्पीमात्र बाँकी रहुन्जेल हिँड्दै त कहिले सुविधासम्पन्न गाडीमा गुड्दै अनेक किसिमले हिँडेको छु यस सहरका सडक र गल्लीहरूमा। बिहान, दिउँसो, बेलुका र मध्यरातमा पनि हिँडेको छु। गाह्रो र निराश भएको क्षणमा समेत मलाई आमाले जस्तो बाँच्न ढाडस र प्रेरणा दिएको छ यो सहरले। त्यसैले यस सहरको अग्घोरै माया लाग्छ मलाई। कहिलेकाहीँ फेरि पराइलाई जस्तो उपेक्षापूर्ण नजरले हेरेको पनि छ, एकदम निष्ठुरीजस्तो व्यवहार गरेको पनि छ यो सहरले ममाथि। त्यसैले यस्सो रिस पनि उठ्छ यो सहरसँग। जहाँ अपनत्वले अंकुराउने र हुर्कने अवसर पाउँछ त्यहीँ नै गुनासो र असन्तोष पनि त हुन्छ।

टेकोहरू अनेकथरिका छन्, अनेक रङका छन्, अनेक आकारका छन्। टेकोहरू विभिन्न गुणस्तर र मापदण्डका पनि छन्। तर, मान्छे यी सबै टेकोलाई नफाली, फाल्ने आँट नगरी कोही पनि अग्रगामी हुन सत्तै्कन, विनयशील र निर्माता तथा रचनाकार हुन सत्तै्कन। मान्छे 'मान्छे' हुन सत्तै्कन।

लामो समयपछि यसपालि हिँडेँ मज्जाले यस सहरका सडक र गल्लीहरूमा। असन र इन्द्रचोकजस्ता भीडहरूमा मानिससँग ठोक्किँदै र मानिसको गन्धलाई पन्छाउँदै। र, जहिले हिँड्दा पनि जीवनले छोएको अनुभव गर्छु म। घरहरूले नै पो किच्लान् कि भन्ने त्रास पनि पालेर भीड पन्छाउँदै दगुरिरहनुको मज्जा म अन्यत्र जहाँसुकै गए पनि पाउँदिनँ।

मेरो बसाइ अचेल काठमाडौँबाहिर छ। त्यसैले फर्केर काठमाडौँ गएको बेला दगुरेर पुगिहाल्छु असन, इन्द्रचोक र मखनका गल्लीतिर, हनुमानढोकावरपर। यो अपनत्वलाई हृदयभित्र जोगाइराख्न चाहन्छु म।

यसपालि यो सहरलाई, यसका छातीमा उभिएका घरहरूलाई ठाउँठाउँबाट टेकोले अड्याएको देखेँ। अर्काको सहारामा उभिएका यी शदियौँ पुराना घरहरू नयाँ समय र नयाँ सोचले रंगिएका नवयुवा अथवा नयाँ पुस्ताबाट परित्यक्त हुँदै गएका हजुरबा, हजुरआमाजस्ता लागे। मैले धेरै नियालेर हेरेँ यिनलाई। आफैलाई रित्याएर आफ्ना सन्ततिलाई माया गर्ने अघिल्लो पुस्तालाई बिस्तारै बिर्संदै गएपछि, बिस्तारै हेलाँ गर्दै गएपछि वा बिस्तारै छोड्दै गएपछि एक्लो हुनुपरेको वा परित्यक्त हुँदाको तीक्तताले भरिएको जस्तो निन्याउरो र नूर खसेको जस्ता देखिन्थे यी टेकोले अड्याएका घरहरू।

नेपालमा २०७२ बैशाखमा ठूलो भूकम्प गयो। त्यसको केही महिनापछि काठमाडौँमा टेकोको सहारामा घरहरू अडिएको विषयमा एउटा लेख पढेको थिएँ (माफ गर्नु होला, लेखकको नाम बिर्सिएँ)। सहरलाई टेकोले अड्याएको दृश्यको कल्पना गरेर मनमनै हाँसेको थिएँ। भूकम्प गएको दिन काठमाडौँभन्दा धेरै टाढा सुदूर पश्चिमको एउटा अनकन्टार गाउँमा थिएँ। त्यहाँ जीवनमा सधैँ गइरहन्छ अभाव र भोकको भूकम्प, कि त भने कुनै गति तथा चाल नभएको दहजस्तो एकनास जमिरहन्छ जीवन, जहाँ कहिल्यै पनि भूकम्प जाँदैन।

यसो सोच्दा त कहिलेकाहीँ भूकम्प पनि चाहिने जस्तो लाग्ने रहेछ। एकनासको व्यवहारले जीवनमा अल्छिपना, अलमस्ती एवं यथास्थिति बढाउँछ। नयाँ सोच, नयाँ संकल्प, नयाँ सुरुआत एवं सिर्जनाका लागि हलचल हुनैपर्छ, भएको केही भत्कनै पर्छ, मान्छेले बसिरहेको थातथलोबाट उठेर केही पर हिँड्नै पर्छ। तर, जब सहरका घरहरू नै टेकोले अड्याउनुपर्ने गरी हलचल हुन्छ र भूकम्प जान्छ, तब फेरि जीवनको गति र लयसमेत हराउने रहेछ। अहिले आँखैले यी सहारामा अडिएका घरहरू हेर्दा एकाएक गम्भीर भएँ। वास्तवमा कुनै दृश्य सुन्नु, पढ्नु र प्रत्यक्ष देख्नु, भोग्नुबीचमा ठूलो अन्तर छ। यसलाई आकाश र जमिनबीचको अन्तर भने पनि हुन्छ।

असनबाट छिरेर इन्द्रचोक हुँदै वसन्तपुरतिर गएँ। घरहरूले नै थिच्लान्जस्तो अत्यासबीच लम्पसार बाटो (गल्ली) मा एउटा अपूर्व सौन्दर्य हुन्थ्यो– कला र परम्पराको समृद्धिको आकर्षणपूर्ण बासना थियो। कैयौँ पटक यस ठाउँमा मैले जीवनको सुवास र सौन्दर्य अनुभव गरेको छु। घरहरूका कलात्मक ‰यालहरूबाट सपनाको उज्यालो बाहिर आउँदै गरेको देखेर आह्लादित भएको छु। तर, अहिले ती घरहरूलाई पनि टेकोले अड्याएको पाएँ। त्यहाँको जीवनको उज्यालो र कलाको सौन्दर्य टेकोको सहारामा जसैतसै उभिएको देखेँ। एउटा सभ्यता टेकोको सहारामा उभिएको अवस्थाको लाक्षणिक अर्थ के लाग्ला? ती घरहरूभित्र परम्परा र आधुनिकताका विषयमा पुस्तापुस्ताको बीचमा कति बहस भएका थिए होलान्? सपना, गति र प्रगतिका लागि कति योजनाहरू बनेका थिए होलान्, कति इच्छाहरूको निर्माण र विघटन भएको थियो होला! अहिले खण्डहर र परित्यक्त पाएँ।

टेकोको सहारामा बाँचेको सहर भौतिक रूपमा कमजोर हुन्छ, अपांग हुन्छ अलि ठूलो कम्पनमै ढल्न सक्ने, अलि ठूलो बतासले पनि ढलाउन सक्ने। लामो समयसम्म त्यसै सहरको कमजोर अवस्था, दुर्दशा तथा असहायपन हेर्दै त्यसै सहरलाई अझै दोहन गर्दै बस्ने वासिन्दाको मनोविज्ञानचाहिँ कस्तो होला? उनीहरूको आत्मविश्वासचाहिँ कति बलियो हुन्छ होला?

मेरा आँखाहरू उत्सुकता बोकेर पत्रपत्रिकाका अक्षरमा डुल्छन् हरेक दिन। थाहा छ ती अखबारहरूमा जीवनमा उमंग र उत्साह भर्ने, बाँच्नलाई प्रेरित गर्ने कथाहरू, प्रेरणाहरू त्यति हुँदैनन्। तर आदत हो, आदतले अखबारका अक्षरहरू नसुम्सुम्याइ बिहान जाँदैन, सञ्चो पनि हुँदैन। रेडियोको आवाजलाई ध्यान दिएर सुन्छु। टेलिभिजनका पर्दाहरूमा दृश्य र रङहरू बदलिइरहन्छन्। तिनलाई पनि नियालेर हेर्छु। फुर्सदिला दिनहरू धेरै लामा हुन्छन्– पट्यारलाग्दा। तिनलाई छोटो र छिटो बितेर जाने बनाउन आफूलाई कतै न कतै नअल्मल्याइ हुँदै हुन्न। त्यसो त कुम्भकर्णझैँ दिनभरि सुत्नेहरूको पनि दिन त बित्छ नै। तर, सुतेको मान्छेलाई मात्र पनि कहाँ शान्ति छ र? पत्रपत्रिकामा जीवनमा उत्साहका रङ भर्ने उपलब्धि एवं प्रेरणाका कथा र समाचार पढेको दिन आफूलाई दिनभरि हर्षले भरिएर फूलजस्तै हलुका र मुस्कुराइरहेको पाउँछु।

अरूका विचारहरू पनि सुन्नु र मनन् गर्नु विचार निर्माणको महत्वपूर्ण प्रक्रिया हो। अरूका विचारहरूमाथि विश्लेषण गरी निचोड निकाल्ने कार्य महत्वपूर्ण प्रक्रिया हो। हामी केवल आफ्नो कुरा भन्छौँ– सडकमा, सदनमा, भीडमा, एकान्तमा, सञ्चारका विभिन्न माध्यमहरूमा, सामाजिक सञ्जालमा– जहाँसुकै होस्– हामी केवल बोल्छौँ मात्र। यो एकोहोरो सुगारटाइले विचारको निर्माणमा धमिरा लगाउँछ, खिया पार्छ। सडेको विचार बलियोसँग उभिन सत्तै्कन। यसरी हाम्रो विचारमा, विचारको निर्माणमा टेको लागेको छ।

अभ्यास र प्रयोगहरू व्यवहारले माझिएर चम्किला हुन्छन्। गर्दै जाँदा ती आदत बन्छन्, एक हातबाट अर्को हातमा, एक सोचबाट अर्को सोचमा सर्दै जान्छन् र संस्कृति बन्छन्, पहिचान बन्छन्। यसका लागि समूहको प्रयास चाहिन्छ, समूहलाई बाँधेर राख्न सक्ने खुुसीको उज्यालो संसार चाहिन्छ। यहाँ त उल्टो घुमेको छ दुनियाँ। विचारका नाममा केवल विरोधाभास उठेको छ सबैले देख्ने र अनुभूत गर्ने गरी। त्यसबाट आँखाआँखामा अरूप्रति प्रेम होइन घृणा रोपिँदै गएका छन्, हृदयहृदयमा सलल्ल बग्ने कोमल भावना नभएर निर्जीव ढुंगो अस्तित्वमा आइरहेछ। मानव जाति बेथिति, व्यभिचार र अहंकारको चेतनाशून्य स्थितिको चपेटामा च्यापिँदै गएको छ। तसर्थ, संस्कृति र यसको निर्माणको आधारमा टेको लागेको छ।

एउटै मान्छे सर्वज्ञ भएको अन्यत्र देखिँदैन, तर यहाँ देखिन्छ। ज्ञानको सीमा हुन्छ हरेक मान्छेमा, ज्ञान आर्जन गर्ने समयको पनि सीमा हुन्छ। भन्ने नै हो भने, मान्छेको आयुकै पनि सीमा हुन्छ। यति धेरै सीमाहरूको सापेक्षतामा गहिरिएर हेर्दा एउटै मान्छे मानवाधिकार विज्ञ, संस्कृतिविज्ञ, भूगोलविज्ञ, राजनीतिशास्त्रविज्ञ, वरिष्ठ लेखक र अरू पनि के के...' सबैथोक कसरी हुन्छ, हुन सक्छ एउटै मान्छे! अझ उस्तै धमिराले खाएर टेकोले अड्याउनुपरेको दिमागले भेट्यो भने भने त सम्राट वा साम्राज्ञीकै पगरी थपिदिन बेर छैन। यो बौद्धिक स्खलनको नमूना हो, पाखण्ड हो। यस्तै खोक्रा बौद्धिकता केवल टेकोको सहाराले अडिन सक्छ।

मैले बेलाइतको विश्वविद्यालयमा अर्थशास्त्र विषयको मेरो प्रोफेसरलाई एउटा अलि राजनीतिक प्रश्न सोधेको थिएँ। अर्थशास्त्र र राजनीतिको सम्बन्ध धेरै टाढाको हुँदैन। त्यसमा पनि राजनीतिक अर्थशास्त्र र राजनीतिको सम्बन्ध त झनै नजिकको हुन्छ। तर, उनले त्यो आफ्नो विषय नभएकोले थाहा छैन भने। त्यसबखत उनी मुस्कुराए। त्यो उनको ज्ञानप्रतिको सम्मान थियो, विद्वत्ताको विनयशीलता थियो।

स्वस्थ मस्तिष्कले स्वस्थ विषयहरू पहिल्याउँछ र स्वस्थ रचना गर्छ। स्वस्थ मस्तिष्कले अरूका विचारलाई बिनाशर्त सुन्छ र परख गर्छ। स्वस्थ मन र हृदयले स्वस्थ भावनाहरू कोरल्छ र खुला आकाशमा उन्मुक्त उडान भर्छ। बासी, सडेको र पूर्वाग्रही विचार बोकेर अरूलाई हेरेपछि निष्पक्षताको सुवास कहाँ भेटिन्छ! आहानै छ नि– नाच्न जान्दैन आँगन टेढो। सधैँभरि आँगन टेढो देखेर कहीँ पनि पुगिँदैन। आँगन सोझो देख्न नथालिकन स्वस्थ विषय र बाटो पहिल्याउन सकिँदैन। कुहिरोभित्र पसेर दौडँदा दुर्घटना हुन्छ नै। टेको फालेर आफै उभिने अभ्यास गरेपछि नै मान्छे र बुख्याँखाबीचको अन्तर पहिचान हुन्छ। 

अब एकछिन यस सहरमा आदतबाट बिस्तारै परम्परा बन्न लागेको एउटा बेथितिको कुरातिर लाग्छु। जे कुरा पनि हुँदै गएपछि, लामो समय व्यतीत भएपछि परम्पराको रूपमा बदलिन्छ। ठाउँठाउँमा, चोकचोकमा, गल्लीगल्लीमा फोहोर थुपारेको देखिन्छ। बिहान अलि सबेरै घरबाट निस्केर बाटोमा हिँड्ने हो भने पठित, सुग्घरी एवं सुन्दर मान्छेले झोलाभरि फोहोर बोकेर ल्याएर सार्वजनिक चोक, सडक तथा मानिस धेरै हिँडडुल गर्ने ठाउँमा ल्याएर फ्यात्त फालेर अनुहार छोप्दै गएको देखिन्छ! यो धेरै वर्षदेखि दिनदिनै देखिरहेको छु। आफ्नो घरको फोहोरको व्यवस्थापन, पठित, सुसंस्कृत, सुग्घरी एवं सुन्दर मानिसको लागि सामान्य र प्राथमिकताको विषय हुनुपर्ने हो। आफ्नो घर, घरअगाडिको बाटो, टोल तथा गाउँको सरसफाइ अनि व्यवस्थापनमा अग्रसरता भए पो गति र प्रगतिको उज्यालो सुवास आउँछ आफूसम्म। यसरी पो हुन्छ सभ्यताको निर्माण। तर, यहाँ त यो र यस्तै अनेकौँ बेथितिको कारणले परम्परा र त्यसको निर्माणको तहमा टेको लागेको छ।

टेकोहरू अनेकथरिका छन्, अनेक रङका छन्, अनेक आकारका छन्। टेकोहरू विभिन्न गुणस्तर र मापदण्डका पनि छन्। तर, मान्छे यी सबै टेकोलाई नफाली, फाल्ने आँट नगरी कोही पनि अग्रगामी हुन सत्तै्कन, विनयशील र निर्माता तथा रचनाकार हुन सत्तै्कन। मान्छे 'मान्छे' हुन सत्तै्कन। मैले यति धेरै माया, आदर र समर्पण गरेको यो सहरको भ्रमण, अनुभव र आग्रहले मलाई सिकाएको एउटा सत्य हो।

मान्छे सम्पूर्ण मान्छे भएको। मान्छे सिर्जनशील भएको देख्ने उत्कण्ठा छ। यस सहर र यहाँका मानिसलाई सबै किसिमका टेकोहरूबाट मुक्त भएर आफ्नै प्रयास, आँट र खुट्टामा उभिएको देख्ने आकांक्षा छ मेरो।

प्रकाशित: १८ मंसिर २०७३ ०४:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App