६ वैशाख २०८१ बिहीबार
अन्य

महाबजारमा हराएको हाँसो

डा. तारालाल श्रेष्ठ

कागतिहारको अघिल्लो दिन। कतारको दोहा विमानस्थलमा खचाखच नेपाली छन्। तिहार मनाउन हिँडेका दिदी–बहिनी अनगिन्ती छन्। हातभरि सपिङ ब्याग बोकेका सबैजसो नेपालकै बारेमा बोलिरहेका छन्। हाँसिरहेका भने विरलै देखिन्छन्। एक युवा अन्योलमा उभिरहेको भेटेँ। उनको अनुहारमा कुनै कान्ति छैन। हातमा ताजा सपिङ ब्याग छैन। उनले मसँग सोधे, ‘तपाईं नेपाली हो?’

मैले उनको बोर्डिङ पास हेरेँ। उही उडानबाट नेपाल जान लागेको बताएपछि उनी ढुक्क भए। २६ वर्षीय (वृद्धझैँ देखिने) युवा शिव भुजेलको मुख सुख्खा थियो। ‘पानी किन्न कहाँ पाइन्छ?’ उनको अर्को प्रश्न थियो। मुख नजिक लाने बित्तिकै पानी आफै आउने अत्याधुनिक धारामा पुर्‍याएँ। पानी पिएपछि उनी अलि बढी खुलेर बोल्न थाले। सोलुखुम्बुबाट १५ महिनाअघि भिनाजु अर्जुन भुजेलसँगै कतार आएका कामदार रहेछन् शि। ट्रान्जिटमा समय थियो, उनीसँग गफिएँ। 

विश्वबजारमा विस्तारै नेपालको कोलाज बिम्बभित्र नेपाली श्रमजीवी अन्तर्राष्ट्रिय वर्ग बनिसकेको देखिन्छ। नेपालमा युवालाई काम छैन, कामका लागि युवा छैनन्। फुर्सदिला वर्गका नेपाली पनि प्रवासमा रातदिन श्रम गर्दैछन्। नेपालमा हराएको भविष्य विदेशमा खोजिरहेका नेपाली बोनस युवा शक्तिलाई सदुपयोग गर्न सकेमा नेपाल समुन्नत बन्न सक्छ। विदेशी महाबजारमा हराएको हाँसो स्वदेशमा बचाउन सकिन्छ।

शिवले सुटुक्क सोधे, ‘मेरो भेनाको लासलाई हामीसँगै उही प्लेनमा लान्छ हो?’ उनको तेस्रो प्रश्नले शरीर सिरिङ्ङ भयो। आफ्ना भिनाजुको लासको उनी एक्लो मलामी रहेछन्। तिहारको मुखमा २६ वर्षे युवा २७ वर्षे भिनाजुको लास लिएर नेपाल फर्कंदै थिए। उनलाई सोधेँ, ‘दिदी कति रोइरहेकी होलिन्, हगी?’ एकछिन उनी बोलेनन्। ‘अब त दिदीका आँखामा आँसु रित्ती सक्यो होला,’ टर्मिनल बाहिर हेर्दै उनले भने, ‘हाम्रै झोलाहरू राख्ने छेउमा राखेर लान्छ अरे लासलाई, हो?’ म अक्क न बक्क बनेँ। उनी अझै टर्मिनल बाहिर हेर्दै थिए। एउटा कफिन लोड गरेको देख्न पाए उनी ढुक्क हुन्थे होलान्।

मृतकको कागजपत्र खोजेँ। उनले सिलबन्दी एउटा खाम देखाउँदै भने, ‘सबै कुरा यही भित्र छ, नेपालको एयरपोर्टमा खोज्छ अरे, त्यहाँ देखाउनु भनेको छ।’ सिलबन्दी खामलाई खोल्न मिलेन। उनले भने, ‘खै के लेखेको छ, मलाई थाहा छैन। अंग्रेजी आउदैन।’ अस्पतालमा भिनाजुको लासलाई बाकसमा राखी काँटी ठोकेर सिलबन्दी गरेको देखेको हो। त्यसपछि कफिन कहाँ पुर्‍यायो अत्तोपत्तो छैन। उक्त बाकस कतै देखिन्छ कि भन्ने ध्याउन्नमै एकोहोरो बाहिर हेरिबसेका छन्। वाइफाइ अन थियो। मृतकको फेसबुक हेर्न सर्च गरेँ। उही नामका सयौँ व्यक्ति सूचीमा देखिए। कुनचाहिँ हो मृतकको फोटो भन्दाभन्दै टर्मिनलमा हल्लाखल्ला भयो। उडान क्यान्सिल्ड भएको हल्ला चल्यो। ‘बी १’ गेटबाट निकै परतिरको ‘सी ४’ गेटमा लगियो। शिवलाई झन् बढी भिनाजुको लास छुट्ला भनेर पिर पर्न थाल्यो।

सेक्युरिटीले सिलबन्दी खाम खोल्यो। त्यही मौकामा मृतकको कागजात हेरेँ। सन् २०२४ सम्म म्याद भएको मृतकको पासपोर्टमा ‘क्यान्सिल्ड’ छाप ठोकेको रहेछ। रिपोर्टमा लेखिएको थियोः तौल १२० पाउन्ड, ढुवानी चार्ज ३२२८, इन्स्योरेन्स रकम उल्लेख छैन। पब्लिक हेल्थ डिपार्टमेन्टबाट मृत्यु सर्टिफिकेट दिइएको छ। ‘निज पासपोर्टधारीको लास नेपालमा दाहसंस्कारका लागि लगिँदैछ’, मृत्युको कारण अक्युट हार्ट फेल’ हो र ‘एक हप्ताभित्र दाहसंस्कार गरिसक्नु’ भनी लेखिएको छ। लासलाई मेटल कन्टेनरभित्र पूर्णरूपले सिल्ड गरिएको रिपोर्टमा उल्लेख छ। नेपाली राजदूताबासले पनि कुनै अब्जेक्सन नभएको, निजको शवलाई नेपाल लान अनुमति दिइएको उल्लेख गरिकन सहिछाप ठोकेको छ।

पासपोर्टमा फोटो हेर्दा मृतक लक्का जवान देखिन्छन्। धेरै मोटा पनि होइनन्, दुब्ला पनि छैनन्। एक होनहार कामदार २७ वर्षमै त्यसरी बित्दा इन्स्योरेन्स वैधानिकरूपले तोकिएको लिखत देखिन्न। कामदार र परिवार दुवैसँग इन्स्योरेन्स पेपर सुरक्षित हुनुपर्ने प्रावधान रहेछ। उक्त पेपर कहाँ छ? अत्तोपत्तो छैन। शिवका शब्दमा, लासलाई नेपाल लाँदा लागेको खर्च कम्पनीले बेहोर्छु भनेको छ अरे! तर, लिखतमा उल्लेख छैन। दिनभर साबेल, बेल्चा र गैँती चलाइ आएर सकुशल सुतेको मान्छे उठेनन्। उनको इतिहासको सनाखत, सोसल सेक्युरिटी, इन्स्योरेन्स खोई? शिवले भने, ‘मलाई केही पनि थाहा छैन।’

मान्छे सुतेको सुत्यै हुनुको धेरै कारण हुँदा रहेछन्। अनेकौँ कुरा सुनेँ, मृत्यु त्रासदिका। उही हवाइजहाजमा बिजनेसक्लासमा सयर गर्ने सम्भ्रान्त नेपाली पनि छन्। २७ वर्षमै अकाल मृत्युवरण गरेका कामदार अर्जुन भुजेलको शव पनि। लास बोल्ने कुरै भएन। एकल साक्षी सालो शिव आफै अमुक छन्। वैदेशिक रोजगार नीति, श्रमिक अधिकार कुन चराको नाम हो थाहा छैन! त्रिभुवन विमानस्थलमा भिनाजुको लास चुपचाप पुर्‍याएर दिदीलाई तिहारको मुखमा सुम्पन पाए आफूलाई धन्य ठान्ने परिस्थितिमा थिए शिव।

विमानस्थलका विसंगत दृश्य वर्णन योग्य थिए। विदाइको पीडा र विदेशबाट फर्किआएका आफन्तलाई अंकमाल गर्दै रमाइरहेका मानिसमात्रै देखिँदैनन्। कफिनलाई अँगालो हालेर रुवाबासी गर्ने पनि थुप्रै भेटिन्छन्, दिनरात। विभूति भट्टराई भन्छिन्, ‘विमानस्थलमा कार्यरत् भए पनि लास ल्याउने भन्सारतिर जानै सक्दिनँ। कहिलेकाहीँ प्रवेशद्वारमै रुवाबासी गरिरहेका भेटिन्छन्। दिनभर मुड अफ हुन्छ। आफ्नै बुवा पनि वैदेशिक रोजगारीमा हुनु हुन्छ। अर्काको अवस्था देख्दा आफ्नै आङ सिरिङ्ङ हुन्छ।’ कुरो कतारको मात्रै रहेन। अन्यत्र महाबजारमा पनि नेपाली नागरिक संघर्षको कुरुक्षेत्रमै छन्।

न्युयोर्कमा नेपाली

विष्णुमाया परियार र रायन ल्यामगाडेका शब्दमा, अमेरिकामा पनि जातीय भेदभाव उत्तिकै छ। जसका विरुद्ध नेपाल–अमेरिका सोसाइटी फर अप्रेस्ड कम्युनिटी (नासो) संगठनमार्फत् उनीहरू लडिरहेका छन्। अमेरिकी भूमिबाट दलित आन्दोलनलाई अन्तर्राष्ट्रियकरण गर्न अनेकौँ गतिविधि गर्दैछन्। दलित डायस्पोराका एक नवीन अवतार रहेछन्, रायन आफै। जातीय विभेदबाट आजित भएका रायनले नाम (रत्न), थर (विश्वकर्मा) र धर्म (हिन्दु) सबै त्यागिदिएछन्। अमेरिकी नागरिकतामै रायन ल्यामगाडे लेखाएछन्। यद्यपि, नेपाल र नेपालीप्रति उनी उत्तिकै समर्पित देखिन्छन्।

महाबजारमा श्रमजीवी वर्ग विरलै सुत्दा रहेछन्। रातभरको कामबाट आएका रायनको अर्को काममा जानुअघि केहिबेर सुत्ने समय कार पार्किङ खोज्दैमा बित्यो। भेटघाटमा सहभागी बन्न आउने अन्यको दैनिकी उस्तैगरी अस्तव्यस्त बन्यो। कार पार्किङ खोज्दैमा सास्ती खेपिरहे। सहगोत्री संगठन थुप्रै रहेछन्, न्युयोर्कमा। नेपालीले बथाने संस्कृति त्याग्न सकेका छैनन्। व्यक्तिवादी महाबजारमा बथाने संस्कार बचाउन सहज छैन। खुब हाँस्नुपर्ने, जमघट गर्नुपर्ने नेपाली संस्कार। दौडँदैको हैरानीमा नेपाली संस्कार जोगाउन निकै हम्मे परेको देखेँ। एक ठाउँबाट अर्को स्थानसम्म मेट्रोमा यात्रा गर्दागर्दै मिनी मिटिङ गर्नुपर्‍यो। हुल बाँधेर हाँस्दै, गफिँदै हिड्नुपर्ने नेपालीलाई महाबजार बसिनसक्नुको बन्दो रहेछ।

न्युयोर्कबाट लाखापाखा लागेका नेपालीका मार्मिक कथा थुप्रै पाएँ। ओहाइयो पुनर्वासी भूतपूर्व भुटानी शरणार्थी स्रष्टा भक्त घिमिरेका अनुसार ४० परिवार नेपालीभाषी भुटानी शरणार्थीलाई न्युयोर्कमा पुनर्वास गरिएको थियो। उनीहरू कोही पनि न्युयोर्कमा टिक्न सकेनन्। क्रमशः आफ्ना समुदाय बढी भएका अन्य प्रान्ततिर बसाइँ सरेछन्। न्युयोर्कमा भुटानी शरणार्थीको एउटा नमुना बस्ती बनाउने उद्देश्य थियो अरे, आईओएमको। झन्डै ९४ हजार नेपालीभाषी भुटानी शरणार्थी अमेरिकामा पुनर्वास गराइएको छ। सबैजसो प्रान्तमा हजारौँ भुटानी शरणार्थी अमेरिकी नागरिक बनेर जमेर बसेका छन्। न्युयोर्कमा पुनर्वास गरिएका ४० परिवार भुटानी शरणार्थीमध्ये बाँकी बसेको १ परिवार पनि भर्खरै अन्यत्र बसाइँ सरेछन्। यसलाई दुःख भनौँ कि सुख?

दुई दशकदेखि न्युयोर्क कार्यक्षेत्र बनाइ बसेका शैलेश श्रेष्ठ पनि अन्ततः न्युजर्सीतिर बसाइँ सरेछन्। हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्पको चुनावी जुवारी उत्कर्षमा पुग्दै गर्दा केही दिन न्युयोर्क महाबजारतिर बराल्लिएँ। कहिल्यै नसुत्ने सहरमा दौडिरहेका मानिससँगै आफू पनि दौडिँदैको सास्ती। घरमा लागेको आगो निभाउन दौडिएझैँ बुर्कुसी मारिरहेका मानिस देख्दा दंग परेँ। विरलै मानिस बोलिरहेका देखिन्छन्। एक्लाएक्लै एउटा स्टेसनबाट अर्को स्टेसन ट्रेन/बस पक्रिन दौडिरहेका देखिन्छन्। एकले अर्काको अनुहारमा हेर्दैनन्। बोल्दैनन्, मुस्कुराउँदैनन्। अन्डरग्राउन्ड ट्रान्जिटमा उभिरहेका मानिस पनि सबै तनावमै देखिन्छन्। कार हुनेहरूको सास्ती पनि उस्तै छ।

शैलेशले सोधे, ‘कस्तो लाग्यो न्युयोर्क?’ मैले भने, ‘यो हाँसो हराएको सहर रहेछ।’ उनले सहमति जनाए। मैले हाँस्दै सोधेँ, ‘यहाँका मानिस किन हाँस्दैनन् हँ?’ उनले भने, ‘केही महिना न्युयोर्कमा बस्नुस्, तपाईंको पनि हाँसो हराउने छ। अनि आफै थाहा पाउनु हुन्छ, यहाँ हाँसो कसरी हराउँछ।’ शैलेशको कुरा सुनेर खित्का छाडेर हाँसेँ। उनले विस्तार हाँस्न सुझाए। सकेसम्म ‘कसैको अनुहारमा नहेर्नु, नहाँस्नु’अरे! हामी हाँस्यौँ भने उनीहरू खिसी गरेको ठान्छन् अरे। करिब सय जनासँग ठोक्किँदा ८० देशका मानिस हुँदारहेछन्, न्युयोर्कमा। तिनका अनेक अधुरा सपनाका कोलाजले कसैलाई कहिल्यै सुत्न दिँदैन, सायद। कहिल्यै नसुत्नेहरू कसरी हाँस्न सक्लान् र!

निसास्सिएका नेपाली ज्याक्सन हाइटमा जम्मा हुँदारहेछन्। भारतीय, बंगलादेशी, तिब्बती र नेपाली जमातको जक्सन ज्याक्सन हाइटको बीच बाटोमै भाषण, नारा, जुलुश। नेपाली रेस्टुराँ, नेपाली खानपिन। अलि दिल खोलेर नेपाली पारामा बोल्न, हाँस्न पाइने स्थान। न्युयोर्कमा बसे पनि जम्न नसकेकै कुरा गर्दा रहेछन्, नेपाली। गुटबन्दी, फुटबन्दी उस्तै। नेपालप्रतिको प्रेम–घृणाका प्रतिक्रिया त्यस्तै।

वाल्यकालदेखि नै नेपाली वामशालाबाट प्रशिक्षित शैलेश न्युयोर्कमा वामशालाको नयाँ परिभाषा खोज्दैछन्। अन्तर्राष्ट्रिय जातिबारे वामशालाले सिकाएको अन्तर्राष्ट्रियवाद न्युयोर्कमै सबैभन्दा बढी पाइने भएकाले उनी त्यतै रमाएका रहेछन्। उनलाई अहिले नेपाली वामशालाले सिकाएका थुप्रै कुरा आडम्बरपूर्ण लाग्छन्। धर्मलाई अफिम, अमेरिकालाई साम्राज्यवाद, भारतलाई विस्तारवाद भनेर घोकाइएका विचारको पुनर्परिभाषा खोज्दैछन्। मेट्रोबस चढ्दै र ओर्लिएर दौडँदै महाबजारमा बराल्लिएको झन्डै दुई दशक भइसकेछ।

बिरामी बिदा (पेड सिक डे) बिल पास गराउने अभियानमा सरिक भएकोमा शैलेश गर्व गर्छन्। पहिले वासिंटन डीसी, स्यानफ्रान्सिस्को र म्यालवकी स्टेटको सीमित सहरमा मात्रै बिरामी बिदा लागु गरिएको थियो। रेस्टुरेन्ट कामदारका लागि फेडरलले प्रतिघन्टा २ डलर १३ सेन्टभन्दा बढी तोकेको थिएन। तिनले ग्राहकबाट अतिरिक्त टिप्स पाइहाल्छन् भनेर त्यति थोरै पारिश्रमिक दिन्थे। अहिले न्युयोर्कमा प्रतिघन्टा साढे पाँच डलर पारिश्रमिक तय गरेको रहेछ, टिप्स वर्करका लागि। अन्यत्र प्रतिघन्टा साढे सात डलर र कतै नौ डलरसम्म पुर्‍याएको रहेछ।

ओबामा कार्यकालमा न्युयोर्कमा अल्पसंख्यक बहुमतमा थियो। हिस्पेनिक, एसियन र अफ्रिकन अमेरिकन अस्वैत न्युयोर्कमा ५१ जनामध्ये ४७ जना प्रगतिशील डेमोक्र्याट प्रतिनिधि थिए। जसका कारण बिरामी बिदा बिल पास भयो, पाँच वर्षको कानुनी लडाइँपछि, सन् २०१४ मा। सन् २००२ देखि रेस्टुरेन्ट अपर्चुनिटी सेन्टर अफ न्युयोर्क सेन्टरको अधिकार अभियन्तामध्येका एक पात्र शैलेशलाई सिटी काउन्सिल मेम्बरले ‘हे पेड सिक डे गाइ’भन्दै सम्बोधन गर्दा आनन्द लाग्छ अरे। अहिले पहिलेझैँ टिप्स वर्कर एक दिन गयल हुँदा जागिर जाँदैन। वर्षको ५ दिन कम्तीमा बिरामी बिदा पाउँछन्।

सन् २०१० मै बिरामी बिदाको पक्षमा ३३ प्रतिशत सिनेट उभिए पनि २०१४ मा बिल पास भएको थियो। अब लेबर मुभमेन्टमा समर्पित अभियन्ता ‘वन फेअर वेज’ अर्थात् पूरा १५ डलर प्रतिघन्टा पाउनैपर्ने अभियान हाँक्दैछन्। अब आशे टिप्सको भरमा नबाँच्ने, टिप्सको व्यवस्थै नगर्ने अभियान गर्दैछन्। १७ वर्षदेखि फेडरलले तनखा बढाएको छैन। ओबामाको दुई कार्यकालमा पनि टिप्स कामदारको तनखा बढेन। ट्रम्प भर्खरै जितेका छन्, माथिल्लो सदन (सिनेट) र तल्लो सदन (हाउस अफ रिप्रेजेन्टेटिभ) दुवैमा बर्चस्वसहित। अब आप्रवासी श्रमजिवीको हालत के हुने हो? अहिल्यै यकिन गर्न सकिन्न। विभिन्न प्रकारका प्रवेशाज्ञा (भिसा)लिएर वा नलिएर नेपाली श्रमजीवी अमेरिकामा बसेका भेटिन्छन्। नेपाली समुदाय उल्लेखनीय रूपमा संगठित देखिन्नन्।

सन् २०१० को सेन्सस ब्युरोले न्युयोर्कमा केवल ५ हजार २ सयको हाराहारीमा नेपाली जनसंख्या रहेको देखाउँछ। एउटा शेर्पा समाजको कार्यक्रममा ७ हजार हाराहारीमा नेपाली न्युयोर्कमा भेला हुँदारहेछन्। अमेरिकी सरकार तथ्यांकको आधारमा बोल्छ। तथ्यका आधारमा बोलेको कुरो मात्रै बिक्छ। नेपाली त्यसैमा चुकेको छ। नेपालीको तथ्यांक अमेरिकामा पनि मिथ्यांकै बनेेको देखिन्छ। ३० हजार प्लस नेपालीको तथ्यांक देखाएर बोल्न सकेमा सिटी काउन्सिलमा प्रतिनिधिको दाबी गर्न सकिन्थ्यो। ट्राइस्टेट(न्युयोर्क, न्युजर्सी र कनेक्टिकट) मा कम्तीमा ४० हजार र अमेरिकाभर अढाइ लाख नेपाली रहेको अनुमान छ। नेपालीभाषी भुतपूर्व भुटानीमात्रै एक लाख प्लस छन्। स्रष्टा नारद पोखरेलका शब्दमा, सबैतिरबाट अमेरिका आएर बसोबास गर्ने नेपालीभाषी चार लाखको हाराहारीमा होलान्। तिनलाई एकताबद्ध गर्न सके अमेरिकामा निकै उपलब्धिपूर्ण काम गर्न सकिन्छ भन्छन्, शैलेश।

बोनस जीवन

टुइन टावर बिल्डिङ नम्बर एकको १०६ र १०७ तलामा एउटा रेस्टुराँ थियो, विन्डोज अफ दि वर्ल्ड। संसारकै सबैभन्दा विशाल र सबैभन्दा अग्लो उक्त रेस्टुराँबाट तल हेर्दा मोटर कमिला जत्रा देखिन्थे। ५० देशका ५ सय जना कामदार, त्यसमध्ये तीन जना नेपालीभाषी। सबैभन्दा कान्छा कर्मचारी थिए शैलेश।

एक पटक त्यहाँ गएर खाने सबैको सपना हुन्थ्यो। उक्त १०७ तले रेस्टुराँमा एकाबिहानै प्लेन क्र्यास गराइयो। भाग्यले शैलेश बाहिर भएकाले बाँचे। उनी काम गर्ने कक्ष १०६ र १०७ तलाबाट सेतो टेबलपोस हल्लाइरहेका थिए उनका साथीहरू। बचाउन सक्ने कुरै भएन। ७३ जना सहकर्मी जिउँदै जलेको दृश्य देखेर स्तब्ध भएका जीवित श्रमजीवीहरूले अभियान हाँक्दै गए। शैलेशको शब्दमा, करिब ७ जनाबाट उठेको रेस्टुराँ कामदार अधिकार अभियानलाई लेबर मुभमेन्ट युनियनले सहयोग गर्‍यो। टुइन टावर घटनाबाट पीडित कागजातविहीन श्रमजीवी परिवारलाई पनि राहत दिलाएरै छाडेछन्।

विश्वबजारमा विस्तारै नेपालको कोलाज बिम्बभित्र नेपाली श्रमजीवी अन्तर्राष्ट्रिय वर्ग बनिसकेको देखिन्छ। नेपालमा युवालाई काम छैन, कामका लागि युवा छैनन्। फुर्सदिला वर्गका नेपाली पनि प्रवासमा रातदिन श्रम गर्दैछन्। नेपालमा हराएको भविष्य विदेशमा खोजिरहेका नेपाली बोनस युवा शक्तिलाई सदुपयोग गर्न सकेमा नेपाल समुन्नत बन्न सक्छ। विदेशी महाबजारमा हराएको हाँसो स्वदेशमा बचाउन सकिन्छ– सक्नुपर्छ।

प्रकाशित: १८ मंसिर २०७३ ०४:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App