coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

नारीवादी लेखन

राणाशासनको अन्त्यसँगै नेपाली साहित्यमा महिलाका विषय उठान हुन थालेको पाइन्छ। बीपी कोइराला आफ्नो समयका धुरन्धुर राजनीतिज्ञमात्र थिएनन्, मान्छेभित्रको उकुसमुकुसलाई कथामा बुन्न खप्पिस थिए। मान्छेका आँखाका भावमा कथा भेट्थे, हिँडाइ, बोलाइ र व्यवहारमा कथा–उपन्यास भेट्थे। मानवीय मनको चित्रण गर्न सिपालु थिए। उनले लेखेका साहित्यिक कृतिमा नारी–पुरुष दुई वर्गको द्वन्द्वका कारण खोतलिएका छन्। घरको आर्थिक अवस्था, यौनकुण्ठा, पितृसत्तात्मक समाज, पूर्वीय सांस्कृतिक  संरचना, लैंगिक विभेदजस्ता सन्दर्भ नारी–पुरुषबीच द्वन्द्व उब्जाउने बीज भएको उनका कृतिले छर्लंग पार्छन्। 'नरेन्द्रदाइ' उपन्यासले एउटा पुरुषका पत्नी र प्रेमिका दुई छुट्टाछुट्टै तत्वबीचको सम्बन्धबारे कथा भन्छ। 'मोदिआइन'मा महाभारतीय युद्धकथालाई आधार बनाएर विधवा नारीको प्रेतात्मालाई पात्रका रूपमा उभ्याइएको छ। 

सिमोन द बउवार दि सेकेन्ड सेक्स लेखेर चर्चित भइसकेकी थिइन्। भारतमै पनि कमला दासको माई स्टोरी पुस्तकलाई महिलाले लेखेको बोल्ड आत्मकथा मानियो। संसारभर साहित्यमार्फत् महिला आवाज बुलन्द हुन थाल्यो, त्यसलाई नेपालका लेखक–पाठकले निकै रूचिपूर्ण ढंगमा अध्ययन र मनन गर्न थाले। पछिल्लो दशकमा विभिन्न पेसा–व्यवसायमा लागेका महिलाका बोल्ड आत्मकथा आउन थालेका छन्।

'तीन घुम्ती'मा उनलेे वर्गीय, जातीय र लंैगिक द्वन्द्वको चित्रण गरेका छन्। तीन घुम्तीमा नारीका तीन रूप प्रेमिका, पत्नी र आमामध्ये आमालाई अन्त्यमा बलियो पारिएको छ। बाबु–आमाको इच्छाविपरीत प्रेमविवाह, पतिको अनुपस्थितिमा परपुरुषसँग यौनसम्पर्क र सन्तान प्राप्ति, पतिले छोरी स्वीकार नगरेपछि विद्रोह गरेर घर छाड्ने इन्द्रमायाको निर्णयले महिला आफ्नो अस्तित्व रक्षा गर्दै समाजमा एक्लै बाँच्न सक्छिन् भन्ने बलियो धारणा यस उपन्यासमा प्रस्तुत भएको छ। जातीय, सांस्कृतिक र लंैगिक द्वन्द्व रहेको सुम्निमाभित्र आर्य संस्कृतिका सोमदत्त र पुलोमा पुत्रप्राप्तिका निम्ति धार्मिक अनुष्ठानले सम्बन्धमा बाँधिन्छन्। तर, मायाबिनाको सम्बन्ध जबर्जस्ती यौनमिलन मात्र ठहर्छ। त्यसले गर्भ दिनेभन्दा बढी मानसिक रूपमा पात्रलाई विकृत तुल्याउँछ। उनका अन्य रचनामा पनि यौन मनोविज्ञानको टेकोमा महिलाको महत्वलाई बढावा दिएको पाइन्छ।

बीपीका भन्दा बेग्लै तर सशक्त महिला पात्र आफ्नो सृजनामा उभ्याउने काम पारिजातले गरिन्। 'बीपी पुरुष भए पनि उनले उतिबेलै महिलाका मनोविज्ञान छाम्ने कोसिस गरेकै हुन्,' साहित्यकार सुधा त्रिपाठी भन्छिन्, ‘तर, वास्तविक नारीको मनोविज्ञान नारीले जति अरुले व्यक्त गर्नै सक्दैनन्।' त्यसैले पुरुष भएका हिसाबले बीपीका उपन्यास उतिबेलाका लागि नयाँ आयाम थियो। पारिजातले आफ्ना लेखनीमा महिला हुनुको बोध दर्शाउन सफल भइन्। उनका अनुसार बीपीले विद्रोह गरेर अगाडि आउन खोज्ने इन्द्रमायालाई एउटी महिलाभन्दा आमाको मायाको खोल ओढाइदिएका छन्। पारिजातकृत अनिँदो पहाडकी पात्र सुवानीजत्तिको सशक्त महिला अहिलेसम्म नभएको त्रिपाठीको दाबी छ।

समाजलाई रूपान्तरण गर्ने किसिमले पारिजातका रचनाका पात्रले भूमिका खेलेको पाइन्छ। पारिजातका कथासंग्रह मैले नजन्माएको छोरो, आदिम देश, सडक र प्रतिभा, साल्गीको बलात्कृत आँसु, वधशाला जाँदा–आउँदाका हरेक नारीपात्र उनीजस्तै ओजस्वी छन्। उपन्यास शिरीषको फूलमा सकम्बरी पात्र जति कठोर देखिन्छे, उति नै मायामा कोमल छे। ‘मचाहिँ त्यस्तरी झरी हाल्ने शिरीषको फूल हैन...' भन्ने सकम्बरी अन्त्यमा कोमल बन्छे। त्यस्तै, उनका महत्ताहीन, बैँसको मान्छे, तोरी बारी, बाटा र सपनाहरू, अन्तर्मुखी पनि महिलाका पक्षमा वकालत गरिएका कृति हुन्। नेपाली साहित्यमा महिलावादी धारका कृति त्यसपछि पनि नआएका हैनन्। प्रेमा शाह यस्ती लेखिका हुन्, जसले महिला यौनमनोविज्ञानलाई साहित्यका माध्यमबाट छताछुल्ल पारिन्। 'अस्मिता' पत्रिकाले महिला मनोविज्ञानलाई बाहिर ल्याउन ५० को दशकमा निकै संघर्ष गर्‍यो। त्यही बेला कतिपय महिला लेखक साहित्यमा लगातार छाइरहे। ३० को दशकको पूर्वार्द्धदेखि अनिँदो पहाडबाट विद्रोह गरिन् पारिजातले। प्रेमाको आफ्नो किसिमको विद्रोह थियो। ‘उतिबेला थोरै लेखक नारीवादी धारमा लेख्थे, तर ती डराउँथे पनि,' त्रिपाठी भन्छिन्, ‘मैले पनि लेख्दा धेरै अपमानित हुनुपर्‍यो, धेरै झुक्नुपर्‍यो।'  ६० को दशकपछि भने महिला लेखक नारीवादी हुँ भन्न हिच्किचाउँदैनन्। नेपालमा नारीवादलाई स्थापित गर्नेमध्ये त्रिपाठी पनि एक हुन्। कथा, कविता, उपन्यास, महिलावादी चिन्तन निरन्तर आइरहेको उनको अनुभव छ। जति सशक्त रूपमा आउनुपर्ने हो, त्यो भने नभएको उनी स्विकार्छिन्।

नारीलेखनमा सक्रिय रहेका निलम कार्कीको 'चिरहरण', केही समय अघिदेखि नै लेखिरहेकी शारदा शर्माको 'कम्प'का नारीपात्र नयाँ युगका नायक नै हुन्। समाजसँग डराएर 'नारीवादी हुँ' भन्नुपर्दा भने पीडा हुने महिला लेखकको अनुभव छ। नारीका लेखन लुकिलुकी पढ्ने, तर असहयोग गर्नेमात्र होइन, कुरा काट्दै हिँड्नेका कारण लेखनीमा निरुत्साह बढेको भुक्तभोगी बताउँछन्। नारीवाद भनेको 'पुरुषविरोधी' धारणा हो भन्ने चिन्तन नै गलत रहेको उनीहरू बताउँछन्। ‘पश्चिमा जगतमा, भारतमा आएका कुरा यहाँ आउन सय वर्ष लाग्छ,' त्रिपाठीको अनभुव छ, ‘नचाहिने कुरा छिटो फेसनझैँ आउँछन्। गम्भीर कुरामा त्यही तहमा चिन्तन हुँदैन।'

नेपाली साहित्यमा बानिरा गिरिको प्रस्तुति, मञ्जु काँचुलीका नारीवादी कविता र त्रिपाठीका समालोचना, कवितासंग्रह, एकांकी, नाटकसंग्रह र निबन्धबाट नारीवादी दृष्टिकोण ढिला गरी भए पनि आइरहेकै छन्। अहिले नेपाली साहित्यको आँगनबाट ओझेल परेको देखिए पनि 'बोल्ड राइटिङ'मा सीता पाण्डेलाई भुल्न सकिन्न। उनले आफ्ना अधिकांश कृतिमा महिला यौनअधिकारको पक्ष लिएकी छन्। 

विश्वस्तरमा नारी आवाज

संयुक्त राष्ट्रसंघको पुनर्गठन र सबलीकरणपछि सन् १९७५ मा मेक्सिकोमा पहिलो विश्व महिला सम्मेलन भयो। त्यही वर्षलाई राष्ट्रसंघले नारी वर्षका रूपमा मनायो। त्यतिबेलैदेखि पूर्वीय सभ्यता बोकेका भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, नेपाललगायतका देशमा महिलावादी विचार बोकेका साहित्य सिर्जनाको लहर चल्यो।

बंगलादेशी साहित्यकार तसलिमा नसरिन लगातार महिला मनोविज्ञान र धर्मका कारण महिलाले भोग्नुपरेको विभेदमा केन्द्रित साहित्य लेखेर विश्वचर्चित बनिन्। उता, सिमोन द बउवार यसअघि नै दि सेकेन्ड सेक्स लेखेर चर्चित भइसकेकी थिइन्। भारतमै पनि कमला दासको माई स्टोरी पुस्तकलाई महिलाले लेखेको बोल्ड आत्मकथा मानियो। संसारभर साहित्यमार्फत् महिला आवाज बुलन्द हुन थाल्यो, त्यसलाई नेपालका लेखक–पाठकले निकै रूचिपूर्ण ढंगमा अध्ययन र मनन गर्न थाले। पछिल्लो दशकमा विभिन्न पेसा–व्यवसायमा लागेका महिलाका बोल्ड आत्मकथा आउन थालेका छन्। यसले नारीवादी लेखनीलाई मद्दत पुग्ने देखिन्छ। नेपालमा बीपी कोइराला, रुद्रराज पाण्डे, भीमनिधि तिवारी, बालकृष्ण सम, पारिजात, प्रेमा शाह, पोषण पाण्डे, पुष्कर लोहनी, परशु प्रधान, सीता पाण्डे, इन्दिरा प्रसाईंलगायतले महिला मनोविज्ञान, संवेदना, न्यायपूर्ण विचार अगाडि ल्याउने प्रयास गरे।

सन् १९७५ देखि १९८५ को समयलाई महिला दशकका रूपमा मनाउने घोषणाले आन्दोलनलाई नयाँ दिशा दियो। सन् १९७९ मा महिलामाथि हुने हरेक किसिमका भेदभाव अन्त्य गरौँ भन्ने विधेयक राष्ट्रसंघमा पारित भयो। त्यसपछि भने टड्कारो रूपमा महिला आफै लेख, रचनाका माध्यमबाट आफ्ना विचार राख्ने काममा सक्रिय हुन थाले। सन् १९८० मा डेनमार्कको कोपनहेगनमा दोस्रो र सन् १९८५ मा अफ्रिकाको नैरोबीमा तेस्रो सम्मेलन भयो र सन् १९९५ मा चीनको बेइजिङमा भयो, यी सबैले महिला मुद्दालाई बहसमा ल्याए।

तथापि, नेपाली साहित्यमा नारी हकहित र न्यायका कुरा टड्कारो रूपमा उठ्न ढिलाइ भएको देखिन्छ। नारी पात्रमात्र होइन, नारीका मनोविज्ञानमा आधारित लेख–रचना, उपन्यास, कथा, कविता आउन नसक्नुमा नारीवादी आरोपको भय र सामाजिक त्रासको बढी गन्ध आउँछ। लेखनमा पुरुषवादी सोच हाबी हुनु वा महिलाका कुरा विषय नै होइन भन्ने बुझाइका कारण पनि महिला आवाजमा आधारित साहित्य जोडबलले आउन नसकेको देखिन्छ। नारीका मुद्दामा लेख्ने वा नलेख्ने भयकै त्रासभित्र नेपालमा अघिल्लो पुस्ताले बिम्बात्मक रूपमा लेख्न खोजेका थिए। बालकृष्ण समको सन्ते र गौरीको कथा त्यस्तै बिम्बात्मक थियो।

प्राध्यापक अभि सुवेदी नारीका विषयमा नारी जति नै संवेदनशील भएर पुरुषले लेख्न नसक्ने बताउँछन्। लेखे पनि त्यो प्रयोगवाद, नाराका रूपमा आउने उनको बुझाइ छ। ‘उतिबेला दमाई र क्षेत्रीको कथा भनेर सीधै लेख्ने अवस्था थिएन, समले लेखे। जब गौरीको चौबन्दी सन्तेकहाँ सिलाउन लगिन्थ्यो तब उसको प्रेम त्यो चोलोमा कल्पना बनेर तैरिन्थ्यो,' सुवेदी भन्छन्, 'उसका मायाका छाल सिलाइका हरेक टाँकामा गौरीका लागि बुनिन्थे। अन्तर्जातीय प्रेमको त्यो मीठो कथा अचेलका पुस्ताले मिस गर्छन्।'

उनका अनुसार नारीवादमा मार्क्सवादी, उदारवादी, कालो नारीवाद, कट्टर र साम्यवादी नारीवादका विविध धार छन्। उनी नेपाली र अंग्रेजी भाषामा समानान्तर ढंगमा कलम चलाउने समालोचक, भाषाविद्, नाटककार, अनुवादक तथा कवि हुन्। रुद्रराज पाण्डेको रूपमति नाटकमा जति पीडा भए पनि बुहारीले सहनुपर्छ भन्ने भाव भेटिन्छ। त्यो सहनशीलता अन्त्यमा उनको जितको कारक बन्ने नाटकले प्रष्ट्याउँछ, जुनबेला नारीले घरको नेतृत्व लिने अवस्था थिएन। पुरुषकै नजरबाट लेखिएका भए पनि नारीका पक्षमा लेखिनु ठूलो कुरा भएको सुवेदीको कथन छ। गोपालप्रसाद रिमालको मसान, भीमनिधिको सहनशिला सुशीलाले यस्तै कथा बोल्छ। पतिको सेवा गर्नु नारीको परम कर्तव्य हो, घरको रेखदेख गर्नु र आमाको सेवा गर्नु बिहेपछि महिलाको दायित्व हो। यसैमा नारी सौन्दर्य झल्काउन तिवारीले खोजेको सुवेदी अनुभूत गर्छन्। ‘राणाकालीन अवस्थामा नेपाली नारी पुरुषका खेलौनाका रूपमा मात्र हेरिन्थे,' सुवेदी भन्छन्, ‘त्यसपछिका कालखण्डमा थोरै भए पनि घरगृहस्थीको अंशका रूपमा महिलालाई स्वीकार्न थालिएको सो समयका लेखकका कृतिले प्रष्ट्याउँछ।'

‘के इन्दिरा चोखी छ?' बालकृष्ण समले नै मुकुन्द इन्दिरा नाटकमा प्रश्न खडा गरेका थिए। त्यो त्यही राणाकालीन कालखण्डको एउटा उकुसमुकुसका रूपमा देखिन्छ। तथापि, पुरुषले लेखेका साहित्यमा महिलाका विद्रोहका कुरा कम देखिने दाबी उनी गर्छन्। पछिल्लो समय भने नारी लेखक नै विद्रोहका आवाज लिएर साहित्य आकाशमा झुल्किएको उनी बताउँछन्। सुवेदीका नजरमा जति यो दुनियाँमा राजनीतिक र मौसमी परिवर्तन भए, समाज त्यति परिवर्तन हुन सकिरहेको छैन। ‘नत्र राष्ट्रपति पदका लागि निर्वाचनमा उठेकी हिलारी क्लिन्टनलाई अधिकांश महिलाले नै किन भोट दिएनन्?' उनी प्रश्न गर्छन्, ‘चुनावअघि डोनाल्ड ट्रम्पले महिलालाई हीनतत्वका रूपमा लिँदै यिनीहरू सेक्सका लागि मात्र हुन् अरु काम गर्न सक्दैनन् भनेर त्यत्रो बेइज्जत गरे! हिलारीकै पक्षपातीले उनलाई गिल्ला गरे, यो युगमा नारीवाद भनेर!'

नारीलाई स्थान

नारीवादको केन्द्र मानिने अमेरिका त महिलाका लागि यति संकुचित छ भने नेपालमा नारीवादी आवाज खुल्न नसक्नु अस्वाभाविक नभएको प्राध्यापक अभि सुवेदीको भनाइ छ। ‘हामीले विश्वविद्यालयमा पढाइरहेको पश्चिमा चिन्तन, नारीवादका विषयमा अब  नयाँ बहस आवश्यक देखिन्छ,' उनी भन्छन्, ‘अमेरिकीहरू आफै  एउटा प्रयोग र द्वैधताको द्वन्द्वमा छन्।'

नेपाली साहित्यमा नारीका पक्षमा लेखिएको, तर तिनका पाठक कति छन्, त्यसले कस्तो बहस सिर्जना गरेको छ भन्ने मूल कुरा बु‰नु आवश्यक रहेको सुवेदी बताउँछन्। महिलाका आवाज र अनुभूति लेख्ने अनुपमा रोशीबारे सुवेदी भन्छन्, 'उनको लेखनीले अघिल्लो पुस्ताको याद गराउँछ। जलेश्वरी श्रेष्ठका उपन्यास पनि अनुपमा रोशी टाइपकै छन्। लभर र लोग्नेका बीचमा एउटी नारीको सहसम्बन्धका कुरा आउँछन्। जीवनमा कति घटना हुन्छन्, त्यो कति साहित्यमा आउँछ र बहसको विषय बन्छ भन्ने प्रमुख हो।'

उनका अनुसार विश्वविद्यालयमा पनि प्रोपोगान्डा, यथार्थ, नारीवाद वा अन्य लेखन विषय के हो भन्नेबारे अंग्रेजी, नेपाली साहित्यका विद्यावारिधि विद्यार्थीले अनुसन्धान गरिरहेछन्। उनी स्वयं पनि नारी पात्रलाई केन्द्रमा राखेर नाटक लेख्छन्। ‘मैले पनि आमाको प्रभावबाट लेख्दा त्यो नारीवादी भयो,' उनी भन्छन्, ‘कसैले तपाईं त बडो नारीवादी हुनुभयो भन्दा म झसंग भए।'

सुवेदीको अग्निको कथा भिक्षुणीको कथा, काव्यिक नाटक भृकटी कन्या, ठमेलको यात्रा, मायादेवीका सपनालगायतका नाटकमा नारी संवेदना अधिक पाइन्छ। उनले लेखेको आरुका फूलका सपना त एमफिलमा अध्यापन हुन थालिसकेको छ। नाटक चिरिएका साँझहरूमा जबर्जस्ती बिहे गर्ने चलनविरुद्ध उभिने क्रान्तिकारी महिला पात्रलाई उनले अघि सारेका छन्।

पत्रकार तथा साहित्यकार बबिता बस्नेत महिलाभित्रको भाव पुरुषले लेख्दा समग्रमा आउन नसक्ने बताउँछिन्। महिला आफैले लेख्दा पनि जे भोगिराखेका छन्, त्यही बढी साहित्यमा आएको उनको अनुभव छ। 'महिलाको वास्तविक चाहनाका कुरा, तिनका भित्री मनले खोजेको कुरा र समाजबारे धारणा आउनै सकेका छैनन्,' उनी भन्छिन्, 'मैले लेखेँ भने यो समाजले गलत सोच्ला कि भन्ने एक किसिमको त्रास महिलाभित्र व्याप्त छ।'

बीपीले उतिबेला महिलालाई अग्रगामी नै देखे। उनका कथा र उपन्यासले विद्रोही महिला पनि थिए भन्ने देखाउन खोजेका छन्। विजय मल्लको अनुराधा पुरुषले लेखेको भए पनि महिलाका भित्री कुरा खोतल्न केही हदसम्म सफल भएको बबिता ठान्छिन्। ‘नारी सन्दर्भमा म आफैले महसुुस गरेको कुरा पनि लेख्न सक्दिनँ,' उनी थप्छिन्, ‘महिला र पुरुषका आन्तरिक सम्बन्धका पाटोमा समाज कता गइरहेछ, त्यो साहित्यले खुट्याउन नसकेकै हो। नारीवाद नारीका लागि मात्र होइन, समाजकै हितका लागि हो, यो बुझाउन आवश्यक छ।' अहिले प्रेमकै कुरा पनि टिनएजरले मन पराउने खालका भन्दा फरक धारमा आउन बाँकी रहेको उनको बुझाइ छ।

महिला अधिकारका खुराक पस्कने तथा राजनीतिक लेख पनि लेख्ने अधिकारकर्मी हुन्, इन्दु तुलाधर। उनी भन्छिन्, ‘महिलाका पक्षमा लेख्छु, अधिकारका कुरा लेख्छु, पछिल्लो समय साहित्य केही पढेकी छु । गीता त्रिपाठी, शारदा शर्मा, सुधा त्रिपाठी, भागीरथी श्रेष्ठ, मोमिलालगायतले महिलाले भोगेका समस्या लेखनमा उठाएको पाएकी छु।' कविता, निबन्ध होस् वा कथा नै किन नहोस् महिलाका विषय थोरबहुत उनी भेटाउँछिन्।

‘भागीरथीले कथामा महिलाका आवाज उठाउनुभएको छ। यथास्थितिलाई औँल्याउनुभएको छ। सुधा त्रिपाठीले समाजमा पुरुष बराबर महिलाको हकका लागि विद्रोह पोख्नुभएको छ,' उनी भन्छिन्, 'आक्रोश र समानताका कुरा त्यहाँ आउँछन्। शारदा शर्माको कम्प र अरु लेखमा जति समानताका कुरा छन्, उस्तै भेदभाव अन्त्यको उद्घोष पाइन्छ।'

न्यायिक समाजका लागि बीपी र विजय मल्ल, कृष्ण धरावासी, विष्णुराज उप्रेतीलगायतले नारीका भूमिका कृतिमा खोजेको उनको बुझाइ छ। 'जुन ढंगले नारी मनोविज्ञान, विभेद, न्यायलाई लिएर आउनुपर्ने हो, त्यसमा लेख्नेहरूको कमी छ,' उनी भन्छिन्, 'थोरै लेखकले लेखेका विषय साहित्यका नाममा साहित्य नै हो कि होइन भन्ने शंका समेत पैदा हुन्छ।' उनका अनुसार अहिले कट्टर नारीवाद र उदार नारीवादको धारबीच द्वन्द्व चलिरहेको छ।

'उदार महिलावादले महिला पुरुषलाई समान अवसर दिनुपर्छ भन्छन्। परम्परागत रूपमा मान्यता राख्नेले आमाको भूमिकालाई बढी महत्व दिन्छ। महिला भएकैले हेयको दृष्टिकोणले हेर्नुहुन्न भन्छ,' उनी भन्छिन्, 'साम्यवादी नारीवादले वर्गीय कारणले पछाडि परेकाले ठाउँ दिनुपर्छ भन्ने मान्यता राख्छ।'

लेखक तथा प्रकाशक अर्चना थापा पनि पछिल्लो समय महिलाका विषय उठान गर्ने सवालमा क्रमभंगता आएको बताउँछिन्। ‘पुरुषले लेख्नेभन्दा पनि आफ्ना विषयमा आफै कलम चलाउने हात बढ्दै छन्,' थापा भन्छिन्, ‘तर, महिलाले लेखेका साहित्यको चर्चा अखबारमा निकै कम हुन्छन्।'

ती साहित्यका बारेमा चर्चा मात्र होइन, समीक्षाका हिसाबले पनि अखबारीय पहुँच कम रहेको उनको अनुभव छ। त्यसैले पनि राम्रा कृति ओझेलमा पर्छन्। तर, एउटा कालखण्डमा ओझेल परे पनि यदि त्यो कृतिको गहनता छ र कालिक चेत पाठकमा छ भने फेरि कुनै दिन पाठकका नजरमा अब्बल ठहर्ने दाबी उनी गर्छिन्।

उमा सुवेदीको तोदा र इति, शारदा शर्माको कम्प, सिर्जना शर्माको गोल्डेन गेट, मनिषा गौचनको ह्वाइट केन, आन्बिका गिरीको मान्छेको रंग, सरिता तिवारीको प्रश्नहरूको कारखानाजस्ता कृतिले महिलाका हातमा कलम मात्र थामिएको छैन, पात्रहरूमा महिला सबल हुन थालेको महसुस उनले गरेकी छन्।

थापाका अनुसार केही लेखक नारीको यथास्थितिलाई मलजल गर्नेखालका र अर्को वर्गले रूपान्तरणको खोजीमा कलम चलाइरहेका छन्। 'समान न्यायका लागि आवाज उठाउनु नै नारीवाद हो,' उनी भन्छिन्, 'यसका विविधतामा कलम पूर्णरूपमा चलेका छैनन्। साहित्यमा महिला आफूभन्दा जालान् कि भन्ने पुरुष मानसिकता यदाकदा साहित्यमा देखिएको आभास हुन्छ मलाई।'

उनका अनुसार जतिबेला पारिजातले शिरीषको फूल र अनिँदो पहाड लेखिन्, त्यो समय र सरिता तिवारीले प्रश्नहरूको कारखाना लेखेको समय फरक छ। तथापि, प्रश्नहरुको कारखनाले उब्जाएका प्रश्न वर्तमान समाजकै लागि हुन्।

अहिले तेस्रो लिंगीले समेत पहिचान पाइसकेको अवस्था छ। प्रेमा शाहका यौनिकता भन्दा अझ फरक धारको विकास महिला लेखनीका विषय हुन सक्छन्। सहरका र ग्रामीण क्षेत्रका महिलाको समस्या फरकफरक छन्। थापाका अनुसार महिला कहीँ न कहीँ अन्यायमा त परेका छन् नै। 'नारीका आवाज उठाउनेलाई नारीवादको आरोप लगाउनु मिथ्या हो,' उनी तर्क गर्छिन्, ‘नारीवाद भनेको पनि मानववाद हो। नारीलाई फरक जन्तुको रूपमा होइन, एउटा मानवको कोटीमा राखेर हेर भन्ने एउटा विचार हो। परिवार भाँड्ने, घर भाँड्ने र डलर कमाउने अर्थ नारीवादको होइन।'

प्रकाशित: १८ मंसिर २०७३ ०५:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App