'विद्रोहका बेला जनताले आफ्नो बाटोका हरेक बाधा-व्यवधानलाई आफ्नो संख्याको बलले चकनाचुर पारेका थिए। तर आरम्भमा उनीहरूले जतिसुकै शक्ति आर्जन गरेका किन नहोऊन्, अन्ततः उनीहरू षड्यन्त्रकारी, चतुर, कुशल र धूर्त उच्चवर्गद्वारा पराजित भए। उच्चवर्गका शिक्षित र चतुर षड्यन्त्रकारीहरूले आरम्भमा निरंकुश शासकहरूको विरोध गरे, तर त्यो विरोध केबल जनसमुदायको विश्वास आर्जन गर्नका लागि थियो, जनसमुदायको शक्तिलाई उपयोग गरिसकेपछि उनीहरूकै विरुद्ध केन्द्रित हुनका लागि थियो। अनि, आफूलाई विशिष्टाधिकारको स्थितिमा पुर्याउनका लागिमात्रै थियो, जुन स्थितिबाट निरंकुश शासकलाई अधिकारच्यूत गरिएको थियो।'