'आकाश खस्तैन।' कामरेड हेडक्वाटरले भन्नुभो-'तपाईहरू ढुक्क हुनोस्।'
'कसरी खस्छ?' कामरेड विद्यावारिधिले सघाउनुभो -'हामी खस्न दिँदैनौ।'
'कदाचित् खस्यो भने।' नागरिक अगुवाले शंका व्यक्त गर्नुभो-'बर्बादै हुन्छ।'
'लौ खस्तैन।' कामरेड हेडक्वाटरले भन्नुभो-'परेको म ब्यहोरौँला।'
'संविधान नबन्दैमा आकाश खसेको थाहा छैन।'कामरेड सिद्धान्तकारले सोध्नुभो-'तपाईहरूलाई थाहा छ?'
'त्यसो त नेपालमा गणत्ान्त्र आएको पनि थाहा थिएन।' नागरिक अगुवाले भन्नुभो-'फ्याट्ट आयो।'
'गणतन्त्र आउँनु एउटा कुरा हो।' कामरेड हेडक्वाटरले भन्नुभो-'आकाश खस्नु अर्को कुरा हो।'
'आकाश त्यसबेला खस्छ।' कामरेड विद्यावारिधिले भन्नुभो-'जुनबेला षडयन्त्र हुन्छ।'
'षडयन्त्र भयोभने विद्रोह हुन्छ।'कामरेड सिद्धान्तकारले भन्नुभो-'विद्रोह भएपछि आकाश खस्तैन।'
'विद्रोहदेखि आकाश डराउँछ।' कामरेड हेडक्वाटरले भन्नुभो-'त्यसैले खस्तैन।'
'मार्क्सवादी साहित्य नपढेकाहरू।' 'कामरेड सिद्धान्तकारले भन्नुभो-'आकाश खस्छ भनेर तर्साउँछन्।'
'आकाश खस्छ भन्नेहरू।' कामरेड विद्यावारिधिले भन्नुभो-'शान्ति प्रक्रियाका दुस्मन हुन्।'
'संघियताका विरोधी।' कामरेड हेडक्वाटरले भन्नुभो-'एकात्मक केन्द्रीय राज्यका समर्थक।'
'प्रतिगामी।' कामरेड विद्यावारिधिले भन्नुभो-'यथास्थितिवादी।'
'सामन्ती।' कामरेड अनामले भन्नुभो-'दलाल।'
'पूँजीपति।' कामरेड सुनामले भन्नुभो-'साम्राज्यवादी।'
'नोकरशाही।' कामरेड अज्ञातले भन्नुभो-'विस्तारवादी।'
'आत्मसमर्पणवादी।' कामरेड विस्फोटले भन्नुभो-'विदेशी दलाल।'
'आदिले आकाश खस्छ भन्छन्।' कामरेड हेडक्वाटरले भन्नुभो-'हामी भन्दैनौ।'
'किनभने हामी क्रान्तिकारी हाँ।' कामरेड सिद्धान्तकारले भन्नुभो-'तीजस्ता होइनौ।'
'आकाश त्यसबेला खस्छ।' कामरेड हेडक्वाटरले भन्नुभो-'जुन बेला हामी उस्लाई खस्ने आदेश दिन्छाँ।'
'हाम्रो एक इसारामा आकाश खस्छ।' 'कामरेड सिद्धान्तकारले भन्नुभो-'अर्को इसारामा थचक्क बस्छ।'
'हाम्रो इसारामा संसद् थुचुक्क बस्यो।' कामरेड हेडक्वाटरले भन्नुभो-'हाम्रै इसारामा जुरुक्क उठ्यो।'
'हामी जे चाहन्छौँ।' कामरेड सिद्धान्तकारले भन्नुभो-'त्यही गर्न सक्छाँै।'
'त्यसैले हामी भन्छौँ।' कामरेड हेडक्वाटरले सोध्नुभो-'हामी के भन्छौँ?'
'आकाश खस्तैन।' कामरेड विद्यावारिधिले भन्नुभो-'किन भने हामी खस्न दिँदैनौ।'
'तपाइहरू के गर्न दिनु हुन्छ?' पत्रकारले सोधे।
'केही पनि गर्न दिँदैनौ।' कामरेड हेडक्वाटरले भन्नुभो-'केही गर्न दियो कि चलखेल बढ्न थाल्छ।'
'हामी विद्युत् आयोजना बन्न दिँदैनौ।' कामरेड अनामले भन्नुभो-'यसरी स्वाधीनताको रक्षा गर्छौ।'
'विद्युत्ले मानिसलाई अल्छी बनाउँछ।' कामरेड विख्यातले भन्नुभो-'अल्छी मान्छे पराधीन हुन्छ।'
'अल्छी र पराधीन नागरिकले कसरी नागरिक सर्वोच्चताको लडाइँ लड्न सक्छ?' कामरेड हेडक्वाटरले भन्नुभो-'त्यही भएर हामी त्यसो गर्छौँ।'
'संविधान चाँहि कस्ले बनाउँछ?' नागरिक अगुवाले सोध्नुभो-'समयमा संविधान बनाउनु पर्दैन? '
'पर्दैन।' कामरेड हेडक्वाटरले भन्नुभो-'आकाश खस्ने भए पो संविधान बनाउनुु।
'संविधान बन्नु अघि अरू काम हुनुपर्छ।' कामरेड विद्यावारिधिले भन्नुभो- 'समायोजन हुनु पर्यो , सुरक्षा नीति हुनु पर्यो।'
'हाम्रो सुरक्षा नीति खोइ?' कामरेड हेडक्वाटरले भन्नुभो-'हाम्रो सुरक्षा नभई संविधानको सुरक्षा हँुदैन।'
'क्यानटोनमेन्टमा कामरेडहरू सुत्केरी हुनु भएको छ।' कामरेड सिद्धान्तकारले भन्नुभो-'उहाँहरूलाई ज्वानाको झोलको व्यवस्था हुनु पर्यो।'
'संविधान नबन्दा आकाश खस्ने होइन।' कामरेड हेडक्वाटरले भन्नुभो-'नेपाल मुनिको धर्ती खस्किने होइन।'
'जन सेनाहरूको सम्मान भएपछि जन संविधान बन्छ।' कामरेड सिद्धान्तकारले भन्नुभो-'जनसेनालाई ज्वानाको झोल चाहिएको छ।'
'संविधानले ज्वानाको झोल दिन्छ?' कामरेड हेडक्वाटरले भन्नुभो-'दिँदैन।'
'त्यसो भए संविधान बनाउन किन हतार गर्ने? ' कामरेड विद्यावारिधिले भन्नुभो-'संविधान र ज्वानाको व्यवस्था सँगसँगै हुनुपर्छ।'
कामरेडहरूको यस इच्छाबारे उच्चस्तरीय राजनीतिक संयन्त्रमा छलफल हुने बुझिएको छ।



Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook



