राष्ट्रियताको एजेन्डा अगाडि सारेर माओवादीले गर्न खोजेको के हो? यी एजेन्डा उसले २०५२ सालमा पनि उठाएकेा थियो। त्यसैलाई उसले पुनरावृत्ति गर्नु पर्नाको कारण के हो? के ए.ने.क.पा. (माओवादी) अहिले आफूले उठाइरहेका एजेन्डाप्रति इमान्दार छ? यी प्रश्नको वरपर माओवादीको संघर्ष जोडिन पुगेको देखिन्छ। यतिबेला माओवादीको राष्ट्रिय स्वाधीनताको नारासंगै स्व. मदन भण्डारी र स्व. राजा वीरेन्द्रसमेत जोडिन पुगेका छन्। २०५८ जेष्ठ १९ को अकल्पनीय दरबार हत्याकाण्डले देश एउटा भयानक पीडामा थियो। त्यही समयमा एक प्रतिष्ठित दैनिकमा मुलुकलाई अफगानिस्तान बनाउने दिशामा भारतद्वारा नै संरक्षित गोरखपुरधारमार्फत् उक्त हत्याको गलत प्रपोगण्डा र त्यसपछि स्थापना भएको गणतन्त्र संस्थागत गरौँं भन्ने एजेन्डाको पर्दा पछाडि को थियो? १२ बुँदे सम्झौता त्यही एजेण्डाको निरन्तरतामा भएको दास्रो दिल्ली सम्झौता होइन? यसको जवाफ नेपाली जनतालाई दिन आवश्यक छ कि? अन्यथा गोरखपुरदेखि साउथ ब्लकसम्म निरन्तर रहेर राष्ट्रियताको नारा दिने गोरखपुरपंथीकै निरन्तरता र त्यसको प्रभाव नै अहिलेको माओवादीमा देखिनेछ।
अब प्रश्न उठेको छ र उठाउन मैले आवश्यक पनि ठानेको छु - भीमसेन थापादेखि भीमदत्त पन्तसम्मलाई इतिहासले न्याय दिएकै छ। इतिहासको कठघराबाहिर कोही पनि रहन सक्नैछैन। माओवादीभित्रको अहिलेको अन्तर्विरोधलाई लिएर रायमाझी (जो मेरो नाम जोडिएको छ) र पुष्पलाल लाइनको विवादअन्तर्गतको अन्तर्विरोध भनेर क्रान्तिकारी देखिने विदेशी जासुसी जालोसंँग जोडिएकाहरूले इतिहासलाई गहिरिएर अध्ययन गर्न आवश्यक छ।
डिल्लीरमण रेग्मीका पी.ए. रहेका पुष्पलालले मेरै आग्रहमा कम्युनिष्ट पार्टी गठन गर्न रेग्मीलाई छोडे। छलफल चल्दाचल्दै कमर शाह मलगायतका साथीहरुलाई जानकारी नै नदिई उनीहरू ४ जनाले पार्टी घोषणा गरेछन्। पछि यसमा विवाद नगरौँं भनेर प्रक्रियाबाटै अघि बढ्ने सल्लाहमा मनमोहनजीलगायत हामी महाधिवेशनबाटै अघि बढ्यौँं जसबाट म महासचिवमा चुनिए। वैचारिक मतभिन्नता स्वाभाविक हो तर पुष्पलाल इमान्दार नैता नै हो भन्नेमा मेरो विमति छैन। तर आज देशभक्त राष्ट्रवादीहरूलाई रायमाझी लाइन भन्दै वैचारिक रक्षा गर्न खोज्नेहरूलाई प्रश्न छ विदेशी आडमा जनताको नाम भजाएर सत्ताका लागी ढोका चहार्नेहरू आफ्नो पतित र कुरुप राष्ट्रघाती अनुहार छोप्न पुष्पलालको धार भन्ने गलत प्रपोगण्डा किन गर्दैछन्? प्रजातान्त्रिक व्यवस्थाका निमित्त कांग्रेससँंग मिल्नुपर्छ भन्ने पुष्पलालको दिशा बीपीलाई स्वदेश फर्काउन पहल गर्नेहरूसँंग कहाँ विमती थियो? अब प्रश्न उठ्छ माओवाद या माओ विचारधारा तेश्रो विश्वका अल्पविकसित, अर्धऔपनिवेशिक र औपनिवेशिक मुलुकमा साम्राज्यवाद विरोधी धु्रव थियो। २०औं शताब्दीको अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा माओको सफलता प्रभुत्व थियो। माओजस्तो नेताले नेपाल र कम्बोडियाको राजतन्त्रलाई समर्थन गर्नुमा भूपरिवेष्ठिता आधारमा थियो। दुनियाको कुनैपनि साम्यवादीले घरेलु शक्तिसँंगको संघर्षमा बाह्य शक्तिसंँग गठबन्धन गरेका छैनन्। २०४६ साललाई नै हेर्ने हो भने चाक्सीवारीमा भारतीय नेता चन्द्रशेखर र डा. सुव्रमण्यस्वामीको उपस्थितिमा तत्कालीन वाम मोर्चाले आफ्नो उपस्थिति जनाएन।
दोस्रो दिल्ली सम्झौताका सूत्रधारहरूले पुष्पलाल र रायमाझी लाइन भनेर आफ्नो घोर राष्ट्रघाती अन्तर्राष्ट्रिय रूपमा बदनाम लेण्डुप, महेन्द्र चौधरी र लिनप्याओ प्रवृत्तिको कुरूप विचारको रक्षा गर्न खोज्नु वैचारिक दिवालियापन मात्र हो। पुष्पलालको छाता ओढेर वैचारिक रक्षार्थ उभिने गेारखपुरपंथीहरू अन्ततः कम्युनिष्ट आवरणभित्रका भुटान, सिक्किम, अफगानिस्तानी मोडेलका अतिवादी हुन्। २०४६ सालमा राष्ट्रिय जन आन्दोलन समिति मार्फत उदय भएकाहरूले भन्न सक्छन् कांग्रेससंँग मिलेर संघर्ष गर्ने वाम मोर्चालाई भारतपरस्त भन्नेहरूले भनुन् विदेशी गुप्तचरको योजनामा १२ बुँदे सम्झौतामा संलग्न भएकाहरूको वैचारिक जग कहाँ छ? राष्ट्रघाती छद्मभेषी अनुहार सार्वजनिक भएपछि रगतको खोलोमाथि आफूलाई बचावट गर्न रायमाझीलाई जोड्नुजस्तो वैचारिक पतन केही हुन सत्तै्कन।
यतिबेला भन्नैपर्ने हुन्छ कुनै समय मलाई प्रधानमन्त्रीको प्रस्ताव नआएको होइन। तर मैले राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभवका आधारमा राजालाई वैचारिक सुझाव दिने कार्य हिजो पनि ठीक थियो र आज पनि छ। त्यसकारण पद महत्वपूर्ण होइन भन्ने आधारमा नलिएको प्रसंग अहिले इतिहासलाई छोडौं। २०४६ सालको परिवर्तनपछि नयाँ संविधान जारी गर्ने अवस्थामा सुझाव र सहयोगको निमित्त अन्तरिम सरकारमा जानु आवश्यक थियो र राजाकै सुझावमा गएकोमा मलाई पश्चाताप छैन।
हजारौंको लासमाथि पदीय लालचमा विदेशी गुप्तचरका ढोका चहार्नेका निमित्त राष्ट्रिय समस्या राष्ट्रिय शक्तिहरूबीचमा आफैँ समाधान गर्नुपर्छ भन्ने मान्यतालाई गलत मान्नेहरूका लागि भन्नु केही छैन। पदीय लालचमा विदेशी ढोका चाहर्नेसँंग वैचारिक बहस हुन सक्दैन।
माओले जापानी साम्राज्यसंँगको संघर्षमा बाह्यशक्तिसंँग गठबन्धन गर्नुभएन। आज राष्ट्रिय स्वाधीनता आवश्यक देख्ने हाम्रा क्रान्तिकारी (गोरखपुरधार) मित्रहरूले हिजो घरेलु शक्तिसँंग लड्दा दिल्लीमा १२ बुँदे सम्झौता गर्नु माओ विचारसंँग कहाँ मेल खान्छ? नारायणहिटीको शक्ति खोसेर विदेशी पाउमा पुर्याउन हामी जिम्मेवार छैनौ? राजतन्त्रको विस्थापनलाई आफ्नो विचारको विजय भन्ने र साँस्कृतिक राजाको वकालत गर्नेले भन्न सक्छन् लोकतान्त्रिक गणतन्त्र संसारमा कुन क्रान्तिकारी कम्युनिष्टको विचार हो? यस्तो विचार २०३३ सालमै लेन्डुप एजेन्डा हो जुन बीपीद्वारा रद्दीको टोकरीमा फालिएको थियो। यस्तो पतित र बासी एजेन्डा गोरखपुरपंथीमार्फत् अगाडि आउनुलाई आफ्नो विचार भन्नुजस्तो वैचारिक पतन केही हुन सत्तै्कन।
आज राष्ट्रिय स्वाधीनता खोज्ने गोरखपुरपंथी र अतिदक्षिणपंथीहरूमा समग्रमा भिन्नता छैन। राजतन्त्र विस्थापन हुनुको मूल कारण अतिदक्षिणपंथी षडयन्त्र र वाम आवरणको गोरखपुरधारको विदेशी जासुसी जालोको समान उद्देश्य हो। यसलाई बुझ्न नसक्नु र बुझाउन सक्ने राष्ट्रवादी देशभक्तहरू ज्ाासुसी एजेन्टको घेराबन्दीमा पर्नु नै हो। यो घेरा जसरी वामपंथीभित्र उग्रक्रान्तिकारी बनेर देखिएको छ अहिले पनि दक्षिणपंथी घोर राष्ट्रवादी बनेर घेरा हालिरहेको छ।
कुनैपनि मुलुकको बाह्य चलखेलको प्रमुख कारण आन्तरिक पात्र नै हुन्छन्। यसकारण राष्ट्रिय स्वाधीनताको पहिलो लडाइँ विदेशी आडमा परिचालित आन्तरिक पात्रविरुद्ध नै हो। त्यो जुनसुकै राजनीतिज्ञ, पत्रकार, प्रशासक, सेना, प्रहरी आवरणमा हुनसक्छ। त्यसैले राष्ट्रिय स्वाधीनताको संघर्ष आन्तरिक नै प्रमुख हो भन्नेमा विमति नहोला।
यसकारण आज स्वाधीन राष्ट्र खोज्नेहरूले सबैभन्दा पहिला विगतका त्रुटिलाई आत्मालोचना साथ सच्याउन सक्ने कि नसक्ने? नारायणहिटीबाट राजतन्त्रको विस्थापन नै सबै समस्याको समाधान देख्नेले त्यो गलत भन्न सक्ने कि नसक्ने? इतिहासमा त्यो मात्र महान् र राजनेता बन्छ जसले कमजोरी पनि स्वीकार्न सक्छ। वैचारिक नेतृत्वले पदीय लालचमा कहिल्यै पनि विचारमा मेल नखाने सम्झौता गर्दैन। कार्ल मार्क्स या एङगेल्स पदमा गएनन्। महात्मा गान्धीदेखि फरक लक्ष्य बोकेका चेग्वेभारालाई नै हेराँैं। उनीहरू विश्व इतिहासमा आज पनि आआफ्नो पहिचानका साथ भौतिक शरीर नभएपनि वैचारिकरूपमा जीवित छन्।
नेपाल एकीकरण अभियानका योद्धा बहादुर शाहलाई राजा नभएपनि इतिहासमा कसैले बिर्सन सक्दैन। त्यसैले इतिहासमा विचारवान देशभक्तहरूको सधै प्रभाव रहन्छ भने जतिसुकै पदमा पुगेपनि राष्ट्रघाती देशद्रोहीहरू आफैँमा बिलाएर जान्छन्। समग्रमा फेरि पनि हिजो राजतन्त्र विस्थापन गर्नु गलत थियो। यसको शासकीय स्वरूपमा बहस गरौं। शक्ति सन्तुलनको निमित्त आवश्यकतालाई मनन गर्नु नै हाम्रो हितमा हुनेछ। उग्र उत्तेजनात्मक क्रान्तिकारिताको परिणाम दक्षिण एसियामै हाम्रो अगाडि छ।


Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook



