Nepal Republic Media Pvt. Ltd.

Friday
Jul 30th

बाह्र फुटे बुद्धि

smaller text tool iconmedium text tool iconlarger text tool icon
तुलनात्मकरूपमा बढी शिक्षित, सम्पन्न र संसार देखेका भए पनि हामी काठमाडौं वासीको बाह्र फुटे बुद्धिले यो सांस्कृतिक र ऐतिहासिक महत्ता भएको सुन्दर उपत्यका कंक्रिटको अव्यवस्थित फोहोर जंगलमा परिणत भएको छ।


हालसालै एकदिन काठमाडौंको प्रदूषित र ट्राफिक जामले प्रताडित एउटा सडकबाट यात्रा गर्दैगर्दा मैले मेरो १३ वर्षको छोरालाई भावपूर्ण हुँदै भने, ...हेर छोरा, यो सहर बीस वर्षअगाडि कस्तो थियो, अहिले कस्तो भयो! जताततै हरिया फाँट थिए, यस्तो धुलो, मैलो, ट्राफिक थिएन। संझिँदा पनि दुःख लाग्छ।' ऊ चुप लागेर सुनिरहेको देखेर मलाई लाग्यो, मेरो कुरा उसलाई साह्रै घत परेछ। उसको मौनले गुमेको अतीतबारे मलाई अझ बढी भावुक हुन प्रेरित गर्‍यो। म पुनः बग्न थालेँ। त्यति बेला, बौद्धको स्तुपमाथि शीतल बतासमा पूर्णचन्द्रको आनन्द लिँदै हामी साथीहरू गफ गरेर राति ११ बजेसम्म बस्थ्यौँ अनि अन्धकार र सुनसान गल्ली भएर घर फर्किन्थ्यौँ, तैपनि हामीलाई डर लाग्दैनथ्यो। मेरो छोरा अझै मौन देखेर, मैले सोधेँ, तिमी किन नबोलेको? त्यसपछि उसले प्याच्च भन्यो, 'इट मिन्स, योर जेनरेसन मेस्ड अप एभ्रिथिंग। इफ यु क्यान्ट इम्प्रुभ इट, आई विल ब्लेम यु फर माइ जेनरेसन नट स्टेइंग इन नेपाल' (त्यसको अर्थ, तपाईंको पुस्ताले सबै ध्वस्त पारेछ। त्यस स्थितिमा सुधार गर्न सक्नुभएन भने मेरो पुस्ता नेपालमा नबस्नाको दोष म तपाईंहरूलाई दिनेछु)। नेपाली सिक्दै गरेको हुनाले उसले अझैपनि कतिपय कुरा अंग्रेजीमै भन्न सजिलो मान्छ। त्यसमा मलाई कुनै आपत्ति थिएन। तर उसको जवाफबाट म झस्किएँ। एकछिन अक्क न बक्क भएँ अनि सम्हालिँदै उसको टिप्पणीप्रति सहमति जनाएँ।

कति समयावधिलाई एक पुस्ता भन्ने परिस्थितिअनुसार फरक हुनसक्छ। यो स्तंभको प्रयोजनका लागि माथि उल्लेख गरिएको बीस वर्षअगाडिको विन्दुलाई पुस्ता छुट्ट्याउने समयरेखा मान्ने हो भने त्यस यता देशको राजनीतिक र प्रशासनिक नेतृत्व सम्हाल्नेदेखि अहिलेसम्मका हामी सबैले अति सुन्दर काठमाडौं उपत्यकामाथि वास्तवमा बलात्कार नै गरेका हाँैं। त्यसमा कुनै शंकै छैन। कमसेकम त्यसभन्दा अगाडिको पुस्ताले उनीहरूलाई तिनको पुर्खाले जे छोडिदिएका थिए त्यसलाई चित्तै दुख्ने गरेर बिगारेका थिएनन्। तर हामीले त ध्वस्तै पार्‍यौँ।


कुनै पनि सहरको सुन्दारताका लागि सबभन्दा महत्वपूर्ण पक्ष सक्दो बढी हरियालीयुक्त खाली क्षेत्र हो, जुन हामीले समाप्त पार्‍यौँं। आर्को महत्वपूर्ण पक्ष सक्दो चौडा बाटाघाटा हुन्, जसको हामीले परिकल्पना गर्नै सकेनौ। हामीले त्यति दुईवटा पक्षमात्र विचार गर्न सकेको भएपनि, भविष्यमा सरकार सम्पन्न हुँदा सजिलैसँग खाली ठाउँ र चौडा बाटालाई सुन्दर बनाउन सक्दथ्यो। तर अब त चाहेर पनि सरकारले हतपति केही गर्नसक्ने स्थिति छैन। भन्नेले भन्लान् अव्यवस्थित सहरीकरण संसारभरकै समस्या हो। तर, त्यस्तो समस्या हामीजस्तै दूरदृष्टिविहीनको मात्रै हो। हाम्रै छिमेकी पाकिस्तानले २०२० सालतिर आफ्नो राजधानी कराँचीबाट इस्लामावाद सार्‍यो। एकजना ग्रीक आर्किटेक्टले डिजाइन गरेको इस्लामावाद अहिले एउटा अत्यन्त सुन्दर र व्यवस्थित सहरका रूपमा विकास भैरहेको छ। त्यो ४५ वर्षअगाडिको कुरा थियो। हाम्रा शासक र प्रशासकको सोच्ने शक्ति भैदिएको भए काठमाडौं त पन्ध्र­बीस वर्षअघिसम्म पनि मजाले व्यवस्थित गर्न सकिने सहर थियो। त्यतिबेला उपत्यकालाई व्यवस्थित गर्दा कतै कुनै विरोध हुने स्थिति नै थिएन। तर अफसोच, राणाहरूले जुन बाटो बनाइदिए आज पनि मूलतः त्यही बाटोले काठमाडांैको ट्राफिक धानिरहेको छ। चिनीयाँले चक्रपथ बनाइदिएर ठूलो गुन लगाएका छन्। चक्रपथ देखेर पनि बाटो भनेको ठूलो हुनुपर्दोरहेछ भन्ने हामीले सिक्नसक्नु पर्थ्यो। त्यो पनि सिकेनौ। राणाहरूले बनाइदिए जति फराकिलो बाटो पनि हामीले बनाउन जानेनौ। परिणामस्वरूप हाम्रो पुस्ताले बनाएको बाटोमा दुईटा छोडिदिउँ एउटै मोटर सजिलोसँग चलाउन गाह्रो हुन्छ। न ढलको राम्रो व्यव्स्था छ, न बिजुलीका तारलाई भूमिगत गर्न सकिने स्थिति छ, न आगोलाग्दा दमकलहरू नै घरघर पुग्नसक्ने स्थिति छ। ठूलो भूकम्प गयो भने के होला, त्यो त सोच्दा पनि कहाली लाग्छ।


हरियालीयुक्त खाली ठाउँ त अब काठमाडौं उपत्यकाको छेउछाउमा मात्र बाँकी छ। त्यसलाई पनि व्यवस्थित तुल्याउनुको साटो सरकार उल्टै बाहिरी चक्रपथको निर्माणमा बढी उत्सुक देखिन्छ। बाँकी रहेको खाली जग्गालाई राम्ररी व्यवस्थित नगरी अनि पर्याप्त संख्या फराकिला ...लिन्क रोड'हरूको व्यवस्था नगरी बाहिरी चक्रपथ निर्माण भयो भने, त्यसपछि काठमाडौं उपत्यका पूर्णतः कुरूप र झन् अव्यवस्थित सहर हुनेछ। त्यसैले बाहिरी चक्रपथको निर्माणभन्दा पहिले उपयुक्त संख्यामा र उपयुक्त चौडाइका 'लिन्क रोड'को व्यवस्था गर्नु बढी आवश्यक छ। ती सडकहरू चक्रपथ निर्माण नभए पनि सहरी व्यवस्थापनका लागि अत्यावश्यक देखिन्छन्। ...हाउजिंग डिभेलपर्स'हरूले पच्चीसौंँ रोपनी जग्गा खरिद गरिरहेका छन्। सरकारले त्यसैगरी कमसेकम विभिन्न प्रयोजनका नाममा अहिले खाली रहेका जग्गा ठाउँठाउँमा अधिग्रहणमात्र गरेर राखिदिए पनि भविष्यमा ती राम्रा पार्कदेखि खेलकुद मैदानसम्ममा परिणत हुनसक्थे। त्यति सोचपनि कुनै सरकारलाई आएन। काठमाडौंं उपत्यका सत्यानाश नै हुने स्थितिमा छ। त्यति हुँदा पनि उपत्यकाका नागरिक समाजका अगुवाहरू राजनीतिक र मानव अधिकार सबालमा बोल्नु र लेख्नुमात्र आफ्नो दायित्व ठान्दछन्।

 

यस्तो परिस्थितिमा राजधानी सार्नुपर्ने माग हुनु स्वाभाविक हो। तर नयाँ राजधानीका रूपमा नाम लिइएका दांग र चितवनजस्ता जिल्लाका बासिन्दाले अहिलेदेखि नै विचार नगर्ने हो भने राजधानी सर्ने अलि बलियो संभावना देख्नेबित्तिकै काठमाडौंका कपूतहरू सलहझँैं घरजग्गा खरिद गर्न संभावित राजधानीमा पुग्नेछन् र तिनले त्यस सहरलाई पनि व्यवस्थित हुन नभ्याउँदै काठमाडौंजस्तै कुरूप तुल्याइ दिनेछन्। त्यो परिस्थिति रोक्न शासक र प्रशासकको भर परे भने स्थानीय बासिन्दाले निराश हुनुपर्नेछ। तर आआफ्नो सहर व्यवस्थित गर्न अघि सरे सहरको व्यवस्थित विकास सहज हुनेछ। काठमाडौंवासी आफैंँ अघि नसर्दा उपत्यकाको यो हाल भएको हो। यस अर्थमा केही समयअघि चितवनमा घरजग्गा कारोबारले अव्यवस्थितरूप लिन लागेकोमा स्थानीयवासीले चिन्ता व्यक्त गरेपछि चितवन उद्ययोग वाणिज्य संघले बीस वर्षपछिको व्यवस्थित चितवनको अवधारणा बहसमा ल्याएको स्मरण गर्नु सान्दर्भिक हुन्छ। हुनत, अहिलेको समयमा सहरको गुरु योजनाका बारेमा सोच्दा बीस वर्षपछिको मात्र परिकल्पना गर्नु पनि अल्पदृष्टि राख्ने नेपाली चरित्रकै अर्को उदाहरण भन्न सकिन्छ। अहिलेका सहरी परिवर्तनको रत्ति पनि आकलन गर्न नसकिने समयमा आजभन्दा १५० वर्षअघि निर्माण गरिएको लन्डन महानगरको ढल र भूमिगत रेलले अहिलेको लन्डनको जनघनत्व र परिवर्तनलाई थेगिरहेको छ। दूरदृष्टी भनेको त्यस्तो हो। हामी चाहिँ यति तीब्ररूपमा परिवर्तन भैरहेको समयमा गुरू योजनाको बहस चलाउँदा बीस वर्षपछिको परिकल्पना गरिरहेका छौँ। त्यति भन्दाभन्दै पनि चितवनले उठाएको सो कदमबाट राजधानीको विकल्पका रूपमा नाम लिइएका र नलिइएका अन्य जिल्लाले पनि प्रेरणा लिनु उपयुक्त हुन्छ।


हामी काठमाडौं वासी काम नलाग्ने कपूत हौँ। हाम्रो बाह्र फुटे बुद्धि छ। त्यसैले हामीलाई बाह्र फुटे बाटो भए पुग्छ। विश्वास लाग्दैन भने उपत्यकामा नयाँ विकास गरिएका अधिकांश बस्ती हेरे हुन्छ, जुन हाम्रा १२ फुटे बुद्धिका प्रतिविम्ब हुन्। हाम्रो बाह्र फुटे बुद्धि बस्ती विकासमा मात्र होइन अन्य धेरै क्षेत्रमा देख्न सकिन्छ। हामीले तुलनात्मकरूपमा बढी पढेका थियौँ, हामीसँग बढी पैसा थियो र हामीले बढी विश्व देखेका थियौंँ। तर हामी कति अल्पदृष्टियुक्त भयाँैं भने सातवटा क्षेत्र विश्व सम्पदा सूचीमा रहेको यो सांस्कृतिक, ऐतिहासिक र सुन्दर उपत्यकालाई हामीले कंक्रिटको फोहर र अव्यवस्थित जंगलमा परिणत गरिदिएका छौंँ। यस्तो स्थितिले गर्दा हाम्रा छोराछोरी नेपालमा बस्नै चाहँदैनन् या बसे भनेपनि तिनले दुख पाउँछन् भनेरसम्म हामीले सोचेनौ। हुनत, हामी अधिकांश हाम्रा छोराछोरीलाई नेपालमा राख्नै चाहँदैनौ अनि हामीलाई भविष्यको चिन्ता किन होस्? आफू बाँचुन्जेल चलिहाल्छ, मरेपछि छोराछोरी यहाँ बस्ने होइनन्, के मतलब भन्ने सोच धेरैमा अव्यक्तरूपमा रहेको छ। धेरै राजनीतिकर्मी पनि छोराछोरीका हकमा त्यही सोचबाट ग्रस्त छन्। आफ्ना हकमा उनीहरूले नभने पनि वास्तविकता के हो भने राजनीति गर्न पाइएकै छ, टेलिभिजन र पत्रपत्रिकामा देखा परिएकै छ, बदनामै भए पनि देशव्यापी परिचय छँदैछ, जहाँ गयो त्यहाँ पार्टी कार्यकर्ताको भिड लागेकै छ। बाँकि जिन्दगी पनि यसैगरी चलिहाल्छ भनेपछि, व्यक्तिगत स्वार्थभन्दा माथि उठ्नुपर्ने अवाश्यकता तिनका लागि छँदा पनि छैन। छोराछोरी आफैं फर्किन नचाहनु उनीहरूको स्वतन्त्रताको विषय हो। तर, उनीहरू फर्किन नखोज्नुमा सबभन्दा बढी दोषी हामी नै हौँ भन्ने हामीले अस्वीकार नगर्दा राम्रो। किनभने देशको दूरवस्थाका मूल दोषी हामी नै हौं। अलि बढी चिन्ता हुनुपर्ने ठूलाठूला उद्योगी व्यापारीलाई हो। तिनका छोराछोरी त विदेश गएपनि सम्पत्ति सम्हाल्न नेपाल फर्किनैपर्ने हुन्छ। तर तिनलाई पनि पैसाको मात्र चिन्ता भएको देखियो, छोराछोरी बस्ने वातावरणको चिन्ता कहिल्यै भएन।

जेहोस्, हामीले त काठमाडौं ध्वस्त पारी नै हाल्यौं, बाँकी जो बिग्रिसकेका छैनन्, त्यहाँका बासिन्दाले समयमैं सोचिदिए ती ठाउँमा यहाँकै जस्तो अवस्था आउने थिएन। नत्र मेरोजस्तै तपाईँका छोराछोरीले पनि भन्नेेछन्, ...तपाईँको पुस्ताले सबै ध्वस्त पारेछन्। त्यस स्थितिमा तपाईँले सुधार ल्याउन सक्नुभएन भने मेरो पुस्ता नेपालमा नबस्नाको दोष म तपाईंहरूलाई दिनेछु।"

 

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion
Nagarik Offer