Nepal Republic Media Pvt. Ltd.

Friday
Jul 30th

अंग्रेजीलाई प्राथमिकता

smaller text tool iconmedium text tool iconlarger text tool icon
अस्तिमात्र मैले ६-७ जनासमक्ष प्रस्ताव राखेँ- 'अंग्रेजीलाई देशको औपचारिक भाषा बनाउनुपर्छ।' पहिला त सबै खितिती हाँसे। त्यसपछि चर्काचर्की बहस सुरु भयो। सबैभन्दा अग्रसर भएर मसँग बहस गर्नेचाहिँ अमेरिकाबाट परिवारसहित छुट्टी बिताउन आएका नयाँ एक मित्र थिए।

उनले तर्क गरे- 'अंग्रेजी नआई काम नपाउने भन्ने तिम्रो कुरा गलत हो। उदाहरणको रुपमा चीनलाई सुपरपावर बन्न अंग्रेजी त चाहिएन। फेरि केही चिज सिक्ने इच्छा आफैँभित्रबाट आउनुपर्छ। बिनाइच्छा कुनै पनि लाद्न खोज्नु राम्रो होइन।' पन्ध्र/बीस मिनेटको विवादपछि मैले प्रश्न गरेँ- 'तपाईं अंग्रेजी नजानेको भए के अमेरिकामा एम प्रोफेसनल हुन सक्नुहुन्थ्यो होला? तपाईंले त अंग्रेजी मिडियम स्कुलमा पढ्ने मौका पाउनुभयो। अंग्रेजीबिना तपाईं कहाँ पुग्नुहुन्थ्यो?' जवाफ केही पाइनँ। सबै फेरि खितिति हाँसे।

आफ्नो तर्क जित्न मित्रले सबै कामलाई एकै ठाउँमा समेट्ने कोसिस गरे। साँच्चै पन्ध्र सय रुपैयाँ मासिक पाएर अर्काको घरमा अर्धदास-दासी भई काम गर्न अंग्रेजी चाहिँदैन। न त डोकोमा राखेर ढुंगा, इँटा, गिट्टी ओसारी जीविका चलाउन। मित्रले चीनलाई सुपरपावर बन्न अंग्रेजी नचाहिएको तर्क एक ठाउँमा सत्य पनि छ, अर्को ठाउँमा असत्य जसको विश्लेषण यो लेखको क्रममा पछि गरौँला। तर, नेपालसँग तुलना गर्न खालि अमेरिका, चीन, भारत नै किन? के मिल्छ संसारको एकमात्र महाशक्ति तथा उदीयमान महाशक्ति राष्ट्रहरू चीन र भारतको नेपालसँग? अनि अन्त्यमा नयाँ मित्रको अंग्रेजी बलजफ्ती लाद्न नहुने तर्क- के अधिकांश नेपाली आफ्नो छोराछोरी अंग्रेजी जानून्, पढून् भन्ने चाहना राख्दैनन्? भोलि नेपाली र अंग्रेजी स्कुलबीच रोजाइ भए कुन स्कुलमा बच्चा पढ्न पठाउलान्?

बहसकै क्रममा एक पुरानो मित्रले भनेे- 'अंग्रेजीलाई औपचारिक भाषा बनाउने तर्क त आजको परिप्रेक्ष्यमा झन् अर्थहीन छ। देशमा नेपाली भाषा जबर्जस्ती विभिन्न जनजातिमाथि लादिएको र अहिले आएर बल्ल त्यो गाँठो फुकाउने प्रयत्न भइरहेछ। तिम्रो प्रस्ताव नेपालीकरण जस्तै अंग्रेजीकरण गर्नेतिर त लक्षित छैन?' मेरो तर्क पनि राखौँ- मैले अंग्रेजीलाई औपचारिक भाषा बनाउनुपर्‍यो भन्नु यो होइन कि, भोलिदेखि नेपालीहरुले नेपाली नै बोल्न पाउँदैनन्, हाम्रा अन्य भाषा पनि बोल्न पाउँदैनन्। हुनै नसक्ने कुरा कसैले प्रस्ताव गर्न सक्छ? यहाँ नादिर शाही त छैन? न त सरकारी कार्यालय, अदालतको कामकाज अंग्रेजी हुनुपर्छ भन्ने मेरो आशय हो। फेरि मेरो प्रस्तावको तात्पर्य भोलि नेपाली तथा अन्य भाषालाई लोप गराएर अंग्रेजीको अधिपत्य खोज्नु होइन।

व्यक्तिगत रुपमा, अंग्रेजी भाषालाई औपचारिक मान्यता दिने प्रस्तावभित्र केवल एक निहित स्वार्थ छ- जसरी म अंग्रेजी बोल्न, लेख्न र पढ्न सक्छु, नेपालका सबै छोराछोरीले पनि सकून्, मेरोभन्दा धेरै बढी। यसका लागि सम्भवतः पढाइको माध्यम प्राथमिक विद्यालयदेखि अंग्रेजीमा हुनु जरुरी छ। अनि विद्यालयमा पढाइने दोस्रो भाषाचाहिँ नेपाली अथवा देशमा अन्य विविध भाषाहरुमध्ये एक। यहाँ फेरि नादिरशाही त छैन केटाकेटीहरुलाई अर्को विकल्प नदिने- त्यसैले सुरुदेखि नै सबै विद्यालयमा सबै विषयहरु अंग्रेजीमा पढाउनैपर्छ भन्न सकिँदैन। त्यसैले पढाइको साधन दुवै नेपाली र अंग्रेजीमा हुनु उचित देखिन्छ, अनि देशका अन्य विविध भाषाहरु दोस्रो भाषाको रुपमा। बाबुआमाले आफ्नो छोराछोरीलाई नेपाली र अंग्रेजीको विकल्प दिँदा कुन स्कुल रोज्दा रहेछन्, त्यो पनि छर्लंग हुन्छ। साथै, एकै चोटि अंग्रेजी भाषालाई प्राथमिक स्कुलदेखि अनिवार्य गर्न तार्किक (लजिस्टिकली) व्यावहारिक छ।

यस्तो एकदमै परिवर्तन किन त? तपाईं अंग्रेजी लेख्न, पढ्न, बोल्न जान्नुहुन्छ, ठीक छ। अंग्रेजी राम्रो रहेछ, तपाईंका लागि। तर, तपाईंले अंग्रेजी जान्दैमा सम्पूर्ण देशले किन जान्नुपर्‍यो भन्ने प्रश्न गर्न सक्नुहुन्छ। नेपालको आज अवस्था के छ, छर्लंग छ। देशको संरचनाभन्दा देशलाई कसरी विनाश गर्नेतर्फ सबै अग्रसर देखिन्छन्। तसर्थ, हामीले अंग्रेजी भाषालाई 'देश संरचना (नेसन बिल्डिङ)' को एक कार्यनीतिको रुपमा लिनु नितान्त आवश्यक देखिन्छ। आखिर यो देशमा छ नै के? न यहाँ विकासका लागि चाहिने आधारभूत संरचना नै बनेको छ। अहिले देशलाई विकासको पथमा अघि बढाउने कति नै उपाय छन्, हामीसामु? साँच्चै, कुवाको भ्यागुतोले कुवा मन पराएजस्तै छौँ, हामी। तर, कुवा बाहिर दृश्य अर्कै छ। विश्वबजारमा नेपाली भाषाको के महत्व छ? अनि ै देशका अरु विविध भाषाहरुको? लगभग शून्य।

आफ्नो घरमा, समाजमा अंग्रेजी बोल्ने त छँदैछ, तर राष्ट्रिय तहमा देशको अर्थतन्त्र बलियो पार्न सबै स्कुलहरुमा प्राथमिक शिक्षा अंग्रेजीमै हुनु जरुरी छ। नत्र चीन र भारत दुई विश्वशक्तिबीच नेपाल कसरी बाँच्ने?

हालै बृटिस काउन्सिलले (नोभेम्बर २००९ मा) निकालेको एक अध्ययनमा चीनमा अंग्रेजी बोल्नेको संख्या भारतभन्दा बढी हुनसक्ने देखियो। अंग्रेजी भाषामा दखल घटेका कारण भोलि भारतलाई आर्थिकरुपमा बेफाइदा हुने देखिएको छ। भारत सफ्टवेयर तथा सूचना प्रविधिमा सफल हुनसकेको एक मुख्य कारण अंग्रेजीमा शिक्षा पाएका दक्ष कामदारहरुले गर्दा हो। यो एक तरिकाले सही हो कि चीनलाई सुपरपावर हुन अंग्रेजी चाहिएन, किनकि त्यहाँ पसिना चुहाएर काम गर्ने करोडौँ मजदुर अंग्रेजी बोल्दैनन्। तर, चीनले पनि आफ्ना तेज विद्यार्थीलाई अध्ययनका लागि बाहिरै खासगरी अमेरिकाका विश्वविद्यालयमा पठाउने गरेको छ। यिनीहरुले नै दक्ष भएर देशलाई विश्वशक्ति बनाउन मद्दत गरेका हुन्। आज अमेरिकाजस्तो देशमा नयाँ पिढीका चीनैबाट आएका चिनियाँ विद्यार्थी लेख्न, बोल्न र पढ्नमा अंग्रेजीमै शिक्षा पाएका कुनै भारतीयभन्दा कम छैनन्।

नयाँ मित्रको फोन भर्खरै आयो। बिलौना गरे, 'व्यर्थमा बाउआमाले अंग्रेजी सिकाए, संस्कृत पो सिक्नुपर्ने। अमेरिकामा मन्दिरका पुजारीहरू नयाँ मर्सडिज, बेञ्ज, बिएमडब्ल्यु फेरिफेरि चढ्छन्, आफ्नोचाहिँ सधै त्यही थोत्रा टोयटा।'

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion
Nagarik Offer