Nepal Republic Media Pvt. Ltd.

epaper
Friday
Mar 12th

प्रचार नभएको एक करोड दान

smaller text tool iconmedium text tool iconlarger text tool icon
मैले उनलाई एकपल्ट मात्र भेटेको थिएँ। पत्रकारका रूपमा मेरो केही सार्वजनिक परिचय भए पनि उनी मलाई चिन्दैनथे। किनभने, मेरो पत्रकारिताको माध्यम मूलतः बीबीसी नेपाली सेवा र नेपाली छापा थिए भने उनको समाचार श्रवण र अध्ययनको माध्यम अंग्रेजी थियो। पूरै जीवन अंग्रेजी माध्यमको पढाइमा बिताएकाले आफ्नो ‘अत्यन्त कमजोर नेपाली पढाइ र बुझाइ'प्रति उनलाई आत्मग्लानी हुँदोरहेछ। तर आदर्शको खडेरी परेको समाजमा भाषाको ज्ञानभन्दा सत्कर्म महत्वपूर्ण हुन्छ । हामीबीच भएको पहिलो भेटमा म र समान विचारका मेरा साथीहरू मिलेर सुरु गरेको एउटा कल्याणकारी अभियानलाई उनले सहजरूपमा तीन लाख रुपैँया चन्दा दिए। दोस्रो पटकको भेटमा बिना कुनै हिचकिचाहट सोही अभियानका लागि एक करोड सहयोग गर्ने प्रतिबद्धता जनाए र भने - ‘कृपया यसलाई सार्वजनिक नगरिदिनु होला।'

मैले धेरै व्यक्ति तथा व्यापारी घराना चिनेको छु जो तुलनात्मकरूपमा अत्यन्त सानो कल्याणकारी काम गरेर ठूलो प्रचारप्रसार बटुल्ने गर्छन्। गत साता एउटा व्यावसायिक गृहले कल्याणकारी संस्थालाई ५१ हजार दान दिँदा चेक हस्तान्तरण गरिएको फोटो कतिपय प्रमुख राष्ट्रिय दैनिकमा छापिएका थिए । तर म त्यो दिन यस्तो व्यक्तिको साथमा थिएँ जो कल्याणका लागि त्यति ठूलो रकम दान गरेर प्रचारप्रसार नहोस् भन्नेेमा जोड दिइरहेको थियो।


सिद्धार्थ राणा शान्त, सौम्य, भलाद्मी र आफ्नै दुनियाँमा मग्न नेपालका अग्रणी युवा उद्यमी हुन्। हेल्प नेपाल नेटवर्क, नेपालका लागि महिनाको सय रुपैयाँ कोषका लागि चन्दा संकलन गर्ने मेरो एक दशक लामो तीतोमीठो अनुभवका क्रममा मैले सिद्धार्थ राणाजस्तो व्यक्ति भेटेको छैन। उनी तारा म्यानेजमेन्टका प्रमुख हुन्। तारा म्यानेजमेन्ट सिप्रदी प्राइभेट लिमिटेडलगायत उनका अनेकौँं व्यापार हेर्ने मुख्य संस्था हो, जोसँग भोटेकोशी जलविद्युत् आयोजना, सूर्य नेपालजस्ता नेपालका केही प्रमुख कम्पनी आबद्ध छन्। हामी दिनदिनै थुप्रै उद्यमी­व्यवसायीलाई टेलिभिजनका पर्दामा देख्छाँैं तर त्यस्ता बृहत् व्यवसायहरूको नेतृत्व गरेर पनि उनी प्रचारप्रसारको दुनियाँबाट लगभग पूरै टाढा ।


उनी र उनको परिवारले गरेका कल्याणकारी कामका बारे त झन् कसैलाई जानकारी नै छैन भने पनि हुन्छ। उदाहरणका लागि, काठमाडौं दरबार विश्व संपदा क्षेत्रमा रहेको सत्रौँ शताब्दीमा निर्मित जगन्नाथ मन्दिरको जीर्णोद्धारलाई लिन सकिन्छ। उनका व्यावसायिक संस्थाहरूले सो आयोजनामा ठूलो सहयोग पुर्‍याएका थिए। सो आयोजनाका लागि आवश्यक पर्ने तीन लाख अमेरिकी डलरको आधा रकम नेपालीले जम्मा गर्न सके अमेरिकाको वर्ल्ड मोन्युमेन्ट फन्डले आधा रकम प्रदान गर्नेवाला थियो। सिद्धार्थ राणा संलग्न व्यावसायिक कम्पनीहरूले नेपालीको तर्फबाट जुटाउनुपर्ने आधा रकमको सबैजसो हिस्सा उपलब्ध गराएको थियो । त्यसैका कारण ऐतिहासिक जगन्नाथ मन्दीरको जीर्णोद्धार संभव भयो। अरूलाई पनि त्यस्ता काममा प्रेरित गर्नसक्ने त्यो एउटा अत्यन्त सकारात्मक समाचार थियो तर त्यसबारे सञ्चार माध्यममा कतै समाचार आएको मलाई थाहा भएन। मैले काठमाडौं उपत्यका संरक्षण कोषको वेबसाइटबाट सो कार्यका बारे जानकारी पाएको हुँ।

हेल्प नेपाल नेटवर्कको अनेकौं राष्ट्रिय र अन्तराष्ट्रिय कल्याणकारी संस्थाहरूको भन्दा नितान्त बेग्लै एउटा विशेषता छ। नेटवर्कले आफूलाई प्राप्त सहयोगबाट एक पैसा पनि प्रशासनिक काममा खर्च गर्दैन। नेटवर्कका लागि यो एउटा ठूलो चुनौती भएको छ। सुरुसुरुमा नेटवर्कका कार्यकारी सदस्यहरू आफैंले नै सम्पूर्ण प्रशासनिक खर्च उपलब्ध गराए। तर जब संस्थाको काम विस्तार हुँदै गयो, कार्यकारी सदस्य र केही शुभेच्छुकको दानबाट मात्र सम्पूर्ण गतिविधि संचालन गर्नु न त तर्क संगत हुन्थ्यो न त्यो दिगो विकल्प नै थियो। त्यसैले नेटवर्कले एक लाख अमेरिकी डलर अर्थात ७५ लाख रूपैँयाको एउटा हेल्प नेपाल प्रशासनिक कोष स्थापना गर्ने लक्ष्य लियो, जसको ब्याजबाट प्रशासनिक कार्य संचालन गर्ने हाम्रो उद्देश्य थियो।

हेल्प नेपाल नेटवर्कको प्राथमिक उद्देश्य ठूला अन्तराष्ट्रिय दाताबाट सहयोग खोज्नुभन्दा नेपाली व्यक्ति तथा संस्थाहरूकै सहयोगबाट नेपालमा कल्याणकारी भावना र कार्यको प्रवर्धन गर्नु हुनाले प्रशासनिक कोषका लागि कम्तीमा तीन लाख चन्दा दिन इच्छुक २५ जना नेपाली भेट्टाउने लक्ष्य राखियो। त्यो अर्को ठूलो चुनौती थियो। हाम्रो उद्देश्य ती सहृदयी दातालाई उदाहरणका रूपमा प्रस्तुत गरेर, अरू तुलनात्मकरूपमा धनी तर लोककल्याणमा त्यति चासो नभएका नेपालीलाई कल्याणका क्षेत्रमा उत्प्रेरित गर्नु थियो।
मैले सिदार्थ राणालाई पहिलो पटक त्यतिबेला उनैसँग कार्यरत लेखक तथा उद्यमी सुजीभ शाक्यको सल्लाहअनुरूप सन् २००६ मा लन्डनको एउटा सामान्य रेष्टुराँमा भेटेको थिएँ । सुुजीभले नै मलाई प्रशासनिक कोष अभियान बारे सिद्धार्थसँग कुरा गर्न सल्लाह दिएका थिए। म त्यतिबेला काम र बसोबास गरिरहेको बेलायत र नेपालका कुलीन वर्गमा धेरै ठूलो अन्तर छ। बेलायतका कुलीनहरू प्रशस्त मात्रामा लोक कल्याणकारी कार्यमा संलग्न हुने गर्छन् तर नेपालका कुलीनहरू उदार भैसकेका छैनन्। बरू, मारवाडी समुदायका सदस्य कल्याणकारी कार्यमा बढी अग्रसर र उदार देखिन्छन् । त्यसैले म सुजीभको सल्लाहबाट त्यति आशावादी हुन सकेको थिइन। तैपनि कोष संकलन प्रयासमा दश चोटी हन्डर खाइसकेको हुनाले अर्को एक प्रयास गर्दा फरक पर्दैन भन्ने लाग्यो। तर जब मैले सिद्धार्थलाई भेटेँ उनी अत्यन्त सामान्य र मित्रवत् ढंगबाट प्रस्तुत भए। उनले हेल्प नेपालको सोच र कार्यबारे अत्यन्त उत्सुकतापूर्वक सुने र त्यतिबेला मैले मागेको तीन लाखको चन्दा दिने सहमति जनाए।

सन् २००६ को भेटपछि हामीबीच म लण्डनबाट स्थायीरूपमा गत वर्षको एप्रिलमा काठमाडौं नफर्किएसम्म कुनै भेटघाट या पत्राचार भएन। म फर्किँदासम्म नेपालीहरूकै सहयोगबाट प्रशासनिक कोषका लागि ७५ लाख संकलन गर्ने लक्ष्य पूरा भइसकेको थियो। तर हेल्प नेपालको कार्यक्षेत्र भने विस्तार हुँदै गएको थियो। हामी कयौं ई­पुस्तकालय, स­साना स्कुल भवन, स्वास्थ्य चौकी र एउटा ठूलो बाल आश्रय निर्माण गरिरहेका थियाँैं। त्यसको अर्थ, कार्यालय संचालनका लागि ७५ लाख रूपैयाँबाट आउने ब्याज पर्याप्त हुँदैन भन्नेे प्रष्ट हुँदैथियो । त्यसैले हामीले पछिलाई पनि विचार गरेर अर्को एक करोड रुपैयाँ उठाउने लक्ष्य लियाँैं। त्यसैअनुरूप मैले कान्तिपुर दैनिकमा कृपया पाँच रूपैयाँ दिनोस्न' शीर्षकको लेख लेखेर कोष संकलनको प्रयास सुरू गरेँ। देशभरका सर्वसाधारणबाट सहयोग र सद्भाव प्राप्त भयो तर नेपालमा आधुनिक बैंकिंग सुविधाको अभावले गर्दा सानो रकम संकलन प्राविधिकरूपमा संभव नहुने देखियो। त्यो एउटा शिक्षा नै भयो। त्यसैले मैले विभिन्न व्यक्ति तथा व्यापारिक गृहहरूसँग ठूलो रकमको सहयोगका लागि सम्पर्क गरेँ तर अधिकांश स्थितिमा खाली हात फर्कनु पर्‍यो। त्यसैबीच मैले सिद्धार्थ राणाका बारेमा उनका एकजना प्रमुख कार्यकारी अधिकृत र मेरा निकटका मित्र शम्भु दाहालमार्फत थप सकारात्मक टिप्पणी सुनिरहेको थिएँ। त्यसैले अप्ठेरो मानीमानी रित्तो हातलाई मैले पुनः एकपल्ट उनीसामु फैलाउने विचार गरेँ। र, हेल्प नेपालले उनीजस्तै सहृदयी नेपालीको सहयोगबाट हासिल गरेका उपलब्धिको सारांशका साथ सके सम्पूर्ण एक करोड, नसके कमसेकम २५ लाख रूपैंँया दिन अनुरोध गर्दै उनलाई एउटा ईमेल पठाएँ। सिद्धार्थले मलाई तुरुन्त जवाफ दिए र गत वर्ष सेप्टेम्बरमा हामीले सोल्टी होटेलको चौरमा खाना खाँदै भेट गर्‍यौँ । उनका साथमा मेरा मित्र शम्भु दाहाल पनि थिए। हामीले झन्डै अढाइ घन्टा मूलतः कल्याणकारी विषयहरूमै कुराकानी गर्‍यौँ। उनले सम्पूर्ण एक करोड दिने प्रतिबद्धता जनाए, जुन गत साता प्राप्त भएको छ।

म धेरैजना नेपालीलाई चिन्छु जसले आफ्नो या आफ्नो परिवारको नाम जोडिएको कल्याणकारी कामका लागि सिद्धार्थलेभन्दा बढी चन्दा दिएका छन्। त्यसो गर्नुमा कुनै खराबी छैन। तर मैले व्यक्तिगतरूपमा पूर्णतः असम्बन्धित कल्याणकारी कार्य या संस्थालाई त्यति ठूलो रकम दान दिने कुनै नेपाली चिनेको छैन। त्यस्ता नेपालीलाई कसैले प्रकाशमा ल्याइदिए अरूहरूलाई पनि राम्रो काम गर्न प्रेरणा मिल्नेथियो। सिद्धार्थले उनको व्यावसायिक संस्थाहरूको कल्याणकारी शाखा तारा फाउन्डेसन पनि भंग गर्नु उपयुक्त हुने बताए। ‘एउटै काम दुईवटा संस्थाले गर्नु जरूरी छैन। संयुक्त राज्य अमेरिकामा वारेन बफेटले आफ्ना कल्याणकारी कार्यका लागि बिल गेट्सको फाउन्डेसनलाई सबै जिम्मेवारी दिन सक्छन् भने नेपालमा त्यसै गर्न किन नसकिने? हेल्प नेपाल नेटवर्क एउटा पारदर्शी र इमान्दार कल्णाकारी संस्था हो भन्नेमा म विश्वस्त छ। आफैं गर्नुभन्दा हेल्प नेपाललाई नै सहयोग गर्नु बढी उपयुक्त हुन्छ।'

यस विन्दुमा पुग्दा हाम्रो वार्ताले एउटा अनपेक्षित मोड लियो। सिद्धार्थले आफ्नो सहयोगलाई अज्ञात दाताको नाममा दर्ज गर्न अनुरोध गरे। उनको चाहनालाई म बेवास्ता गर्न सक्दैनथेँ तर उनले गर्न लागेको सहयोग नेपालको परिप्रेक्षमा एउटा अभूतपूर्व उदाहरण थियो र त्यसको उपयुक्त प्रचार गरिनुपर्छ भन्ने मेरो सोचाइ थियो। नेपाललाई अरूले पनि सिक्न र पछ्याउन सक्ने उदाहरणीय र आदर्श व्यक्तिहरूको सख्त खाँचो छ र सिद्धार्थ त्यस्तै एउटा व्यक्तिका रूपमा अगाडि आएका थिए। तर उनले पूर्ण विश्वासका साथ जोडदाररूपमा भने, ‘कल्याणकारी कामको प्रचार गर्नु नीचता हो।'

उनको विश्वासलाई तोड्ने प्रयासमा मैले भने, यस प्रकारको सकारात्मक समाचारको प्रवर्धन गर्दा समाजमा ब्याप्त नकारात्मकतालाई निरुत्साहित गर्न मद्दत पुग्छ। यस्तो समाचारको उद्देश्य, तपाईंलाई बढाइचढाइ गर्ने होइन, अरूलाई प्रेरित गर्ने हो।' लामो तर्कवितर्कपछि बढो असहजताका साथ र अनिच्छापूर्वक उनले मलाई आफ्नो सहयोगलाई सार्वजनिक गर्ने अनुमति दिए। सामान्य स्थितिमा भइदिएको भए त्यति ठूलो रकम चन्दा दिँदा सञ्चार माध्यमहरूको उपस्थितिमा चेक हस्तान्तरण समारोहको आयोजना गरिएको हुन्थ्यो तर त्यस्तो केही हुनेवाला थिएन। त्यसपछि म कुनै बेला झन्डै भेट्नै नचाहेको व्यक्तिप्रति अनौठो र अमीट श्रद्धाभाव बोकेर छुटिटएँ।

विपन्न नेपालीहरूले सिद्धार्थ राणालाई चिन्दैनन्। न सिद्धार्थ उनीहरूलाई चिन्छन्। तर के चाहिँ अनुमान गर्न सकिन्छ भने दिनरातको गरिबीबाट उम्कन खोजिरहेका ती साह्रा नेपालीले सिद्धार्थलाई निश्चय पनि आशीर्वाद दिनेछन्। तथ्यांकअनुसार संसारको ८५ प्रतिशत सम्पत्ति ११ प्रतिशत धनीहरूको हातमा केन्द्रित छ। कल्पना गरौंँ सबै धनी मानिसहरू सिद्धार्थ जत्तिकै उदार भइदिने हो भने, यो समाज र संसार कति सुन्दर हुन्थ्यो होला! आशा छ, आउने दिनहरूमा आफ्नो सकारात्मक सोच र कर्मबाट सिद्धार्थ राणाले अरू धेरै धनाढ्यहरूलाई लोक कल्याणकारी कार्यमा प्रेरित गरिरहने छन्। उनलाई धेरै, धेरै शुभकामना!

तपाईं पनि हेल्प नेपाल नेटवर्कलाई सहयोग गर्न चाहनुहुन्छ भने लेखकलाई rabindra.helpnepal@gmail.com मा सम्पर्क गर्न सक्नुहुन्छ।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

ब्लग

विजय राई "ड्याङ !" सातदोबाटो स्विमिङ पुलअगाडि एक्कासी ठूलो आवाजले म तर्सिएँ। आफ्नै साइडब...

- विजय राई

केशव थोकर पूर्व राजा रुद्रचण्डी महायज्ञमा आउने थाहा पाएर बिहान साढे दश बजेतिरै म पशुपतिनाथ...

- केशव थोकर

राजेन्द्र ज्ञवाली 'नेपालबाट आएको?' मैले सहमतिमा टाउको हल्लाउनासाथ उसले मेरो पेशा सोध्यो। मैले 'पत्...

- राजेन्द्र ज्ञवाली