शान्ति र संविधानको बाटाको तगारो बन्न जिद्दी गर्ने अति वामको आत्मप्रवञ्चनाकारी ध्वजा बोक्नेहरू होऊन् वा दक्षिणपन्थका पश्चगामी पुरेतहरू अब तिनका सन्तापका दिन आउने छन्।
राजा ज्ञानेन्द्रले फौजी कु गरेको कालो दिवस माघ १९। संविधानसभा भवनको पानी ट्याङ्की अगाडि पालमुनि सुतेको छु म। त्यहाँ अरू उनन्चालीसजना नागरिक छन्। जाडो उपध्रो छ। देहमुनिको पातलो म्याट र देह घुसारेको फ्यालफ्याले स्लिपिङ ब्याग जाडो छल्न असमर्थ छन्। स्युस्यु काम्दै म इतिहासको घटनावलीको स्मरण गर्छु। नयाँ वानेश्वरको यही फराकिलो डबली त हो जहाँ नागरिक आन्दोलनको कीर्तिमानी सभा भएको थियो। ठूला दलका ठूला नेताहरू मञ्चमुनि सुकुलमा बसेका थिए। विगतको कुशासन र भ्रष्टाचार, नातावाद र कृपावाद, सत्तादलाली र नैतिक क्षयीकरणका कारण तिनका छविका आभा ख्वात्तै खुइलिएको थियो। त्यस सभाले तिनलाई आफ्नो अतीतको इमानदारीपूर्ण स्मरण गरी कठोर आत्मसमीक्षा गर्न हौस्याएको थियो। आज तिनै नेता संविधानसभा र सरकारका हर्ताकर्ता छन्। तर, तिनले आत्मसमीक्षा गरी आफूलाई एक पित्को पनि सच्याएको देखिँदैन। मानौँ तिनले आफूलाई श्रीपेचरहित राजै ठानेका छन्। र नै त तिनलाई ललकार्न, तिनलाई गिज्याउन, दिगो शान्ति र राम्रो संविधानको दिशातिर लम्किन तिनलाई दबाब दिन हामी यसरी कठोर जाडोको सिकार बन्न अभिशप्त छौँ। जीवनयात्रामा कत्ता न पुगुँला भनेर निरङ्कुश श्री ३ मोहन शमशेरका पालादेखि हिँडेको यात्री म। अहिले म पुगेको छु हरुवा माधव नेपालको झुठको, लुटको र चरम् अनैतिकताको विद्रूप शासनमा। सम्झदा मलाई त्यसैत्यसै विषाद र ग्लानि अनुभूत हुन्छ। के जीवन विसङ्गतिदेखि विसङ्गतिसम्मको त्रासद् यात्रा हो? के मोहन शमशेरदेखि माधव नेपालसम्मको छलकारी यात्रा हो जीवन?
प्रतिनिधिसभाको पुनर्बहालीपछि राजनीतिक डबलीमा र नागरिक आन्दोलनमा उदाएका दृश्य, मुद्रा र भङ्गिमा सम्झन्छु। त्यो पत्रु सभाको पुनर्बहाली नागरिक आन्दोलनको अभीष्ट थिएन। तर, राजनीतिका कुटिल खेलाडीहरूले यथास्थिति र पश्चगमनलाई बढावा दिन त्यो मृत सभाको पुनर्बहाली गरे। त्यो पुनर्बहालीसँगै त्यसमा विपरीत चरित्र भएका पात्रको गुमेको 'माननीय' पदको बहाली भयो। साधुको पनि बहाली भयो, चोरको पनि। अग्रगामीको पनि बहाली भयो, पश्चगामीको पनि। गणतन्त्रवादीको पनि, राजावादीको पनि। इतिहासको भयावह विडम्बना थियो त्यो। प्रतिनिधिसभाको प्रेतमा साधु र चोर, अग्रगामी र पश्चगामी, गणतन्त्रवादी र राजावादी सबै छ्यासमिस भए। नतिजा अहिले देखियो। सकारात्मक तत्वमाथि नकारात्मक तत्व घोडा चड्दा अहिले शान्ति र संविधान लेखन धरापमा परेका छन्। हामी नागरिककर्मीहरू पालमुनि जाडाले डल्लो परेको यो क्षणमा छ सय एक विधायकहरू मस्तसँग निदाइरहेका होलान्। कुर्सीको नशामा लठ्ठ भएका प्रधानमन्त्री र मन्त्रीहरू भाते निन्द्रामा घुरिरहेका होलान्। तर, शान्ति र संविधानको आवाज उराल्न सडकमा निस्केका हामी नागरिक भने अहिले अलमस्त, शुष्क र सुस्त संविधानसभा अगाडि कटट्ट दाँत बजाउँदै लुगलुग कामिरहेका छौँ।
पुनर्बहालीकृत प्रतिनिधिसभाको पिराहा प्रेतले नागरिक आन्दोलनलाई पनि ग्रास गर्न बाँकी राखेन। र, आन्दोलन छिन्नभिन्न भयो। यो छिन्नभिन्नका ठोस अर्थराजनीतिक कारण छन्। प्रतिनिधिसभाको प्रेत बौरिँदा हाम्रा एकथरी नागरिक मित्रलाई आफ्नो गुमेको स्वर्ग सर्लक्कै फर्किएझैँ लाग्यो। र, जसका सिङ्गासिङ्गै डाँडापाखा र फाँट थिए, ती तिनको जोगाउ गर्न र त्यस्ता अरू जोड्न त्यतै फर्के। जो बैंक, फाइनान्स कम्पनी र कलकारखानाका हिस्सेदार मालिक थिए, ती आफ्नो मालिक्याइँको रक्षा गर्न त्यतै उन्मुख भए। जसका थोरै श्रम र लगनद्वारा धेरै आर्जन हुने ढ्याके एनजीओ थिए, ती त्यही आरामदायी कमाउ धन्दातर्फ लहसिए। र, जो रोलवाला थिए, ती सत्ताका मुहुनीमय कुर्सी हेरेर घुटुक्क थुक निल्दै आआफ्ना दलभित्र लुसुक्क छिरे। र, आन्दोलनमा रह्यौँ हामी थोरै अकिञ्चन नागरिक। तर, अहिले स्वार्थको भयंकर टक्कर सुरु भएको राजनीतिमा अन्योलको कुहिरो फाट्दै जाँदा फगत दुई पथ देखिए - नागरिक पथ र कटवालपथ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रको नागरिक पथ र एकात्मक राजतन्त्रीय हैकमको सैन्यवादी कटवालपथ। कि यो पथ कि त्यो पथ, रोज्नलाई तेस्रो पथ अब छैन। तटस्थताको अभिनय फगत पाखण्ड हो। खुसीको कुरा, लोकतन्त्रप्रेमी, जागरुक एवं विवेकशीलहरूले नागरिक पथको पक्षमा हाक्काहाक्की हात उठाउन थालेकाछन्। यो सत्य नागरिक धर्नामा वानेश्वरमा उजागर भयो। त्यो सुखद् दृश्यले हामी धर्नाकर्मीको उत्साह र मनोबल उचालिँदा नाथे जाडो हामीलाई केहीजस्तो पनि लागेन। क्रुर र कठोर जाडो त कटवालपथको गर्भमा पो छ!
वानेश्वर धर्नामा 'डीडी' खुबै भयो। सङ्क्षेपीकृत डीडीको अर्थ हो दाँत देखाएर ऐक्यबद्धता प्रकट गर्नु। डीडीको लहरमा बिछोड भएका पुराना मित्रहरूसँग नागरिक आन्दोलनको पुनर्मिलन भयो। मिलनको धागोमा पत्रकार महासङ्घका सभापति धर्मेन्द्र झा उनिए। प्राध्यापक सङ्घका महासचिव रामेश्वर उपाध्याय बुनिए। विष्णु निष्ठुरी र महेश मास्के जाडोसँग पौँठेजोरी खेल्दै रातैभरि तपस्यारत रहे। सुन्दर दारीधारी द्वय शरद वन्त र कपिल श्रेष्ठले पनि दरै डीडी गरे। सूचनाका जनमार्गी सुराकी प्रशान्त झा र आदित्य अधिकारी त मानौँ नागरिक आन्दोलनको टेकोसरह खडा भए। मकरतन्त्रविरोधी आन्दोलनमा एक प्रखर विम्ब र ओजस्वी जोदाहा गगन थापा। तिनले पनि धर्नालाई डीडीको गौरव प्रदान गरे। र, डीडीको लाममा खडा हुन आए राधेश्याम अघिकारी, लीलामणि पोख्रेल, शशी श्रेष्ठ र अन्य अनेकन गन्यमान्यहरू। समग्र एमालेको एकल प्रतिनिधि भएर धन्न रवीन्द्र अधिकारीले डीडी गरे। तर, डीडीको उपक्रममा एउटा दृश्य मलाई कसोकसो असंगत लाग्यो। दृश्यका स्रष्टा थिए, नीलाम्बर आचार्य। यी आचार्य पहिले नागरिक आन्दोलनमा थिए, अहिले यी सत्ताको उच्च गद्दीमा विराजमान छन्। सत्ताको एउटा कुर्सीमा काङ्ग्रेसका एमाले प्रधानमन्त्री माधव थिए र अर्को कुर्सीमा थिए एमालेका सुभास नेम्वाङ। सत्ता साझेदारी र सहमतिको मार्गमा बाँकी एक कुर्सीको सुयोग्य दाबेदार थियो माओवादी। तर, श्री आचार्यलाई राजनीतिक सहमतिभन्दा कुर्सी प्रिय लाग्यो। श्री आचार्यले संवैधानिक समितिको सभापति पद पड्काउनु के थियो यिनी शान्ति र संविधान लेखनको मार्गमा अवरोधको प्रतीक बने। उता त्यस्तो प्रतीक बन्नु र यता नागरिक धर्नामा डीडी गर्न आउनुमा सङ्गति छ कतै?
अनुभव भन्छ, विचित्रका जीवहरूको अनौठो संगम हो नागरिक आन्दोलन। यी जीवलाई कसैका अघिल्तिर हात पसार्नु, केही पाउनु र केही खानु छैन। लोकतन्त्र र शान्तिको ध्वजा उठाउँदा नाम जुराउन खप्पिस पुरेतले यिनका निधारमा अनेक फत्तुरकारी नाम थोपरेकै हुन्। तर, यिनको पहिचान र निष्ठामा केही फरक परेन। आन्दोलनका उपवाचक कृष्ण पडाही भन्छन् - पुरेतहरू धीत मरुन्जेल भनिरहून्। नागरिक आन्दोलनको नागरिक प्रलोभन र भयमुक्त रहुन्जेल कसैका बाउको केही लाग्दैन। यो निष्ठाले बनेको विम्ब नै नागरिक आन्दोलनको आभामण्डल हो, सामर्थ्य हो, सौर्य हो। र नै त आन्दोलनमा थोरै नागरिक बाँकी रहँदा पनि यो लोभीपापीको आक्रमणको तारो बनिरह्यो। तर, समय फेरिएको छ। जो सैन्यवादी कटवालपथको पथिक हो, ऊ त्यही पथमा अटल रहला। जो लोकतन्त्रवादी नागरिकपथको यात्री हो, ऊ शान्ति र संविधान लेखनको बाटाका अवरोध पन्छाउन विवेक र आवगेसहित नागरिक आन्दोलनमा सामेल होला। आखिर कुण्डकुण्ड पानी मुण्डमुण्ड बुद्धि भनेको यही त होला। समयको क्रममा जब परीक्षाको कठोर घडी घाउँछ, कोइली र काग नछुट्टिई धरै छैन।
मित्र मिलनको इन्द्रधनुषी डबलीमा नागरिक आन्दोलन अब सशक्त गर्जनका साथ उठ्ने छ। नपत्याए वानेश्वरमा लाम लागेका डीडीहरूको सम्झना गरे हुन्छ। दलहरूभित्रका होउन् वा बाहिरका, शान्ति र संविधनका व्याधाहरूका अब दुःखका दिन आउने छन्। अति वामको आत्मप्रवञ्चनाकारी ध्वजा बोक्नेहरू होऊन् वा दक्षिणपन्थका पश्चगामी पुरेतहरू, जो शान्ति र संविधानको बाटाको तगारो बन्न जिद्दी गरिरहन्छन्, अब तिनका सन्तापका दिन आउने छन्। छद्म आवरणमा, छद्म ज्ञानेन्द्रपथमा जो जो छन्, ती अब सर्वाङ्ग नांगिने छन्। आवाजमाथि आवाज भएर, छालमाथि छाल भएर विवेक, आवेग र सौर्यको ध्वजामुनि नागरिक आन्दोलन अब गतिमान हुनेछ। इतिहासको डिलमा उभिएर तिमी हेर!


Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook



