स्रोतका अनुसार जतिसक्दो चाँडो मन्त्रिपरिषद्बाट निर्णय गराई प्रहरी चौकी स्थापना गरिनेछ। चौकीमा कति जनाका दरले प्रहरी राख्ने भन्ने निर्णय भने गृह मन्त्रालयले गर्नेछ।
सरकारले सिन्धुपाल्चोकका टिम्बु, ग्याल्थुम, बाहुनेपाटी र सिन्धुमा प्रहरी चौकी स्थापना गर्नेछ। मेलम्ची आयोजनाले चारवटा प्वाइन्ट सुन्दरीजल, सिन्धु, ग्याल्थुम र अम्बाथानबाट २६ किलोमिटर लामो सुरुङ खन्ने कार्य सुरु गरेको छ।
सरकारले सुरुङ खन्ने र प्रवेश मार्ग निर्माणमा संलग्न ठेकेदार कम्पनीका प्राविधिक, श्रमिक तथा आयोजनाका कर्मचारीलाई सुरक्षा दिएर निर्वाध रूपमा काम अघि बढ्ने वातावरण बनाउन चौकी स्थापना गर्न लागेको हो।
मेलम्ची खोलामा बाँध बाँधिने स्थान अम्बाथानमा प्रहरी चौकी राख्ने ठाउँ नभएकाले नजिकैको टिम्बुमा राख्न थालिएको हो। सुरुङ मार्ग निर्माणको ठेकेदार कम्पनीले सुन्दरी जलमा साइट कार्यालय बनाइसकेको छ भने सिन्धुमा पनि निर्माणका क्रममा छ। उसले सुरुङ खन्ने थप दुई प्वाइन्टमा समेत साइट कार्यालय बनाउने तयारी गरिरहेको छ। ती कार्यालय र निर्माणमा संलग्न प्राविधिक, श्रमिकलाई सुरक्षा दिन प्रहरी चौकी स्थापना गर्न लागिएको हो।
बाहुनेपाटीमा प्रवेश मार्ग निर्माणको ठेकेदार कम्पनीको कार्यालय छ। त्यसैले त्यो ठाउँमा प्रहरी चौकी राख्न लागिएको हो। स्थानीयबासीले विभिन्न माग राखी ठाउँठाउँमा अवरोध र मेलम्चीको साइट कार्यालयमा तालाबन्दी हुने गरेकाले आयोजनाका काममा ढिलाइ हुँदै आएको छ।
सरकारले प्रहरी चौकी स्थापना गरे पनि मेलम्ची आयोजनाबाट प्रभावित स्थानीयबासीका जायज मागलाई सम्बोधन तथा प्रभावित क्षेत्रको विकासमा सक्दो काम गर्ने जानकारी भौतिक योजना तथा निर्माण मन्त्रालय स्रोतले दिएको छ।


Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook





