Nepal Republic Media Pvt. Ltd.

epaper
Thursday
Mar 11th

राजधानीको सुरक्षित स्थानमा हत्या हुँदा गृह मन्त्रालय 'चेन अफ कमाण्ड'विहीन

smaller text tool iconmedium text tool iconlarger text tool icon
भोजराज भाट, काठमाडौं, माघ २६- गृहमन्त्री भीमबहादुर रावलसहित सुरक्षा निकायका तीन वटै प्रमुख साताव्यापी चीन भ्रमणमा निस्कँदा उनको अनुपस्थितिमा गृह मन्त्रालय दुई दिनसम्म नेतृत्वविहीन रह्यो। 'चेन अफ कमाण्ड खुकुलो' भएपछि प्रधानमन्त्री माधवकुमार नेपालले सोमबार अपरान्हमात्र रक्षामन्त्री विद्यादेवी भण्डारीलाई कार्यबाहक गृहमन्त्रीको पत्र दिएका छन्।

राजधानीको भिआइपी क्षेत्रको व्यस्त मूल सडकमै शाहमाथि गोली प्रहार हुँदा प्रहरी नेतृत्व १० मिनेटसम्म रनभुल्लमा परेको थियो। उपराष्ट्रपतिको सपथग्रहणलाई लक्षित गरेर प्रहरीले परमानन्द झाको गौरीधारास्थित घरदेखि कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयसम्म ५ सय प्रहरी र त्यहाँबाट त्यत्तिकै संख्यामा थप प्रहरी महाराजगञ्जस्थित राष्ट्रपतिको कार्यालयसम्म खटाएको थियो। एक हजार प्रहरी तैनाथ भएका बेलाको हत्याका अपराधी सजिलै उम्किन सक्नुलाई स्रोतले 'प्रहरीको चेनअफ कमाण्डमा ठूलै त्रुटी रहेको' औंल्याएको छ।

'दिनदहाडै हत्या भएपछि आइतबार बेलुकीसम्म कसले कार्याबाहक पाएको रैछ भन्ने खुल्दुली लागेको थियो। सोमबार अपरान्ह ३ बजेको क्याविनेटमा प्रधानमन्त्रीलाई सोध्ने भनेर सोच्दै थिएँ, त्यसको केही मिनेटमा मैले पत्र बुझेँ,' भण्डारीले साँझ जमिम परिवारलाई भेट्दा भनिन्। उनले यस प्रकरणमा सुरक्षा व्यवस्थामा गम्भीर त्रुटी भएको औल्याइन्। 'उपराष्ट्रपतिको सपथ ग्रहणका लागि लैनचौर-राष्ट्रपति भवन क्षेत्रको सुरक्षा झन् कडा थियो,' उनले भनिन्, 'त्यही भीआईपी क्षेत्रमा यस्तो घटना हुनु 'सुरक्षा ल्याप्स' हो। सार्वजनिक सुरक्षा निकाय र सरकारलाई यस घटनाले गहिरो सवक सिकाएको छ।'

गृहमन्त्री विदेश जाँदा कसैलाई कार्यवाहक नदिने सरकारको लापरवाही उनको यसअघिको भारत भ्रमणमा पनि देखिएको थियो। आइतबार बिहानमात्र गृह सचिवले मन्त्रालय नेतृत्वविहिन भएको जानकारीसहित कसैलाई जिम्मेवारी तोकिदिन प्रधानमन्त्रीलाई पत्र पठाएका थिए। जमिमको हत्या भएको २४ घण्टापछि मात्र कार्यवाहक गृहमन्त्रीको जिम्मेवारी पत्र पाएपछि भण्डारी उक्त हत्याबारे सदनलाई जानकारी दिन गएकी थिइन्। संसदको कार्यव्यवस्था समितिमा 'रक्षा मन्त्रीले किन गृहको कुरा बोल्ने' भनेर माओवादी प्रतिनिधिले विरोध गरेपछि उनले सदन बैठकमा बोल्न पाइनन्।

त्यसपछि भण्डारीले सदनमा बोल्न गृहराज्यमन्त्री रिजुवान अन्सारीलाई बोलाउँदा अन्सारी प्रधानमन्त्रीसँगै पानीपोखरीस्थित जमीमको घरमा परिवारजनसँग भेट्दै थिए। प्रधानमन्त्रीको भेटघाटक्रममै उठेर उनले संसद बैठक पुगी लिखित जवाफ पढे। भण्डारी सदन बैठकभित्र नछिरी बाहिरिँदा आफूले समयमै कार्यबाहक गृहमन्त्रीको पत्र नपाएकोबारे प्रधानमन्त्री र गृहमन्त्री रावलको गम्भीर त्रुटी भएको आफूनिकटस्थमाझ गुनासो पोखेकी थिइन्।

प्रधानमन्त्री नेपालले हत्याको छानविन गर्न पूर्वन्यायाधिस पराजुलीको नेतृत्वमा समिति गठन भएको जानकारी दिँदै अपराधी पक्राऊ भएरै छाड्ने आश्वासन दिएका थिए। जमिम परिवारलाई भेटेपछि उनले ढोकामा राखेको समवेदना पुस्तिकामा 'हत्याप्रकरणले राजधानीको सुरक्षा व्यवस्थामा गम्भीर त्रुटी उजागार गरेको' लेखेका थिए।

'मेरो छोरो फर्केर आउँदैन तर भोलि कसैको पनि मेरो जस्तो घटना नदोहोरियोस्', जमिम पीता मोहिमले प्रधानमन्त्रीसँग भने, 'झुटो आश्वासनका लागि नआउनुस्। बरू निर्देशन पालना भए-नभएको आफैँ फलो गर्नुस्।' एकाध प्रहरी बदनाम हुँदैमा सिङ्गो संगठन बिग्रेको भन्न नमिल्ने तर्क दिँदै मोहिमले भने, 'म पनि ८-८ वर्ष गृह मन्त्रालयमा काम गरेको मान्छे हुँ, तर घटना भएको घण्टौंसम्म एरिया सिज किन गरिएन? यसमा चित्त दुखेको छ।'

सोमबार बिहान एकीकृत माओवादीका नेता बाबुराम भट्टराईले जमिम परिवारलाई भेटी घटनामा सरकारको लापरवाही भएको र अपराधीलाई पक्राउ गर्नमा आफूले सरकारलाई दबाब दिने आश्वासन दिएको उनको पारिवारिक स्रोतले बतायो।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy

राजनीति

onlineversion

ब्लग

विजय राई "ड्याङ !" सातदोबाटो स्विमिङ पुलअगाडि एक्कासी ठूलो आवाजले म तर्सिएँ। आफ्नै साइडब...

- विजय राई

केशव थोकर पूर्व राजा रुद्रचण्डी महायज्ञमा आउने थाहा पाएर बिहान साढे दश बजेतिरै म पशुपतिनाथ...

- केशव थोकर

राजेन्द्र ज्ञवाली 'नेपालबाट आएको?' मैले सहमतिमा टाउको हल्लाउनासाथ उसले मेरो पेशा सोध्यो। मैले 'पत्...

- राजेन्द्र ज्ञवाली