दाहालले आज लडाकूलाई प्रशिक्षण दिने

smaller text tool iconmedium text tool iconlarger text tool icon
किरण पुन, काठमाडौं, फागुन १७ (नागरिक)- 'अब तपाईँहरू पार्टीको कमाण्डमा हुनुहुन्न, विशेष समितिको मातहतमा हुनुहुन्छ' भनेर घोषणा गरेको एक वर्षपछि एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले सोमबार चितवनको शक्तिखोरमा लडाकूलाई प्रशिक्षण दिँदैछन्।

एकदिने प्रशिक्षणका लागि माओवादी सेना प्रमुख नन्दकिशोर पुन र डेपुटी कमान्डर चन्द्रप्रकाश खनाल आइतबारै चितवन पुगिसकेका छन्।

राष्ट्रसंघीय मिसन (अनमिन) को प्रमाणिकरणमा नपरेका लडाकु शिविरबाट बाहिरिएपछि दाहालले पहिलोपटक कमान्डरलाई प्रशिक्षण दिन लागेका हुन्।

सेना समायोजन विशेष समितिको मातहतमा आएपछि अध्यक्ष दाहालले प्रशिक्षण दिन लागेको दोस्रोपटक हो।

चितवनको शक्तिखोरस्थित तेस्रो डिभिजन मुख्यालयमा सोमबार हुने एकदिने प्रशिक्षणका लागि माओवादी सेना प्रमुख नन्दकिशोर पुन र डेपुटी कमान्डर चन्द्रप्रकाश खनाल आइतबार नै चितवन पुगिसकेका छन्।

प्रशिक्षणमा बटालियन सहकमान्डरसम्मका कमान्डर भाग लिने छन्।

तेस्रो डिभिजन सहकमान्डर दीपक चलाउनेले सात सयजति कमान्डर सहभागी हुने नागरिकलाई जानकारी दिए।

बटालियन सहकमान्डर डिभिजन कमान्डर, डिभिजन सहकमान्डर, ब्रिगेड कमान्डर, ब्रिगेड सहकमान्डर र बटालियन कमान्डरपछिको तह हो। जनसेनाको संरचनाअनुसार डिभिजन, ब्रिगेड, बटालिनय, कम्पनी, प्लाटुन र सेक्सन हुन्छ। सेक्सन सबैभन्दा सानो युनिट हो।
अध्यक्ष दाहालले गत वर्ष फागुन १ गते नवलपरासीको परिवर्तन स्मृति ब्रिगेडमा आयोजित आठौं जनसेना दिवसमा जनमुक्ति सेना 'सेना समायोजन विशेष समितिको मातहतमा आएको' घोषणा गरेका थिए। त्यसबेला दाहाल प्रधानमन्त्री एवं सेना समायोजन विशेष समिति अध्यक्षसमेत थिए।

अध्यक्ष दाहाल प्रधामन्त्रीबाट हटेपछि यसै वर्षको साउनमा शक्तिखोरमा अध्यक्ष दाहालले प्रशिक्षण दिएका थिए। त्यसबेला कम्पनी कमान्डरसम्मले भाग लिएका थिए।

संविधानसभा चुनावको पूर्वसन्ध्यामा पनि शक्तिखोरमै जनसेनालाई प्रशिक्षण दिएका थिए। जुन बेला दाहालले दिएको प्रशिक्षणको टेप प्रकरणले कटवाल प्रकरणलाई मात्र चर्काएन, कब्जा गर्नै लागेको भनेर माओवादीलाई सफाइ दिनसमेत हम्मेहम्मे भएको थियो।

अघिल्ला प्रशिक्षणमा कम्पनी कमान्डरसम्मले भाग लिँदैआए पनि यसपटक बटालियन सहकमान्डरसम्मले मात्र भाग लिने छन्। स्रोतका अनुसार सुरक्षाका कारण पनि बटालियन सहकमान्डरसम्मलाई सहभागी गराइन लागेको हो।

इलामको चुलाचुलीदेखि कैलालीको तालबन्दसम्म सात डिभिजन र २८ सहायक शिविरमा लडाकु बस्दैआएका छन्। प्रशिक्षणमा सात डिभिजन कमान्डरले पनि भाग लिनेछन्।

जनसेना केन्द्रीय कार्यालय, जनमुक्ति सेना स्पोट्सं क्लब र सात डिभिजनमा एक कार्यालय र एक फिल्ड गरी दुई/दुईजना गरी १६ जना डिभिजन सहकमान्डर छन्। चितवनस्थित शक्तिखोरमा रहेको तेस्रो डिभिजनबाहेक बाँकी ६ डिभिजनमा ४/४ ब्रिगेड छन्। तेस्रो डिभिजनमा पाँच ब्रिगेड छन्। जनसेनाको सैन्य संरचनाअनुसार तीन बटालियन बराबर एक ब्रिगेड, तीन कम्पनी बराबर एक बटालियन, तीन प्लाटुन बराबर एक कम्पनी र तीन सेक्सन बराबर एक प्लाटुन हुन्छ। सहकमान्डरहरु कार्यालय र फिल्ड गरी दुई दुई र तल्ला तहका कमान्डर कार्यालयमा पनि रहने गरी संख्या बढ्ता छ। अनमिनको प्रमाणीकरणअनुसार १९ हजार ६ सय २ जनसेना शिविरमा छन्।

माओवादी केन्द्रीय प्रशिक्षणलगत्तै भए पनि सेनालाई प्रक्षिण भने अनमिनको प्रमाणिकरणमा नपरेका जनसेनाको बहिर्गमन र समायोजनको बारेमा हुने माओवादी सेना प्रवक्ता एवं डेपुटी कमान्डर चन्द्रप्रकाश खनालले नागरिकसित बताए।


'साथीहरुको बहिर्गमनको मूल्यांकन र पछिल्लो पटक बाहिर आएका समायोजनका बारेमा प्रशिक्षण हुने छ,' प्रवक्ता खनालले भने। पुस र माघमा गरी सात डिभिजनबाट अनमिनको प्रमाणिकरणमा नपरेका जनसेना बाहिरिएका थिए।

लडाकुमा पर्न गएको भ्रमलाई चिर्न पनि बहिगर्मनपछिको समग्र मूल्यांकन र समीक्षा गरिने एक डिभिजन कमान्डरले बताए।

सरकारले तलब रोक्ने भनेर हल्ला चलाएकाले तलसम्म पनि भ्रम परेको र सुरक्षा संवेदनशीलता पनि बढेकाले प्रशिक्षण राखिएको एक डिभिजन कमान्डरले बताए। केन्द्रीय प्रशिक्षणपछि अध्यक्ष दाहालसहित पदाधिकारी नै देश दौडाहामा छन्।

कांग्रेस, एमाले सेना समायोजनपछि मात्र संविधान जारी गर्नुपर्ने अडानमा छन् भने माओवादी समायोजन र संविधान लेखन सँगसँगै हुनुपर्ने पक्षमा छ।

सुरक्षा नीति तय गरेपछि मात्र समायोजन हुनुपर्ने माओवादी धारणा छ। 

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

राजनीति