गणतन्त्रवादी खुमबहादुर १२ वर्षपछि बने राजतन्त्रवादी

smaller text tool iconmedium text tool iconlarger text tool icon
किरण भण्डारी/गोविन्द परियार, कठमाडौं, फागुन २६- राजाले माओवादी उकासेको हुनाले नेपाली कांग्रेस गणतन्त्रमा जानुपर्छ भनेर तत्कालीन गृह मन्त्री खुमबहादुर खड्काले २०५४ सालमा पार्टी केन्द्रीय कार्यसमितिमा प्रस्ताव गरेका थिए। त्यसवापत् उनले पार्टीमा स्पष्टीकरण दिनुपर्‍यो।

तिनै नेता बाह्र वर्षपछि सोमबार एउटा धार्मिक यज्ञमा पूर्व राजा ज्ञानेन्द्रसँग घनिष्ठ देखिँदै भलाकुसारीमा भेटिए। यसबीच उनले सार्वजनिक गर्दै आएको विचारले उनी राजतन्त्र र हिन्दु राष्ट्रको पक्ष र संघीयताको विपक्षमा देखिँदै आएका छन्।

कांग्रेसलाई माओवादीको सामना गर्न तरुण दस्ता बनाउनुपर्ने धारणा राख्दै राजनीतिमा पुनः सक्रिय खड्काले पार्टीको आगामी महाधिवेशनमा एउटा धारको नेतृत्व गर्ने तयारीसमेत गरिरहेका छन्।

सूर्यवहादुर थापा नेतृत्वको मिलिजुली सरकारमा गृहमन्त्री रहेका खड्काले पार्टी केन्द्रीय कार्यसमितिमा 'माओवादी राजा वीरेन्द्रले संचालन गरिरहेको' अभिव्यक्ति दिएपछि खैलाबैला मच्चिएको थियो।

गुप्तचर प्रतिवेदनलाई उदृत गर्दै खड्काले माओवादी नेता 'प्रचण्ड' (पुष्पकमल दहाल) र 'बादल' (रामबहादुर थापा)को नामै लिएर दरबारले संचालन गरेको भन्दै काँग्रेस गणतन्त्रमा जानुपर्ने धारणा राखेका थिए। उक्त प्रस्तावमा महन्थ ठाकुर, गोविन्दराज जोशी र अर्जुननरसिंह केसीले पनि साथ दिएका थिए।

'मैले पार्टीमा राखेको विचार एउटा राजावादी साप्ताहिकमा जस्ताको तस्तै छापियो,' बाह्र बर्ष पुरानो घटना सम्भि्कदै खड्काले भने- 'राजा वीरेन्द्रले मेराविरुद्व सभापति कोइरालालाई दबाब दिए।'

कोइरालाले खड्कालाई बोलाएर 'दरवार रिसाएकाले सफाइ दिन' सम्झाए, पार्टीले स्पष्टीकरण सोध्यो। बुधवार नागरिकसित कुराकानी गर्दै उनले भने- 'राजा ज्ञानेन्द्रको शासनकालमा पनि दरबारले मलाई दिनु दुःख दियो।'

माओवादीविरुद्व सेना परिचालन, २०५९ मा घोषणा गरिएको मध्यावधि निर्वाचन सार्न नहुने लगायत मुद्दामा राजा ज्ञानेन्द्रसँग खड्काको असहमति बनेको थियो। गृहमन्त्रीको हैसियतमा हुने भेटमा राजालाई चित्त नबुझेको उनी अझै सम्झिन्छन्।

प्रधानमन्त्री शेरवहादुर देउवालाई असक्षम भनी पदच्युत गर्नु एक साताअघि खड्काले दर्शनभेट पाएका थिए। 'राजाबाट निर्वाचन सार्नू भन्ने आसय आयो,' उनले भने- 'मैले सहमति जनाइनँ। त्यसपछि शासनमा भएका विभिन्न विसंगतिको प्रसङ्ग उप्काए।'

आफूसँग रिसाएको अन्य प्रसङ्ग पनि उल्लेख गर्दै खड्का राष्ट्र हितका लागि अहिले आफू कुनै राजा विशेष नभै राजतन्त्रवादी बनेको बताउँछन्। 'शेरवहादुरको सरकारलाई अपदस्थ गरेको पर्सिपल्ट दरवारको इसारामा अख्तियारले मलाई मुद्दा लगायो,' उनले भने, 'तीन वर्षदेखिको बेथिति र लामो अनुभवले क्रमशः सेरिमोनियल राजसंस्था चाहिने रहेछ भन्ने लाग्यो।'

किशोर उमेरमै यातना, निर्वासन संघर्ष हुँदै राजनीतिक आग्रह र प्रजातन्त्रमाथि राजतन्त्रले पटक-पटक आक्रमण गरेकाले पहिला आफैंले गणतन्त्रको माग गरेको उनले बताए। जनआन्दोलन उत्कर्षमा पुगेको बेला भारतले भुटानको राजा जस्तै बनेर बस्न प्रस्ताव ल्याएको समेत उनी बताउँछ्। 'ज्ञानेन्द्रले त्यस्तो प्रस्ताव अस्वीकार गरेपछि' उनले आफ्नो 'क्रान्तिकारी धारणा' परिवर्तन गरे।

राजतन्त्रको अनुपस्थितीले तीन बर्षमा मुलुकको राष्ट्रियता कमजोर भई रक्तपातको अवस्था आउने लागेको निष्कर्ष उनको छ। 'भारतबाट त दिनहुँ टोली आउँछ, जलस्रोतको कमिशन बटुल्न आएका पनि सबैलाई भेटेर उपदेश दिएर जान्छन्,' उनले भने- 'पहिला चीनबाट कति र के-कस्ता भ्रमण टोली आउँथे अहिले कति छ गन्नुस्।'

उनको विचारमा अहिले मुलुकमा कहिल्यै नभएको धार्मिक, जातीय झगडाको बिउ रोप्ने काम भएको छ।

'हिन्दु राज्य अभियान रोकिदैन,' उनले भने- 'असी प्रतिशत जनता हिन्दु भएको मुलुक विदेशीको इसारामा रातारात निरपेक्ष बनाइयो।' पश्चिमा मुलुकहरुले 'पैसाको खोलो बगाएर' धर्मनिरपेक्षता बनाएको आरोप उनले लगाएका छन्। उनले भने, 'युरोप अमेरिकाका मुलुक आफूलाई क्रिश्चियन भन्ने अनि हामी हिन्दु हुन नहुने?'

उनी आफूलाई 'गणतन्त्र, धर्म निरपेक्षता, संघीयता' चित्त नबुझेको लुकाउँदैनन्। उनले भने, 'मुख खोलेर देखा पर्न नचाहने धेरै छन्।'

जातीय संघ स्थापना भए रक्तपात हुने ठोकुवा गर्दै उनले संघीयताबाट फर्किन सम्भव नभए काँग्रेसले प्रस्ताव गरेको सात राज्य उपयुक्त हुने बताए। 'केहि पनि स्रोत नभएको मुलुकले १४-१४ राज्यको प्रशासनिक खर्च कससरी धान्छ?' २०४८ देखि २०५९ सम्म पाँचवटा मन्त्रालयको नेतृत्व गरेका उनले भने।

(अन्तर्वार्ताको पूर्ण अंश नागरिकन्यूज डटकममा। प्रतीक्षा गर्नुस्)

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

राजनीति