माओवादीको चरित्र मण्डले र गुण्डागर्दी चरित्र हो : झलनाथ

smaller text tool iconmedium text tool iconlarger text tool icon
'नसच्चिए माओवादी ज्ञानेन्द्र हुने'-
खिलानाथ ढकाल, इलाम पुस १६- एमाले अध्यक्ष झलनाथ खनालले माओवादीमा कम्युनिष्ट चरित्र नभएको बताएका छन्। संसारका कुनै पनि मुलुकका कम्युनिष्टमा नभएको चरित्र माओवादीले प्रदर्शन गरेको बताउँदै उनले भने- माओवादीले अहिले देखाएको चरित्र गुण्डागर्दी चरित्र मात्र हो।
'यो प्रकारको चरित्र संसारका कुनै कम्युनिष्टमा छैन', एमाले इलामको आठौं जिल्ला अधिवेशन उदघाटन गर्दै बिहीबार उनले भने- यो गुण्डागर्दी चरित्र मात्र हो, मण्डले चरित्र हो।'

देशव्यापीरुपमा एमाले कार्यकर्तामाथि आक्रमण भएको भन्दै उनले माओवादीको चर्को आलोचना गरेका हुन। सल्यानको पार्टी अधिवेशनको बन्द सत्रमा माओवादी कार्यकर्ताले आक्रमण गरी नेताहरुलाई घाइते बनाएको भन्दै अध्यक्ष खनालले यस्ता गतिविधिमा कम्युनिष्ट चरित्रको हैसियत नरहने बताए।

यस्ता गतिविधिलाई निरन्तरता दिए माओवादी आफैं पूर्व राजा ज्ञानेन्द्रको स्थितिमा पुग्ने दाबी पनि खनालले गरे । 'माओवादी साथीहरु हामीलाई ज्ञानेन्द्रको स्थितिमा पुर्‍याउँछौं भन्दै हिँड्छन्', करिब डेढ घण्टा लामो आफ्नो भाषणको आधा जति माओवादीविरुद्व खनिएका खनालले भने- उनीहरु आफैं त्यो अवस्थामा पुग्नेछन्, कसैले केही गरिरहनुपर्ने छैन।'

सशस्त्र युद्वको धङधङीबाट नागरिक पार्टी बन्न नसकिने बताउँदै खनालले पहिला नागरिक पार्टी हुन माओवादीलाई चुनौती दिएका छन्। 'पहिला नागरिक पार्टी भएर स्थापित हुनुहोस्', उनले भने- अनिमात्र नागरिक सर्वोच्चता स्थापना हुन्छ।' संसदबाट बहुमतले बनेको सरकारलाई जे पायो त्यै भन्न नमिल्ने उनले बताए। 'क. प्रचण्डले सत्ता हाँक्न नसकेर आफैं राजिनामा दिएका हुन्, कसैको दबाबले होइन', उनले भने- फेरि सत्ता चाहियो भनेर किन सडकमा रोदन र गनगन ?'

खनालले अस्थायी शिविरमा रहेका  माओवादी लडाकु समायोजन नभएसम्म नयाँ संविधान निर्माण हुन नसक्ने पनि बताए। अहिलेको प्रमुख कार्यभार माओवादी लडाकुको समायोजन भएको बताउँदै अध्यक्ष खनालले विस्तृत शान्ति सम्झौताअनुरुप लडाकु पुनस्थापना र व्यवस्थापन हुने  सहमतिअनुरुप त्यो काम सम्पन्न गर्न एमाले प्रतिबद्व रहेको बताए।

राष्ट्रिय सहमति र सहकार्यको विकल्प नरहेको बताउँदै अध्यक्ष खनालले सबै एक नभए संविधान पनि नबन्ने र त्यो स्थिति डरलाग्दो हुने बताए। 'मैले सत्ता प्राप्त गर्न पाउनुपर्छ कि पर्दैन भन्ने कुरामा जाँचिने समय होइन अहिले', माओवादीप्रति लक्षित गर्नै उनले भने- दोष अरुलाई थोपरेर आफू ओभानो हुने प्रवृत्ति त्याग्नुपर्ने बेला हो।' खनालले २०६७ जेठ १४ गतेभित्र संविधान नबने कुनै दलको अस्तित्व नरहने र संविधानसभा पनि नरहने पनि बताए। सहमतिका लागि आफू जस्तोसुकै लचिलो हुन तयार रहेको बताउँदै उनले कसैले मेरो गोरुको बाह्रै टक्का भन्छ भने त्यसविरुद्व डटेर लाग्ने बताए।

एमाले संविधानसभामा तेस्रो पार्टी भए पनि समाजमा पहिलो भएको खनालले दाबी गरेका छन्। केही महिनाअघि १ लाख ४० हजारको सङ्ख्यामा रहेको एमाले २ लाख पुगिसकेको बताउँदै उनले अन्य दलबाट एमालेभित्र प्रवेश गर्ने लहर चलिरहेको बताए। यस्तो लहरलाई सहन नसकेर माओवादीले एमालेमाथि आक्रमण र गुण्डागर्दीका क्रियाकलाप गरिरहेको उनको भनाइ छ।

१८ गतेसम्म चल्ने पार्टीको आठौं जिल्ला अधिवेशनका लागि दुई अलग खेमाबीच प्रतिस्पर्धा हुने निश्चित भइसकेको छ। खनाल पक्षधर मानिने मणिकुमार लिम्बू र ओली पक्षधर नरेन्द्रनाथ भट्टराईले अध्यक्षका लागि उम्मेदवारी दिने तयारी गरेका छन्। लिम्बू वर्तमान जिल्ला नेतृत्वका सचिव हुन् भने भट्टराई उपसचिव पदमा छन्।

सर्वसम्मत नेतृत्वका लागि खनालले प्रयास गरिरहे पनि दुवै पक्षले आ–आफ्ना उम्मेद्वार खडा गरी निर्वाचनमा जाने मनस्थिति बनाएपछि अध्यक्ष पदका लागि निर्वाचन हुने पक्का भइसकेको छ। अध्यक्ष पदका उम्मेद्वारमध्ये ओली समूहका भट्टराईको पक्षमा बढी सदस्य रहेको एक सदस्यले बताए। ती सदस्यले संस्थापन पक्षले आठौं राष्ट्रिय महाधिवेशनले पारित गरेको जनताको बहुदलीय जनवादको धार छोड्दै गएकाले बहुमत प्रतिनिधि भट्टराई पक्षमा रहेको बताएका छन्। यद्यपि, आफ्नै गृहजिल्लाको नेतृत्वमा ओली पक्ष बहुमत साबित भए त्यसले खनाललाई ठूलो चुनौती दिनेछ।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

राजनीति